logo
२०८० चैत्र १६ शुक्रवार



अलैँचीको मूल्य वृद्धि

खुला |
प्रदेश |




नारायण तुम्बापो
फिदिम, मंसिर १८ गते । सुख्खा अलैँचीको मूल्य पोहोरको तुलनामा सत्ताइस प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिमन (चालिस किलो) बत्तिस हजारसम्ममा विक्री भएकोमा अहिले चौवालीस हजार रुपियाँसम्ममा किनबेच भइहेको छ ।

तीन वर्ष अगाडि प्रतिमन बीस बाइस हजार रुपियाँ कायम रहेको अलँैचीको मूल्य क्रमशः बढ्न थालेको हो । त्यसो त गएको असोज कात्तिकमा अझ धेरै बढेर एकाउन्न हजार रुपियाँसम्म पुगेको थियो । २०२० सालमा प्रतिमन असी रुपियाँमा विकेको बताइएको अलैँची २०७१ मा एक लाख बिस हजार रुपियाँसम्म पुगेको थियो ।

मूल्य घटेर लामो समयसम्म विस बाइस हजार रुपियाँ मात्रै कायम रहँदा किसान निराश भएका थिए । पछिल्लो समय पुनः बढ्न थाल्दा किसान उत्साहित हुन थालेका छन् । यसको व्यापारी पनि हर्षित छन् ।
यसपाली नेपाल र भारतको सिक्किममा उत्पादन घट्दा अलैँचीको मूल्य बढेको बताइन्छ । यसकासाथै पछिल्लो समय राम्रो मूल्य नपाउँदा अधिकांश किसानले नबेचेर घरमै राख्न थालेका थिए । यसले बजारमा अलैँचीको अभाव गराउँदा मूल्य बढेको पाँचथरका अलैँची व्यवसायी महासंघ केन्द्रीय उपाध्यक्ष नरेन्द्र अधिकारीले बताउनुभयो ।

प्रायः सवै ग्रामीण क्षेत्रमा सञ्चार र यातायातको सुविधा पुगेसंगै किसानलाई अलैँची बेच्न सहज भएको छ । बजार मूल्य बुझेर किसान आफैंले ढुवानी गरेर आफ्नो पहुँचको राम्रो दाम दिने व्यापारीकहाँ लगेर बेच्न पनि थालेका छन् । यो अवस्थाले अलैँची विचौलियाको माध्यमबाट नभई सिधै ठूला व्यापारीसम्म पुग्न थालेको छ ।

पाँचथरका किसानले विगतमा फिदिमका व्यापारीलाई अलैँची बेच्थे भने अहिले सिधै बिर्तामोडसम्म पु¥याउन थालेका छन् । यसरी बेच्न थालिदा किसानले आफूले इच्छाएअनुसार अलैँचीको दाम तोकेर विक्री गर्न पाउने स्थितिको पनि सिर्जना हुन थालेको छ । विगतमा व्यापारीले तोकेको मूल्य मा किसानले अलैँची बेच्नुपर्ने बाध्याता थियो ।

किन्नेबाट होइन अव बेच्नेबाट मुल्य तोकीन थाल्दा पनि किसानले अलैँचीबाट राम्रो मुल्य पाउन थालेका छन् । किसान सचेत हुनथाल्दा अलैँचीको मुल्यमा सुधार हुदैगएको राष्ट्रिय कृषक समुह महासंघ पाँचथर अध्यक्ष गणेश पोख्रेलले बताउनुभयो । पाँचथरबाट मात्रै वार्षिक दुई अर्व रुपियाँ बराबरको अलैँचीबाट आम्दानी हुनेगरेको छ । यहाँ झण्डै दुई हजार हेक्टर जमिनमा अलैची खेती हुनुकासाथै आठ सय मेट्रिक टनसम्म अलैँची फल्छ ।

यसको खेती नेपालका मध्यपहाडी ४० जिल्लाका चौध हजार ७०० हेक्टरमा भइरहेको पाइन्छ । खोल्सीको सुनको रुपमा चिनिने अलैँची खेती गर्नेको जीवनस्तर यसैको आम्दानीले समृद्ध पनि बन्दैगएको छ । पूर्वको इलाम, पाँचथर, ताप्लेजुङ हुदै पश्चिमको आछाम, डोडी, बैतडीसम्म हिजोआज अलैँची खेती विस्तार भइरहेको छ । महंगोमा विक्ने लोभले पाखो, खोल्सीमा मात्र रोपिइने अलैँची खेती अरु बाली लाग्ने खेतबारी र करेसामा किसानले मुख्य आयस्रोत  लिनेगरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?