logo
२०८० चैत्र १५ बिहीवार

  १३ जिल्लामा पाँच सय बढी संक्रमित  



रेकर्ड तोड्दै कोरोना ग्राफ : सक्रिय सङ्क्रमित ४७ हजार नाघे

स्वास्थ्य |
मुख्य समाचार |


रेकर्ड तोड्दै कोरोना ग्राफ : सक्रिय सङ्क्रमित ४७ हजार नाघे


काठमाडौं, माघ ५ गते । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा संक्रमितको सङ्ख्या ४७ हजार ९२९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ३० हजार २०८ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ४६ हजार ५१५ जना होम आइसोलेसन छन् । त्यस्तै एक हजार ४१४ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १६९ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् ।

प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीनजना आइसीयूमा, बागमती प्रदेशमा ९७ आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा १७ जना आइसीयूमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा २३ जना आइसीयुमा, कर्णाली प्रदेशमा एक जना आइसीयूमा उपचररत छन् । सुदूरपश्चिममा पाँच जना आइसीयू र दुई जना भेनन्टलेटरमा उपचाररत छन् ।

मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलानचोक, कास्की, बाँके, रुपन्देही र कैलालीसहित १३ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धनुषा, पर्सा, नवलपरासी पूर्व, दाङ र कन्चनपुर गरेर पाँच जिल्लामा दुईभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टा नौ हजार ५०२ नयाँ सङ्क्रमित थपिए

बुधबार नेपालमा कोरोना सङ्क्रमण हालसम्मकै धेरै पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ५०२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ७८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ५०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पाँच हजार ३३१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ८५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले बुधबार भएको सङ्क्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा चार जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ६२८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोभिड सङ्क्रमण दैनिजक बढिरहेकाले सबै सङ्घसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ । सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सङ्क्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ’, उहाँले भन्नुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?