logo
२०७८ कार्तिक ५ शुक्रवार



पर्यावरणीय सन्तुलनका चुनौती

विचार/दृष्टिकोण |




प्रेमबहादुर थापा

पृथ्वीमा विभिन्न जीवजन्तु, प्राणी र वनस्पतिको सहकार्यले पर्यावरण बनेको छ । पर्यावरणमा एकको अस्तित्व र जीवनचक्र अर्काेसँग गाँसिएको हुन्छ । यसरी प्राकृतिक रूपमा निर्मित पर्यावरण आफैँमा सन्तुलित हुन्छ तर सर्वश्रेष्ठ प्राणी मानिएको मानिस प्रकृतिमैत्री व्यवहार गर्नबाट चुकेको छ । उसले प्रायः आफू अनुकूलका गतिविधि गर्दा वातावरण विनाश भएको छ । त्यसले पर्यावरणीय सन्तुलन खल्बल्लिन पुगेको छ । यसका केही ज्वलन्त उदाहरणका रूपमा खासगरी विकसित तथा औद्योगिक मुलुकहरूमा वातावरण विनाश गराउने सातवटा ठूला घटनाले पर्यावरण असन्तुलित हुन पुगेको देखिन्छ ।

पहिलो, हाल विश्वका ३१ मुलुकमा ४४० वटा आणविक भट्टी सञ्चालनमा छन् । त्यस्ता भट्टीमा विभिन्न समयमा विष्फोट हुने गरेका घटनाले त्यहाँ वरपरको पर्यावरण मासिने गरेको छ । सन् १९५७ मा रुसको आणविक भट्टीमा दुर्घटना हुँदा त्यहाँ रहेको ७० टन आणविक फोहोरबाट फैलिएको विकिरणले धेरै किलोमिटर परसम्मको वातावरण नराम्ररी प्रभावित हुन पुगेको थियो भने दुई लाख ७२ हजार मानिसमा क्यान्सरका लक्षण देखापरेका थिए ।

सन् १९८४ मा भारतको भोपालमा आणविक भट्टीबाट ग्यास चुहिँदा त्यहाँको जैविक विविधतामा ठूलो क्षति भएको थियो । सन् १९८६ मा हालसम्मकैै सबैभन्दा ठूलो चेर्नाेविल आणविक भट्टी विष्फोट भयो । सन् २०१० मा जापानमा नौ रेक्टर स्केलको महाभूकम्प र सुनामीले फुकुसीका चारवटा भट्टी विष्फोट हुँदा पर्यावरणमा ठूलो असर पुग्यो । आणविक भट्टी दुर्घटनाबाट फैलिने विकिरणबाट मान्छे मात्र होइन, सम्पूर्ण जीवजन्तुको अस्तित्व खतरामा पर्दै आएको छ । अतः आगामी दिनमा हुने घटनामा मानवीय क्षतिलाई मात्र नभई वनस्पति तथा जीवजन्तुमा पुगेको क्षतिलाई समेत लेखाजोखा गर्नु जरुरी छ ।

दोस्रो, आणविक हतियारको प्रयोग गरी एक देशले अर्काे देशमाथि शक्ति प्रदर्शन गर्दै आएका छन् । सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहारबाट दशकौँसम्म जीवजन्तु तथा वनस्पतिको अस्तित्व नाश हुन पुग्यो । पछिल्ला दशकमा उत्तर कोरियाले विभिन्न समयमा क्षेप्यास्त्र परीक्षण गर्दै आइरहेको छ । केही महिनाअघि इजरायलको गाजामा इजरायल र प्यालेस्टाइनबीच भएको क्षेप्यास्त्र प्रहारका घटनाले त्यहाँको वातावरण तहसनहस भएको थियो । यसरी विश्वमा भएका ठूला सैन्य अभ्यासहरू र अत्याधुनिक हातहतियार प्रयोगले पृथ्वीको गर्भ नै खल्बलिने विध्वंसात्मक गतिविधि भएका छन् ।

तेस्रो, इन्धनको अत्यधिक खपत । वल्डोमिटरको तथ्याङ्कअनुसार विश्वमा हरेक दिन नौ करोड ७१ लाख तीन हजार ८७१ ब्यारेल इन्धन खपत हुने गर्छ । नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा पेट्रोलियम पदार्थको अत्यधिक प्रयोग भएको छ । यसले विश्व तापमान वृद्धि, जलवायु परिवर्तन र ओजोन तहको विनाश हुँदै गएको छ । फलतः जीवजन्तु तथा प्राणीको जीवनचक्र प्रभावित हुन पुगेको छ ।

चौथो, औद्योगिक तथा अन्य प्रयोजनका लागि दोहन गरिने कोइला, तेल तथा प्राकृतिक ग्यासजस्ता जैविक इन्धनको प्रयोगबाट ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन भइरहेको छ । सन् १९५२ मा लन्डनका कलकारखानामा अत्यधिक कोइला प्रयोग हुँदा धुवाँको बाक्लो पत्रले लन्डन सहरलाई सात दिनसम्म छोपेर अन्धकार बनाएको थियो । यसको असरबाट करिब चार हजार मानिसको मृत्यु भएको थियो । उद्योगधन्दा तथा कलकारखानामा उत्पन्न हुने विभिन्न रसायनजन्य तरल फोहोरले माटो प्रदूषित गराएको छ । साथै कृषि प्रयोजनमा जथाभावी विषादी प्रयोग गर्दा हिमायती जीवाणु र कीरा–फट्याङ्ग्राको सङ्ख्या ह्वात्तै बढेको छ ।

पाँचाँै, विश्वका जुनसुकै मानव बस्ती आसपासमा मुख्यतः प्लास्टिकजन्य फोहोरका थुप्रो यत्रतत्र देख्न सकिन्छ । विश्व बैङ्कको तथ्याङ्कअनुसार हाल विश्वमा वार्षिक दुई दशमलव ०१ विलियन टन फोहोरमैला उत्पादन हुने गर्छ भने हरेक व्यक्तिले एक दिनमा औसत शून्य दशमलव ७४ किलोग्राम फोहोरमैला उत्पन्न गर्छ । यही तवरले सन् २०५० सम्म विश्वमा तीन दशमलव ४० विलियन टन फोहोरमैला उत्पादन हुन जान्छ । यसले माटो, हावा र खोलानदीहरू प्रदूषित हुँदै गएका छन् ।

छैटौंँ, आगलागीका ठूला घटनाबाट पारिस्थितिक प्रणाली नष्ट हुन पुगेको छ । सन् २०१९ जनवरी पहिलो हप्तातिर अस्ट्रेलियामा भीषण डढेलो फैलिंँदा झन्डै तीन लाख हेक्टर जङ्गल सखाप भयो । करोडौँको सङ्ख्यामा विभिन्न जीवजन्तु तथा प्राणी नष्ट हुन पुगेका थिए । गत वर्षको डिसेम्बर महिनामा पनि अस्ट्रेलियामै फैलिएको डढेलोका कारण झन्डै ५० करोड वन्यजन्तु र पशुपन्छी मारिएको जैविक विविधता विज्ञहरूले उल्लेख गरेका थिए । त्यस घटनाका संसारलाई नै भावुक बनाउने तस्बिर सार्वजनिक भए ।

वैज्ञानिकहरूले पहिले नै जलवायु परिवर्तनका कारण डढेलोका ठूला घटना हुने बताउँदै आएका थिए । डढेलोबाट यसै वर्ष काठमाडाँैं विश्वकै सबैभन्दा बढी वायु प्रदूषित सहर हुन पुग्यो । आगलागीका घटनालाई प्राकृतिक कारक मानिए पनि वातावरण विनाश र जलवायु परिवर्तन गराउनमा मानवीय गतिविधि नै दोषी छन् ।

सातौँ, पर्यावरणको सिक्रीमा उनिएका विभिन्न जीवजन्तु तथा प्राणीलाई मान्छेले आफ्नो कब्जामा राख्दा असन्तुलित अवस्था सिर्जना हुन पुगेको छ । जङ्गली जनावरलाई मनोरञ्जनका लागि चिडियाखानामा कैदी बनाएर राखेको छ । तिनीहरूको स्वतन्त्रता र प्राकृतिक गतिविधिमाथि हस्तक्षेप गरेको छ । गाईभैँसी फार्महरूमा व्यावसायिक ढङ्गले दूध बढाउने प्रयोजनले पशुमाथि हिंसा हुने गरेको छ । सेता रक्तकोषको सङ्ख्या बढाउन सुई लगाउने, भिटामिन र कृत्रिम दाना प्रयोग गरिन्छ । उनीहरूको यौनेच्छामाथि दमन गरी कृत्रिम खोपमार्फत गर्भधारण गराउने, बच्चा जन्मिएपछि दूध खान नदिई नियतवस मार्ने गरिएको छ । घरायसी र जङ्गली पशुपन्छीलाई मासुका लागि वध गरेर पूर्ण बाँच्न पाउने अधिकारको हनन् गरेको छ ।

निष्कर्ष

प्रकृतिमाथिको मानवीय आधिपत्यले वातावरण प्रदूषण भएको छ । प्रदूषणले जलवायु परिवर्तन निम्त्याएको छ । यसले सिङ्गो पृथ्वी र यसमा आश्रित पर्यावरण असन्तुलन बनाएको छ । प्रकृतिविरोधी कार्यले विपत् निम्त्याउने र औषधि एवं खोपले रोक्न नसक्ने नयाँ प्रजातिका खतरनाक भाइरस तथा ब्याक्टेरिया विकास हुने गरेका छन् । विभिन्न समयमा प्रकृतिले मान्छेलाई दण्डित गर्न र वातावरण सन्तुलनमा ल्याउन विनाशकारी महामारी आउने गर्छन् । अहिलेको कोरोना महामारी पनि मानव जाति र प्रकृतिको अन्तरद्वन्द्वको उपजकै रूपमा आएको हुनसक्छ । वातावरणविरोधी यस किसिमका विश्वव्यापी समस्या अन्तर्राष्ट्रिय स्तरबाटै समाधान गरिनुपर्छ ।

एउटा राष्ट्रले मात्र यस्ता समस्यालाई न्यूनीकरण गर्न सम्भव छैन । तसर्थ वातावरणीय प्रदूषणबाट पर्यावरणमा पुगेको असरलाई कम गर्न विकसित तथा औद्योगिक मुलुकहरूले आफ्नो स्वार्थभन्दा माथि उठेर रोकथामका लागि ठोस पहलकदमी लिनुपर्छ । अन्य मुलुकहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा गरेका प्रतिबद्धताअनुसारका नीतिलाई असल नियतिमा बदल्न सके मात्र जलवायु परिवर्तनबाट सिर्जित पर्यावरणीय असन्तुलनको समस्या हल हुन्छ ।

विगतका कमी–कमजोरीबाट अझै पनि नसच्चिने हो भने वातावरण प्रदूषित हुने मात्र होइन, आगामी ५० वर्षभित्रमा विश्वमा धेरै जीवजन्तु तथा प्राणी लोप भइसक्नेछन् । त्यसले पारिस्थितिक प्रणालीमा थप असन्तुलनता ल्याई मानव अस्तित्वसमेत सङ्कटमा पर्नेछ । चीनले भावी पुस्ताका लागि पनि प्राकृतिक सम्पदा जोगाइराख्ने नीति ल्याएको छ । त्यस्तै प्रकृतिको पुनस्र्थापना र संरक्षण गरिनु अहिलेको जल्दोबल्दो आवश्यकता भएको छ । प्रकृतिमैत्री व्यवहार संरक्षणको हिसाबले मात्रै होइन, आर्थिक दृष्टिले पनि उच्च प्रतिफल दिने लगानी हो । अतः स्वच्छ एवं हरित पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्न विश्व समुदायमा वातावरणमैत्री व्यवहारको विकास गरिनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?