logo
२०८० चैत्र १५ बिहीवार



ह्वासिङ सिमेन्टमा देखापरेको समस्या समाधानका लागि समिति गठन

खुला |





मुरारी अधिकारी
धादिङ, कात्तिक १० गते । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा निर्मित ह्वासिङ सिमेन्ट उद्योग र स्थानीयहरुबिच भएको विवाद समाधानको लागि उद्योग, स्थानीय प्रभावित र सरोकारवालाबीच छलफल भएको छ ।
उद्योग निर्माणमा स्थानीयहरुले सहयोग गरेको तर उद्योग निर्माणको चरणमा चरम लापरबाही भएको, जग्गाको जथाभाबी दुरुपयोग भएको गुनासो गर्दै स्थानीयहरुले उद्योग निर्माण गर्दा प्रयोग भएका जग्गाको संरक्षण र उचित मुअब्जाको माग गरेका छन् । धादिङको बेनिघाट रोराङ, गजुरी र सिद्धलेक गाउँपालिकाका स्थानीयहरु सम्मिलित ह्वासिङ सिमेन्ट नारायणी प्रालि प्रभावित सरोकार समितिले यसअघि नै विभिन्न १५ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइसकेका छन् ।
उद्योग निर्माण पूर्व स्थानीय र उद्योग सञ्चालकबीच विभिन्न सम्झौता भएको तर पछि कार्यान्वयन गर्न उद्योगले आनाकानी गरेको स्थानीयहरुको आरोप छ । आजको छलफलमा स्थानीयहरुले उद्योग बन्द गर्नु र उद्योग सञ्चालनमा रोक लगाउने मनसाय नभएको बताउँदै उद्योग निर्माणको क्रममा भएको क्षतिको भने क्षतिपूर्ति दिनुपर्ने बताएका थिए ।
यस्तै, उद्योग सञ्चालकले भने स्थानीयहरुलाई पहिलो प्राथमिकता दिएको बताउँदै उद्योग निर्माण गर्ने चरणमा उद्योगले स्थानीयहरुको लागि आवश्यक सहयोग गर्न तयार भएको बताएका छन् । छलफलमा स्थानीय र उद्योग सञ्चालकबीच विवाद समाधान नहुने देखिएपछि मङ्गलबारै सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण गरेको छ ।
मालपोत वा नापी कार्यालयका प्रतिनिधि, सम्बन्धित पालिकाका प्रतिनिधि, प्रभावित र कम्पनीको तर्फबाट एकएक जना प्रतिनिधि सम्मिलित समिति बनाएको र यसले उद्योग निर्माण स्थलको अध्ययन अवलोकनपछि त्यसको वस्तुस्थितिको प्रतिवदेन बुझाउने र आवश्यकतानुसार विज्ञको परामर्श लिने आशा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?