logo
२०७८ मंसिर २३ बिहीवार



चौथो अङ्गको पीडा

विचार/दृष्टिकोण |




मोहन नेपाली

विश्वमा ४८ लाखको हाराहारीमा मानिसको ज्यान लिइसकेको र करिब २३ करोड ५० लाखमा सङ्क्रमण भइसकेको कोभिड–१९ को महामारीले मानव समाजका सबै पक्षलाई गम्भीर रूपले प्रभावित पारेको छ । एकातिर दैनिक जनजीवनलाई जीवन्त राख्नुपर्ने र अर्कोतिर सङ्क्रमणका कारण थप मानवीय क्षति हुनबाट रोक्ने उपाय अपनाउनुपर्ने परस्पर विरोधी चुनौतीका बीच यो महामारीले मानवजातिको दह्रो परीक्षण गरिरहेको छ ।

कोभिड–१९ सङ्क्रमण भएका विश्वका २२३ मुलुकमध्ये नेपाल ४३औँ स्थानमा छ । नेपालमा यस महामारीका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघिसकेको छ भने सङ्क्रमित हुने नेपालीको सङ्ख्या आठ लाख पुगेको छ । प्रभावित हुने हरेक क्षेत्रमध्ये अग्रपङ्क्तिमा रहेर सूचना प्रवाह गर्ने चौथो अङ्ग पनि प्रमुख भएको छ । राज्यको चौथो अङ्गका रूपमा क्रियाशील पत्रकारिता क्षेत्रले कोभिड–१९ सम्बन्धी अद्यावधिक सूचना सम्प्रेषण गरी सबै सरोकारवाला पक्षलाई वस्तुगत र उपयुक्त कदम चाल्न मद्दत गरिरहेको छ । हाम्रो पत्रकारिता क्षेत्रले करिब दुई वर्षदेखि कोभिड–१९ बाट सिर्जित आर्थिक सङ्कटका कारण अभाव र पीडा खप्नुपरेको छ ।

सामान्यतः सातै प्रदेशमा सङ्क्रमणको जोखिम मोलेर सूचना सम्प्रेषणको आफ्नो धर्म निर्वाह गरिरहँदा करिब दुई दर्जन पत्रकारले सङ्क्रमणकै कारण ज्यान गुमाउनुपरेको छ । सयौँ जना सङ्क्रमित भइसकेका छन् । पत्रकारले झेल्नुपरेको सङ्कटबारे भने न्यून चर्चा हुने गर्छ । किनकि पत्रकारको मुख्य काम जनताको कुरा उठाउने हो, आफ्नो कुरा उठाउने होइन । पेट पाल्ने र उपचार गराउने सिलसिलामा श्रमजीवी पत्रकारको जीवनमा निकै कठिनाइ उत्पन्न भएको कुरा नागरिक तहमा अवश्य छ । पछिल्लो समय खोप अभियानसँगै सङ्क्रमण दर घटेको छ तर पनि व्यापार–व्यवसाय सामान्य अवस्थामा फर्किन कति समय लाग्छ भन्ने यकिन छैन ।

विज्ञापन अभावमा कतिपय छापा तथा विद्युतीय सञ्चारगृहले समाचार सामग्री कटौती गर्नुपरेको, पत्रकारले ढिले गरी तलब पाएको वा कटौती गरिएर तलब पाएको, बेतलबी बिदा पाउने गरेको र अन्त्यमा रोजगारविहीन बन्नुपरेकोजस्ता समस्या जानकारीमा आइसकेकै विषय हुन् । कतिपय रेडियो तथा टेलिभिजनले कर तिर्न र नवीकरणसमेत गर्न नसकेकोबाट महामारीले सञ्चार उद्योगमा पारेको आर्थिक सङ्कटबारे बुझ्न सकिन्छ । कतिपय स्थापित सञ्चारगृहले समेत यस अवस्थामा पत्रकारलाई बेतलबी बिदामा बस्न लगाएको तथा समयमै तोकिएको पारिश्रमिक उपलब्ध गराउन नसकेको खबरले नेपालमा व्यावसायिक सञ्चारगृहहरूले आफ्नो व्यवस्थापनमा ध्यान पु¥याउनुपर्ने देखिन्छ । आमसञ्चार क्षेत्रप्रति आमचासो रहनु यो कारणले स्वाभाविक छ कि, यसको कार्य राष्ट्रको हितको दृष्टिले अत्यन्त महìवपूर्ण र संवेदनशील छ ।

व्यावसायिक सञ्चारगृह कसरी र कुन मोडेलमा व्यवस्थापन गर्ने भन्ने विषय सम्बन्धितहरूको तजविजभित्र पर्ने भए पनि छ महिना विज्ञापन नपाउँदा मिडिया नै बन्द गर्ने स्थिति आउनुले मिडिया व्यवस्थापन तथा प्रवद्र्धनीय परिकल्पनाका सन्दर्भमा प्रश्न भने उब्जेका छन् । पत्रकारिता जनसान्दर्भिक सूचना सङ्कलन, सम्पादन तथा प्रस्तुतीकरण गर्ने प्रक्रिया हो । यसले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता मात्रै होइन, राष्ट्रभित्रको सांस्कृतिक संवेदनशीलता एवं सामाजिक मेलमिलापको विषयसम्ममा पनि विवेक पु¥याउनुपर्ने हुन्छ । यो तथ्यले पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्ग नै हो भने पुष्टि गरेको छ ।

कतिपय नवउदारवादी पश्चिमा अर्थ–राजनीतिशास्त्रीहरूले सञ्चार उद्योग र अन्य उद्योगबीचको भिन्नतालाई नस्वीकारे पनि काम र परिणामकै आधारमा सामान्य समझका साथ हामी यस भिन्नतालाई आत्मसात् गर्न सक्छौँ । पत्रकारिता क्षेत्रलाई बजार अर्थतन्त्रको चस्मा लगाएर मात्र हेर्दा राज्यको चौथो अङ्गको अवधारणा कमजोर बन्न पुग्छ । नेपालको विद्यमान आमसञ्चार नीतिले भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय एकाइ वा विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धलाई बलियो बनाई सौहार्दपूर्ण अन्तरजातीय, अन्तरभाषिक र अन्तरसांस्कृतिक सम्बन्धको सेतुका रूपमा काम गर्न सक्ने आमसञ्चार माध्यमको परिकल्पना गरेको छ । यसले नेपाली समाजको विविधता र बहुलवादलाई प्रतिनिधित्व गर्ने स्वतन्त्र, स्वच्छ, समाजप्रति उत्तरदायी र जिम्मेवार आमसञ्चार माध्यमको भूमिकालाई दृष्टिगत गरेको छ । तसर्थ चौथो अङ्गलाई आपत्विपत्मा अविभावकत्व प्रदान गर्ने काम राज्यले गर्नुपर्छ भन्दा अमिल्दो हुँदैन ।

कोभिड–१९ को महामारीबाट सिकेर भविष्यमा आउनसक्ने कुनै पनि महामारी वा त्यस्तै विषम परिस्थितिमा चौथो अङ्गका लागि पनि रणनीति बनाउनुपर्छ । राज्यको चौथो अङ्ग भनेको राजनीतिक एवं सामाजिक मूल्य र मान्यता हो । जसका आधारमा पत्रकारिता क्षेत्रले यथाशक्य निष्पक्ष र वस्तुनिष्ठ भएर सार्वजनिक हितमा सूचना सम्प्रेषण गरिरहन सकोस् । जिम्मेवारीको गहनताका कारण पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अङ्ग मानिएको तथ्यलाई सङ्ज्ञा मात्र ठान्नु चाहिँ गल्ती हुन्छ । संसद् नै नभएको बेलामा पनि पत्रकारिता क्षेत्रले जनताको आवाजको अनवरत् प्रतिनिधित्व गर्छ भन्ने कुरा नेपालको २०५९ देखि २०६४ सालसम्मको अवधिले राम्ररी पुष्टि गरिसकेको छ ।

सत्य र निष्पक्ष सूचना प्रवाहको संवेदनशील जिम्मेवारी वहन गरेको राज्यको चौथो अङ्ग अभाव र सङ्कटले कुपोषित भएको अवस्थामा राज्यका अन्य अङ्गमा पनि ताìिवक कुपोषण हुन्छ । परिणामतः निर्णय तथा नीति निर्माण गर्ने प्रक्रिया नितान्त कमजोर हुन गई राष्ट्रलाई गम्भीर क्षति पुग्छ । महामारीका कारण समयमा सही र पर्याप्त सूचना प्रवाहित हुन नसकेको अवस्थामा विभिन्न औपचारिक तथा अनौपचारिक तहमा सरोकारवाला पक्षले गर्ने निर्णय र बनाउने नीति नै त्रुटिपूर्ण हुन गई जनताले समेत नराम्रो परिणाम बेहोर्नुपर्ने स्थिति आउनसक्छ । त्यस्तै सूचनाको सङ्कटका कारण जनता र राज्यबीच तथा अन्य सरोकारवालाबीच समेत दूरी बढ्नुका साथै अन्तरविरोधहरू नकारात्मक दिशामा तीव्र रूपमा अगाडि बढ्ने सम्भावना पनि त्यत्तिकै हुन्छ ।

चौथो अङ्गका पनि आफ्ना कमजोरी छन्, जसका सन्दर्भमा प्राज्ञिक एवं व्यावसायिक बहस अगाडि बढाउन बन्देज छैन तर यो समयमा भने महामारीका कारण सञ्चार क्षेत्रमा उत्पन्न आर्थिक सङ्कटको चपेटामा परेका श्रमजीवी पत्रकारले भोगेका गम्भीर मानसिक आघात तर सार्वजनिक रूपमा राम्ररी व्यक्त भने गर्न नसकेको सत्यलाई राज्यले महसुुस गरिदिनुपर्छ । सार्वजनिक दायित्व वहन गरिरहेका पत्रकारले आफूले भोगेको अभाव र पीडा प्रकाशमा ल्याउन पनि सक्दैनन् । काम बौद्धिक प्रकृतिको हुँदाहुँदै पनि मानवोचित जीविकाका लागि आवश्यक पर्ने श्रमको प्रतिफलको सुनिश्चितता नहुँदा अधिकांश प्रतिबद्ध र इमानदार पत्रकारको गिर्दो मनोबललाई माथि उठाउने कदम आवश्यक परेको छ । विद्यमान आमसञ्चार नीतिले सर्वत्र आमसञ्चार क्षेत्र महामारीमा पर्दाको अवस्थालाई सामना गर्ने ठोस कदमको परिकल्पना गरेको छैन ।

हाम्रो संविधान र कानुनले नै नागरिकको सूचना प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेकाले सञ्चार क्षेत्र नाफाको सिद्धान्तमा मात्र सीमित हुनुको सट्टा नागरिकको सूचना प्राप्तिको मौलिक हकको परिपूर्ति गर्नेतर्फ अभिमुख हुनुपर्छ । यसका लागि महामारीका कारण मर्कामा परेका पत्रकारलाई राज्यले आवश्यक नीतिगत व्यवस्था गर्न कति पनि हिच्किचाउनु हुँदैन । महामारीका कारण प्रकाशित एवं प्रसारित सूचनाको धेरै अंश प्राथमिक स्रोतमा भन्दा बढी द्वितीय स्रोतमा निर्भर रहेकोले सत्यतथ्य, वस्तुगत र शुद्धतासम्बन्धी समस्या देखापरेको पत्रकारबाटै स्वीकारोक्ति आएकाले सजग हुनुपर्ने भएको छ ।

मुख्यतः सयौँ रेडियोमा मनोरञ्जनका सामग्री धेरै आइरहेको र खोजमूलक समाचार ह्वात्तै घटेको अर्को स्वीकारोक्ति हो । महामारीले गर्दा अज्ञात ढङ्गले छुट्न गएका सूचना प्रवाहबाट हामीलाई धेरै क्षति भइसकेको पनि हुनसक्छ । कहिलेकाहीँ टड्कारै देखिएको नोक्सानीभन्दा नदेखिएको नोक्सानी धेरै ठूलो हुनसक्छ । सेवामूलक सञ्चारजगत् पनि महामारीबाट प्रभावित भएकाले यसबाट समग्र राष्ट्रले उठाउन सक्ने महìवपूर्ण लाभ गुमेको पनि हुनसक्छ । त्यसैले प्राथमिक स्रोत–केन्द्रित सूचना सम्प्रेषण गरी नागरिकको सही र शुद्ध सूचना प्राप्त गर्ने हकको परिपूर्ति गर्न पत्रकारिता क्षेत्रमा पर्याप्त सङ्ख्यामा अनुभवी र गुणस्तरीय पत्रकारको थमौती हुनु आवश्यक छ ।

हालको कोभिड–१९ को महामारी–सिर्जित आर्थिक सङ्कटले पत्रकारितालाई नै जीवनको निर्विकल्प बाटो बनाएका श्रमजीवी पत्रकारलाई मर्माहत तुल्याएको छ्र । यस्तो सङ्कटको बेलामा राज्यको चौथो अङ्गलाई जीवन्त राखिराख्न राज्यको तर्फबाट गर्न सकिने सबै प्रकारको चाँजोपाँजोसहितको रणनीति बनाउने मौका यस महामारीले प्रदान गरेको छ । आखिर चौथो अङ्ग बलियो हुनु भनेको राज्यका अन्य सबै अङ्ग–प्रत्यङ्ग पनि सशक्त बन्नु हो । राज्यको चौथो अङ्गको सबलताले समाजका सबै पक्षलाई सकारात्मक ढङ्गले फाइदा पुग्छ । राज्यको चौथो अङ्गले नै आधुनिक लोकतन्त्रमा रक्तसञ्चार प्रणालीको भूमिका निर्वाह गरिरहेको हुन्छ । लोकतन्त्रको जीवन्त अभ्यासका निम्ति चौथो अङ्गले भोग्नुपरेको चरम दुःखलाई राज्यले सरोकारवाला पक्षहरूसँग पर्याप्त परामर्श गरी ठोस नीतिद्वारा यथाशीघ्र सम्बोधन गर्नु उचित र जरुरी देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?