logo
२०७८ असोज ८ शुक्रवार

दैनिक अध्यावधिक

image
941

सङ्क्रमित

image
1324

निको भएका

image
13

मृत्यु भएका

मिति:आश्विन ७, २०७८ (१६:०१)
स्राेत:https://covid19.mohp.gov.np/



वैदेशिक रोजगारीमा सकारात्मक सङ्केत (सम्पादकीय)

विचार/दृष्टिकोण |




रोजगारी र आय आर्जनका हिसाबले महìवपूर्ण क्षेत्रका रूपमा स्थापित वैदेशिक रोजगारी अहिले शिथिल अवस्थामा छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण कहिले रोजगारदाताले श्रमिक लिन नमान्ने त कहिले श्रमिक कामदार जान नसक्ने अवस्थाले विगत डेढ वर्षदेखि वैदेशिक रोजगारीमा समस्या देखिएको हो । खोप उपलब्धता बढ्दै गएको र रोजगारदाताले कामदारको माग गर्न थालेपछि बेरोजगार नेपाली युवामा आशा पलाएको छ । तर पनि वैदेशिक रोजगारी पूर्ववत् अवस्थामा फर्कन समय लाग्ने भएकाले नेपाली युवाको रोजगारी चिन्ताको विषय बनेको छ ।
२०७६ माघको सुरुमै नेपालमा पहिलो सङ्क्रमित फेला परेपछि चैतदेखि बन्दाबन्दी सुरु भयो । यसै बेला गन्तव्य मुलुकमा पनि कोरोना महामारी फैलियो । बन्दाबन्दी सुरु भए, आर्थिक गतिविधि ठप्प भए, करिब चार महिना अन्तर्राष्ट्रिय उडान बन्द भए । यसले वैदेशिक रोजगारीमा सङ्कट ल्यायो । दैनिक एक हजार पाँच सय युवा रोजगारीको खोजीमा विदेशिइरहेको अवस्थामा एकाएक यस्तो यात्रा बन्द भएको हो । महामारीको पहिलो लहर सुरु हुँदा करिब डेढ लाख नेपाली युवा भिसा लिएर पनि उडान गर्न पाएनन् । आ.व. २०७६/७७ को मध्यदेखि कोरोना महामारी देखिएकाले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले घट्यो । कोरोना देखिनुअघि अर्थात् आ.व. २०७५/७६ मा पाँच लाख सात हजार नेपाली युवा वैदेशिक रोजगारीमा गएकामा २०७६/७७ मा तीन लाख ६८ हजार र २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जनामा झ-यो । यो दुई वर्षमै वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या दुईतिहाइले घट्यो । यसै अवधिमा धेरै युवाले रोजगारी गुमाउनुपरेको छ ।
विश्वव्यापी कोरोना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको अवस्थामा पनि त्यसबाट प्राप्त हुने विप्रेषण भने बढेको छ । कोरोनाका कारण अधिकांश आर्थिक गतिविधि ठप्प रहँदा पनि अर्थतन्त्रका लागि विपे्रषण निकै सहयोगी देखिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आ.व. २०७७/७८ को ११ महिनामा आठ खर्ब ७० अर्ब ९४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले बढी हो । तर पनि महामारीको चपेटामा नपरेको भए विप्रेषण आय उल्लेख्य रूपमा बढ्ने थियो । महामारीले जनस्वास्थ्यमा चिन्ता थपेको मात्रै नभई गन्तव्य मुलुकको आर्थिक गतिविधि घटेका कारण गन्तव्य राष्ट्रमा जनशक्तिको माग कम भएको हो । तर विस्तारै श्रमिक कामदारको माग बढ्न थालेको सङ्केत देखिन थालेको छ । निषेधाज्ञा खुकुलो हुँदै गएको छ र अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । नेपाली युवाको प्रमुख गन्तव्य खाडी क्षेत्र कोरोनाको दोस्रो लहरबाट कम प्रभावित रह्यो । यी मुलुकबाट माग आउन थालेको छ । भर्खरै इजरायलबाट एक हजार कामदारको माग आएको छ र यसका लागि छनोट प्रक्रिया सुरु भएको छ । सरकारले दक्षिण कोरिया सरकारसँग बन्द रहेको कामदार आपूर्तिलाई खुलाउने पहल गरिरहेको छ । खोपको उपलब्धता बढेकाले अब यो क्षेत्र सहज हुने अनुमान गर्न सकिन्छ । सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई खोपको प्राथमिकतामा राखेको छ ।
कोरोना महामारीका कारण श्रम गन्तव्य मुुलुकमा श्रमिकको माग कम आइरहेका बेला रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्या घट्नुु स्वाभाविक हो । अब गन्तव्य मुलुकको आर्थिक गतिविधिमा सुधार आउन थालेको छ । वैदेशिक रोजगारीलाई सहज बनाउने गन्तव्य मुलुक र नेपालले गर्ने सामान्य प्रयासले पनि यो क्षेत्रमा उल्लेख्य सुधार आउने देखिएको छ । वैदेशिक रोजगारीमा जाने युवालाई खोपको प्राथमिकतामा राख्नुपर्छ र स्वास्थ्य बीमालगायतका सुविधा उपलब्ध गराउनुपर्छ । वैदेशिक रोजगारीले बेरोजगारी समस्या समाधान र मुलुकको आर्थिक उन्नतिका लागि दिगो समाधान दिन नसक्ने भएकाले मुलुकभित्रै रोजगारीको अवसर सिर्जना अपरिहार्य छ । मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्नेतर्फ हाम्रा कार्यक्रम निर्माण हुन आवश्यक छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?