logo
२०७८ मंसिर २३ बिहीवार



'बतासले पनि कहिलेकाहीं सही ठाउँमा ल्याउँदो रहेछ'

कला |
पढ्नै पर्ने |


'बतासले पनि कहिलेकाहीं सही ठाउँमा ल्याउँदो रहेछ'


काठमाडौं, कात्तिक २० गते । नेपाली सांगीतिक आकाशका एक विशिष्ट नक्षत्र वरिष्ठ गीतकार प्राध्यापक डा. कृष्णहरि बरालको पहिलो रेकर्ड भएको गीत ‘म भक्त हुँ यो देशको’ हो । ‘के भुल भयो प्रिया’ ‘यी हल्लाहरु हुन्’, देखि चलचित्रको सर्वाधिक चर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ लगायत ‘किन हजुर नबोलेको’, ‘जमाना खराब छ’ जस्ता आदि गजलहरुले विगतदेखि अहिलेको नयाँ पुस्तासम्मको मन जित्न सफल हुनुहुन्छ ।
कक्षा ५ मा कापी पुरस्कार
वरिष्ठ गीतकार कृष्णहरि बरालले कक्षा पाँचमा पढ्दा विद्यालयको एक साहित्यिक प्रतियोगात्मक कार्यक्रममा एउटा गीत प्रस्तुत गर्नुभएको थियो – ‘बारीको छेऊमा कुर्ले ढुकुर कुर्लिन्छ, नेपाल जाँदा सुनकोशी उर्लिन्छ’ भन्ने । अरु सहभागीले रेडियोमा बज्ने, सुनिने र चलेका गीत प्रस्तुत गरेपनि उहाँले भने गाउँघरमा पहिलादेखि गाइने र सुनिने यो पुरानो गीत मौलिक भएका कारण कापी पुरस्कार पाउनुभएको थियो । त्यसबेला धेरै दिन लगाएर काठमाडौं आउने, जाने हुन्थ्यो, अहिलेको जस्तो यातायातको सुविधा थिएन । त्यो गीत काठमाडौंलाई नेपाल भनिने सन्दर्भमा थियो, बराल सम्झनुहुन्छ ।

पहिलो रेकर्ड भएको गीत ‘म भक्त हुँ यो देशको’
उहाँको करिब चार दशक लामो सांगीतिक यात्रामा अहिलेसम्म साढे सात सयभन्दा बढी गीत रेकर्ड भएका छन् । आजभोलि त गीत, कविता, किताब अथवा जे लेखेपनि छापिदिन्छु भन्ने धेरै छन् तर जसले सुरुमा सहयोग गरेको हुन्छ, उसको गुण अन्यभन्दा विशेष रहने उहाँ बताउनुहुन्छ । वि.सं. २०३३ सालमा बीए पास गर्नुभएको उहाँको पहिलो पटक हास्यव्यङ्ग्य गोरखापत्रमा छापिएको थियो । उच्च शिक्षाका लागि जनकपुर रहनुभएका बरालले यसअघि २०३२÷३३ सालमा ‘विपरीत व्यथाहरु’ शीर्षको गद्द कविता ‘कर्मयुग’ मा छापिएका थिए । त्यसताका ‘आकांक्षा र इच्छा मेरा घाइते मात्र रहे भने, दाग सिवाय चन्द्रमाको म के हुन सकुँला र ?, यो मायाले तिमीलाई नै किन माग्छ ? जस्ता कविताहरु ‘उषा’ लगायतका पत्रिकामा लेख्नुभएको उहाँ सम्झनुहुन्छ । त्यसबेला जनकपुरमा मैथली भाषाका प्रध्यापक धिरेन्द्र शर्माले राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलले प्रकाशन गर्न लागेको पत्रिकामा गीत, कविता लेख्न गरिएको सुझाव अनुरुप बरालले ‘म भक्त हुँ यो देशको’ गीत लेख्नुभयो । तर, पञ्चायत समर्थक सो विद्यार्थी मण्डलको पत्रिकामा त्यो छापिएन । त्यसपछि सोझै काठमाडौं आउनुभएको उहाँले रेडियो नेपालमा दश वटा गीत दिनुभयो जसमध्ये म भक्त हुँ यो देशको सहित छ वटा गीत एकैचोटी स्वीकृत भयो । त्यो समय रेडियो नेपालको ‘प्रश्नोत्तर’ कार्यक्रममा मदन ढकाललाई प्रश्न गरिरहन्थे, बराल बताउनुहुन्छ । प्रारम्भिक चरणमा पत्र मञ्जुषामार्फत नै यसरी रेडियो नेपालसँग नजिक हुनुभएको उहाँलाई पाण्डव सुनुवारले रेडियो नेपालसँग अझ प्रत्यक्षरुपमा भेटघाट गराउनेदेखि म भक्त हुँ..बोलको गीत रेकर्ड गर्न सुझाव र सहयोग गर्नुभयो । ‘बीए पछि भने प्रश्नोत्तरमा प्रश्न लेख्न छोडें । उहाँहरुले प्रश्न किन लेख्न छोडेको भन्दा आजभोलि गीत लेख्छु भनेको थिएँ । उहाँहरुले प्रोत्साहन गर्नुभएको थियो ।’, बरालले बताउनुभयो । यसपछि पाण्डव सुनुवार र सुरेश श्रेष्ठको स्वरमा बरालको त्यो पहिलो गीत रेकर्ड भयो ।

गोरखापत्रमा पहिलो हास्यव्यङ्ग्य
आफूद्धारा लिखित पहिलो हास्यव्यङ्ग्य छाप्न रेडियो नेपालका चर्चित समाचार वाचक एवम् गोरखापत्रका कार्यरत दुर्गानाथ शर्मालाई अनुरोध गर्न बराल पग्नुभयो । ‘उहाँले नाम के हो भन्नुभयो । मैले कृष्णहरि बराल भनें । त्यसपछि मैले हास्यव्यङ्ग्य ‘दारी’ को निवेदन गर्दा उहाँले पनि ठट्यौली गर्दै ए ! मेरो पनि दारी छ ल हेर्नुस् भन्नुभयो । र गोरखापत्रको ‘शनिवाश्चरीय’ मा यो महिना नै छापियो भने छापियो नत्र स्तर पुगेन भन्ने ठान्नु भन्नुभयो । तर, महिनाको पहिलो साता नै प्रकाशन भएछ । जस्तो दिएँ,पहिलो पटक नै थपक्क छापिदिनुभयो । उहाँ आज त स्वर्गीय भइसक्नुभयो । मैले उहाँलाई विशेष सम्झनैपर्छ ।’, उहाँ सम्झनुहुन्छ ।

छ वर्षको उमेरमा आमा गुमाएँ,
डा. बराल छ वर्ष उमेरमा नै उहाँको आमा पद्मकुमारी बरालको मृत्यु भएको हो । यसकारण म हजुरआमा, हजुरबुवासँग सुत्थे, उहाँ बाल्यकाल सम्झनुहुन्छ । हजुरबुवा र बुवाले गर्नुहुने नियमित शास्त्र अध्ययनको प्रभाव उहाँमा छ । ‘बुवाले जिल्ला, अञ्चलहरु सम्झन गाह्रो भए गीत बनाएर कण्ठ गर भन्नुहुन्थ्यो । गाउँमा थोरैको घरमा रेडियो हुन्थ्यो । समाचार मात्रै बजाएको सुन्दा कतिबेला गीत सुन्न पाइएला जस्तो हुन्थ्यो ।’, बराल बताउनुुुहुन्छ । एसएलसीमा कृषि विषय पढ्नुभएको बरालले इन्टरमा आर्टस् पढ्नुभयो ।
वि.सं. २०३६ मा मामा पर्नेले दिनुभएको सुझाव अनुसार उहाँले शिक्षण पेशा पनि अंगाल्नुभयो । पछिल्लो समय त्रिभुुवन विश्वविद्यालयको प्रध्यापन पेशाबाट पनि आजभोलि अवकाश जीवन उहाँ बिताइरहनुुभएको छ । प्रध्यापन पेशा र सांगीतिक क्षेत्र दिल र दिमाग जस्तै अन्तरसम्बन्धित रहेको उहाँ बताउनुहुन्छ ।
‘बीचमा सेक्सन अफिसरको पनि जाँच दिएँ । लिखितमा पास भए पनि इन्टरभ्युको वेटिङ लिस्टमा परें । समयमै नागरिकता बन्न नसक्दा पाकिस्तानमा अध्ययन गर्ने अवसर पनि गुमाएको छु । नभए म यो क्षेत्रमा न आएको भए, कृषि विशेषज्ञ पनि हुन सक्थें । तर, बतासले पनि कहिलेकाहीं सही ठाउँमा ल्याउँदो रहेछ । सृष्टिको सञ्चालकले मलाई यही बनाउन चाहन्थे ।’, बरालले आफ्नो विगतको अनुभव सुनाउनुभयो । यसैमा आधारित उहाँको एउटा भजन यस्तो छ – ‘सुखमा भेटुँ दुख मै, दुखसुख एकाकार होस्’ । दर्जनौं पुस्तक प्रकाशन भइसकेको उहाँको पछिल्लो समय ‘कथासिद्धान्त’ नामको पुस्तक प्रकाशनमा आएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?