logo
२०८० चैत्र १५ बिहीवार



केशर महलको संरक्षण (सम्पादकीय)

विचार/दृष्टिकोण |




नारायणहिटी दरबार परिसर अतिक्रमण एवं क्याफेलगायतको प्रसङ्ग सेलाउन नपाउँदै फेरि यस्तै एक अर्को प्रसङ्गले चर्चा पाउन थालेको छ । नारायणहिटीबाट करिब ५० मिटरको दूरीमा रहेको केशर महलमा समेत व्यावसायिक प्रयोजनका नाममा ऐतिहासिक धरोहर मास्ने अर्को गिरोहको खेल सुरु भएको छ । एक सय वर्ष पुराना भौतिक संरचना पुराताìिवक महìवका सम्पदामा गणना हुनेमा १७० वर्ष पुरानो केशर महलको आफ्नै विशिष्ट महìव छ । नेपालकै प्रसिद्ध पुस्तकालय केशर पुस्तकालय रहेको केशर महल गार्डेन अफ ड्रिम्स नेपाल घुम्न आउने पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहिआएको सर्वविदितै छ । केशर महलमा सङ्ग्रहित अमूल्य पुस्तक, कलाकृति, आखेटोपहार तथा स्वयंमा यस भवनको डिजाइन आफैँमा अद्वितीय नमुना तथा विशेषता हुन् । यस्तो अद्वितीय बेजोड ऐतिहासिक धरोहरको संरक्षण एवं संवद्र्धन राष्ट्रको मुख्य प्राथमिकतामा पर्नुपर्ने तथ्यमा सायदै दुई मत होला ।

वि.सं २०७२ को गोर्खा भूकम्पपछि अन्य धेरै ऐतिहासिक धरोहरजस्तै केशर महल पनि क्षतिग्रस्त भयो । अमूल्य कलाकृति तथा पुस्तक नष्ट हुने अवस्थामा समेत पुगे । अमूल्य पुस्तक तथा कलाकृतिहरू बोरामा पोको पारेर कुनातिर थन्क्याउनुपर्ने स्थितिसम्म पनि आयो । केशर पुस्तकालय गइराख्ने पाठक तथा अनुसन्धानदाताका लागि नौलो अप्रिय दृश्य भयो । केशर महलको पुनर्निर्माण नै यसको संरक्षणको एक मात्र विकल्प थियो र हो पनि । फलस्वरूप भूकम्पको केही समयपछि यसको पुनर्निर्माण गर्न सुरु गरियो । पुनर्निर्माण यही मङ्सिरभित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर विडम्बना हालसम्म पुनर्निर्माणको ६० प्रतिशत कार्य मात्र सम्पन्न भएबाट त्यहाँ भइरहेको लापरबाहीको अनुमान सहजै गर्न सकिन्छ ।

योजना अवधि पूूरा भइसके पनि केशर महल पुनर्निर्माणको झन्डै ५० प्रतिशत काम बाँकी नै छ । काम बाँकी भए पनि पुनर्निर्माण भइसकेपछि यसको व्यापारिक उपयोगका लागि योजनाहरू बुनिन सुरु भइसकेका छन् । पुनर्निर्माणपछि केशर महलको संरचना के कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन अहिले विवादमा पर्न थालेको छ । अध्ययन प्रतिवेदनले केशर महल तथा यसले चर्चेको ४२ रोपनीभन्दा बढी क्षेत्रफललाई मुख्यतया व्यापारिक प्रयोजनमा जोड दिएर उपयोग गर्ने नीति लिएको तथ्यहरू बाहिर आउन थालेका छन् । पात्रहरूको चलखेल त्यसैअनुरूप अगाडि बढ्न थालेको छ । यस अध्ययन प्रतिवेदनअनुरूप केशर महलको मुख्य विशेषता तथा अभिन्न अङ्गको रूपमा रहेको केशर पुस्तकालयलाई केही सानो क्षेत्रमा सीमित पारेर पसल, क्याफे, डान्सबार आदिलाई प्रधानता दिने सपना बुनिँदै छ । यसबाट केशर महल तथा पुस्तकालयले आफ्नो मौलिक अस्तित्व एवं विशेषता गुमाउने मात्र नभई अत्याधुनिक डिस्को बार, पसल, क्याफेका रूपमा विकसित हुने निश्चित देखिन्छ । केशर महलको ऐतिहासिक महìवलाई धुलिसात पार्न पात्रहरू सक्रिय छन् । यद्यपि कतिपय अधिकारी भने केशर महलको पुराताìिवक महìव जोगाउन पनि यत्नरत भएको तथ्यसमेत बाहिर आएको छ ।

दिनप्रति दिन मुलुकका ऐतिहासिक तथा मौलिक धरोहर पैसा कमाउने तथा व्यापारीलाई पोस्ने नाममा मासिँदै जाने हो भने नेपालले गौरव गर्ने के मा ? यस्तै नीति रहिराख्ने हो भने हिजोसम्म ऐतिहासिक धरोहरको मुलुक नेपाल भोलि क्याफे, पसल तथा कङ्क्रिटको जङ्गलमा रूपान्तरित हुने तथ्य शङ्कारहित छ । केशर महल जस्तो मुलुकले नै गौरव गर्ने थलोलाई पूर्ववत् रूपमा कायम राख्न आमजनता, राजनीतिक दल तथा अन्य सरोकारवालाले सरकारलाई घच्घच्याउने कार्यमा ढिलाइ गर्नु हुँदैन । हिजोको नारायणहिटीको अतिक्रमण तथा व्यापारिक प्रयोजनको रोग केशर महलमा सर्न नदिन सरकारले नै नियन्त्रणात्मक उपाय खोजी हाल्नु उचित हुन्छ । भावी सन्ततिका लागि यस्ता ऐतिहासिक धरोहरको संरक्षण एवं संवद्र्धन सरकारको मुख्य प्राथमिकता होइन र ? ऐतिहासिक सम्पदामा पटक पटक यस्ता अतिक्रमणमा कर्मचारी र कतिपय मन्त्री भएर पदमा बसेकाहरू मिलेमतो, फितलो नीति नियम तथा सरोकारवाला सरकारी निकायहरूको परिणति हो । यसको निराकरणका लागि सरकारमा दृढ इच्छाशक्ति एवं सशक्त कानुनी व्यवस्थाको विकल्प देखिँदैन । हरेक स्थान र सम्पदा व्यापारिक प्रयोजनका लागि हुन सक्दैन । केशर पुस्तकालय जस्तो विद्याको मन्दिर, त्यो दरबारको वैभव र ऐतिहासिक सुन्दरता जोगाउन नीतिगत तहमै गम्भीर विमर्श वाञ्छनीय छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?