logo
२०७८ असोज ८ शुक्रवार

दैनिक अध्यावधिक

image
941

सङ्क्रमित

image
1324

निको भएका

image
13

मृत्यु भएका

मिति:आश्विन ७, २०७८ (१६:०१)
स्राेत:https://covid19.mohp.gov.np/



बालबालिकामा शारीरिक दण्डको कुप्रभाव

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल
विद्यालय खुला हुँदा हरेक हप्ताजस्तो देशका कुनै न कुनै विद्यालयमा विद्यार्थी शिक्षकद्वारा निर्घात रूपमा कुटिएका वा दुव्र्यवहारमा परेका घटना समाचारमा आउँथे । दुर्गम बस्तीको कुरा छाडौँ, काठमाडौँको नाम चलेको एक स्कुलमा छात्रामाथि भएको शारीरिक, मानसिक, सामाजिक एवं संवेगात्मक दुव्र्यवहारका घटना सार्वजनिक भएका छन् । कोरोना महामारीका कारण स्कुल बन्द भएकाले आजकल विद्यालयमा दिइने यातनाका खबर कम सुनिए पनि घरमै समेत बालबालिका यातनाका कारण कतै अङ्गभङ्ग हुन पुगेका त कतै अपमानबोधका कारणले गर्दा अकालमा मृत्युवरण गर्न पुगेका घटनासमेत भइरहेका छन् ।
सामाजिक मूल्यमान्यताका कारण अनुशासनमा राख्ने नाममा विद्यार्थीमाथि दमन हुने गरेको नेपाली सन्दर्भमा बालबालिका घरमै समेत शारीरिक दण्डका सिकार हुने गरेका छन् । शारीरिक दण्ड कुनै पनि आधारमा सुधारात्मक क्रियाकलापका रूपमा स्वीकृत हुन सक्दैन तर पनि धेरै अभिभावकमा दण्ड र डरका कारणले बालबालिका बिग्रिनबाट बच्दछन् भन्ने गलत धारणासमेत रहेको देखिन्छ । नेपाल–भारतलगायतका मुलुकमा कुनै न कुनै रूपमा घरपरिवार र विद्यालयमा शारीरिक दण्डले स्थान पाएकै देखिन्छ । युनिसेफ नेपालका अनुसार नेपालमा हरेक १० मध्ये आठ बच्चाले एकदेखि १४ वर्षको बीचमा बालहिंसाको सामना गर्ने गरेका छन् । यसै कुरालाई ध्यानमा राखेर नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा आधारित उजुरी पद्धतिको विकास गरेको छ । जसअन्तर्गत हरेक विद्यालयमा उजुरी पेटिका राख्नैपर्ने तथा एक जना महिला शिक्षकलाई आधिकारिक व्यक्ति तोक्नुपर्ने व्यवस्था उजुरी सुनुवाइ प्रणाली निर्देशिका २०७३ मा गरेको छ । यसबाट शिक्षकले दिने दण्ड तथा साथीबाट हुने ‘बुलिङ’ न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

किन दिइन्छ दण्ड ?
नेपालले सन् २०२२ सम्ममा निम्न विकसित राष्ट्रको समूहबाट र सन् २०३० सम्ममा मध्यम आय भएको देशमा माथि उक्लिने लक्ष्य लिएको छ । समग्र गरिबी घट्दै गएको भए पनि दुई तिहाइ बालबालिका सातमध्ये कम्तीमा एक आधारभूत आवश्यकताबाट वञ्चित छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास प्रतिवेदनअनुसार एसियाका ५८ राष्ट्रमध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो, जसको मानव विकास सूचकाङ्क छैटौँ न्यून स्थानमा छ । यसका अतिरिक्त धन, भूगोल, भाषा, शिक्षा, जाति, लिङ्ग, उमेर, अपाङ्गता र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ । अधिकांश बालबालिका र किशोरकिशोरी देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौँ अधिकारबाट वञ्चित पनि भएका छन् । युनिसेफ नेपालले यी असमानताजन्य अवस्थालाई बालहिंसा र बालशोषणको कारक मानेको छ ।
बाल्यकालमा डरत्रास तथा शारीरिक दुव्र्यवहार भोगेका शिक्षक–शिक्षिकाले बालबालिकालाई अनुशासनमा राख्ने मुख्य हतियारका रूपमा डर र दण्डलाई लिने गरेको देखिन्छ । बालबालिकाले प्रश्न सोध्ने तथा निर्धक्कसँग शिक्षकसँग बोल्दा शिक्षकले विद्यार्थी आफ्नो नियन्त्रणमा राख्न नसकेको महसुस गर्दछ । यसले उनीहरूमा एक किसिमको हीनताबोध हुन्छ । यसैले आफ्नो नाम सुन्नासाथ वा आफ्नो उपस्थिति हुनासाथ विद्यार्थी सतर्क अवस्थामा रहून् भन्ने चाहना यस्ता शिक्षकमा रहन्छ । शिक्षकको यही मनोविज्ञान तथा कडा अनुशासन नभए बालबालिका बिग्रिन्छन् भन्ने अभिभावकको सोचाइका कारण विद्यालयमा अनुशासनको पर्यायका रूपमा शारीरिक दण्डले स्थान पाउने गरेको छ । जीवन खनाल र सेइ हुन पार्कले जर्नल अफ एजुकेसन एन्ड प्राक्टिस २०१६ मा प्रकाशन गरेको ‘कर्पोरल पनिस्मेन्ट इन प्राइभेट स्कुल्स ः द केस अफ काठमाडौँ नेपाल’ शीर्षकको अनुसन्धानात्मक लेखमा दुई हजार विद्यार्थी तथा एक सय जना शिक्षक भएको काठमाडौँको एक विद्यालयलाई नमुनाका रूपमा लिइएको छ । उक्त विद्यालयमा लगभग सबैजसो शिक्षक शारीरिक दण्डबिना विद्यार्थीलाई अनुशासनमा राख्न नसकिने धारणा व्यक्त गरेको उल्लेख छ । दण्डबिना हुर्केका बच्चाहरू नियममा नबस्ने तथा अनियन्त्रित किसिमका व्यवहार देखाउने हुन्छन् भन्ने उनीहरूको विश्वास छ । यसैले निजी विद्यालयका शिक्षक कक्षामा अधिनायकवादी प्रवृत्ति देखाउँदै शारीरिक दण्डलाई न्यायोचित ठान्दछन् भन्ने निष्कर्ष अनुसन्धानबाट निकालिएको छ । अनुसन्धानले विद्यालयमा शारीरिक दण्ड मौलाउँदै जानुको कारक तìवका रूपमा अभिभावक, शिक्षक, विद्यालय प्रशासन र राष्ट्रिय नीतिलाई मानेको छ ।

 दण्डका प्रकार
अरिजित घोष र डाक्टर मधुमाथि पशुपतिले ‘पर्सेप्सन अफ स्टुडेन्ट एन्ड प्यारेन्ट्स अन द युज अफ कर्पोरल पनिस्मेन्ट एट स्कुल इन इन्डिया–२०१६’मा भारतका सबै प्रदेशका नमुना सङ्कलन गरी त्यहाँ दिइने गरेका शारीरिक दण्डका प्रकारहरूका बारेमा स्पष्ट पारेका छन् । ‘जर्नल अन इन्टाडिसिप्लिनरी स्टडिज इन ह्युमानिटिज’मा प्रकाशित सो अनुसन्धानमा उल्लेख गरेकामध्ये धेरैजसो दण्ड नेपालका विद्यालयमा समेत दिइने गरेको देखिन्छ । घोष र पशुपतिको अनुसन्धानले ६७% विद्यार्थीलाई झपार्ने, ५६% कान निमोठ्ने, ४९% हातले पिट्ने, ४८% गालामा हिर्काउने, ४५% नीलडाम गराउने, ४३% लट्ठीले हिर्काउने, ४२% टाउकोमाथि हात उठाएर लामो समयसम्म बस्न लगाउने, ३९% उठबस गराउने, ३५% लट्ठीले हातमा हिर्काउने, ३३% लट्ठीले ढाडमा हिर्काउने, २३% मौखिक दुव्र्यवहार गर्ने, २०% बेन्चमा उभ्याउने, २०% दुई औँलाका बीचमा कलम वा पेन्सिल राखेर च्यापिदिने, १७% दौडाउने, १७% घाममा उभ्याउने, १६% कापी च्यातिदिने, १४% धम्की दिने, १०% डस्टरले हिर्काउने, १०% लामो समयसम्म एउटा खुट्टाले टेकेर उभ्याउने, ८% कुखुरो बनाउने, ७% एउटा खुट्टाले टेकेर नाकले भित्तो छोएर लामो समयसम्म उभिन लगाउने, ३% जुत्ताचप्पलले हिर्काउने र १% रबरको बेल्टले हिर्काउने प्रकृतिका सजाय दिइने गरेको देखाएको छ । नेपालका विद्यालयमा पनि शारीरिक, मानसिक, संवेगात्मक पीडा दिने किसिमका सजायले स्थान पाउने गरेको अध्ययनले देखाएको छ ।

 दण्डको असर
विद्यार्थीलाई देखाइएको डर र दिइएको शारीरिक दण्डले बिग्रिन लागेको विद्यार्थीलाई तुरुन्तै सुधार गरेको भ्रम केही मानिसमा देखिन्छ । उनीहरूले दण्डले सकारात्मक प्रभाव पर्दछ भन्ने धारणा पालेका हुन्छन्, जुन कुरालाई कुनै पनि अनुसन्धानले समर्थन गरेको पाइँदैन । बालबालिकामाथि गरिएको दुव्र्यवहार र शारीरिक दण्डले क्षणिक रूपमा उनीहरूलाई नियन्त्रण गर्न सहयोग गरेकोजस्तो देखिए पनि दीर्घकालीन रूपमा उनीहरूलाई अपूरणीय क्षति पु¥याइरहेको हुन्छ । होल्म्स र रबिन्सले १९८८ मा तथा ब्रेयान र फ्रिडले १९८२ मा कलेज पढ्ने विद्यार्थीमा गरेको अनुसन्धानले बाल्यकालमा शारीरिक दण्ड पाएका विद्यार्थी दीर्घकालीन रूपमा प्रभावित रहेको देखायो । उनीहरू कलेज जीवनमा साथी बनाउन नसकेको र सामाजिक अन्तत्र्रिmयामा पनि असफल रहेको पाइयो । यस्ता विद्यार्थीमा डिप्रेसन र एन्जाइटीको मात्रा पनि अत्यधिक पाइयो ।
यस्तै स्ट्रस र काउफम्यान कान्टोरले १९९४ मा गरेको अध्ययनमा पनि किशोरावस्थामा शारीरिक दण्डको सिकार भएका व्यक्तिमा नशा सेवन, उदासीनता र आत्महत्यासम्बन्धी विचार बढी भएको देखियो । अधिशासनात्मक अभिभावकीय भूमिकामा हुर्केका बालबच्चामा समान उमेरका साथीसँग समायोजन र नेतृत्व क्षमतामा कमी, आन्तरिक अनुशासनको अभाव, देखावटी र बाहिरी नैतिकता तथा अनुशासनमा जोड एवं बौद्धिक उपलब्धिमा उदासीनता पाइएको म्याकोबी र मार्टिनले १९८३ मा गरेको अनुसन्धानले देखाएको छ । डाक्टर नवीन मिश्र र उनको समूहले गरेको ‘कर्पोरल पनिस्मेन्ट इन नेप्लिज स्कुल चिल्ड्रेन ः फ्याक्टस्, लिगालिटिज एन्ड इम्प्लिकेसन्स– २०१७’को अध्ययनमा नेपालका विद्यालयमा शारीरिक दण्ड, संवेदनात्मक सजाय र नकारात्मक पुनर्बल दिने किसिमका सजायहरू अभ्यासमा रहेको तथ्य प्रकाश पार्दै शारीरिक दण्डले विद्यार्थीको मानसिक र सामाजिक विकासमा क्षति पु¥याउने तथा यसको नकारात्मक असर शिक्षक स्वयंमा समेत पर्ने गरेको निष्कर्ष निकालेका छन् । यसरी दण्डले शारीरिक अपाङ्गताका साथसाथै मानसिक समस्याको सिर्जना गरी दीर्घकालमा विद्यार्थीको जीवन नै बर्बाद गर्ने सम्भावना बढ्दछ ।

 संवैधानिक तथा कानुनी व्यवस्था
नेपालको संविधान २०७२ को धारा ३९ को ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी स्पष्टसँग उल्लेख गरिएको छ । यस्तै बालबालिकासम्बन्धी ऐन २०७५ मा असल नियतले सम्झाइबुझाई गर्न घरपरिवार वा विद्यालयमा दिइने सामान्य दण्डलाई बालबालिकाविरूद्धको कसुर नमानिने साबिकको व्यवस्थालाई खारेज गरी दफा ६६ को (घ)मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने र (ङ)मा शारीरिक चोटपटक वा असर पु¥याउने, आतङ्कित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कामलाई बालबालिकाविरुद्धको कसुर भनेर उल्लेख गरिएको छ । बालबालिकासम्बन्धी ऐन २०७५को दफा ७२ को (३)मा बालबालिकाविरुद्ध कसुर गर्नेलाई जरिवाना तथा कैद सजायको व्यवस्थासमेत गरिएको छ । नयाँ संविधान तथा बालबालिकासम्बन्धी ऐनले कुनै पनि नाममा बालबालिकामाथि कुनै पनि किसिमको विभेद र अमर्यादित व्यवहार गर्न नपाइने कुरालाई सुनिश्चित गरेको छ ।

निष्कर्ष
बालबालिकाको वृद्धि र विकासमा समेत प्रत्यक्ष रूपमा नकारात्मक असर पार्ने शारीरिक दण्डलाई कुनै पनि दृष्टिकोणले राम्रो मान्न सकिँदैन । तालिमप्राप्त शिक्षक वा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिको अभावका कारण दण्ड नै अनुशासनमा राख्ने सशक्त माध्यम हो भन्ने गलत अवधारणाका कारण विद्यार्थीलाई सिक्नलाई प्रेरित गर्नेभन्दा कडा नियन्त्रणमा राख्ने मनसायबाट शारीरिक दण्डले प्रश्रय पाएको हो । सभ्यताको विकाससँगै दण्डको प्रकृति र मात्रामा केही सुधार आएको भए पनि शिक्षकको अज्ञानता र अनुशासनका नाममा कुनै न कुनै रूपले विद्यालयमा शारीरिक दण्डले स्थान पाएको छ । त्यसो त घरमै पनि अवाञ्छित व्यवहार हटाउनका लागि पनि कुनै न कुनै रूपमा बालबालिकालाई शारीरिक दण्ड दिने गरिएको देखिन्छ । अज्ञानताकै कारण केही अभिभावक त आफूले बच्चालाई नियन्त्रण गर्न नसकेकाले विद्यालयका शिक्षकलाई शारीरिक दण्ड र भय देखाएर आफ्नो बच्चालाई आज्ञाकारी र अनुशासित बनाइदिन आग्रहसमेत गर्ने गर्दछन् । सिर्जनशील र कोमल मस्तिष्कमा शारीरिक दण्डको भय सिर्जना गरिदिँदा उनीहरूको व्यक्तित्व र सिर्जनशीलता कुण्ठित बन्दछ । यसैले बालबालिकालाई शारीरिक दण्ड र भयपूर्ण वातावरण होइन, स्वस्फूर्त रूपमा आन्तरिक नैतिकता र अनुशासनको दायरामा राख्नका लागि उपयुक्त वैकल्पिक विधि आत्मसात् गर्दै दण्डलाई सबै क्षेत्रबाट निरुत्साहन गर्नुपर्दछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?