logo
२०८१ बैशाख १३ बिहीवार



नेपाली भाषाको श्रीवृद्धि

विचार/दृष्टिकोण |




निशा चौधरी
भाषालाई सामाजिक सम्पर्कको प्रभावकारी माध्यम मानिन्छ । भाषा मानिसको आधारभूत आवश्यकता पनि हो । भाषाका अनेक रूप छन् तापनि सबै किसिमको भाषाको प्रयोजन मानिसको दैनिक जीवनयापन तथा कामकाजमा प्रभावकारी सञ्चारका माध्यमबाट सहजता तथा सरलता प्रदान गर्नु नै हो । तसर्थ भाषा विचारको वाहक मात्र नभएर सामाजिक कार्य सम्पन्न गर्ने प्रभावकारी माध्यम पनि हो । नेपाल बहुभाषिक देश भएकोले विभिन्न जातजातिका मानिसको बसोबास रहेको छ । तिनै जातजातिको अनेकन भाषा भाषिकाहरूको अस्तित्व पनि रहेको छ । देशभर १२३ भाषभाषी रहेको हाम्रो देशलाई साँच्चै गौरवमय मान्नुपर्छ । यति हँुदाहुँदै पनि सबै भाषाभाषीको साझा भाषा, मानक भाषा, सरकारी कामकाजको भाषा र नेपालको राष्ट्रभाषाका रूपमा नेपाली भाषा नै हो ।
हाल नेपालमा प्रचलित विविध भाषा र भाषिकाहरूको सङ्कलन तथा लोपोन्मुख जातजातिहरूको भाषिकाको संरक्षण र संवद्र्धन गर्ने कार्यमा धेरै भाषाविद् तथा भाषाप्रेमी लागिपरेको देखिन्छ तर नेपालकै एक मात्र साझा माध्यम भाषाका रूपमा रहेको नेपाली भाषाको संरक्षण र संवद्र्धनमा उचित ध्यान पुग्न सकेको देखिँदैन । सीमित भाषाविद्, भाषाप्रेमी र नेपाली विषय अध्ययन र अध्यापनकर्ताबाहेकका नेपाली भाषा प्रयोग गर्ने ठूलो हिस्सामा रहेको आमनागरिकले यसको शुद्ध प्रयोगमा सचेतता अपनाएको पाइँदैन । यो गम्भीर विषय हो ।

वर्तमान अवस्थामा नेपाली भाषाको लोकप्रियता बिलाउँदै गएको देख्न सकिन्छ । यसको प्रमुख कारण हामीले हाम्रो भाषाभन्दा विदेशी भाषालाई धेरै माया र प्राथमिकता दिन थालेका छौँ । नेपाली भाषा हाम्रो शान हो, पहिचान हो, संस्कृति हो र विश्वसामु हामीलाई चिनाउने माध्यम नेपाली भाषा नै हो भन्ने कुरा बिर्सन थालेका छौँ । अङ्ग्रेजी भाषा बोल्न नजानेकोमा हीनताबोध गर्दछौँ तर नेपाली भाषा बोल्न जानेकोमा गर्व गर्न सक्दैनौँ । त्यही नेपाली भाषामा पनि जिब्रो लेप्य्राउँदै बोल्न खोज्दछौँ । अङ्गे्रजी भाषा बोल्न हुन्न भनेको पनि होइन । हो, आजको युगमा अङ्गे्रजी नजान्ने मानिसलाई जीवनयापन गर्न गाह्रो छ । विदेशी भाषा पनि चाहिन्छ । अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गर्नु छ । अध्ययनका लागि विदेश जानु छ । त्यसका लागि अङ्ग्रेजीमा राम्रो दक्षता हुनैपर्छ तर नेपाली नबोलेर नेपाली भाषालाई घृणा गरेर तथा नेपालीको गौरवमय नेपाली भाषालाई समाप्त पारेर अङ्ग्रेजीमा दक्ष त भइँदैन नि । खै कहाँ गए नेपाली मिठा ती शब्दहरू । सुन्दै मनमोहक लाग्ने आमा बुवा भन्ने शब्द ? हामी अशुद्ध अङ्गे्रजी भाषा बोल्न लाज मान्छौँ तर अशुद्ध नेपाली भाषा प्रयोग गर्न लाज मान्दैनौँ । सामान्य ठान्छौँ, अझ आधुनिक भएको नसुहाउने ढोँग गर्दछौँ । जापान, फ्रान्स, स्पेन, चीन, कोरियाजस्ता विकसित देशतिर हेर्ने हो भने ती देशहरूले आ–आफ्नै भाषिक पहिचानलाई कायम गरेको देखिन्छ । तिनै समृद्धशाली, विकसित देशका नागरिकलाई अङ्ग्रेजी अथवा अन्य कुनै भाषाको ज्ञान अन्यन्तै न्यून मात्रामा हुन्छ । उनीहरू आफ्नै भाषामा पूर्णतः निर्भर छन् र सक्षम पनि । कतिपय मानिस त जानेर पनि अङ्ग्रेजी भाषा बोल्दैनन् भने कोही नजानेर नै । उनीहरूको भाषाप्रतिको मोह र अनुराग साँच्चिकै लोभलाग्दो नै छ । त्यो देखेर लाग्छ, हाम्रो भाषालाई पनि त्यत्तिकै समृद्धशाली बनाउन सकेको भए सायद हामी पनि अन्य भाषामा भर पर्नुपर्ने थिएन कि ?

वर्तमान परिप्रेक्ष्यलाई हेर्ने हो भने बालबालिकाको भविष्य निर्माणको जग बसाल्ने तहमा नै नेपाली विषयलाई खासै महìव दिइँदैन । अझ च्याउजस्तै उम्रिएका भनौँ कि उमारिएका बोर्डिङ स्कुलमा नेपाली विषयबाहेक सबै विषय अङ्ग्रेजी माध्यमबाटै अध्ययन गराइन्छ । बालबालिकालाई जानी–नजानी विद्यालय परिसरभित्र प्रवेश गरेपछि अङ्गे्रजीमा नै बोल्न बाध्य बनाइन्छ । नेपाली बालबालिकाको नेपाली भाषाप्रतिको कलिलो आस्थालाई निमोठेर नेपाली भाषा र विषयप्रति अनास्था जगाउने काम भइरहेको छ । आवासीय विद्यालयमा मात्र होइन, अहिले त कतिपय सामुदायिक विद्यालयमा समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन सुरु गरिएको छ । त्यसैले त पछिल्लो समयको अध्ययनअनुसार विद्यार्थीले नेपाली विषयमा प्राप्त गरेको नतिजा त्यति सन्तोषजनक देखिँदैन । अझ साना नानीबाबुले घरमा स्याउ, केरा, दालभात भनेको सुन्दा एप्पल, बनाना, राइस भन्नुपर्छ भनेर थर्काउने बाआमा यही समाजमा देख्न सक्छौँ । यसको असर प्रत्यक्ष रूपमा नेपाली भाषामा परिरहेको छ । यति मात्र कहाँ हो र, उच्च माध्यमिक र विश्वविद्यालयस्तरमा पनि नेपाली विषय अध्ययन र विद्यार्थीको सङ्ख्या बर्सेनि घटिरहेको छ ।

नेपाली भाषा हाम्रो राष्ट्रभाषा हो । सर्वप्रथम बालकले आफ्नो मातृभाषा सिक्ने अधिकार पाउनुपर्छ । दोस्रो भाषा त पछि सिक्दै जाने प्रक्रिया हो । जन्मिनेबित्तिकै बालबालिकालाई अरू भाषाभन्दा आफ्नै भाषा सिकाउनु राम्रो हुन्छ । नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा संविधानले नै अङ्गीकार गरेको भए तापनि कतिपय सरकारी कार्यालयमा अङ्ग्रेजी माध्यमबाट कार्यसम्पादन गर्ने गरेको पाइन्छ । कार्यालयमा प्रयोग हुने अधिकतम फाराम, भौचरलगायतका कागजात अङ्ग्रेजीमा नै प्रयोग गरेको पाइन्छ । जसले गर्दा अङ्गे्रजी नजान्ने सेवाग्राहीलाई फाराम भर्न अति नै गाह्रो भएको यथार्थ छ । विदेशी व्यक्तिसँग कुरा गर्दासमेत आफ्नो भाषिक पहिचान कायम गरेको पाइँदैन । यसरी नेपाली भाषा प्रयोगको वर्तमान अवस्था झनै कहालिलाग्दो रहेको अनुमान गर्न सकिन्छ ।
हुन त नेपाली भाषाको व्याकरणका प्रयोगमा पनि जटिलता रहेका छन् । समय समयमा भइरहेको व्याकरणिक परिवर्तनले गर्दा नेपाली विषय अध्ययन अध्यापनकर्तामा समेत केही अन्योलता छाएको छ । अर्कोतिर विद्यार्थी झनै अन्योलमा रहेको पाइन्छ । यसरी छिटोछिटो परिवर्तन भइरहेको व्याकरणका परिवर्तनहरूप्रति विद्यालयमा नेपाली विषय अध्यापन गर्ने अधिकांश शिक्षकसमेत अवगत नभएको अवस्था छ । दुर्गम तथा ग्रामीण भेगमा यो समस्या झनै विकराल रहेको छ । जसका कारण नयाँ परिवर्तनअनुरूप निर्माण गरिएको पाठ्यपुस्तकलाई समेत शिक्षकले पुरानै तरिकाबाट सच्याएर पढाउने गरेकोसमेत पाइन्छ । त्यसैले शुद्ध भाषिक प्रयोगमा समस्या आउनुमा यो एउटा कारण हुन सक्छ । नेपाली भाषाको यथोचित विकास हुन नसक्नुमा नेपाली भाषाको संरक्षण र सम्बद्र्धनको जिम्मेवारी लिएका निकायको कमीकमजोरी पनि प्रमुख कारण हो । नेपालमा अध्ययन अध्यापनमा गराइने सबै सङ्कायका सबै विषयका पाठ्यपुस्तक नेपाली भाषामा तर्जुमा तथा अनुवाद छैनन् । संस्थागत विद्यालयमा पनि नेपाली विषयका बाहेक विषयहरू पनि नेपाली माध्यमबाट पठनपाठन गराउन अनिवार्य छैन । अझ पाठ्यक्रम विकास केन्द्रबाटै विकास गरिएका पाठ्यपुस्तकहरूको प्रयोग गर्न संस्थागत विद्यालयलाई बाध्य नबनाइनुजस्ता कारण भाषा विकासका अवरोध हुन् ।

समग्रमा नेपाली भाषाको अहिलेको अवस्था आउनुमा मुख्यगरी भाषिक शुद्धताको विवादरहित मापदण्ड तय हुन नसक्नु हो । यसैगरी भाषिक विकासको जिम्मेवारी बोकेका नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय नेपाली शिक्षण विभाग, पाठ्यक्रम विकास केन्द्रलगायतका सम्बद्ध निकायहरूले उचित ध्यान पु-याउन नसक्नु पनि समस्या हो । भाषाविद्हरूका आ–आफ्नै व्यक्तिगत व्याख्या हुनुुजस्ता थप कारण पनि छँदैछन् । यसका अतिरिक्त नेपाली विषय अध्ययनपछि प्राप्त हुने अत्यन्त न्यून अवसरका कारण अध्ययनमा उदासीनता बढ्दै गएको देखिन्छ ।

उच्च शिक्षा पढ्ने तरखरमा रहेका विद्यार्थीलाई समाजका कुनै व्यक्तिले नानी बाबु के विषय पढ्ने भनेर सोध्दा नेपाली विषय पढ्ने भनेपछि नाक खुम्च्याउने अवस्था छ । नेपाली पढेर कसरी उँभो लाग्छौ ? बालबालिका तथा अभिभावकले पनि नेपाली विषयलाई कम आकलन गरेर विषय भनेर नेपाली भाषाप्रति व्यङ्ग्य र अपमान गरेको पाइन्छ । नेपाली पढेर कसरी उँभो लाग्छौ ? जस्ता प्रश्न तेर्सिने गर्छन्, जसले गर्दा नेपाली विषय अध्ययन अध्यापनकर्ताले समेत समाजमा आफ्नो विषयगत क्षेत्र उल्लेख गर्न पनि अप्ठ्यारो मान्नुपर्ने स्थिति छ ।

अन्त्यमा, नेपाली भाषा सबैको साझा भाषा हो, यो संवैधानिक भाषा हो, सबै नेपालीले एकआपसमा भावना साटासाट वा विचार विनिमय गर्ने भाषा हो । ठूलो सङ्ख्यामा रहेको खस आर्यको मातृभाषा भए पनि धेरै जाति, जनजातिका पछिल्लो पुस्ताले पनि नेपाली भाषालाई मातृभाषाकै रूपमा स्वीकार गर्दै आएको महाभाषा हो । सरकारी कामकाजको भाषा हो । पठनपाठनको मुख्य माध्यम भाषा हो । साझा संस्कृतिलाई प्रवद्र्धन गर्दै आएको भाषा हो । मूलतः नेपाली भाषा विश्वकै समृद्ध सभ्यता र ज्ञान भएको संस्कृत भाषाबाट विकसित भाषा हो । पत्रकारिता वा आमसञ्चारको सशक्त भाषा हो, साहित्य कला प्रस्तुत गर्ने भाषा हो । नीति नियम तथा ऐन कानुन निर्माण गर्ने भाषा हो । सबै तहका न्यायपालिकामा बहस, पैरवी र मुद्दा फैसला गर्ने भाषा हो । गीत÷सङ्गीत र चलचित्र निर्माण गर्न प्रयोग गर्ने भाषा हो । उखान टुक्का, गाउँखाने कथादेखि लिएर मिठा शब्दजाल बुन्ने भाषा नै नेपाली हो । त्यसैले देशको अस्तित्व साहित्य, कलासंस्कृति र राष्ट्र राष्ट्रियताको दृष्टिले नेपाली भाषा साझा एवं महाभाषा हो, गौरवशाली भाषा हो । तसर्थ नेपाली भाषा हाम्रो पहिचान हो, हाम्रो स्वाभिमान हो, नेपाली भाषा नभए हाम्रो अस्तित्व पनि रहँदैन । हामीले हाम्रो भाषालाई माया नगरे कसले गर्छ ? नेपाली भाषा र विषयलाई अपहेलनाको दृष्टिले होइन, मानसम्मान गर्नुपर्छ र नेपाली भाषालाई समृद्ध र विकसित बनाउँदै लैजानुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?