logo
२०८० चैत्र १६ शुक्रवार



बागमती प्रदेशसभाको बैठक १ बजे, मुख्यमन्त्रीले विश्वासको मत लिने

राष्ट्रिय |


बागमती प्रदेशसभाको बैठक १ बजे, मुख्यमन्त्रीले विश्वासको मत लिने


मकवानपुर, कात्तिक १० गते । बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । आवश्यक कर्मचारी खटाइएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् । प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाउनुभएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।

प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने उहाँले बताउनुभयो । कार्यपरामर्श समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली काँग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई÷दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?