logo
२०८१ बैशाख १३ बिहीवार

भूकम्पले क्षति पुर्‍याएको कोत मन्दिर पुनः निर्माण भएपछि चिटिक्क  (फोटो फिचर)

फोटो फिचर |
प्रदेश |


2021-09-05-45962


ठाकुरप्रसाद आचार्य
बेनी, भदौ, २० गते । भूकम्पले क्षति पुर्‍याएको रघुगङ्गा गाउँपालिका २ राखु भगवतीमा रहेको भगवती कोतमन्दिर ६ वर्ष पछि पुनर्निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्त्व विभागबाट मन्दिरको पुनः निर्माण गरिएको हो । २०७२ सालको भूकम्पका कारण र पुरानो संरचनाका कारण जीर्ण बन्दै गएको मन्दिरको पुनर्निर्माण गरेर चिटिक्क पारिएको छ । पुनः निर्माण गर्न विभागले ६९ लाख ३० हजार पाँच सय ६६ रुपियाँमा मिलीजुली किवेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । 
मन्दिरलाई पुरानै स्वरुपमा पुनः निर्माण गर्ने गरी मन्दिरको पूजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत प्रस्ताव तयार गरी विभागमा प्रस्ताव पेस गरिएकोमा सोही बमोजिम योजना छनौट भएर पुनः निर्माण गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार, मन्दिरको मौलिकता जोगिने, आधुनिकता झल्कने गरी पूर्वाधार निर्माण गरिएको छ । कोतको पुन निर्माण पछि यस क्षेत्रको भ्रमणमा आउने आन्तरिक पर्यटनमा वृद्धि हुने उहाँले अपेक्षा गर्नुभयो । 
मन्दिर पुनः निर्माण गरिएको मन्दिरमा भूकम्प प्रतिरोधी प्रविधि अवलम्बन गरिएको छ भने र ढुङ्गा र काठकै सामाग्री प्रयोग गरिएको वडा अध्यक्ष कटुवालले बताउनुभयो । जिल्लामा रहेका पुराना कोत मन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा दसैँको अवसरमा विशेष पूजा हुने गर्छ । मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भूकम्प पतिरोधी प्रविधिलाई जोड दिएर मन्दिर पुनः निर्माण गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । 
धवलागिरि आइसफल पदमार्गले समेटिएको मन्दिर स्थलबाट पवित्र कालिगण्डकी नदी, पुलहाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र निलगिरी हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ । कोत मन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ । तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिँदै आएको यो मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजाहरूसँग जोडिएको पाइन्छ ।