logo
२०८१ बैशाख ७ शुक्रवार



लयमा फर्कने क्रम (सम्पादकीय)

विचार/दृष्टिकोण |




बडा दशैँ विस्तारै समापनतर्फ उन्मुख छ । विजया दशमीको टीका जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहे पनि आइतबारबाट कार्यालयहरू खुल्न थालेका छन् । कतिपय स्थानमा त दशमी एक दिन मात्रै टीका लगाउने चलन छ तर धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमासम्म नै टीका लगाइने प्रचलन रहेको छ । दशैँ मनाउन गाउँतिर गएकाहरू विस्तारै सहर फर्कन थालेका छन् । राजधानी काठमाडौँको जनजीवन पुरानै लयमा आउन प्रयास गर्दै छ । सडक बजारमा चहलपहल देखिन थालेको छ । उपत्यका भित्रने नाकाहरूमा सवारीसाधनको चाप बढ्दै छ ।

दशैँलगत्तै दोस्रो ठूलो चाड तिहार पनि सँगसँगै आउँदै छ । दशैँको माहोल र तिहारको उमङ्ग अलि फरक परिवेशमा हुने गर्छ । आमनेपाली, विशेषतः हिन्दुहरूले दुवै चाड धूमधामसाथ मनाउने गर्छन् । दशैँ र तिहार भनेको खुसी साट्ने मात्र नभई आर्थिक गतिविधिसमेत सक्रिय बनाउने अवसर हो तर गच्छेभन्दा बढी खर्च गर्दा व्यक्ति र परिवारको वासलात भने बिग्रन्छ । दशैँ सकिएको दुई सातापछि नै फेरि तिहारको बहार छाउनेछ । यी दुवै चाडले नेपाली नागरिकलाई नयाँ उत्साह र उमङ्ग थप्ने भएकाले यिनको आफ्नै महत्त्व र आकर्षण रहेको छ ।

वर्षभरिको महान् चाड मनाएर फर्किएका नागरिकले अब दैनिकी पुरानै लयमा मिलाउनुपर्ने अवस्था छ । दैनिकी पुरानै लयमा फर्कंदा उत्साह भने नयाँ उचाइमा पुगेको अनुभूति गर्न सकियोस् । पारिवारिक भेटघाट र दुःखसुख साटासाट गर्ने यो पर्वले हरेक नागरिकमा नयाँ ऊर्जा थपेको हुन्छ । यसले गर्दा अबको दैनिकी केही उत्साह र जाँगरले भरिएको हुनेछ । दशैँ सकिएलगत्तै सरकारले जनउत्तरदायित्व पूरा गर्ने गरी काम थाल्ने अपेक्षा गर्न सकिन्छ । सरकार बनेको झन्डै तीन महिनापछि मात्रै पूर्णता पाएको छ । दशैँको मुखैमा भएको सरकार विस्तारले जनतामा केही सकारात्मक आशा पलाएको छ । विगत सरकारले गरेका कतिपय गलत र संविधानविपरीत काम विस्तारै सच्चिएर जाने आमअपेक्षा रहेको छ । सरकारले पूर्णता पाएकाले अधुरा कामले गति लिने विश्वास गर्न सकिन्छ । राजनीतिक रूपमा बलियो र भरिलो आडभरोसा रहेको विगत सरकारले जनताका अपेक्षा पूरा गर्न सकेन । झन्डै दुई तिहाइ समर्थन रहेको सरकारले जनताभन्दा पार्टीको गुटको मात्र पक्षपोषण गर्न खोज्दा अप्रत्याशित परिणाम भोग्नु प¥यो । जनताले चाहेको राजनीतिक स्थिरता र लोकतन्त्रको प्रवद्र्धनका पक्षमा काम भएनन् । यसले गर्दा नयाँ सरकारले जनताका ती आशा र अपेक्षाप्रति ध्यान दिनु जरुरी छ । सरकार विस्तार भएपछि धेरै कामले गति लिने विश्वास जागृत भएको छ ।

कोरोना कहरले थिल्थिलो भएको जनजीवनलाई नयाँ गति दिने दिशामा सरकार अग्रसर भएको छ । गएको वर्ष नेपाली नागरिकले दशैँ, तिहारलगायत ठूला चाड घरमै थुनिएर मनाउनु परेको थियो । पोहोर साल यतिखेर अवस्था सहज थिएन । परिवारजनले खुला रूपमा दशैँ मनाउन पाएका थिएनन् । सबै घरभित्रै थुनिनुपर्ने बाध्यता थियो । तर नयाँ सरकार बनेलगत्तै कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा प¥यो । सरकारले हरेक उपाय लगाएर नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने अभियान थाल्यो । लगभग ३२ प्रतिशत नागरिकले खोप पाइसकेको अवस्था छ । सरकारको यही प्रयासले गर्दा यो वर्ष आमनागरिकले सहज रूपमा दशैँ मनाउन पाएका हुन् । खोप नपाएको गुनासो खासै छैन । बरु सरकारले सकेसम्म सबैलाई निःशुल्क खोप उपलब्ध गराउने वाचा गरेको छ । सम्भवतः यही वर्षको अन्त्यसम्म अधिकांश नागरिकले खोप पाउनेछन् । सबैका लागि खोपको सहज पहुँच नै सरकारको प्राथमिकतामा परेकाले जनजीवन सामान्य बन्न थालेको छ । तर यत्तिकै भरमा जोखिम भने न्यूनीकरण भइसकेको छैन । स्वास्थ्य मापदण्ड अपनाउने काम भने नागरिकले त्याग्ने अवस्था निर्माण भएको छैन । आउने दिनमा सरकारले नागरिकको स्वास्थ्यलगायत आवश्यक अपेक्षा पूरा गर्नेतिर आफूलाई केन्द्रित गर्ने विश्वास गर्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?