logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा गोठपालककाे दिनचर्या

फोटो फिचर |
समाज |


2021-10-17-48674


चन्द्र पन्दाक
ताप्लेजुङ, असोज ३१ गते । ताप्लेजुङको हिमाली क्षेत्रमा गोठपालन पेशा अँगाल्दै आएका स्थानीय किसानको चाडपर्व गोठमै बित्ने गरेको छ । गोठ तथा चरनमा रहेका याक÷चौंरीको रेखदेख र स्याहार सम्भारमै गोठपालक किसानको दशैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व पनि बित्ने गरेको हो ।
वर्षदिनमा एक पटक मनाइने मुख्य चाडपर्व भएकाले दशैँमा परिवारका सबै सदस्य तथा आफन्त जुटेर धुमधामसँग मनाउने गरिन्छ । दशैँको मुख्य विजयादशमीको दिन आफ्ना मान्यजनहरुबाट टीका ग्रहण गर्ने र आशिर्वाद थाप्ने प्रचलन रहिआएको छ । तर, गोठपालन पेशामा आवद्ध रहँदै आएका हिमाली क्षेत्रका बासिन्दालाई दशैँमा टीका लगाउने र आशिर्वाद थाप्नेबारे वास्ता नै हुँदैन । पुख्र्यौली पेशाकै रुपमा रहेको याक तथा चौंरीपालनमै सबै समय बिताउने गर्छन् उनीहरु ।
याक र चौंरी गोठमा करीव छदशक समय बिताउनु भएका फक्ताङ्लुङ गाउँपालिका–७ ओचाङ्चुङगोलाका स्थानीय ६५ वर्षीय योङ्जेन शेर्पाले कतिखेर कुन चाडपर्व आउँछ, त्यो आफूलाई थाहा नहुने बताउनुभयो । हरेक दिन बिहान उठेर साँझसम्म नै याक चौंरी स्याहार गर्न र रेखदेख गर्नमा समय बिताउनुपर्ने भएकाले चाडपर्व कतिबेला आउँछ र कहिले जान्छ भन्ने थाहा नहुने शेर्पाको भनाइ छ ।
यस्तै ओलाङ्चुङगोलाकै अर्का गोठपालक हेम्बे शेर्पाले पनि दशैँ तिहारजस्ता चाडपर्व गोठमै बित्ने गरेको बताउनुभयो । दशैँ तिहार चाडपर्व वर्ष दिनमा आउने भए पनि त्यो पशुचौपायालाई थाहा नहुने हुँदा आफूहरुले पनि चासो नदिने गरेको शेर्पाले बताउनुभयो । स्थानीय तेन्जिङ शेर्पाले पनि याक र चौंरी सँगसँगै हिमाल चाहार्दा चाहार्दै कतिखेर दशैँ आउँछ, कतिखेर तिहार त्यो थाहा नै नहुने बताउनुभयो ।
यसरी गोठपालक अधिकांश किसानको चाडपर्व हिमाली भेगमा रहेका गोठ र चरन क्षेत्रमा पशुचौपायासँगै बित्ने गरेको छ । यतिबेला शहर तथा ग्रामीण क्षेत्रका बासिन्दा दशैँको उत्साह र उमङ्गमा रमाइरहेका छन् । ओचाङ्चुङगोलाकै स्थानीय चङ्दाक शेर्पाका अनुसार गोठपालकहरु तीन हजारदेखि साढे चार हजार मिटरसम्म उचाइको भूभागमा रहेका गोठसँगै सुन्दर हिमाली दृश्य, घाँसे मैदान, ताल झरना, अन्य वनस्पति, कस्तुरी मृग, डाँफे, मुनाल, नाउरजस्ता वन्यजन्तुको दृश्यावलोकनमा रमाउने गरेका छन् । हिमाल क्षेत्रमा बासोबास गर्ने समूदाय अधिकांसले पशुपालनमै निर्भर रहनुपर्ने भएकाले चाडपर्वलाई खासै महत्व नहुने गरेको उहाँको भनाइ छ ।
फक्ताङलुङ—७ का स्थानीय चुङदाक शेर्पाले बतानुभयो ।
अहिलेको मौसममा गोठपालकहरु चार हजारदेखि चार हजार ५०० मिटरमा पर्ने ओचाङ्चुङगोलाको मौवटार, सिँजेमा पोखोरी क्षेत्र, याङमा क्षेत्र र मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला क्षेत्रमा याक तथा चौंरीका गोठहरु रहेका छन् । अब हिउँ पर्ने मौसम नजिकिएकाले गोठपालकले बिस्तारै आफ्ना गोठहरु तल्लो क्षेत्रमा सार्ने तयारीमा रहेका बताइएको छ ।