logo
२०८० चैत्र १५ बिहीवार



भदौ १५ भित्रको हिसाबमा लाभांश दिन बाटो खुला

अर्थ |




गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ८ गते । बैङ्क तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ भित्रको नाफा–नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति पाएका छन् । बैङ्क तथा वित्तीय संस्थाले गत भदौ १५ गतेसम्मको नाफा–नोक्सान हिसाबलाई आधार मानेर गत आर्थिक वर्षको लाभांश घोषणा गर्न पाउने भएका हुुन् ।
लाभांश घोषणा गर्ने प्रयोजनका लागि २०७८ भदौ १५ भित्रका र बाह्य लेखा परीक्षकद्वारा एडजस्टिङ इभेन्ट्स हो भनी प्रमाणित गरेका इभेन्ट्सलाई समायोजन गरी हुन आउने नाफा–नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति प्रदान गर्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले ‘इजाजत पत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०७७’ मा पहिलो संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।
लाभांश घोषणा तथा वितरणमा सीमा तोकिएको खण्डमा इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाले आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाबाट राष्ट्र बैङ्कबाट तोकिएको सीमाभन्दा बढी लाभांश घोषणा तथा वितरण गर्न नपाउने कार्यविधिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ को लागि इजाजतपत्रप्राप्त बैङ्क तथा वित्तीय संस्थाले सो आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने कार्यविधिमा उल्लेख छ तर यस्तो नगद लाभांश इजाजत पत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने तथा खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागिबाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था कार्यविधिमा छ ।
यसरी वितरणयोग्य मुनाफा गणना गर्दा कुनै अस्पष्टता नरहोस् भन्ने हेतुले यस वर्षको मुनाफामा यस वर्षभन्दा अघिको वर्षबाट सञ्चित रहेको वितरणयोग्य मुनाफालाई जोडेर यस वर्षका लागि कुल वितरणयोग्य मुनाफा गणना गर्न बाधा नपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?