logo
२०८१ बैशाख ७ शुक्रवार

घुम्ती सुधारले गति लिँदै, दुर्घटना कम हुने आशा (फोटो फिचर)

फोटो फिचर |
प्रदेश |


2021-02-25-32650


ज्ञानु पंगेनी
कावासोती , फागुन १३ गते । नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा दाउन्ने क्षेत्रमा पर्ने खतरनाक घुम्तीहरु सुधार गरिने भएको छ ।
नारायणगढ – बुटवल सडक खण्डलाई चार लेन बनाइँदैछ । तर , नवलपरासी पूर्व र पश्चिममा पर्ने दाउन्नेको करिब १२ किलोमिटर क्षेत्र भने, तीन लेन मात्रको बन्नेछ । यस क्षेत्रको भौगोलिक बनावटका कारण दाउन्नेमा सडक विस्तारको काम तीन लेन मात्र हुनेछ ।
अहिले सडक विस्तारको काम धमाधम भईरहेको छ । विगतमा सबैभन्दा बढी दुर्घटना हुने दाउन्ने पहाडको ‘एस’ मोडलाई सुधार गर्ने काम भइरहेको छ । दाउन्ने पहाडको सबैभन्दा खतरनाक र साँघुरो घुम्ती ‘एस’ मोडको पहाड काट्ने काम तीव्र पारिएको छ । सडकको दायाँ बायाँ दुवैतर्फबाट पूरै पहाड काटेर सडक विस्तारको काम चलिरहेको छ ।
साविकको सडक जुन डिजाइन गति (स्पीडमा) राखिएको थियो त्यो, डिजाइन स्पीडभन्दा नयाँ बन्ने सडकको डिजाइन स्पीड बढ्ने हुँदा मोड सुधार गरी फराकिलो बनाउनुपर्ने , ग्रेड हाई भएकाले ग्रेड सुधार गर्नुपर्ने भएकाले ‘एस’ मोडको पहाड काटेर फराकिलो बनाउन लागेको सडक विस्तार आयोजनाका नवलपरासी पश्चिमका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो ।
‘एस’ मोडको वातारणीय प्रभाव मूल्याङ्कन गर्दा ३५० मिटर लम्बाइ , २५० मिटर चौडाइ र ५ मिटर गहिराइसम्मको माटो निकाल्न मिल्ने अनुमति पाएपछि साविकको सडकको सेन्टरबाट २५÷२५ मिटर दायाँबायाँको माटो निकालेर सडक विस्तारकै लागि प्रयोग गरिएको पाण्डेले बताउनुभयो । सडक सीमाभन्दा बाहिरको माटो स्थानीय तहसंँगको समन्वयमा कसरी प्रयोग गर्न सकिन्छ सोहि अनुसार सम्झौता गरिनेछ ।
अब बन्ने नयाँ सडकमा साविकको कालोपत्रेमाथि काम नहुने उहाँले बताउनुभयो । ‘एस’ मोड पूरै सिधा नहुने तर  मोड फराकिलो र वारपार देख्न सकिने गरेर बन्ने उहाँले बताउनुभयो । ‘एस’ मोडको सुरुदेखि अन्त्यसम्म करिब ६ सय मिटर लम्बाइ छ । सडक विस्तारका क्रममा पर्ने सबै घुम्तीहरुमा सवारी वारपार देखिने गरी काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । ‘ जसले गर्दा यात्रा छिटो छरितो र दुर्घटनाको जोखिम पनि कम हुन्छ । ’ पाण्डेले भन्नुभयो – ‘हामीले सडक विस्तार गर्ने क्रममा निर्माण व्यवसायीसँग घुम्तीहरु सुधार गर्ने गरी काम गर्ने प्रस्ताव गरेका छौँ । सोही अन्तरगत ‘एस’ मोडमा काम हुँदैछ । अन्य घुम्ती पनि वातावरणीय प्रभाव मूल्याङकन गरेर निष्कर्ष के आउँछ सोही अनुसार काम गर्छौ । ’ पाण्डेले भन्नुभयो ।
सडक विस्तार अन्तर्गत दाउन्ने क्षेत्रमा रहेका खतरनाक घुम्तीलाई सुधार गरी सडकलाई सकेसम्म छोट्याउने र छिटो छरितो रुपमा यात्रा गर्न सकिने गरी काम अगाडि बढाइएको पाण्डेले बताउनुभयो ।