logo
२०८० चैत्र १६ शुक्रवार



निगमलाई खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति

अर्थ |


निगमलाई खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २१ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पाउने भएको छ । हवाई सेवाको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा निगमले त्यस्ता पदार्थ ओसारपसार गर्न पाउने अनुमति प्रदान गरेको हो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अनुमतिपत्र प्रदान गर्नुभएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले यो अनुमतिसँगै निगमको आम्दानीको स्रोत बढ्ने विश्वास व्यक्त गर्दै विगतमा खतराजन्य पदार्थ ल्याउँदा व्यवसायीलाई हुने झन्झट पनि यसले अन्त्य गरेको बताउनुभयो ।
प्राधिकरणका महानिर्देशक क्षेत्रीले खतराजन्य पदार्थको अनुमतिपछि निगमको विश्वसनीयता र राजस्व बढ्न सहयोग पुग्ने बताउनुभयो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले निगमको ६३ वर्षको इतिहासमा पहिलोपटक यस्तो अवसर आएको र यसले कार्गोतर्फ तीन÷चार गुनासम्म आम्दानी बढ्न सक्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?