logo
२०८० चैत्र १६ शुक्रवार



सरकारको नीतिमा नागरिक विज्ञान

विचार/दृष्टिकोण |




डा. सुनिलबाबु श्रेष्ठ

वैज्ञानिक क्रियाकलाप एवं अनुसन्धानमा वैज्ञानिक र नागरिकको सहभागिता र सहकार्य हुने अभ्यासको रूपमा नागरिक विज्ञानलाई लिने गरिन्छ । यस अभ्यास तथ्याङ्क निगरानी र सङ्कलन, विश्लेषण, नतिजा प्रकाशनसम्म दुवैको संयुक्त रूपमा सहभागिता रहन्छ ।
सामान्यतया नागरिकको सहभागिता अवैतानिक स्वयंसेवकको रूपमा हुन्छ । कृषक, सर्वसाधारण, विद्यार्थी, शिक्षकलगायतका नागरिकहरू वैज्ञानिकहरूसँग अनुसन्धानमा सहभागिता जनाई शोधकार्यमा संलग्न हुन सक्छन् । सर्वसाधारणको तर्फबाट संलग्न हुनेलाई चाँहि नागरिक वैज्ञानिक भनिन्छ ।
ठूलो सङ्ख्यामा पैmलिएका तथ्याङ्कहरू सङ्कलन गर्न यस्तो अभ्यास अति उपयोगी हुने गर्छ । नागरिक विज्ञान परम्परागत अनुसन्धान प्रक्रिया वा दृष्टिकोणको विपरीत समुदायका सदस्यहरूको सहभागिता साथ अनुसन्धानका नतिजाहरू प्राप्त गर्न उत्प्रेरित हुन्छ । यसबाट वैज्ञानिक र नागरिक दुवैलाई फाइदाजनक हुन सक्छ । वैज्ञानिकले सहज र व्यावहारिक ढङ्गबाट वैज्ञानिक अनुसन्धान नतिजाहरू प्राप्त गर्न सक्छन् । नागरिकले पनि वैज्ञानिक जनचेतना अभिवृद्धि गर्ने मौका प्राप्त गर्छन् । नागरिकहरू वैज्ञानिक प्रक्रियामा धेरै तरिकाहरू जस्तै– अनुसन्धानका लागि प्रश्नहरूको तयारी, प्रक्रियाको डिजाइन र तथ्याङ्क सङ्कलन, विश्लेषण र नतिजाहरू सञ्चार आदि गर्न सहभागी हुन सक्छन् । यूरोपियन नागरिक विज्ञान सङ्घले सन् २०१५ मा नागरिक विज्ञान परियोजनामा नागरिकको सहभागिताले सार्थक भूमिका खेल्छ, जसबाट नयाँ ज्ञान उत्पादित हुन्छ भन्ने तथ्य स्वीकारेको छ ।
एक्काइसौँ शताब्दीमा आएर नागरिक विज्ञानको नयाँ स्वरूप देखापरेको भए पनि यसको अभ्यास पहिलेदेखि नै भएको पाइन्छ । वर्षाैंदेखि वैज्ञानिक अनुसन्धानमा सर्वसाधारण संलग्न भई योगदान दिएको उदाहरण भेटिन्छ । सत्रौँ शताब्दीमा नै मौसमको अध्ययन र जलवायुसम्बन्धी तथ्याङ्क लिन नागरिक विज्ञानको अवधारणा उत्तरी अमेरिकामा प्रयोग भएको मानिन्छ । अमेरिकाको पन्छीविज्ञ सङ्घका एक सदस्य वैल्स वुडव्रिज कुकले उन्नाइसौँ शताब्दीको पछिल्लो दशकतिर नै नागरिक विज्ञानको अभ्यास सुरुवात गरेको मानिन्छ । उनले चराहरूको सूचना सङ्कलन गर्ने एक सरकारी कार्यक्रममा प्रवासी पन्छी अवलोकन गरी तथ्याङ्क सङ्कलन गर्न नागरिकलाई संलग्न गरेको देखिन्छ । स्वयंसेवकहरूको एक समूहले सूचना र तथ्याङ्क सङ्कलन गरी नतिजा सार्वजनिक गर्न सघाएका थिए भनिन्छ । साधारणतया बीसौँ शताब्दीभन्दा पहिलेका वैज्ञानिकहरू जस्तैः सरआइज्याक न्यूटन, वैन्जामिन फ्रेन्कालिन र चाल्स डार्बिनको व्यक्तिगत प्रयासमा शोधयुक्त खोजको प्रवलता थियो । तर बीसौँ शताब्दीको मध्येतिर आइपुग्दा विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान विश्वविद्यालयका प्रयोगशालामा केन्द्रित भएको देखिन्छ र प्राज्ञिक क्षेत्रको प्रयोगशालाका अनुसन्धानकर्ताहरूको बाहुल्यता भएको भेटिन्छ । बीसौँ शताब्दीको पछिल्लो दशकतिर आएर विज्ञानको लोकतान्त्रिकीकरणसँगै नागरिक विज्ञानको अवधारणाको नयाँ चिन्तनसहित अगाडि आएको देखिन्छ । सबैभन्दा पहिले नागरिक विज्ञान शब्दको प्रयोग सन् १९७९ मै ‘न्यू साइन्टिस’ नामक जर्नलमा आएको मानिन्छ । हाल आएर नागरिक विज्ञानको अवधारणाले विश्वव्यापी रूपमा लोकप्रियता हासिल गर्दै गइरहेको छ ।

आवश्यकता र उपयोगिता
वैज्ञानिक अध्ययन, अनुसन्धानलाई भरपर्दो तथ्याङ्क सङ्कलन गर्न ठूलो सङ्ख्यामा तथ्याङ््कहरू आवश्यक पर्छ । ठूलो सङ्ख्यामा तथ्याङ्क सङ्कलन गर्न महँगो र समय पनि बढी लाग्ने हुन्छ । नागरिक विज्ञान अवधारणाले कम समय र किफायती ढङ्गबाट धेरै तथ्याङ्कहरूको पहुँचता प्राप्त गर्न सक्छ जस्ले गर्दा नतिजाको विश्वसनीयता बढ्छ । यसबाट वैज्ञानिक अनुसन्धानको गुणस्तरीयता र परिणाममा पनि वृद्धि हुन गई वैज्ञानिक ज्ञानको भण्डार विस्तारित हुन्छ । साथै समाजका समस्या वा विश्वकै जल्दाबल्दा समस्या जस्तैः जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, महामारी आदि विश्वव्यापी चुनौतीहरूको समाधान गर्न वैज्ञानिकलाई सशक्तीकरणमा सहयोग पुग्न सक्छ । साथै नागरिक र समुदायसँग वैज्ञानिकलाई घुलमिल हुने र समस्याको वास्तविकता बुझ्न सघाउने अनुसन्धानका क्षेत्रहरू पहिचान गर्न समेत मद्दत मिल्छ । तसर्थ नागरिक विज्ञान अवधारणा आत्मसात् गर्दै क्रियाकलापहरू र परियोजनाहरू सञ्चालन हुन सके विज्ञानले व्यापकता प्राप्त गर्न सहज हुने देखिन्छ । यसबाट विज्ञानलाई जनविज्ञान बन्ने अवसर प्राप्त हुन सक्छ ।
जीव विज्ञान, संरक्षण र पारिस्थितिक प्रणालीका अनुसन्धानहरूमा नागरिक विज्ञानको उपयोगिता धेरै छ । कृषि विज्ञानमा कृषकहरूको सहभागिता गरी अध्ययन, अनुसन्धान भएको पाइन्छ । जलवायुको खाद्य प्रणालीमा पर्ने असरका सम्बन्धमा कृषकलगायत सम्बद्ध नागरिकको संलग्नताबाट तथ्याङ्क उपलब्ध हुन सक्छ । जसबाट महìवपूर्ण अनुसन्धानका नतिजाहरू प्राप्त हुनसक्ने देखिन्छ ।
नागरिक विज्ञान परियोजनाहरू हाल आएर विविध क्षेत्रमा लागू भइरहेको छ । वनस्पतिशास्त्रदेखि खनिज विज्ञानसम्म नागरिकले वैज्ञानिकसँग सहकार्य गरी वैज्ञानिक क्रियाकलापहरू विश्वव्यापी रूपमा गरिरहेका छन् । जलवायु परिवर्तनमा यस प्रकारको अभ्यास अझ उपयोगी हुने देखिन्छ । नागरिक विज्ञान क्षेत्रमा स्मार्टफोनको विकाससँगै नागरिकको संलग्नता भएबाट ठूलो सङ्ख्यामा तथ्याङ्कहरू डिजिटल प्रविधिमार्फत प्राप्त गरी वैज्ञानिक अनुसन्धान कार्यमा सहजता भएको छ । यस्तै जीपीएसको प्रयोग गरी वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने प्रवृत्ति नागरिक विज्ञान परियोजनाहरूमा वृद्धि भएको छ ।
नागरिक विज्ञानले विश्वभर जैविक विविधताको विश्लेषणमा महìवपूर्ण योगदान दिएको छ । स्वास्थ्य अनुसन्धानका क्षेत्रहरूमा सार्वजनिक सहभागिता र संलग्नता तथ्याङ्क सङ्कलनमा अभिन्न अङ्गको रूपमा लिइन्छ । जनस्वास्थ्य र महामारीको अध्ययन, अनुसन्धानमा पनि यो अवधारणा उपयोगीसिद्ध देखिन्छ । कोभिड–१९ महामारीको अनुसन्धानमा नागरिक विज्ञान अवधारणा उपयोगी अभ्यास हुन सक्ने देखिन्छ । क्यालिफोर्निया विश्वविद्यालयले कोभिड–१९ नागरिक विज्ञान परियोजना आम नागरिकको सहभागितामा सुरुवात गरेका राम्रो उदाहरण पाइन्छ ।
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पनि नागरिक विज्ञानले त्यत्तिकै महìवपूर्ण भूमिका खेल्न सक्छ । वर्षामा परेको पानी अनुगमन गर्ने प्रणालीको विकास सहज तरिका गरी बाढी, पहिरो आउन सक्ने पूर्वानुमान गरी जनधनको बचाउ गर्न होस् या विपद् जोखिम न्यूनीकरण नक्साहरू तयार गर्ने परियोजनाहरू सञ्चालन गर्न सकिन्छ । यस कार्यमा प्राकृतिक प्रकोपको व्यवस्थापन गर्ने सम्बन्धमा नागरिक समुदायको सहभागिता र सहकार्यसहितको नागरिक विज्ञान परियोजना सान्दर्भिक हुन्छ । यसरी नागरिक विज्ञानको अवधारणामार्फत गरिएका अनुसन्धानहरूले संलग्न नागरिक र वैज्ञानिकलाई मात्र फाइदा पुग्ने होइन कि अनुसन्धानका नतिजाहरूको आधारमा बन्ने नवप्रवर्तनात्मक वस्तु, सेवा, नीति, परियोजनाहरूको कार्यान्वयन चरणमा समुदायबाट बढी स्वीकार्यता प्राप्त गर्न सक्छ ।
नागरिकको सहभागिता अनुसन्धानहरूमा बढाउन सम्बन्धित निकायहरूले नागरिक विज्ञानलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । हाम्रो जस्तो जैविक विविधताले भरिपूर्ण विकट देशमा नागरिकले आपूmले देखेको नौलो वनस्पति वा जीवमा तस्वीर वा कुनै प्राकृतिक घटनाको विवरण फोटो खिचेर वा सूचना सञ्चारको माध्यमबाट सम्बन्धित वैज्ञानिकलाई जानकारी उपलब्ध गराउन सकिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) र गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबीच आपसी समझदारीपत्र भई दुवै संस्थाको सहकार्यमा ‘वैज्ञानिक गाउँ’ कार्यक्रम सञ्चालनमा आएको छ । यसै सन्दर्भमा सो गाउँपालिकामा मर्चा बनाउन प्रयोग हुने स्थानीय भाषामा ‘बुटी’ भनिने वनस्पति अत्यधिक लोप हुँदै गएको र नासिने सम्भावना भएकोले यसबारे अधययन, अनुसन्धानको जरुरीको महसुस गरी गाउँपालिकाले सो वनस्पति नास्टलाई हस्तान्तरण गरेको छ । सो बारे प्रज्ञा–प्रतिष्ठानका वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । यो पनि नागरिक विज्ञानको एक राम्रो उदाहरण हो । जस्ले वैज्ञानिक खोज गर्दै नयाँ ज्ञान उजागर गर्न सक्छ ।
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई सूचना, शिक्षा स्वास्थ्य, आवास, स्वच्छ वातावरणजस्ता विविध मौलिक हकको प्रत्याभूति गरेको छ । प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोग, नागरिकमा आधारभूत आवश्यकतामा समान पहुँच सुनिश्चित गर्ने, क्षेत्रीय सन्तुलनसहित समावेशी सामाजिक आर्थिक विकास गर्नेजस्ता नीतिहरू समेत अवलम्बन गर्ने कुरा संविधानमा उल्लेख भएको पाइन्छ । यस्ता नीतिहरू कार्यान्वयनमा जनसहभागिताको अभिवृद्धि गर्ने, वैज्ञानिक अध्ययन, अनुसन्धानमा लगानी अभिवृद्धि गर्ने कुरालाई समेत जोड दिएको परिप्रेक्ष्यमा नागरिक विज्ञान अवधारणालाई उपयोग गर्न सके उद्देश्य प्राप्तिमा बहुआयामिक ढङ्गबाट लाभदायक हुने देखिन्छ । राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ ले आम जनसमुदायमा विज्ञानसम्मत व्यवहार विकास गर्ने, प्रदेश र स्थानीय तहसम्म नागरिकमा वैज्ञानिक चेतना विस्तार गर्ने उल्लेख गरेको छ । तथापि, नागरिक विज्ञानको अवधारणा अवलम्बन र कार्यान्वयनसम्बन्धी कार्यनीतिगत बुँदाहरू बारे केही उल्लेख गरेको पाइन्न । यस परिप्रेक्ष्यमा नागरिक विज्ञान अवधारणालाई नीतिमा समावेश गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । नागरिक विज्ञान परियोजना र समुदाय एवं नागरिकको वैज्ञानिक अध्ययन कार्यमा सहभागिता हुने सुनिश्चित कार्ययोजनातर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट हुनु जरुरी देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घले अघि सारेको दिगो विकास लक्ष्यहरूलाई वि.संं २०८७ सम्म हासिल गर्न नेपालले प्रतिबद्वता व्यक्त गरेको छ । विज्ञान र प्रविधिमार्फत दिगो विकासका लक्ष्यहरूमा प्रगति हासिल गर्न सकिन्छ भन्ने कुरामा दुईमत छैन । तसर्थ यसलाई आवश्यक पर्ने अध्ययन, अनुसन्धान र नवप्रवर्तनका क्रियाकलापहरू नागरिक विज्ञानको माध्यमबाट गर्न उपयोगी हुने देखिन्छ ।
देशको वैज्ञानिक अध्ययन, अनुसन्धान र नवप्रवर्तनको सर्वोच्च निकाय नास्ट ‘समाजका लागि विज्ञान र समृद्धिका लागि नवप्रवर्तन’ भन्ने सोचका साथ अघि बढिरहेको छ । यस अवस्थामा नागरिक विज्ञानको अवधारणा अवलम्बन गरी परियोजनाहरूलाई विस्तार गर्न पहल गर्नसके विज्ञान प्रविधिमार्फत समृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिमा सफलता हात पार्न सहज हुने देखिन्छ । नागरिकसँगसँगै विज्ञान र प्रविधिले आफ्नो विकास र विस्तार गर्नसके समाजमा विज्ञान प्रविधिको संस्कार विकास हुन सक्छ । सामुदायिक स्तरसम्म विज्ञान सञ्चारले व्यापकता प्राप्त गर्न सक्छ । वैज्ञानिक चेतनाले समाज र देश चलायमान हुन सक्छ । त्यसैले नागरिक विज्ञानले आगामी दिन नीति र कार्यक्रममा प्राथमिकता पाउनुपर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?