logo
२०८१ बैशाख ८ शनिवार



हाइटीमा पुनः दुर्दिन

सानो क्यारेबियन मुलुक हाइटीमा पुनः दुर्दिन सुरु भएको छ ।

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य

राजधानी पोर्ट–अ–प्रिन्सस्थित निवासमै त्यहाँका राष्ट्रपति जोभेनेल मोइजको जुलाई ७ मा हत्या गरिएसँगै पुनः दुर्दिन सुरु भएको हो । २८ जनाको बन्दुकधारी समूहले उहाँको निवासमै आक्रमण गरी हत्या गरेपछि मुलुकभर सङ्कटकाल लागू गरिएको छ । सुरक्षाकर्मीले मोइजको हत्यामा संलग्न रहेको आशङ्कामा तीनजना बन्दुकधारीलाई गोली हानी मारेको छ भने १७ जनालाई पक्राउ गरेको छ । आठजना फरार छन् । २८ जना बन्दुकधारीमध्ये २६ जना कोलम्बियाली र दुईजना अमेरिकी भएको जनाइएको छ । मोइजको हत्या किन गरियो भन्ने कुरा खुल्न बाँकी छ ।
राष्ट्रपति मारिएपछि हाइटीमा सन्नाटा छाएको छ । अभिभावकविहीनजस्ता बनेका आमनागरिक घरभित्रै बसेका छन् । अब त्यहाँ के हुने हो ? थाहा छैन । नागरिक आतङ्कित छन् । सरकार, संसद् नभएको यो अवस्था अत्यन्तै भयावह छ ।
अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले कार्यकारी अधिकार लिनुभएको छ । उहाँले राजधानी पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिनिवासमा हतियारधारी समूहले आक्रमण गरी मोइजको हत्या गरेको जानकारी गराउँदै हत्यारा पक्राउ गरी कारबाही गरिने बताउनुभएको छ । उहाँले मुलुकको सुरक्षामा सघाउन संयुक्त राष्ट्रसङ्घ र अमेरिकालाई आग्रह गर्नुभएको छ ।
आक्रमणमा प्रथम महिला मार्टिन मोइन गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि अमेरिका लगिएको छ । उहाँले आफ्ना पतिको हत्या भाडाका सिपाहीले गरेको र निवासमा खटिएका सुरक्षाकर्मीको भूमिका शङ्कास्पद रहेको बताउनुभएको छ । मोइज संविधान संशोधन गरी देशमा सुधार गर्ने पक्षमा हुनुहुन्थ्यो । अनुदारवादीलाई सो कुरा मन परेको थिएन ।
अन्तरिम प्रधानमन्त्री जोसेफले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपाय अपनाइएको बताउनुभएको छ । उहाँले देशव्यापी सङ्कटकालको घोषणा गर्दै नागरिकलाई शान्त रहन आग्रह गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै जोसेफले हत्यारालाई कानुनी कारबाही गर्ने जनाउँदै देशको सुरक्षा स्थिति नियन्त्रणमा रहेको बताउनुभयो ।
पछिल्लो समय हाइटीमा राजनीतिक विवाद बढ्दै गएको थियो । मोइजले आफ्नो हत्या हुनुभन्दा दुई दिनअघि मात्रै नयाँ प्रधानमन्त्रीका रूपमा एरियल हेनरी नियुक्त गर्नुभएको थियो तर उहाँले शपथ लिन पाउनुभएन । घटनापछि छिमेकी डोमिनिकन रिपब्लिकले हाइटीसँगको सीमा बन्द गरेको छ ।
५३ वर्षीय मोइज सन् २०१७ को फेबु्रअरीदेखि सत्तामा आउनुभएको थियो । पछिल्लो समय विपक्षीले उहाँको राजीनामा माग गर्दै आएका थिए । भ्रष्टाचार अभियोगका कारण उहाँको लोकप्रियता घटेको थियो । सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शन भइरहेको थियो । यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उहाँको राजीनामाको माग गर्दै व्यापक प्रदर्शन भएका थिए ।
विपक्षीले मोइजका पूर्ववर्ती मिसेल मार्टेलीले पदत्याग गरेको मितिबाट पाँच वर्ष पुगेको भन्दै उहाँको कार्यकाल सन् २०२१ को फेब्रुअरी ७ मै सकिएको दाबी गरेका थिए । तर, मार्टेलीले पद त्यागेको मिति (सन् २०१६ फेबु्रअरी ७) मा आफूले पद नसम्हालेको भन्दै मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको दाबी गर्नुभएको थियो । चुनावमा धाँधली भएको भन्ने आरोपका कारण बीचको एक वर्ष ढिलाइ हुन गएको थियो । जसकारण सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर सन् २०१६ मा नयाँ निर्वाचन गराइएको थियो । चुनावमा मोइज विजयी हुनुभएको थियो  ।
अमेरिकी राष्ट्रपति जोए बाइडेनले भयानक हत्याको भत्र्सना गर्दै हाइटीका जनताप्रति समवेदना प्रकट गर्नुभएको छ । त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मोइजको हत्याले आफू स्तब्ध भएको बताउनुभएको छ ।
काला जातिको पहिलो गणतान्त्रिक मुलुक बनेको हाइटी अमेरिकी महादेशको सबैभन्दा गरिब मुलुक हो । त्यहाँका ६० प्रतिशत जनता गरिबीको रेखामुनि छन् । हाइटीले राजनीतिक अस्थिरता, हिंसा, हत्या, भ्रष्टाचार, कुशासन, विदेशी हस्तक्षेप, विभाजन, प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । जनतालाई त्यहाँ कहिल्यै पनि सुविस्ता भएन । गरिबी, बेरोजगारी प्रमुख समस्या हुन् । मुुलुक हाँक्ने राम्रो शासक पाउन सकेनन् । राजनीतिक दाउपेच, सत्ता स्वार्थमा सधैँ नेतृत्व केन्द्रित रह्यो । देश र जनताको पक्षमा काम भएन । हिंसाकोे राजनीति डरलाग्दो छ । अहिलेसम्म पाँचजना शासकको हत्या भइसकेको छ ।
सन् १४९२ मा किस्टोफर कोलम्बसले यो टापु (मुलुक) पत्ता लगाएका थिए । उनले यसलाई सानो स्पेनको नाम दिएका थिए । सन् १६९७ देखि यो मुलुक फ्रान्सको नियन्त्रणमा गयो । सन् १८०४ मा जेन ज्याक डेसालिनको नेतृत्वमा हाइटी स्वतन्त्र भयो । डेसालिनले आफूलाई राजा घोषित गरे । उनी दुई वर्ष पनि राजा हुन पाएनन् । सन् १८०६ मा उनको हत्या गरियो । डेसालिनले स्वतन्त्र बनाएको मुलुक विभाजित भयो । सन् १८१८ मा पाइरे बोयरले विभाजित मुुलुक एकीकरण गरेसँगै केही समय शान्तजस्तो देखिए पनि सत्ताको हानथापमै वर्षौं बित्यो ।
अमेरिकाले हाइटीमा लगानी ग-यो । आफ्नो पुँजी र लगानी असुरक्षित भएको भन्दै सन् १९१५ मा उसले हाइटीमाथि कब्जा जमायो । सन् १९४७ मा मात्र अमेरिकाले हाइटीबाट आफ्नो सेना फिर्ता ग-यो । सन् १९५७ मा राष्ट्रपतिको निर्वाचन भयो । फ्राङ्कोइस पापा डक डेबालिएरले चुनाव जिते । उनले आफूलाई आजीवन राष्ट्रपति घोषित गरे । उनको सन् १९७१ मा निधन भयो । उनका छोरा जन क्लाउड बेबे डक डेबालिएरले सत्ता हातमा लिए । उनले पनि बाबुकै नीति अख्तियार गरी आफूलाई आजीवन राष्ट्रपति घोषणा गरे । उनको अत्याचारी शासनविरुद्ध विद्रोह भयो । सन् १९८६ मा उनलाई सत्ताच्युत गरेसँगै २९ वर्षे पारिवारिक शासन अन्त्य भयो । उनी निर्वासनमा गए ।
सन् १९९० मा त्यहाँ पहिलोपटक स्वतन्त्र र निष्पक्ष चुनाव भयो । फादर जेन बर्टान्ड एरिस्टिड राष्ट्रपति निर्वाचित भए । तर, एक वर्षपछि सेनाले उनलाई हटाई सत्ता हातमा लियो । त्यसको विरोधमा अमेरिकाले नाकाबन्दी लगायो । सन् २००४ मा प्रजातन्त्र पुनःस्थापना गर्ने भन्दै अमेरिकाले त्यहाँ २० हजार सेना पठायो । एरिस्टिडको सत्ता पुनःस्थापना भयो तर उनलाई सत्ता चलाउन दिइएन । हिंसा र अराजकता बढ्यो । अनि संयुक्त राष्ट्रसङ्घले पनि शान्ति सेना पठायो । सन् २००५ मा विद्रोही नेता रेभिक्स रेमिसेन्थेको हत्या भयो । यस घटनाले समस्या झन् बल्झियो । सन् २००६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रेने प्रेभल निर्वाचित भए । अमेरिकाले हाइटीमाथि लगाएको नाकाबन्दी केही खुकुलो ग-यो । हाइटीको विकासका लागि विदेशी सहयोग आह्वान गरियो । केही विदेशी लगानी भित्रियो पनि । तर, २०१० मा त्यहाँ ठूलो भूकम्प गयो । तीन लाख मानिस मरे । मुुुलुकको अधिकांश भौतिक संरचना ध्वस्त भयो । भूकम्पछिको महामारीले हजारौँ मानिस मरे । मुलुक झन् अस्तव्यस्त बन्यो ।
सन् २०११ मा भएको राष्ट्रपतीय निर्वाचनमा मिसेल मार्टेली निर्वाचित हुनुभयो । उहाँको कार्यकाल पनि विवादमै बित्यो । विरोध प्रदर्शन, हिंसात्मक घटना रोकिएनन् । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा मोइज निर्वाचित भई सन् २०१७ देखि सत्ता सम्हाल्नुभयो । सोही वर्ष राष्ट्रसङ्घीय शान्ति सेना फिर्ता भयो । शान्ति सेना फिर्ता भएसँगै फेरि हिंसात्मक प्रदर्शन सुरु भए । विपक्षीहरू राष्ट्रपतिविरुद्ध उभिए । यही अन्योलबीच बन्दुकधारी समूहले राष्ट्रपति मोइजको हत्या ग-यो । अहिलेसम्म कसैले पनि हत्याको जिम्मेवारी लिएको छैन ।
एक करोड २० लाख जनसङ्ख्या रहेको सानो मुलुक हाइटीको क्षेत्रफल २७ हजार ७५० वर्गकिमि छ । त्यहाँको मुख्य भाषा क्रेओल र फ्रेन्च हो । त्यहाँका मानिस इसाई धर्म मान्छन् । औसत आयु पुरुषको ६१ वर्ष र महिलाको ६४ वर्ष रहेको छ । पहिलो स्वतन्त्र क्यारेबियन मुलुक भएर पनि राम्रो नेतृत्व नपाएकै कारण यो मुलुक चरम अभाव, गरिबी बेरोजगारी र हिंसापीडित छ । भूकम्प, समुद्री आँधी, महामारीले पनि त्यहाँ व्यापक जनधनको क्षति हुने गरेको छ । राष्ट्रपतिको हत्यासँगै महाविपत्तिमा परेको यो मुलुक अब कसरी सम्हालिन्छ ? चिन्ताको विषय बनेको छ । 
(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?