logo
२०८० चैत्र १५ बिहीवार



महोत्तरीमा क्याम्पस प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन

खुला |




महोत्तरी समाचारदाता
जलेश्वर, माघ ५ गते । क्याम्पसको लापरवाहीले परीक्षामा सामेल हुन नपाएको भन्दै विद्यार्थीले महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शन गरेका छन् । रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका विद्यार्थीले बुधबार प्रर्दशन गरेका हुन् । परीक्षामा सामेल नभएका १० विद्यार्थीले मसालसहित प्रर्दशन गरेका हुन् । उनीहरुले क्याम्पसका प्रमुखको राजीनामा मागेका छन् ।

क्याम्पसको लापरवाहीले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा दिनबाट आफूहरु बञ्चित भएको भन्दै विद्यार्थीले क्याम्पसको परीक्षा शाखामा तालाबन्दी र क्याम्पस प्रमुखको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । विद्यार्थीले बुझाएको फारम क्याम्पसले समयमै राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा नपठाउँदा परीक्षा छुटेको भन्दै उनीहरु आन्दोलिन भएका हुन् ।

ग्रेड वृद्धिको लागि अंग्रेजी विषयको परीक्षा दिन आफूहरुले फारम भरेको र परीक्षाको लागि प्रवेशपत्र लिन जाँदा क्याम्पसले एक वर्ष ढिला भएको भन्दै फर्काएपछि उनीहरु आक्रोशित भएका हुन् ।

विद्यार्थीको आन्दोलनपछि क्याम्पस प्रमुख बलराम पाण्डेय, सहायक क्याम्पस प्रमुख आलम राइनले यसको जिम्मेवारी परीक्षा शाखाका प्रमुख श्रीराम मिश्रले लिनुपर्ने बताउँदै आएका छन्। यता परिक्षा शाखा प्रमुख मिश्रले कक्षा ११ र १२ को परीक्षासँग सम्बन्धित क्रियाकलाप क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखले हेर्ने गरेकोले उहाँहरुले जिम्मा लिनुपर्ने बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?