logo
२०७८ कार्तिक ६ शनिवार



बालबालिकामा ‘स्क्रिन डिसअर्डर’ जोखिम

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

माहामारीपछि लाखौँ विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित भएका छन् । यद्यपि इन्टरनेट, कम्प्युटर, ट्याब या ल्यापटपमा पहुँच हुने विद्यार्थीले अनलाइन कक्षा लिँदै आएका छन् । नियमित पठनपाठन हुन नसकेकाले विद्यार्थीको सिकाइ अवस्थालाई लिएर अभिभावकसमेत चिन्तित छन् । अर्कोतिर अनलाइन कक्षामा संलग्न विद्यार्थीका अभिभावकसमेत मोबाइल र ल्यापटपमा बालबालिकाको लत लागेको विषयमा चिन्तित देखिन्छन् । सिर्जनात्मक क्षमता, सामाजिक सम्बन्ध र आधारभूत जीवनोपयोगी सीप सिक्नबाट बालबालिका वञ्चित हुन्छन् कि भन्ने चिन्ता अभिभावकमा परेको देखिन्छ ।
अनलाइन कक्षाका कारण लामो समयसम्म मोबाइल र ल्यापटपमा बालबालिका भुलेका छन् । बालबालिकाको अनलाइन कक्षामा अभिभावकको उचित निगरानी हुन सकेको पनि छैन । जसले गर्दा पढाइमा भन्दा अन्य मनोरञ्जनात्मक क्रियाकलापमा बालबालिका बढी भुलेको पाइन्छ । इन्टरनेटजस्तो खुला विश्वबाट प्राप्त हुने सामग्रीले बालबालिकाको भविष्यमा कस्तो असर पु¥याउला भन्ने विषय ज्यादै नै जटिल रूपमा उभिएको छ । बालबालिकाको अध्ययन र सिकाइमा अनलाइन पद्धति वरदानजस्तै भए पनि यसको अनियन्त्रित र असीमित प्रयोगले दुव्र्यसनीको सङ्ख्या बढाउँदै जाने सम्भावना पनि उत्तिकै रहन्छ । यसैले उपयुक्त किसिमको निगरानी र सुपरिवेक्षणको व्यवस्था आवश्यक बनेको छ । अनलाइन सिकाइ र शिक्षालाई सीमित रूपमा छोटो समयावधिका लागि मात्र गर्नु बुद्धिमानी हुनेछ ।

इन्टरनेट/स्क्रिन डिसअर्डर के हो ?
लामो समयसम्म एउटै कामलाई निरन्तरता दिएमा त्यसले बानीको रूप ग्रहण गर्दछ । कुलतलाई खराब किसिमको बानी भनेर चिनिन्छ । बानी लागिसकेपछि यसलाई उल्लङ्घन गर्न अप्ठेरो हुन्छ । दैनिक जीवनमा आवश्यक पर्ने वैयक्तिक र सामाजिक गुणहरूलाई ग्रहण गर्नु राम्रो बानी हो । नशालु पदार्थ सेवन गरी दैनिक जीवनका यावत् कामबाट भिन्न भई एक्लै बस्न थाल्नु राम्रो बानी होइन । त्यसो त जुवातासमा मस्त भई एकैछिन पनि अरू काम गर्न नसक्ने अवस्थामा पुग्नुलाई पनि दुव्र्यसन वा ‘एडिक्सन’ भनिन्छ । इन्टरनेटको माध्यमबाट नयाँ किसिमका सूचनाहरूको सङ्कलन गर्ने, नयाँ सीपहरू सिक्ने तथा पठनपाठन क्रियाकलापलाई प्रभावकारी बनाउने काम राम्रो बानी हो । यद्यपि, इन्टरनेटमा लामो समयसम्म बिताउने, एकैछिन पनि इन्टरनेटबाट टाढा हुँदा केके न कुरा छुटेजस्तो महसुस हुने, छटपटी हुने, अरू काममा जाँगर नचल्ने साथै आफ्ना दैनिक गतिविधिमा समेत प्रभावकारिता कम हुँदै जाने अवस्थालाई इन्टरनेट÷स्क्रिन डिसअर्डर भनिन्छ ।

इन्टरनेट चलाउन नपाउँदा छटपटी हुने, आत्तिने, धेरै कुरा गुमाएको जस्तो महसुस हुने, शारीरिक दुःखाइ महसुस हुने, आक्रामक व्यवहारका साथै उदासीनताका लक्षणहरू देखिन थालेमा दुव्र्यसनले जटिल रूप लिन थालेको आशङ्का गर्न सकिन्छ । यो प्रवृत्ति बढ्दै गयो भने व्यक्ति नियमित काम गर्न असमर्थ हुन थाल्दछ । सामान्यतया विद्यालयका गतिविधि वा आफ्नो कार्यालयका कामसमेत समयमा सम्पन्न गर्न असमर्थ हुन्छ । आफू इन्टरनेटका कारण प्रभावकारी रूपमा काम गर्न नसकेको थाहा पाउँदापाउँदै पनि त्यसलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्नु नै दुव्र्यसनीको पहिलो अभिलक्षण हो।
तुरुन्तै चित्तवृत्ति परिवर्तन हुने, अफलाइनमा हुँदा अनलाइनमा धेरै घटना भइसकेको होला भन्ने तर्कना आइरहने एवं असीमित समय अनलाइनमा खर्चिने र दिनानुदिन इन्टरनेटमा खर्चिने समयको मात्रा बढ्दै जाने तथा इन्टरनेटमा पहुँच नभएको अवस्थामा शारीरिक दुःखाइ महसुस गर्ने, बिनाकारण उत्तेजित हुने, आक्रामक व्यवहार देखाउने र डिप्रेसन वा उदासीनताका लक्षणहरू देखापर्ने अवस्था दिनानुदिन बढ्दै जान सक्छ । यस लतका कारण व्यक्ति पारिवारिक र साथीभाइको सम्बन्धलाई परित्याग गरी समाज र परिवारमा समायोजन हुन कठिनाइ महसुस गर्दछ । केही व्यक्तिमा मानसिक परिवर्तनका लक्षण सँगसँगै शारीरिक लक्षणहरूसमेत देखापर्न सक्दछन् । हात र नाडी वा शरीरका अन्य नसाहरू दुःखेको महसुस हुने, आँखा सुक्खा हुने, दृष्टि तिरमिराउने, घाँटी र टाउकाको पछाडिको भाग घिच्रो दुख्ने, मस्तसँग सुत्न नसक्ने र वजन अत्यधिक मात्रामा घट्ने वा बढ्ने सम्भावना रहन्छ।

बालबालिकालाई कसरी बचाउने ?
बालबालिकालाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन शिक्षक, अभिभावक र विद्यालयको सहकार्य र भूमिका अत्यन्त महìवपूर्ण हुन्छ । पाँच–छ वर्षभन्दा साना बालबालिकाको मस्तिष्क वृद्धि र विकासका लागि मोबाइल, कम्प्युटरलगायतका विद्युतीय सामग्री र उपकरणबाट उनीहरूलाई टाढा राख्नुपर्ने न्युरोलोजिकल अध्ययनहरूले देखाएका छन् । यसैगरी अत्यन्त कोमल अवस्थाका बालबालिकालाई अनलाइन कक्षाको सट्टा घरायसी वातावरणमा व्यवहारकुशल सीपहरू सिकाउनु उपयुक्त हुन्छ । आठ–दस वर्ष वा सोभन्दा माथिका बालबालिकाका लागि छोटो समयका कक्षाहरूको योजना गरी बढीभन्दा बढी अन्तक्र्रियात्मक क्रियाकलाप तथा किताबमा पढेर कापीमा लेख्ने किसिमका अभ्यासहरू गराउनु उपयुक्त हुन्छ ।

सिकाउने नाममा लामो समयसम्म बालबालिकालाई कम्प्युटरको अगाडि राख्नु कुनै पनि दृष्टिले राम्रो होइन । उनीहरू प्रौढ व्यक्तिजस्तै लामो समय एकै ठाउँमा शान्तसँग बस्न सक्दैनन् र बस्नु पनि हुँदैन । यसैले अन्तरालसहितका छोटाछोटा कक्षाहरूको व्यवस्था गरी विद्यार्थीलाई पाठ्यपुस्तक पढेर लेख्ने काममा विद्यालयले जोड दिनुपर्दछ भने आफ्ना बालबालिकाले पठनपाठन भइरहेको अवस्थामा वास्तवमा पढाइमा जोड दिएका छन् वा त्यही समयमा अन्य किसिमका खेल र गतिविधिमा आफूलाई व्यस्त राखेका छन् भन्ने कुराको निगरानी र सुपरिवेक्षण गर्नु अभिभावकको कर्तव्य ठहर्दछ ।
हिंस्रक किसिमका खेल र नग्न एवं अश्लील किसिमका सामग्री हेर्ने लतले पठनपाठनमा बालबालिकाले ध्यान दिन नसकेका घटना बढिरहेका छन् । अन्य व्यवहारगत समस्यामा परी अभिभावक उपचारको खोजीमा हिँडेका भेटिन्छन् । बिहान उठेदेखि राति अबेरसम्म मोबाइलमा झुम्मिने बालबालिकामा उदासीनता, आक्रोश, असहनशीलता र दुःखीपना बढ्दै गएको देखिन्छ । केही अभिभावक त आफूले बच्चालाई मोबाइलबाट छुटाउनै नसकेकाले विद्यालयबाटै शिक्षकले नियन्त्रण गरिदिनुपर्ने जस्ता अव्यावहारिक माग राख्न थालेकासमेत भेटिन्छन् । यस्तो स्थितिमा विद्यालयले छोटाछोटा कक्षाको व्यवस्था गरी विद्यार्थीलाई महामारीका कारणले पठनपाठनमा पुग्न जाने क्षतिलाई कम गर्नेतिर ध्यान दिनुपर्दछ । शिक्षकले धेरैभन्दा धेरै सिर्जनशील कार्यमा विद्यार्थीलाई संलग्न गराउनुपर्दछ । शिक्षक र विद्यालयको भन्दा आज ठूलो भूमिका अभिभावकको रहने भएकाले कम्प्युटर र मोबाइललगायतका डिभाइसहरूमा नियन्त्रित र सीमित पहुँचको व्यवस्थापन अभिभावकले नै गर्नुपर्दछ । विद्यार्थीले कक्षा सञ्चालन भइरहेको समयमा र कक्षा सञ्चालन हुनुपूर्व वा पछि के कस्ता काम गर्दछन्, उनीहरूको कस्ता साथीसँग सम्बन्ध छ र इन्टरनेटमा कस्ता कार्यक्रम हेर्ने गर्दछन् भन्ने कुरामा अभिभावक निकै चनाखो हुनुपर्दछ । अनियन्त्रित रूपमा इन्टरनेटमा पहुँच दिँदा निर्बाध रूपमा उनीहरू प्रौढ साइटहरू हेर्ने र कुलतमा फस्ने सम्भावना रहन्छ ।

इन्टरनेटका माध्यमबाट ‘साइबर बुलिङ’को सिकार बन्ने तथा खराब व्यक्ति वा समूहले ‘ब्ल्याकमेलिङ’ गर्ने सम्भावनासमेत अत्यधिक हुन्छ । यस्तो अवस्थाबाट बालबालिकालाई बचाउन अभिभावकले अन्य समयमा भन्दा बढी समय दिएर बालबालिकासँग कुराकानी गर्ने, शारीरिक व्यायामलगायत खेलकुदका क्रियाकलापमा सहभागी हुने र खाना पकाउने, घुमफिर गर्नेलगायतका अन्य काममा उनीहरूलाई व्यस्त राख्नुपर्दछ । वास्तवमा इन्टरनेटको कुलतबाट बालबच्चालाई जोगाउनका लागि उपयुक्त विधि भनेकै उनीहरूलाई असल संस्कार दिने र अन्य सिर्जनात्मक काममा व्यस्त राख्ने नै हो । यसैले घरायसी, सामाजिक र अन्य भौतिक रूपमा सक्रिय भएर गरिने किसिमका काममा बालबालिकाको संलग्नतालाई बढाउने दिशामा आमाबाबुको ध्यान केन्द्रित हुनुपर्दछ ।

विश्वविद्यालय तहका विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरमा अनलाइन पद्धति पहिलेदेखि नै प्रचलनमा रहेको छ । विश्वविद्यालय शिक्षामा अनलाइन कक्षा धेरै हदसम्म उपयुक्त पनि देखिएको सन्दर्भमा विद्यालय तहका लागि नियन्त्रणबिनाको अनलाइन घातक हुने कुरा अध्ययनले देखाएका छन् । भारतीय मनोचिकित्सा जर्नल २०१८ जनवरीमा मनीषकुमार र अन्वेषा मण्डलले प्रकाशित गरेको अनुसन्धानमा कोलकाताका दुई सय जना विद्यार्थीमाथि गरिएको अध्ययनले इन्टरनेटका कारण एन्जाइटी, डिप्रेसन, सामाजिक जीवनको क्षति र पारिवारिक व्यवस्थामा समस्या आउनुका साथै विद्यार्थीको आत्मबल कमजोर हुने निष्कर्ष निकालेको छ । रोबोर्टो पोलीले २०११ मा इटालीका दुई हजार ५३३ जना विद्यार्थीमा गरेको ‘इन्टरनेट एडिक्सन डिसअर्डर ः प्रिभिलेन्स इन एन इटालियन स्टुडेन्ट पपुलेसन’ शीर्षकको अध्यनमा पनि इन्टरनेटका कारणले व्यक्तिगत वृद्धि र विकासमा बाधा पुगेको निष्कर्ष निकालिएको थियो । कोभिड–१९ महामारीका कारण बालबालिका भौतिक रूपमा कक्षामा उपस्थित भई साथीसँग सिक्न नपाउँदा अनलाइनका माध्यमबाट यौनजन्य दुव्र्यवहारमा पर्ने सम्भावनातर्फ युनिसेफले चिन्ता व्यक्त गरेको छ । अश्लील किसिमको वेब साइटहरू बन्द गर्ने तथा तिनमा बालबालिकाको पहुँचलाई रोक्ने काममा सरकारले ध्यान नदिने हो भने निर्वाध रूपमा प्रौढ साइटहरूमा बालबालिकाको पहुँचले दुर्घटना निम्त्याउने सम्भावना रहन्छ भन्ने निष्कर्ष मनोविद्हरूले निकालेका छन् ।

दैनिक पठनपाठनको क्रियाकलापबाट पूर्ण रूपमा वञ्चित हुनुभन्दा विद्यालय तहका बालबालिकाका लागि पनि अनलाइन कक्षा असामान्य अवस्थाको सबैभन्दा राम्रो र उपयुक्त विकल्प हो । यद्यपि, अनलाइन नै सबै कुराको एक मात्र उपचार हो भन्ने भ्रमबाट भने सबै जना मुक्त हुनुपर्दछ । अनलाइन कक्षाको समुचित र व्यवस्थित प्रयोग हुन नसकेमा बालबालिकाका लागि दीर्घकालीन रूपमै घातक हुन सक्छ । त्यसो भएकाले विद्यालय, शिक्षक र अभिभावकले बालबालिकाहरू के कस्ता क्रियाकलापमा संलग्न भएका छन् भन्ने कुरामा ध्यान दिँदै उनीहरूमा आएका व्यवहारगत र चिन्तनगत परिवर्तनलाई अवलोकन र अध्ययन गर्नुपर्दछ । बालबालिकामा असामान्य किसिमका परिवर्तन देखिएमा ती परिवर्तनका कारकको पहिचान गरी उनीहरूलाई समयमै सही बाटोमा अग्रसर गराउन सबै पक्षले महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।
अनलाइनलाई प्रत्युत्पादक बन्नबाट बचाउनका लागि अभिभावक अझ बढी चनाखो भई आफ्ना बालबालिकाले अनलाइनमा बिताउने समयको निगरानी र सुपरिवेक्षण गर्नुका साथै उनीहरूलाई बढीभन्दा बढी अन्य भौतिक काममा संलग्न गराउने योजनाहरू बनाउनुपर्दछ । यी योजनामार्फत बालबालिकाको सिकाइलाई निरन्तरता दिनुका साथै कुलतमा फस्ने सम्भावनाबाट बचाउने र वैयक्तिक र अन्तर्वैयक्तिक, पारिवारिक एवं सामाजिक सीपहरू सिक्ने वातावरण निर्माण गरिदिनुपर्दछ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?