logo
२०८१ बैशाख ८ शनिवार



मिडिया अध्ययनका डेढ दशक

विचार/दृष्टिकोण |




डा. निर्मलमणि अधिकारी

काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को प्रस्तावनामा कला, विज्ञान, व्यवस्थापन, प्रविधिजस्ता विविध क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि विश्वविद्यालयको स्थापना गरिएको उल्लेखित छ । काठमाडौँ विश्वविद्यालयका विज्ञान, इञ्जिनियरिङ, मेडिकल साइन्स र व्यवस्थापन सङ्कायभन्दा पछाडि मात्रै कला सङ्कायको स्थापना भएको थियो । मिडिया अध्ययन कार्यक्रम स्कुल अफ् आर्ट्स (कला सङ्काय) अन्तर्गत भाषा तथा आमसञ्चार विभागको चार वर्षे स्नातक शैक्षिक कार्यक्रम हो । मिडिया अध्ययन स्नातक तहको कार्यक्रमले लगभग डेढ दशक समयअवधि पूरा गरिसकेको छ । अब स्नातकोत्तर तहमा पनि मिडिया अध्ययन कार्यक्रम सुरु गर्ने तयारी भइरहेको छ । स्नातकोत्तर तहको पाठ्यक्रम तयार पार्ने काम हुँदैछ । आगामी शैक्षिक सत्रबाट मिडिया अध्ययन स्नातकोत्तर तहको पठनपाठन सुरु हुने सम्भावना छ ।
विश्वविद्यालयमा तत्कालीन नेपाली र अङ्ग्रेजी विभागका प्राध्यापकलाई एउटै विभागमा गाभ्नका लागि नयाँ विभाग कुन बनाउने भन्ने सरसल्लाह हुँदा भाषा तथा आमसञ्चार विभाग जन्मिन पुगेछ । विश्वविद्यालयमा मिडिया अध्ययन आमसञ्चार पत्रकारिता विषयका प्राध्यापक नै नभएको अवस्थामा पाठ्यक्रम बन्यो । सम्बन्धित विधाको विज्ञ नै विश्वविद्यालयमा नभएको अवस्थामा बाहिरी आमन्त्रित व्यक्तिका भरमा बनाइएको पाठ्यक्रमकै आधारमा मिडिया अध्ययनमा स्नातक तहको पठनपाठन पनि सुरु गरिएको थियो ।

विश्वविद्यालयमा सबैभन्दा पहिलो उल्लेख्य कार्य भनेको पाठ्यक्रममा परिवर्तन गरियो । पहिलो चरणमा पुरानो पाठ्यक्रममा केही परिमार्जन गरिएको भने दोस्रो चरणमा पूरै नयाँ पाठ्यक्रम निर्माण गरियो । चार वर्षमा पठनपाठन गरिने ४० भन्दा बढी विषय समाविष्ट पाठ्यक्रम निर्माण गर्नु सहज कार्य थिएन । त्यो कार्यभारलाई अवसरका रूपमा उपयोग गरियो । विभागमा रहेका नेपाली र अङ्ग्रेजी पढाउने सहकर्मीहरूको पनि सहयोग लिँदै नयाँ पाठ्यक्रम कार्यान्वयनमा अघि बढियो । अर्को उल्लेख्य कार्य भनेको भाषा तथा आमसञ्चार विभागबाट अनुसन्धान पत्रिका (जर्नल) प्रकाशन भयो । राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरका कार्यशाला तथा सङ्गोष्ठीहरू (सिम्पोजियम, सेमिनार, कन्फरेन्स आदि) पनि हामीले आयोजना गर्न सफल भयौँ ।

समयक्रममा विश्वविद्यालयको मिडिया अध्ययन पाठ्यक्रम देशभित्र र वैश्विक तहमा पनि निकै प्रशंसा कमाएको पाठ्यक्रम ठहरिएको छ । कुनै पनि पाठ्यक्रमको गुणवत्ता र सफलताको मूल्याङ्कन गर्नका लागि विश्वव्यापी रूपमै मान्य केही मापदण्डहरू छन् । संयुक्त राष्ट्रसङ्घीय निकाय युनेस्कोले विकासोन्मुख देशहरूका पत्रकारिता पाठ्यक्रमको तुलनात्मक विश्लेषणका लागि बनाएका सूचकहरूको आधारमा हेर्दा काठमाडौँ विश्वविद्यालयको मिडिया अध्ययन पाठ्यक्रमलाई उत्कृष्ट मानिएको तथ्य यहाँनेर उल्लेख्य छ ।

यो पाठ्यक्रममा पत्रकारिता सीप, अत्याधुनिक मिडिया प्रयोग, मिडिया उत्पादन, व्यावसायिक सञ्चार, विज्ञापन र जनसम्पर्कजस्ता मिडिया सहयोगी प्रणाली, अनुसन्धान पद्धति, समाज विज्ञान, सञ्चार सिद्धान्त, दर्शन र नीतिशास्त्रको सुसंयोजन छ । पठनपाठनको माध्यम भाषा अङ्ग्रेजी रहेको छ भने नेपाली भाषालाई पनि अनिवार्य विषयका रूपमा समावेश गरिएको छ । सञ्चारका सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षमा जोड दिइएको छ । सीप र ज्ञान दुवै पक्षको समुचित समन्वय गरिएको छ । स्नातक तहको पाठ्यक्रममा अनुसन्धान पद्धतिका लागि जति पाठ्यभार यसमा छ, त्यति नेपालका अरू कुनै स्नातक कार्यक्रममा देखिँदैन । विद्यार्थीहरूले स्नातक तहमै शोधपत्र (थेसिस) पनि लेख्नुपर्छ । यसले अनुसन्धान संस्कृतिको प्रवद्र्धन भएको छ ।

कुनै बेला भूमण्डलीकरणका नाममा पश्चिमाकरणले संसारभरि नै रजगज गरेको थियो तर केही दशकदेखि विपश्चिमीकरण (डिवेस्टर्नाइजेसन), बहुसांस्कृतिकता र बहुविधात्मकतालाई बडो महìव दिन थालिएको छ । विश्वविद्यालयमा पठनपाठन भइरहेको मिडिया अध्ययनको पाठ्यक्रमलाई अध्येताहरूले विपश्चिमीकरण (डिवेस्टर्नाइजेसन), बहुसांस्कृतिकता र बहुविधात्मकतालाई अवलम्बन गरेको उत्कृष्ट पाठ्यक्रमका रूपमा चर्चा गर्ने गरेका छन् । अमेरिका, युरोप वा अन्यत्र जहाँकहीँका विश्वविद्यालयमा पत्रकारिता, आमसञ्चार, मिडिया अध्ययन वा यस्तै सम्बद्ध नामकरणसहित पठनपाठन हुने पाठ्यक्रममा रहेका नवीनतम सिद्धान्त र प्रविधिका साथ साथै नाट्यशास्त्र, वाक्यपदीय आदि जस्ता प्राचीन ग्रन्थका आधारमा निर्माण भएका सञ्चार सिद्धान्तलाई यो पाठ्यक्रममा स्थान दिइएको छ ।

पाश्चात्य दर्शनका साथसाथै वैदिक, बौद्ध, जैन, किरात, बोन दर्शनहरू र कन्फुसियस दर्शनलाई पनि पाठ्यक्रममा समावेश गरिएको छ । पाठ्यक्रमको स्थानीयकरणको सफल उदाहरण भनेर यो पाठ्यक्रमलाई विदेशी प्राध्यापक एवं अध्येताहरूले पनि प्रशंसा गरेका छन् । विभिन्न विदेशी विश्वविद्यालयका विद्यार्थी भाषा तथा आमसञ्चार विभागमा आई निश्चित विषयहरू पढी क्रेडिट ट्रान्सफर लिएर जाने गरेका छन् ।

चार वर्षे स्नातक तहको पढाइ सक्दा नसक्दै हाम्रा विद्यार्थीहरू व्यावसायिक जिम्मेवारीका लागि तयार भइसकेका हुने रहेछन् भन्ने डेढ दशकको अनुभवले देखाएको छ । कक्षा कोठाबाट समाचारकक्ष (क्लासरुम टु न्युजरुम) पुग्दा सहजै जिम्मेवारी सम्हाल्न सक्ने गरी विद्यार्थीहरू तयार भएको देखिएको छ । त्यसैले व्यावसायिक अभ्यास (इन्टर्नसिप) का लागि पठाइएका विद्यार्थीहरूमध्ये धेरैलाई तत् तत् संस्थाहरूले नै जागिर दिने गरेका छन् । फलस्वरूप देशका मूलधारका मिडिया हाउसमा विश्वविद्यालयका विद्यार्थी कार्यरत छन् । धेरै विद्यार्थीले स्नातक पढाइ सकेपछि आफ्नै व्यवसाय सुरु गरेर सफलता पाएका छन् ।

राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय संस्थाहरूले आयोजना गरेका प्रतियोगितामा संक्षिप्त फिल्म विधामा त धेरै पुरस्कार विश्वविद्यालयका विद्यार्थीले बारम्बार जित्ने गरेका छन् । विदेशका प्रतिष्ठित विश्वविद्यालयमा काठमाडौँ विश्वविद्यालयबाट मिडिया अध्ययनमा स्नातक तह पूरा गरेका विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल हुने गरेका छन् ।

यसरी अनेकौँ कारणले पनि विश्वविद्यालयको मिडिया अध्ययन स्नातक तहलाई निकै सफल शैक्षिक कार्यक्रम मानिएको हो । नेपालको परिवेश हेर्दा विश्वविद्यालयमा पढ्न तुलनात्मक रूपमा केही महँगो पर्ने हुनाले यसमा धेरै नेपाली नागरिकको पहुँच छैन भनेर आलोचना हुने गरेको छ । आमसञ्चार र पत्रकारिता सम्बद्ध संस्थाहरूसँग सहकार्य गरी छात्रवृत्तिको व्यवस्थामार्फत पहुँच वृद्धि गर्न सकिन्छ कि भन्नेतर्फ ध्यानाकर्षण भएको हुनाले यसबारे पहल सुरु हुने आशा गरिएको छ । पहिलो त विद्यार्थीहरूको सङ्ख्या कम हुनु, त्यसमा पनि स्नातक तहपछि विद्यार्थीको प्राथमिकतामा विदेश पर्नुले विश्वविद्यालयबाट शिक्षित एवं प्रशिक्षित बनेका मिडिया विधाका विद्यार्थीहरूको प्रत्यक्ष योगदान नेपालकै लागि जति हुन सक्थ्यो त्यति हुन सकेको छैन ।

काठमाडौँ विश्वविद्यालयमा मिडिया अध्ययन विधाको स्नातकोत्तर तह सञ्चालन भएपछि चाहिँ नेपालमै बस्ने विद्यार्थीहरूको सङ्ख्या वृद्धि हुने आशा राखिएको छ । विश्वविद्यालयको यस विभागमा पङ्क्तिकारपछि सुदर्शनप्रसाद दाहाल र हाल डा. सुधांशु दाहाल उक्त जिम्मेवारीमा रही मिडिया अध्ययन कार्यक्रमको उन्नयनको कार्य अघि बढेको छ ।

काठमाडौँ विश्वविद्यालय नेपाली जनताको सार्वजनिक सम्पत्ति हो । विज्ञान, प्रविधि, व्यवस्थापनजस्ता विधाहरूका साथसाथै नेपालका मौलिक कला, भाषा, संस्कृति, सम्पदाजस्ता विधाहरूमा पनि विश्वविद्यालयले थप योगदान गर्नुपर्छ भन्ने जिम्मेवारी बोध विश्वविद्यालय परिवारलाई भएको छ । भाषा तथा आमसञ्चार विभाग पनि उक्त क्षेत्रमा गर्न सकिने योगदानका लागि प्रयत्नशील हुनुपर्छ । मिडिया अध्ययन शैक्षिक कार्यक्रम डेढ दशक सफलतापूर्वक सञ्चालन गरिसकेको अनुभव लिएर थप नयाँ शैक्षिक कार्यक्रमहरू सुरु गर्ने तयारीमा यो विभाग जुटेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?