logo
२०८१ बैशाख ७ शुक्रवार



कोभिड अस्पताल पुनः सञ्चालन

प्रदेश |




सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ ३ गते । बजेट अभावमा दुई महिनादेखि बन्द अवस्थामा रहेको सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । गत मङ्सिर १ गतेदेखि बन्द सिन्धुली अस्पताल मातहतमा रहेको उक्त अस्पताल जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि शनिबारबाट पुनः सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले बजेटको व्यवस्था गरेपछि करारमा कर्मचारी राखेर अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीलाई तलब दिन नसकेर दुई महिनाअघि बन्द भएको थियो । अहिले मन्त्रालयले करारमा कर्मचारी राख्न मिल्ने भनेर बजेट पठाएको छ । पहिले काम गरेका कर्मचारीलाई बोलाएर करारमा तीन महिनाका लागि भर्ना गरी अहिले अस्पताल सञ्चालनमा ल्याइएको छ । ” अहिले नौ जना कर्मचारी कार्यरत रहेको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार दुई महिनाअघि तलब खुवाउन नसकेपछि ४९ जना स्वास्थ्यकर्मीलगायतका कर्मचारीलाई बिदा गरी अस्पताल बन्द गरिएको थियो । स्थानीय तह, राजनीतिक दल, प्रशासन, नेपाली सेना, रेडक्रसकर्मीलगायतको सक्रियतामा झन्डै तीन करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरी एक वर्षअघि सञ्चालनका लागि सिन्धुली अस्पताललाई जिम्मा दिइएको थियो ।

कोरोनाको दोस्रो लहरसँगै गत वैशाख महिनादेखि ५० शøयाको उक्त कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । “उक्त अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा छ,” अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले भन्नुभयो, “कर्मचारी व्यवस्थापन गर्न नसक्दा अक्सिजन प्लान्ट पनि कति दिन चल्ने हो ? अहिलेसम्म आइपुग्दा दुई करोड रुपियाँ खर्च भइसकेको छ । ” प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि दिएको ६० लाख रुपियाँ गत कात्तिकमा सकिएपछि अस्पताल बन्द भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?