logo
२०८० चैत्र १६ शुक्रवार



शीर्ष नेताहरुको दसैं, कहाँ र कसरी मनाइँदै

मुख्य समाचार |


शीर्ष नेताहरुको दसैं, कहाँ र कसरी मनाइँदै


काठमाडौं, असोज २७ गते । हिन्दुहरुको महान चाड दशैं यतिबेला धुमधामसँग मनाइँदैछ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण आफ्नो गाँउ घर फर्किइसकेका छन् । मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा हुन्छन् । यो वर्ष राजनीतिक दलका शीर्ष नेताहरुले कहाँ र कसरी दशैं मनाउँदै छन् ?
शेरबहादुर देउवा
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले यो वर्षको बडा दशैं काठमाडौंमा नै मनाउनुहुने भएको छ । सरकार र काँग्रेस पार्टी सभापति दुवै नेतृत्वको जिम्मेवारीमा रहनुभएको उहाँले विजया दशमीका दिन परिवारमै टीकटालो गर्ने र यस पश्चात् प्रधानमन्त्री निवास बालुवाटारमा पनि नेताहरुसँग भेटघाट गरी दशैं मनाउने कार्यतालिका रहेको प्रधानमन्त्री निजी निवासले जनाएको छ । ‘प्रधानमन्त्री ज्यू सरकारको गतिविधिमै व्यस्त हुनुहुन्छ, प्रधानमन्त्री निवास बालुवाटारमा टीका थाप्न आउनुहुनेहरुलाई टीका लगाइदिनुहुनेछ । यसबाहेक गृहजिल्ला डडेलधुरा वा अन्त कतै जाने योजना छैन ।,’ प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
माधवकुमार नेपाल 
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि यो वर्षको दशैं काठमाडौंको कोटेश्वरस्थित निजी निवासमा मनाउनुहँदैछ । ‘उहाँले परिवारलाई टीका लगाइदिनुहुनेछ भने, उहाँले सानीआमा शान्ता नेपाल र दाजु कृष्णकुमार नेपालको हातबाट टीका लगाउनुहुन्छ । परिवारहरुलाई टीका लगाउने यस्तै सामान्यरुपमा दशैं मनाउनुहुनेछ,’ नेपालको निजी सचिवालयले जनाएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयका अनुसार यो वर्षको दशैं ललितपुरको खुमलटारमा नै पारिवारिक भेटघाटमा बिताउँदै हुनुहुन्छ । ‘दशैंमा अरु के हुनु र ? टीका वा त्यस्तो तामझामभन्दा पनि सधैं झैं सामान्यरुपमा पारिवारिक सदस्यहरुको भेटघाट बढी महत्वपूर्ण कुरा हुन्छ । सबैजना सँगै बस्यो, खायो अनि छलफल ग-यो । दशैंमा पहिलेदेखि नै त्यस्तो विशेष गर्ने गर्दैनौं ।’, ।
केपी शर्मा ओली 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले दशैंको समयमा पार्टीकोे सामान्य भेटघाटसहित भक्तपुरस्थित बालकोटमा दैनिकी बिताइरहनुभएको छ । यो वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली दशैं मनाउन नवमी अर्थात् असोज २८ गते गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । ‘उहाँ नवमीको दिन गृहजिल्ला जाँदै हुनुहुन्छ । तर, नाताले भाई पर्नेको यसै वर्ष देहावसान भएका कारण टीकाको कार्यक्रम भने छैन,’ निजी सचिवालयले जनाएको छ ।

रामचन्द्र पौडेल 
सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका दशैं पनि बोहोराटारस्थित निजी निवासमा नै बित्ने भएको छ । ‘दशैंको मेरो खासै केही छैन । मेरो पनि घरमा त्यस्तै (जुठो) परेको भएर यसवर्ष मेरो दशैं छैन । अब त्यस्तै हो, साथीहरुसँग भेट्छु, काँग्रेस महाधिवेशन चलिरहेको छ, यसरी नै बित्छ,’ पौडेल बताउनुहुन्छ ।
महन्थ ठाकुर 
सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर दशैंको लागि आफ्नो क्षेत्र महोत्तरी जाँदै हुनुहुन्छ । ‘मेरो आफ्नो घर छैन । आफ्नो क्षेत्रमा जान्छु, साथीहरुले जहाँ–जहाँ घुमाउछन्, त्यही घुम्छु । मधेशमा घटस्थापनादेखि देवी र शक्ति पीठहरुमा जात्रा–पूजा शुरु भइसकेको छ । देवीको दर्शन गरेर दशैं मनाउछु ।’, ठाकुरले बताउनुभयो ।
बामदेव गौतम
नेकपा एमालेमा राजीनामा बुझाउनुभएका नेता बामदेव गौतमले पनि यस वर्षको दशैं काठमाडौंमा नै बिताउँदै हुनुहुन्छ । नेता गौतमले दशैं अवधिमा देशको कम्युनिष्ट आन्दोलनमा आएको उतारचढाव र समग्र कम्युनिष्ट पार्टीबारे किताब लेखिरहनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
डा. डिला संग्रौला,
सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौला भने दशैं मनाउन सप्तमी अर्थात् असोज २६ गते विराटनगर जानुभएको छ । ‘कोरोना महामारीका कारण पोहोर जिल्ला जान पाइएन । यसपटक विराटनगर जान्छु, त्यहाँ हाम्रो संग्रौला परिवारको सबैभन्दा जठो सदस्य मेरो ससुरा हुनुहुन्छ, उहाँको हातको टीका लगाउछु । परिवारमा आफन्तजनहरु आउनुहुन्छ, उहाँहरुलाई टीका लगाएर दशैं मनाउने योजना छ,’ संग्रौलाले भन्नुभयो ।

पशुपति शमशेर जबरा 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबरा भने दशैं मनाउनको लागि असोज २५ गते नै भारतको नयाँ दिल्ली गइसक्नुभएको छ । ‘उहाँ प्रत्येक वर्ष नै दशैंका लागि दिल्ली जानुहुन्छ, यो वर्ष पनि सोमबार बिहान ११ बजे दशैंका लागि दिल्ली गइसक्नुभयो,’ उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?