logo
२०७८ असोज २६ मंगलवार



स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक पाँच हजार

खुला |




गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २६ गते । सरकारले स्पाइनल कर्ड इन्जुरी भएर हिँड्न ह्विल चियरमा प्रयोग गर्नेहरूलाई मासिका पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
२०७४ सालमा भएको तीनै तहको निर्वाचन अघि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मासिक पाँच हजार दिने निर्णय गरेको थियो ।
त्यो निर्णय निर्वाचन आचारसंहिता लागेपछि गरेको भनेर निर्वाचनपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले खारेज गरेको थियो । अहिले पुनः नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेपछि उनीहरूलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
स्पाइनल कर्ड इन्जुरी भएकाहरूले दुई साताअघि सिंहदरबारमा पुगेर गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर पहिला निर्णय भएको र ओली नेतृत्वको सरकारले काटेको भत्ता पुनः दिने निर्णय गरिदिन आग्रह गरेका थिए । उनीहरूले सरकारले निर्णय गरेपछि गृहमन्त्री खाणलाई धन्यवादसमेत दिएका छन् ।
मन्त्रिपरिषद्ले मासिक भत्ता दिने निर्णय गरेपछि स्पाइनल कर्ड इन्जुरीको समस्या भएका केशव थापाले यो निर्णयले पूर्ण रूपमा परिवारमा आश्रित हुनुपर्नेहरूलाई आत्मनिर्भर हुन सक्छौँ भन्ने हौसला प्रदान गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “जीवन निर्वाह गर्नका लागि परिवारमा पूर्णरूपमा आश्रित हुन पर्नेहरूलाई मासिक मत्ता उपलब्ध गराउने सरकारको निर्णयले आत्मनिर्भर भएर केही गर्न सक्छौँ र जीवन निर्वाह गर्न सक्छौँ भन्ने हौसला प्रदान गरेको छ । ” सरकारको यो निर्णयले केही गर्न पर्छ र सकिन्छ भन्ने आशा पलाएको उहाँले बताउनुभयो ।
अर्का स्पाइनल कर्ड इन्जुरीको समस्या भएका ऋषिराम ढकालले राज्यले दिनुपर्ने सहयोग आफूहरूलाई दिएकोले एकदमै खुसी लागेको बताउनुभयो । ‘हामीले राज्यलाई जीवन निर्वाह गर्न आवश्यक सहयोग गर्न पटक–पटक आग्रह गरेका हौँ । यो सरकारले हाम्रो आग्रह सुनेर निर्णय ग¥यो हामीलाई धेरै नै खुसी लागेको छ । ’
सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई पनि मासिक पाँच हजाररकम दिने प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत गरेको छ ।  

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?