logo
२०८१ बैशाख ८ शनिवार

कञ्चनजङ्घाको काख फक्ताङ्लुङमा बन्दै भक्तशाला (फाेटाे फिचर)

फोटो फिचर |
प्रदेश |


2021-06-14-39690


चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङस्थित लिम्बू किराँतीहरुको पवित्र धार्मिक स्थलको रुपमा रहेको फक्ताङ्लुङ धाममा भक्तशाला (आवास भवन) निर्माण गर्न थालिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित कञ्चनजङ्घा हिमालको काखमा पर्ने फक्ताङ्लुङ धामको दर्शनमा जाने भक्तजनका लागि भक्तशाला निर्माण गर्न थालिएको हो ।
समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको फक्ताङ्लुङ धाम (कुम्भकर्ण) मा सेन्छेई फक्ताङ्लुङ संरक्षण सम्वद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण गर्न सुरु गरिएको हो । समितिका अध्यक्ष दीपक ताप्मादेनका अनुसार प्रदेश १ सरकारद्वारा विनियोजित १० लाख रुपियाँ रकमबाट भक्तशाला निर्माणको कार्य थालिएको हो ।
यस्तै भक्तशालाका लागि केही भक्तजन तथा देश विदेशबाट सङ्कलन भएको आर्थिक सहयोगसमेत करिव ६० लाख रुपियाँको लागतमा निर्माण कार्य सुरु गरेको ताप्मादेनले जानकारी दिनुभयो । किराँत धर्मालम्बीहरुको पवित्र आस्थाको केन्द्रको रुपमा रहेको फक्ताङ्लुङ धाममा दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका लागि भक्तशाला निर्माण गर्न थालेको पनि उहाँले बताउनुभयो । करिव तीनसय जना भक्तजन अटाउनसक्नेगरी ठूलो क्षमताको भक्तशाला निर्माण हुने पनि समितिले जनाएको छ ।
जिल्ला सदरमुकाम फुङ्लिङदेखि फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको रानीपुलसम्म सवारी साधनमार्फत र त्यहाँदेखि करिव पाँच दिनको पैदल यात्रापछि फक्ताङ्लुङ धाम पुगिन्छ । प्रत्येक वर्ष असोज कात्तिकको मौसममा सयौं भक्तजन फक्ताङ्लुङ दर्शनमा जाने गर्दछन् ।
ताप्लेजुङसहित पूर्वका पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरी जिल्ला तथा भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायतबाट किराँत धर्मावलम्बीहरु दर्शनमा जाने गरेका छन् । बाह्य पर्यटकहरु वर्षमा तीनसय जनाको हाराहारीमा फक्ताङलुङको दर्शन गर्न पुग्ने गरेको फुरुम्बोले बताउनुभयो ।
यता फक्ताङ्लुङलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न पछिल्लो समय सरकारले पनि चासो दिँदै आएको छ । हालसम्म फक्ताङ्लुङ क्षेत्रमा पर्यटन बोर्डले एउटा क्याम्प (बासस्थल) स्थापना गरेको समितिका सल्लाहकार ज्ञानु चरपे फुरुम्बोले जानकारी दिनुभयो । सङ्घीय सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८÷८९ का लागि फक्ताङ्लुङको विकासका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।