logo
२०७८ मंसिर २३ बिहीवार



महिला हिंसाविरुद्ध जागरण

विचार/दृष्टिकोण |




ॐ कुमारी श्रेष्ठ
निजी तथा सार्वजनिक जीवनमा महिलामाथि लक्षित क्रियाकलापले उनीहरूलाई शारीरिक, यौनिक र मनोवैज्ञानिक रूपमा हानि पु¥याउँछ, त्यसैलाई महिला हिंसा भनिन्छ । नेपाली समाज हिन्दु धर्म, संस्कार र संस्कृतिबाट प्रभावित समाज हो । पितृसत्तात्मक संरचनाले सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक सबै क्षेत्रमा प्रभाव पारेको छ । छोरालाई महìव दिने तर छोरीलाई भेदभाव गर्ने प्रचलन छ । पितृ सत्ताले महिलालाई दोस्रो दर्जाको व्यवहार गरेको छ ।

हिजोआज छोरी जन्मनुभन्दाअघि नै हिंसाको सिकार भइसक्छन् । किनभने विज्ञानको विकासले छोराछोरी जन्मनुअघि लिङ्ग पहिचान हुने हुँदा छोरी भए भ्रूण हत्या हुने गर्छ । जन्मदेखि मृत्यु संस्कारसम्म छोरा र छोरीमा यो समाजले भेदभाव गरेको छ । समाजमा विद्यमान कुरीति, कुसंस्कार, भ्रूण हत्या, कुटपिट, गालीगलौज, बालविवाह, बहुविवाह, बलात्कार, यौन हिंसा, चेली बेचबिखन, दाइजो प्रथा, तराईमा विकराल समयाका रूपमा रहेको तिलक प्रथा तथा सुदूरपश्चिमतिरको छाउपडी र देउकी प्रथाले महिला हिंसा भइरहेको छ ।

महिलालाई नेपाली समाजमा प्रचलित उखान टुक्काले पनि होच्याइरहेको छ । समाजले महिलालाई १८ घण्टा काम गरी बेतलबी दासीजस्तै गरी प्रयोग गरिराखेको छ । घरको सम्पूर्ण कामको जिम्मा महिलाले गर्नुपर्छ । बालबच्चा जन्माउन, हुर्काउन, बूढाबूढीका स्याहारसुसार, खेतीपाती, व्यापार व्यवसाय, गाईबाख्रा चराउने, घाँसपात गर्ने यावत् काम महिलाले गर्नुपर्ने तर त्यसको मूल्य शून्य हुन्छ । हिजोआज महिला विभिन्न पेसाव्यवसाय गर्छन् तर पनि दोहोरो–तेहोरो भूमिका निर्वाह गर्नुपर्दा जीवनस्तर माथि उठ्न सकेको छैन । समान शक्ति र हैसियत भने पनि पितृप्रधान समाजले व्यवहारमा महिलालाई अझै पनि मनैदेखि स्वीकार गर्न सकिराखेको छैन । महिलामाथि भएको हिंसाविरुद्धको आवाज उठाउँदा, विभिन्न शक्ति केन्द्रबाट रोक्ने प्रयास भएको हुन्छ ।
विधुवामाथि भएको कहालिलाग्दो हिंसा हामीले सुन्दा अचम्म लाग्छ । विधुवाले राम्रो लुगा लगाउन नहुने, शृङ्गार गर्न नहुने, माछामासु, लसुन, प्याज खान नहुनेजस्ता गलत मानसिकताको विकास भएको छ । जिन्दगीभरि विवाह नगरी बस्नुपर्ने तर त्यही समाजको एक पुरुष विदुरले यो नियम पालना गर्नु नपर्ने अवस्था छ । पुरुषले श्रीमती मरेको तेह्रौँ दिनमै विवाह गर्न पाउने । पुरुषलाई खानेलाउने कुनै कुराको बन्धन नहुने, लाञ्छना नलाग्ने, रमाइलो गरी खान बस्न सबै पाउने प्रचलन छ । शिक्षित व्यक्ति र मानव अधिकारवादीबाट पनि यस्तो प्रथाको कडा प्रतिवाद हुन सकेको छैन ।

विभिन्न सङ्घसंस्था र मानव अधिकारवादीले झिनामसिना प्रयास गरे पनि यस्तो प्रकारको कहालिलाग्दो अत्याचार हट्ने सम्भावना कम नै देखिन्छ ।
नेपालको पश्चिमी भागमा रहेको कुप्रथा छाउपडी हिजोआज केही हदसम्म न्यूनीकरण भएको सुनिन्छ । नत्र छाउ बार्दा घरभन्दा टाढाको ठाउँमा छाउगोठ हुने भएकाले जङ्गली जन्तुहरूको भय र पुरुषले एक्लोपनको फाइदा उठाउँदै बलात्कारलगायत विभिन्न किसिमको हिंसा हुने गर्दथ्यो ।

जातजाति र संस्कृतिअनुसार महिला हिंसा विभिन्न किसिमका छन् । बालविवाह, सट्टा विवाह, बहुविवाह, बैनाबट्टा जस्तो विषयलाई सांस्कृतिक रूपमा संरक्षण गर्नु लाजमर्दो हो । तराईमा केटा हेरेर केटीको तर्फबाट पैसा तिर्नुपर्ने, घर खान्दान र धेरै पढेकालाई ठूलै दाइजो दिनुपर्ने समस्याले गर्दा त्यहाँ विकराल रूपमा हिंसा छ । त्यस्तै कुनै जातिमा केटाको तर्फबाट केटीको बाबुलाई पैसा तिरेर छोरीसँग विवाह गर्ने मञ्जुरी लिने परम्परा देखिन्छ । यो चलनले एउटा मानवलाई पैसामा मोलतोल गर्ने अवस्थासम्म पु¥याएको देखिन्छ ।
महिलाले १८ घण्टा काम गर्नुपर्ने, कृषिमा महिलाले करिब ८५ प्रतिशत काम गर्छन् र पनि कृषिबाट आएको आम्दानी घरको मूली पुरुषको हातमा जान्छ । भूमिको स्वामित्व पनि पुरुषको हातमा छ ।

नेपालको संविधान र त्यसपछि बनेको कानुनले अंश र वंशमा महिलाको हक स्थापित गरेको छ । छोराछोरीमा सम्पत्तिमाथिको समान अधिकार, अंश र वंशमा समान अधिकार कानुनले दिलाए पनि सामाजिक अड्चन छन् । महिलाले अंश पाएको र आफ्ना बालबच्चालाई वंशजको नागरिकता दिलाउन सकेका छैन । अंश पाई भोगेको त्यति देखिएको छैन । छोराछोरी दुवैलाई पैतृक सम्पत्तिमाथि समान हैसियत राखे पनि बाबुको सम्पत्तिको अंश दिदीबहिनीले दाजुभाइसँग लिन सकेको छैन । माइतीले घर–माइती गराइहाल्छन् भनेर डटेर अंश लिन सकेका छैनन् । बाबुआमाका लागि आफ्नो सन्तान छोराछोरी जे भए पनि बराबरी हो तर छोरीको विवाहपछि बाबुआमा छोरीको जिम्मेवारीबाट पन्छिएको देखिन्छ । एउटी महिलालाई मेल विवाहमा फरक नपर्ला तर बेमेल विवाह भएको छ र महिलामा शिक्षा छैन, सीप छैन भने कहाँ गएर बस्ने खाने ? त्यो अवस्थामा पैतृक सम्पत्ति भएको भए एउटी महिला बाँच्न र आफूबाट जन्मेको सन्तान बचाउन सहज हुन्छ । त्यसैले एउटा महिला यो समाजको महìवपूर्ण पाटो भएकाले आफूबाट जन्मेको सन्तानलाई नाम र नागरिकको अधिकार दिलाउनका लागि अंश र वंशमा संविधान र कानुनमा महिलाले पाएको अधिकार कार्यान्वयन हुन आवश्यक छ ।

पति पत्नीबीच अदालतमा मुद्दा परेमा त्यही घरमा बसी मुद्दामामिला गर्नुपरेमा ती महिला कति सुरक्षित होली, एक पटक सोचौँ त ? एउटी महिलालाई छोरासरह शिक्षा, अनिवार्य सीपमूलक काम र छोराछोरीमा भेदभाव नगरी समान अधिकार कार्यान्वयन गराउनु जरुरी छ । अहिले त दिनदिनै महिला बलात्काका घटना सञ्चारमाध्यम र पत्रपत्रिकामा आउने गर्दछ । ७० वर्षको आमा र सात महिनाको बच्चीसम्म बलात्कारको सिकार भएका छन् ।
बाल्यकाल पिता, युवा अवस्थामा श्रीमान् र वृद्ध अवस्थामा छोराको अधीनमा रहनुपर्ने बाध्यता छ । महिलाको निरन्तर सङ्घर्षले पैतृक सम्पत्ति र समान शिक्षा भन्ने कानुनमा लेखाउन त हामी सफल भएका छौँ । रोजगारीमा समान सहभागिता, घरेलु काममा महिला पुरुष दुवैको समान सहभागिता, निर्णय प्रक्रियामा समान सहभागिता भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।

महिलामाथि हुने कामको बोझले प्रजननमा पनि असर पर्ने देखिन्छ । कमजोर र अस्वस्थ आमाबाट जन्मने बच्चा पहिले गर्भमा नै तुहिने र जन्मेको सन्तान पनि कुपोषणको सिकार हुने गर्छ । त्यसको असर समाज र देशमा नै परेको देखिन्छ । महिला धेरै धार्मिक हुन्छन् । धर्मकर्ममा महिलाले पूरा ठेक्का लिएको देखिन्छ । जातजाति र धर्मसंस्कारअनुसार व्रत बस्ने गर्छ । तीजको निराहार व्रत पानी पनि नखाई बसेको पाइन्छ । पतिले पत्नीको दीर्घायुको कामना गरी व्रत बसेको पाइँदैन । पति र छोराछोरीको प्रगतिका लागि परिवारका लागि भनी विभिन्न किसिमको निराहार व्रत बसेको पाइन्छ । त्यसको कारण महिलाको स्वास्थ्यमा प्रतिकूल असर पारेको हुन्छ । महिलालाई मात्र परिवारको चिन्ता हुने तर पुरुषलाई चिन्ता भएको देखिँदैन ।

हाम्रो परम्परा अचम्म लाग्छ । श्रीमान्लाई भगवान् मान्ने परम्परा छ । हाम्रा धार्मिक ग्रन्थहरूले पनि महिलालाई विभेद गरेको छ । श्रीकृष्ण चरित्र, महाभारत, रामायण र स्वस्थानी कथामा पनि महिलाले आफूमाथिको हिंसा चुपचाप सहेको देखिन्छ ।
तीजका गीतको माध्यमबाट महिलाले भोगेको हिंसाको प्रकरण छचल्किएर, वेदनासहितको गीत पोखिएको देखिन्छ । तीजका दिन एक दिन भए पनि स्वतन्त्र भएजस्तो व्यवहारले देखाउँछ । त्यो सबै परिदृश्य हेर्दा महिलाले पितृसत्ताले दिएको दासत्व खुसीले स्वीकार गरेको देखिँदैन । समान शक्ति र हैसियत भने पनि पितृप्रधान समाजले व्यवहारमा महिलालाई अझै पनि मनैदेखि स्वीकार गर्न सकिराखेको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?