logo
२०८१ बैशाख ७ शुक्रवार



महान् पर्वको शुभकामना (सम्पादकीय)

विचार/दृष्टिकोण |




शरद ऋतुको आगमनसँगै मौसम खुल्न थालेको छ । यही बेला नेपालीको महान् चाड बडादशैँको रौनक उत्कर्षमा पुगेको छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमी हुँदै कोजाग्रत पूर्णिमासम्म हर्षाेल्लासका साथ मनाइने चाड हो– बडादशैँ । विशेषतः हिन्दु धर्मावलम्बीले उत्साहपूर्वक मनाउने यो चाडको बेग्लै महìव रहेको छ । बडादशैँ, विजया दशमी वा दशहरासमेत भनिने यो चाड नेपालीलाई एकताको सूत्रमा बाँध्ने महान् पर्व पनि हो । आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने यो उत्सवले सबै नेपालीलाई खुसियालीको मालामा उन्ने काम गरेको छ । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीदेखि विजया दशमीसम्म चार दिन चाहिँ महापर्वका रूपमा बडादशैँ मनाइने गरिन्छ ।

त्रेतायुगमा भगवान् रामले रावणको वध गरेको सम्झनामा यो चाड मनाइने गरेको विश्वास गरिन्छ । असत्यमाथि सत्यको विजय भएकाले नै यो दिनलाई विजया दशमी भनिने गरेको हो । साथै शक्तिको प्रतीक दुर्गामाताको आराधना गरिने भएकाले यो चाडलाई पराक्रमी बन्ने वरदान पाउने अवसरका रूपमा समेत लिने गरिन्छ ।

त्यसैले यो चाडमा शस्त्रअस्त्रको विशेष पूजन गर्ने प्रचलन पनि रहेको छ । दस दिन विशेष उल्लासका साथ मनाइने यो चाडमा शक्तिस्वरूपा दुर्गा भवानीको स्तुति गाइन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा–अर्चना गरिने भएकाले यसलाई नौरथा भन्ने गरिएको हो । आसुरी शक्ति पराजित गर्ने बल आर्जन गर्न दुर्गा पूजन गर्ने गरिएको विश्वास रहेको छ । साथै एकआपसमा खुसी बाँड्ने यो चाड हिन्दु धर्मावलम्बीको मात्र नभएर हरेक नेपालीका लागि विशेष मानिने गरेको छ ।

बडादशैँ सुरु भएसँगै सहरबजार सुनसान र गाउँघरमा भने चहलपहल बढ्छ । काठमाडौँलगायत ठूला सहरबाट लाखौँ मानिस पुख्र्यौली थातथलो फर्केका छन् । गाउँघरमा भीडभाड बढेको छ भने सहरबजारमा चहलपहल पातलिएको छ । नेपालीका निम्ति उत्साह र उमङ्ग बोकेर आउने यो पर्वको बेग्लै महìव रहेको छ । सहरमा सङ्घर्ष गरेर बाँच्नेका लागि पनि दशैँ मिठोमसिनो खाने र एकसरो लुगा फेर्ने अवसर बन्ने गरेको छ । दुःखसुख साटेर परिवारमा रमाइलो गरेर मनाइने भएकाले दशैँको बेग्लै आकर्षण हुने गर्छ । फरक जातजाति र धर्म सम्प्रदायमा रहे पनि दशैँ नेपालीको साझा चाडजस्तै स्वीकारिएको छ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा रहेको यो चाडले सबैलाई आनन्दित बनाउने गर्छ । दुःखकष्ट भुलेर ऋण काढेरै भए पनि दशैँ मनाउने प्रचलन नेपालीमा रहेको छ ।

यसपालिको दशैँ गत सालभन्दा अलि सहज देखिएको छ । कोरोना (कोभिड–१९) कहरले अत्याएको पोहोरको दशैँका बेला जनजीवन कष्टप्रद थियो । अहिले भने अलि सामान्य बनेको छ । कोरोनाविरुद्धको खोप लगाउने कार्य सरकारको उच्च प्राथमिकतामा परेकाले सङ्क्रमण दर घटेको छ तर जोखिम भने अझै निर्मूल भएको छैन । सहरबजारबाट गाउँ फर्किएकाहरूले स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने अवस्था देखिएको छ ।

यसैले कतै सङ्क्रमण ह्वात्तै बढ्ने त होइन भन्ने सन्त्रास कायमै रहेको छ । दशैँ कोरोना फैलावटको कारक बन्नु हुँदैन । अर्कातिर चाडबाडमा मनमौजी खर्च गर्ने परम्परा धेरै नेपालीमा रहेको देखिन्छ । घाँटी हेरी हाड निल्नुपर्ने उक्तिको ख्याल प्रायः गरिँंदैन । जसले गर्दा ऋण गरेर भए पनि देखासिकी गर्ने मानसिकता बलियो छ । दशैँ सकिनेबित्तिकै फेरि अर्काे दशा निम्त्याउने गरी फजुल खर्च नगर्दा राम्रो हुन्छ ।

त्यसैले गाउँघरमा भनिने गर्छ– आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई । त्यो स्थिति नबनोस् । गच्छेबमोजिमको खर्च गराँैं । त्यसैले चाडको महìव र औचित्य पुष्टि हुनेछ । नत्र दशैँले खुसीभन्दा तनाव ज्यादा दिने अवस्था आउन सक्छ । सबैको जय होस्, यो महान् पर्वको हार्दिक
मङ्गलमय शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?