logo
२०७८ मंसिर १५ बुधवार



मिडियाको बदलिँदो समाजशास्त्र

विचार/दृष्टिकोण |


मिडियाको बदलिँदो समाजशास्त्र


डा.कुन्दन अर्याल

आजको नेपाली समाजमा मिडियाले सार्वजनिक वा राजनीतिक संवादका लागि निर्वाध रूपमा मुख्य वाहकको दायित्व निर्वाह गरिरहेको छ । तीन दशकको बहुलवादी राजनीतिक संस्कृतिका कारण नेपाली मिडियाको समाजशास्त्र छयालीस सालअघिको भन्दा पृथक देखिनु स्वाभाविक हो । जहाँ छापा र प्रसारणजस्ता परम्परागत मात्र होइनन्, नयाँ मिडियासमेत बहुलवादी छन् । तर राजनीतिक पहुँच अथवा स्रोत–साधनबाट बलशाली हुन पुगेका नयाँ–नयाँ स्वार्थी तत्त्वहरू सार्वजनिक सञ्चारमा पकड जमाउन वा यसबाट निसृतः हुने सामाजिक शक्तिको प्रयोग गर्न सफल भएका छन् । बेलाबेला मिडियाका अन्र्तवस्तुमा अव्यावसायिक प्रभाव परेको प्रष्टै देखिनुको कारण यही हो । सन् चालीसको दशकको उत्तरार्धतिर अमेरिकी सामाजशास्त्री तथा मनोवैज्ञानिक हारोल्ड लसवेलले कुनै पनि समाजमा मिडियाको समाजशास्त्रलाई केलाउन मद्दत गर्ने सञ्चार विश्लेषणको नमुना प्रस्तुत गरेका थिए । जसअनुसार कसले, कसलाई, कुन माध्यमबाट के भन्यो र कस्तो प्रभाव पर्न गयो ? भन्ने प्रश्नहरू महìवपूर्ण हुन्छन् । ती प्रश्नका जवाफ खोज्दै बितेका तीन दशकमा नेपाली मिडिया समाजशास्त्रको बदलिएको स्वरूपको आकलन गर्न सकिन्छ ।

पत्रकारिता सामाजिक अभ्यास हो । आजको युगमा यो विमर्शबाट उत्पन्न हुने शक्तिको मूल स्रोत पनि हो । त्यसैले राजनीतिक अभ्यासका क्रममा देखिने अव्यवस्था र अस्थिरता अनि आमसञ्चार अभ्यासमा मुखरित हुन्छन् । राजनीतिक परिपाटी, दल वा अभ्यासकर्ता एवं मिडियाबीच सीमारेखासहितको उचित अन्तरसम्बन्धको निक्र्योल हुनुपर्छ । अन्यथा विमर्शबाट उत्पन्न हुने सामाजिक शक्तिको प्रयोग राजनीतिमा समेत गलत ढङ्गले पकड जमाउन खोज्ने स्वार्थी तìवहरूबाट नै हुने गर्छ । त्यस्तो भएको अवस्थामा मिडिया समाजको अपेक्षाअनुसार लोककल्याणकारी भूमिका निर्वाह सक्षम हुनै सक्दैन । त्यस्तै परिस्थितिमा मिडिया आवाजविहीनहरूको आवाज होइन, शक्ति केन्द्रका औजार बन्ने खतरा हुन्छ ।
सन् पचासको दशकको मध्यतिर स्राम, पिटरसन् र सिवर्टले प्रस्तुत गरेको प्रेसका चार सिद्धान्तलाई सरकार वा राजनीतिक प्रणाली र मिडियाबीचको अन्तरसम्बन्धको व्याख्या गर्ने एउटा महìवपूर्ण आधार मानिन्छ । जसअनुसार कुनै पनि समाजमा राजनीतिक प्रणालीले आमसञ्चार प्रणाली वा मिडियाका स्वरूप र अन्तर्वस्तुलाई आकार प्रदान गर्छन् । गोरखापत्रको प्रकाशन सुरु भएयताको एक शताब्दीभन्दा लामो नेपाली मिडियाको इतिहासले पनि यही देखाएको छ ।
आजको नेपाली पत्रकारिताको क्षितिज जति फराकिलो छ, त्यत्तिकै समृद्ध र गौरवमय यसको इतिहास छ । हिजोकै जगमा नेपाली मिडिया यहाँसम्म आइपुगेको छ । आउने दिनमा डिजिटल माध्यमहरूको चलनचल्ती अझै बढ्दै जान सक्ने छन् । माध्यम जे भए पनि पत्रकारिता अझ अगाडि बढ्दै जानेछ । समाजमा पत्रकारिताको नैतिक उपस्थिति मूल पक्ष हो । भौतिक उपस्थितिका कारण मात्र पत्रकारिताप्रति समाजको निर्भरता बढ्दै गएको होइन । साप्ताहिकहरू हराउँदै जानु दैनिकहरू बढ्दै जानु वा कागजका अखवारहरू थप विस्तार नहुनु र अनलाइन न्यूजपोर्टलहरू मौलाउँदै जानु अस्वाभाविक होइन । अन्तर्वस्तु मूल कुरा हो । भाँडा वर्तन फरक हुँदै जान्छन्, पकवानको महìव झन्झन् बढ्दै जान्छ । अतः अनलाइन न्यूजपोर्टलहरूसम्मको युगमा आइपुगेको नेपाली पत्रकारिताको जग भने कागजमा छापिने साना साप्ताहिकहरूले नै निर्माण गरेका हुन् ।

राजा वा पञ्चहरूको अलापभन्दा पृथक नेपाली समाजको सार्वजनिक संवादलाई प्रजातन्त्र वा लोकतन्त्र अघि साप्ताहिकहरूले नै धानेका थिए । माध्यमहरू परिवर्तन भए, तर नेपाली पत्रकारिताको आजको बहुलवादी अभ्यास ती साप्ताहिकहरूका विगतबाट अभिप्रेरित छन् । त्यसबेलाको निर्भीकतामा व्यावसायिकता पनि थप्दै–थप्दै भविष्यमा नेपाली पत्रकारिताले अझ गहकिलो, संवेदनशील र भ्रमहरूबाट मुक्त सत्य–तथ्यसहितका सामग्री प्रस्तुत गर्दै सार्वजनिक वृत्तलाई झन्झन् फराकिलो बनाउँदै लैजानेछ ।
समाज परिवर्तनसँगै पत्रकारिताको अभ्यास, उत्पादन र प्रभावमा पनि अन्तर देखिँदै जान्छ । छयालीस र बैसठ्ठी–त्रिसठ्ठी सालपछि नेपालमा बहुआयामिक परिवर्तनका बाटाहरू खुल्दै गए । छयालीस सालको अन्त्यसम्म आइपुग्दा नेपालको मिडिया परिदृश्यमा सरकारी स्तरमा सञ्चालित गोरखापत्र र राइजिङ्ग नेपालका अतिरिक्त अन्तर्वस्तुको प्रकृति, गुणस्तर र आयतनका साथै भौगोलिक पहुँचका दृष्टिले पनि कमजोर साप्ताहिकहरू थिए । सरकारी रेडियो, टेलिभिजन र अखबारले प्रस्तुत गर्ने राजाको सरकारको विश्वदृष्टिकोणका विकल्पमा जनधारणा प्रस्तुत गर्न साप्ताहिकहरूले सङ्घर्ष गर्नु पर्दथ्यो । ती साप्ताहिकहरू अल्पआयुका ससाना लगानीमा स्थापित थिए, एक–दुई कोठे कार्यालय सीमित थिए र गुटेनवर्ग प्रविधिमा छापिन्थे । तर बजारशास्त्रका दृष्टिले कमजोर ती साप्ताहिकहरू राजनीतिक पक्षधरताका दृष्टिले भने प्रखर र निर्भीक थिए ।

छयालीस र चौँसठ्ठी सालका बीचमा नेपाली अखबार जगत्को कायापलट हुन गयो । चौँसठ्ठीपछि समग्र नेपाली मिडियाले नै नयाँ काँचुली फे¥यो । छयालीस सालअघि साना लगानीका अखबारहरूको पत्रकारिता मूलतः अभिव्यक्ति स्वतन्त्रताको लडाइँ थियो । त्यसैले अखबारहरूको प्रसार आजको जस्तो व्यापक थिएन भने निजी क्षेत्रको संलग्नता रेडियो र टेलिभिजन स्थापना गर्नै पाइँदैन थियो । छयालीसपछिका प्रारम्भिक वर्षहरूमा समेत देशका तत्कालीन ७५ जिल्लामध्ये ३६ जिल्लाहरूमा पत्रपत्रिका दर्ता पनि भएका थिएनन् । त्यसबेलासम्म तेह्रथुम, ओखलढुङ्गा, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, भोजपुर, खोटाङ, सर्लाही, गोरखा, म्याग्दी, अर्घाखाँची, रुकुम, प्युठान, रोल्पा, सल्यान, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, हुम्ला, डोल्पा, मुगु, बझाङ, अछाम, डोटी, बैतडी, दार्चुला, सोलुखुम्बु दोलखा, रसुवा, मनाङ, मुस्ताङ र कपिलवस्तुमा पत्रपत्रिका दर्ता पनि भएका थिएनन् । त्यसैले, छयालीस सालको राजनीतिक परिवर्तन नेपाली आमसञ्चार माध्यमका लागि कोशेढुङ्गा साबित भयो ।
नेपाली आमसञ्चार क्षितिजमा दूरगामी परिवर्तनको सुरुवात छापा माध्यमबाट भयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतिसँगै छापा माध्यमहरूको सङ्ख्यामा तीव्र वृद्धि हुन थाल्यो । निजी क्षेत्रबाट आमसञ्चार उद्योगमा व्यापक प्रभाव पार्दैै ठूला दैनिकको नयाँ युग प्रारम्भ भयो । विक्रम सम्बत २०५२ मा त केवल तीन महिनाको अवधिमा काठमाडौँबाट नेपाली भाषामा चार र अङ्ग्रेजीमा एक गरी पाँच वटा ठूला दैनिक सुरु भएको थियो ।

सात सालको परिवर्तनसँगै निजी क्षेत्रका अखबार र रेडियो नेपालको सुरुवात भयो । तर सत्र सालमा संसदीय व्यवस्थाको घाँटी निमोठिएसँगै अखबारहरू घिस्रिन मात्र सक्ने परिवेशको निर्माण गरियो । त्यसबेलाका अखबारहरू राजनीतिक संवादको वाहक बनेकै कारण सत्ताको कोपभाजनको शिकार बन्ने गर्दथे । कानुनहरूको तर्जुमा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने उद्देश्य साथ गरिन्थ्यो । तैपनि नेपाली समाज अखबारविहीन भने बनेन, तर निजी क्षेत्रका अखबार संस्थागत हुन पनि सकेनन् । स्वतन्त्र विचारलाई दमन गर्ने क्रममा सत्ताले निजी अखबारहरूलाई उपयोग गर्न थालेपछि दलहरूका पृष्ठपोषण गर्ने अखबारहरू पनि मुखर हुन थाले । राजाको पञ्चायतले कहिल्यै पनि अखबारहरूको संस्थागत विकास हुन सक्ने वातावरण भने बन्न दिएन ।
छयालीस सालपछि राजनीतिक संवाद वा सार्वजनिक सञ्चारको अस्तित्व विना राजनीतिक प्रक्रिया ठिक ढङ्गले अगाडि बढ्न सक्दैन भन्ने विश्वास बढ्न थाल्यो । अखबार राजनीतिक वा सार्वजनिक संवादको वाहक मात्र होइन, उल्लेखनीय परिमाणमा रोजगार दिलाउने उद्योगका रूपमा पनि चिनिन थाल्यो । अन्तर्वस्तु उत्पादनको परिमाणसँगै पाठकको पनि वृद्धि हुन थाल्यो । बैसठ्ठी–त्रीसठ्ठी पछिको लोकतान्त्रिक गणतन्त्रको युगमा यदाकदा देखिएका प्रतिकूलताका अतिरिक्त आमरूपमा नेपाली पत्रकारिताले सिर्जनशीलताको असीमित वातावरण अनुभूत गर्न पाएको छ । पुरानो शक्ति र सम्बन्धमा आएको फेरबदल आमरूपमा सकारात्मक छ, अभिव्यक्ति स्वतन्त्रताको वृत्तलाई फराकिलो पार्ने प्रकृतिको छ । तैपनि उन्नत लोकतान्त्रिक परिवेश अनुकूलको स्वतन्त्र तर पूर्णतः लोकहितमा समर्पित मिडिया प्रणाली आज पनि नेपाली समाजको सुन्दर सपना हो ।

आजको नेपाली आमसञ्चार माध्यमको समाजशास्त्र केलाउन छापा, प्रसारण र पछिल्लो पुस्ताका अनलाइन माध्यमका संस्था, उत्पादन र पाठक वा दर्शक–श्रोताको अवस्था र अनुभूति बुझ्न सक्नुपर्छ । किनकी, विभिन्न प्रकारका आक्रामक वा अनाक्रामक शक्ति, नियन्त्रणका प्रवृत्ति, वैद्य वा वैद्यता वेगरका संस्थाहरू, वर्ग र समुदायका बीच नै नेपाली मिडियाका जराजरा फैलिएका छन् । यही यथार्थबीच राजनीतिक–आर्थिक–सामाजिक परिवर्तन र मिडिया क्षितिजमा परेको त्यस्तो परिवर्तनको प्रभावसम्बन्धी अध्ययन नै नेपाली आमसञ्चार–समाजशास्त्र हो । मिडिया–उत्पादनलाई सामाजिक संरचनाको प्रतीकात्मक स्वरूप मान्ने हो भने मिडियाका ती अन्तर्वस्तुको निर्माण कसरी–कसरी हुन्छ ? सामाजिक यथार्थलाई कस्ता–कस्ता मिडियाले कस्तो–कस्तो आकार–प्रकारमा प्रस्तुत गरिरहेका
छन् ? घटना र प्रवृत्तिको कसरी–कसरी व्याख्या भइरहेको छ ? आजका समाचारलगायतका सामग्रीका मूल्य–मान्यताका आधारबारे थाहा पाउन सामाजशास्त्रीय ढाँचामा यी प्रश्नहरूको उत्तर खोजिनु पर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?