logo
२०७८ श्रावण १६ शनिवार

दैनिक अध्यावधिक

image
2467

सङ्क्रमित

image
1816

निको भएका

image
27

मृत्यु भएका

मिति:श्रावण १५, २०७८ (१६:४२)
स्राेत:https://covid19.mohp.gov.np/



पाठ्यक्रम कार्यान्वयनमा सकस

विचार/दृष्टिकोण |




डा. हरिप्रसाद पोखरेल

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अस्तित्वमा आएसँगै हाल नेपालको विद्यालयीय शिक्षाको पाठ्यक्रम परिवर्तन गरिएकोे छ । आधारभूत तह कक्षा (१–३) मा यसअघि प्रयोगमा आएको विधागत तथा विषयगत पाठ्यक्रमलाई बदलिँदो परिवेशअनुकूल बनाउन एकीकृत पाठ्यक्रम प्रयोगमा ल्याइएको छ । एकीकृत पाठ्यक्रमको अवधारणा नेपाली परिवेशमा नयाँ थालनी पनि हो । यससम्बन्धमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई अपेक्षित अभिमुखीकरण हुन नसक्दा यसको कार्यान्वयन पेचिलो बनेको देखिन्छ ।
नयाँ प्रारूपअनुसार कक्षा १ देखि १२ कक्षासम्मकै पाठ्यक्रम परिमार्जन गर्ने सन्दर्भमा शैक्षिक सत्र २०७७ मा कक्षा १ र ११ को र यस वर्ष कक्षा २, ३, ६ र १२ को पाठ्यक्रम परिवर्तन गरिएको छ । शैक्षिक सत्र २०८० सम्म विद्यालय तहमा परिवर्तित पाठ्यक्रम लागू गर्नेगरी बाँकी कक्षाका पाठ्यक्रम निर्माण, परीक्षण र प्रयोग हुने काम पनि भइरहेको छ । निजी विद्यालयको असन्तुष्टि र सरकारी निकायको कमजोर समन्वय तथा फितलो अनुगमनका कारण, परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा भने समस्या देखिएको छ ।
परिवर्तित पाठ्यक्रमअनुसार एकीकृत पाठ्यक्रम (कक्षा १–३) को हाम्रो सेरोफेरो विषय अन्तरविषयक ढाँचामा निर्माण गरिएको हो । यसलाई निश्चित विषयमा सामाजिक अध्ययन, सिर्जनात्मक कला, विज्ञान तथा वातावरण र स्वास्थ्य तथा शारीरिक शिक्षाको एकीकरण गरिएको छ । हाम्रो सेरोफेरो विषय नेपाली माध्यममै शिक्षण गरिनुपर्ने नीतिगत व्यवस्थाप्रति निजी विद्यालय असन्तुष्ट देखिन्छन् । त्यसो त परिवर्तित पाठ्यक्रमअनुसार अन्य कक्षामा पनि सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा नेपाली माध्यममै पठनपाठन गर्नुपर्ने नीतिगत व्यवस्थाको बर्खिलापमा देखिन्छन् कतिपय विद्यालय । विद्यार्थी र अभिभावकलाई अङ्ग्रेजीमोहमा पारेर विद्यार्थी तान्न सफल केही निजी विद्यालय कुनै पनि बहाना बनाएर हाम्रो सेरोफेरो, सामाजिक अध्ययन तथा स्थानीय विषय पनि अङ्ग्रेजी माध्यममै अध्यापन गर्न चाहन्छन् । अर्काेतर्फ विज्ञान पनि हाम्रो सेरोफेरोमा एकीकरण गरिएकाले विज्ञानसम्बन्धी ज्ञान सिकारुलाई पर्याप्त नहुने भन्दै निजी विद्यालयका सञ्चालकले नियमविपरीत छुट्टै विज्ञान विषय पनि पढाउने गरेको पाइएको छ । अनुमति नलिई आफूखुसी अतिरिक्त पाठ्यपुस्तक निर्वाध प्रयोग गर्ने विगतको अभ्यासमा केही कमी आए पनि पूर्ण रूपले हट्न सकेको छैन । आफूनिकट प्रकाशनका महँगा पाठ्यपुस्तक बेचेर आर्थिक लाभ लिन पल्किएका कतिपय निजी विद्यालयका सञ्चालकलाई कम मूल्यका सरकारी पुस्तक लागू गर्नुपर्दा असहज हुने नै भयो । एकीकृत पाठ्यक्रमअनुसार आधारभूत तह कक्षा (१–३) मा नेपाली, गणित, अङ्ग्रेजी, हाम्रो सेरोफेरो र स्थानीय विषय गरी पाँच विषयको व्यवस्था गरिएको छ । विद्यार्थीलाई विभिन्न बहानामा एक दर्जनभन्दा बढी पाठ्यपुस्तक थमाउने निजी विद्यालयलाई यो प्रावधान सहिनसक्नुको विषय बनेको देखिन्छ । बालमनोविज्ञानलाई प्रतिकूल हुनेगरी विद्यार्थीले थेग्नै नसक्ने किताबी बोझले सिकाइमा झन् नकारात्मक प्रभाव पर्ने वास्तविकता विद्यालय सञ्चालक र अभिभावकले बुझ्न सके परिवर्तित पाठ्यक्रम कार्यान्वयनमा सहज वातावरण निर्माण हुन सक्थ्यो । दबाब र प्रभावमा पारेर कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयबाट गणित विषय पनि यस विषयको सट्टा पढाउन पाउने व्यवस्था लागू गर्न सफल निजी विद्यालयका सञ्चालकले त्यति सजिलै परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयमा ल्याउन सघाउने कुरामा भने गम्भीर शङ्का पैदा भएको छ ।
विद्यालयीय शिक्षाको कुनै पनि पाठ्यसामग्री पाठ्यक्रम विकास केन्द्रको अनुमति नलिई प्रकाशन गर्न, बिक्री वितरण गर्न र कार्यान्वयन गर्न नपाइने कानुनी व्यवस्था छ । तर, नीतिगत मापदण्डविपरीत निजी प्रकाशनबाट प्रकाशित पाठ्यपुस्तकको निर्वाध किनबेचको उपक्रम पनि रोकिएको छैन । पाठ्यक्रम विकास केन्द्रकोे समुचित ध्यान नपुग्दा कतिपय सरकारी पुस्तकसमेत मापदण्डविपरीत प्रकाशित भएको देखिन्छ । पुरानो नक्सा भएका, मूल्य नतोकिएका तथा निर्धारित मापदण्ड नपुगेका पुस्तक प्रकाशित हुने र किनबेच हुनेक्रम पनि चलिरहेकै छ । कतिपय पाठ्यपुस्तक प्रकाशकले त पुस्तक प्रकाशनको अनुमतिसँगै दिइएको निर्देशनको अवज्ञा गरेको पनि पाइएको छ । यससम्बन्धमा पाठ्यक्रम विकास केन्द्रको निर्देशन अवज्ञा गर्ने प्रकाशनलाई नियमानुसार कारबाही गर्न खुट्टा कमाउनुहुँदैन ।
त्यसो त परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा कतिपय स्थानीय तह पनि अलमलमा देखिएका छन् । केही स्थानीय तहले त आधारभूत तहमा सबै विषय अङ्ग्रेजी माध्यममा पढाउन विद्यालयलाई आर्थिक व्यवस्थापनसमेत गरेको अवस्था छ । स्थानीय विषयको सट्टा अङ्ग्रेजी विषय पढाउने काम पनि रोकिएको छैन । स्थानीय तहले आफ्नै स्रोत, साधन र विज्ञताको पृष्ठभूमिमा तयार गरी लागू गर्नुपर्ने स्थानीय पाठ्यक्रम अझै धेरै पालिकामा लागू हुन सकेको छैन । यसो हुँदा पाठ्यक्रम कार्यान्वयनमा समस्या त हुने नै भयो, साथसाथै पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइ सक्षमता प्राप्त गर्नसमेत सिकारु असक्षम हुने अवस्था सिर्जना हुन्छ । अचम्मलाग्दो कुरा त के छ भने स्थानीय स्तरमा निर्माण गरी कार्यान्वयन गर्नुपर्ने स्थानीय पाठ्यक्रम तथा विषयसमेत निजी प्रकाशन गृहबाट निर्माण गरी प्रकाशित गर्ने र बिक्री वितरण गर्ने कार्यसमेत भएको देखिन्छ । यस्तो कार्यले स्थानीय तहको सक्षमता माथि नै प्रश्नचिह्न खडा भएको छ । यसर्थ, स्थानीय परिवेशअनुकूल स्थानीय पाठ्यक्रम विकास गरी कार्यान्वयनमा ल्याउन स्थानीय तह क्रियाशील हुन सक्दा पाठ्यक्रम कार्यान्वयनमा सहजता आउने स्पष्ट छ ।
समयको परिवर्तनसँगै पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन हुनु स्वाभाविक प्रक्रिया हो । नेपालमा लामो समयसम्म लागू भएको यसअघिको विद्यालयीय पाठ्यक्रमले अहिलेको बालबालिकाको माग सम्बोधन गर्न कठिन हुने भएकाले परिवर्तित पाठ्यक्रम प्रयोगमा ल्याउन आवश्यक ठानिएको हो  । परिवर्तित पाठ्यक्रम बढी व्यावहारिक र सिकारु अनुकूल भएकाले यसको सफल कार्यान्वयन गर्नु सम्पूर्ण सरोकारवालाको दायित्व हुन आउँछ । अङ्ग्रेजी भाषा जान्नुमात्र स्तरीय सिकाइ हो भन्ने अभिभावकीय मानसिकता बदल्न सके पाठ्यक्रम कार्यान्वयनमा सहयोग पुग्न सक्छ । सिकाइ लब्धाङ्कपत्रमा होइन, सिकारुको व्यवहारमा प्रदर्शित हुनुपर्छ भन्ने विषयमा सार्थक बहस चलाउन आवश्यक छ । सीमित जनशक्ति भएको पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास र प्रकाशन गर्ने कुरालाई प्राथमिकता दिइरहेको देखिन्छ । पाठ्यक्रम विकास केन्द्रले अनुगमनको पाटोलाई अझ सशक्त बनाउँदै पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक छ । आग्रह, पूर्वाग्रह एवम् प्रलोभनमा परेर नीतिविपरीतका पाठ्यसामग्रीको प्रयोगलाई रोक्न सकिएन भने नेपालको समग्र शिक्षा प्रणाली नै अस्थिर बन्ने पक्का छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश सरकार, स्थानीय तहलगायत सबै सरोकारवालाको समन्वयात्मक प्रयासबाट मात्र परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई कार्यान्वयनमा ल्याउन सकिन्छ । मापदण्डविपरीत पाठ्यपुस्तक छपाइ र बिक्री वितरण गर्नेउपर कानुनी कारबाही गर्न नियमनकारी निकाय थप क्रियाशील हुन सके पाठ्यक्रम कार्यान्वयनमा देखिएका समस्या निराकरण गर्न सकिन्छ । आवश्यक परे सरकारी मापदण्डअनुरूपका पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रयोग नगर्ने विद्यालयको अनुमति नै खारेज गर्नेसम्मका कारबाही गर्नेतर्फ पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।
(लेखक रूपान्तरणका लागि नागरिक अभियानमा आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप