logo
२०८१ बैशाख ११ मंगलवार



अनलाइन कक्षाको प्रभावकारिता

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

महामारीका कारण विद्यालय बन्द भएपछि औपचारिक पठनपाठनका क्रमले निरन्तरता पाउन सकेको छैन । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट शिक्षण क्रियाकलापलाई अगाडि बढाउनका लागि निर्देशन दिएको भए पनि इन्टरनेटका सुविधाबाट वञ्चित रहेका दुर्गम क्षेत्र तथा सबैजसो सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ । सुविधासम्पन्न क्षेत्रका निजी विद्यालयले भने अनलाइन पद्धतिको माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिएका छन् ।
वर्तमान परिस्थितिमा सबैभन्दा राम्रो विकल्पका रूपमा अनलाइन पद्धति रहेको भए पनि प्रविधिसँग अनुकूल हुने किसिमको शिक्षण विधि, आवश्यक किसिमको अनुगमन नियन्त्रणको व्यवस्था तथा विद्यार्थीमैत्री वातावरणको अभावले विद्यालय तहको अनलाइन शिक्षा पूर्ण प्रभावकारी भने हुन सकेको छैन । भौतिक रूपमा कक्षाकोठामा उपस्थित भई शिक्षक विद्यार्थीबीचको अन्तक्र्रियाबाट सम्पन्न हुनुपर्ने शिक्षण सिकाइ क्रियाकलापको परिपूरक अनलाइन शिक्षण विधि हुन नसके पनि वर्तमान सङ्कटपूर्ण अवस्थाको सबैभन्दा भरपर्दो र प्रभावकारी विधि भने अनलाइन विधि नै हो । परम्परागत शिक्षण विधिमा आवश्यक संशोधन र परिमार्जन गर्दै जाने हो भनेमात्र अनलाइन कक्षा प्रभावकारी बन्न सक्छन् । जसमा शिक्षक, अभिभावक र विद्यार्थी तिनै पक्षको सक्रिय सहभागितामूलक योगदान आवश्यक पर्छ ।

विद्यार्थीको मनोविज्ञान
विद्यालय तहमा अध्ययनरत किशोरावस्थाका विद्यार्थी शारीरिक र मानसिक रूपमा परिपक्व भइसकेका हँुदैनन् । उनीहरूमा साथीप्रति निकै लगाव रहेको हुन्छ । यसैले किशोरकिशोरीलाई अभिभावकप्रतिको अविश्वास र आफ्नै किसिमको चिन्तनले प्रभाव पारेको हुन्छ । शारीरिक विकासको तीव्रता र हर्मोनको परिवर्तनको क्रम तथा संज्ञानात्मक विकासको चरण भएकाले अर्ती उपदेश र अनुशासनका कुराभन्दा साथीका कुरालाई उनीहरूले महŒव दिएका हुन्छन् । कक्षाकोठामा शिक्षकको कडा अनुशासनमा भएका विद्यार्थी अनलाइन कक्षामा आफूलाई पूर्ण स्वतन्त्र महसुस गर्छन् भने शिक्षकले सोधेका प्रश्नको जवाफ दिने सन्दर्भमा होस् वा गृहकार्य बुझाउने सन्दर्भमा किन नहोस् विभिन्न किसिमका बहाना बनाउने र एक–अर्काका कापी सारेर बुझाउने अवसरसमेत पाएका हुन्छन् ।
पढाइ–लेखाइ बालबालिकाको सर्वाङ्गीण विकासका लागि हुनुपर्छ तर अनलाइन कक्षामा शिक्षकको आवाजमात्र सुन्दै विद्यार्थी अन्य भिडियो गेम र च्याटिङजस्ता गतिविधिमा संलग्न हुँदा उनीहरूले कक्षालाई सूचना सङ्कलन गर्ने ठाउँका रूपमा मात्र लिएका हुन सक्छन् । दुई वर्षका तह वृद्धि आन्तरिक मूल्याङ्कनका आधारमा मात्र हुँदा विद्यार्थीको लेखाइगत र प्रस्तुतिगत सीपले झ्याँगिने मौका नै पाएन । नपढीकनै परीक्षा पास हुने अभिलाषा राख्ने विद्यार्थीको सङ्ख्या बढ्दै जानुले उनीहरूको पढाइ–लेखाइप्रतिको सक्रियतामा क्षति पुगेको छ । अरू बेला लुकेर र सीमित समयका लागि ग्याजेट चलाउने बालबालिका अभिभावकले व्यवस्था गरिदिएका ग्याजेट र इन्टरनेटलाई निर्वाध रूपमा चलाउन पाएका छन् । पठनपाठनका लागि इन्टरनेट र ग्याजेट अपरिहार्य भए पनि विद्यार्थीले यिनै माध्यमबाट प्रौढ साइट तथा यस्तै अवाञ्छित गतिविधिका दृश्य हेर्न सक्ने भएकाले कलिला बालबालिका मानसिक रूपमा अस्वस्थ, आक्रामक र अस्थिर बन्ने सम्भावना बढ्छ ।

अभिभावकको जिम्मेवारी
अनलाइन कक्षामा पठनपाठन क्रियाकलाप सञ्चालनको जिम्मेवारी शिक्षकको भए पनि विद्यार्थीका लागि अनुकूल वातावरण सिर्जना तथा अनुशासनको पालना गराउने भूमिका अभिभावकको हुने गर्छ । अहिले अनलाइन कक्षामा पहुँच हुने विद्यार्थीका अभिभावक प्रायः आफूले दुःख र कष्ट सहेर भए पनि बालबालिकालाई सुखी र सम्पन्न बनाउन चाहने समूहका अभिभावक हुन् । यसैले यी परिवारका बालबालिका प्रायः अभिभावकलाई नटेर्ने र घुक्र्याउने गर्छन् । यसैले समयमा कक्षामा नजोडिने, काममा संलग्नता नदेखाउने र अश्लील किसिमका साइट हेर्ने अनि साथीको लहलहैमा लागेर ध्वंसात्मक किसिमका खेलमा संलग्न हुने सम्भावना बढी रहन्छ । त्यसो त साइबर बुलिङको सिकार भई टोलाउने, दुःखी हुने, एक्लै बस्ने र निराश बन्नेजस्ता व्यावहारिक परिवर्तनसमेत देखाउन सक्छन् । यस्तो अवस्थामा उनीहरूले आफ्ना कुरा अभिव्यक्त गर्नका लागि उपयुक्त ठाउँ नपाउँदा मनोसामाजिक समस्याका सामना गरिरहेका हुन सक्छन्, जसका कारण उनीहरूको पठनपाठनप्रतिको रुचि हराउँदै जाने सम्भावना बढ्छ ।
यसैले अभिभावकले आफ्ना बालबालिकाको क्रियाकलाप, आनीबानीको सूक्ष्म अवलोकन गरी उनीहरूको कक्षाकोठामा संलग्नताका विषयमा सधैँ चनाखो बन्नुपर्छ । अभिभावकले अनावश्यक रूपमा उनीहरूको नियमन र नियन्त्रण गरेको भान पर्ने काम नगरी उनीहरूलाई भावनात्मक रूपमा सहयोग पु¥याएको महसुस गराउनु उत्तिकै आवश्यक हुन्छ । यसका लागि बालबालिकासँग निःसर्त उनीहरूका अनुभव, अनुभूति, धारणा र समस्याबारेमा कुराकानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यसो भएमा उनीहरूमाथि साइबर बुलिङ वा अन्य यस्तै अनलाइन दुव्र्यवहार भएको रहेछ भने पनि समयमै सच्याउन र सहयोग पु-याउन सकिन्छ । शिक्षक र अभिभावकबीचमा निरन्तर संवाद र अन्तक्र्रियाको वातावरण भएमा बालबालिकामा तत्काल विकसित आनीबानी र परिवर्तनको समयमै सही सम्बोधन हुन सक्छ ।

शिक्षकको तयारी
भौतिक रूपमा कक्षाकोठामा जसरी पढाइन्छ, त्यही रूपमै अनलाइन कक्षामा पढाउने सोचसाथ शिक्षकले पठनपाठनको क्रियाकलापलाई व्याख्यान विधिका माध्यमबाट मात्र अगाडि बढाउन खोज्ने हो भने विद्यार्थीको अरूचिका कारण पठनपाठन निष्प्रभावी बन्छ । कक्षाकोठाको पठनपाठन र अनलाइन पद्धति पठनपाठन माध्यमको मात्र फरक नभएर विद्यार्थीको मनोविज्ञान, उनीहरूको वातावरण र शिक्षकले पढाउने विषयवस्तुका आधारमा नितान्त फरक प्रकृतिको हुने गर्छ । सामान्यतया १० देखि १४ वर्षका बालबालिका २० देखि २५ मिनेटभन्दा लामो समय एउटै विषयवस्तुमा केन्द्रित हुन सक्दैनन् भन्ने कुरा मनोवैज्ञानिक अध्ययनले प्रमाणित गरिसकेका छन् । इन्टरनेटमा उनीहरूको एकाग्रतालाई बाधा पु¥याउने सामग्रीको अथाह भण्डार हुने भएकाले छिनछिनमा फरक साइट हेर्ने र सामाजिक सञ्जालमा च्याटिङ गर्ने प्रवृत्तिसमेत बढ्न सक्छ । यस्तो अवस्थामा विद्यार्थीलाई मानसिक रूपमा तयार नगरी उनीहरूको मनोरचनाको ख्यालै नगरी परम्परागत शिक्षण विधिबाट अनलाइन कक्षा सञ्चालन गर्दा यसले प्रभावकारी नतिजा ल्याउन सक्दैन, बरू विद्यार्थीमा आँखासम्बन्धी समस्या बढाउने र वास्तविक समाजमा समायोजनजन्य समस्या सिर्जना गर्ने सम्भावना बढ्छ ।
अनलाइन विधिमा शिक्षक सूचनाको स्रोत बन्नै सक्दैन । हरेक विषयको खोजी गर्न विद्यार्थीलाई भोक जगाइदिने अनि व्यवस्थित प्रस्तुतिका लागि उत्प्रेरणा दिने क्याटलिस्टको भूमिकामा शिक्षक रहनुपर्छ । रेडियो वा टेलिभिजनबाट समाचार वाचन गरेझैँ एकोहोरो रूपमा शिक्षकले पाठ्यवस्तुबारेमा भट्याउँदै जाने हो भने विद्यार्थीले त्यसबाट केही पनि प्राप्त गर्न सक्दैनन् । यस्ता विषयमा विद्यार्थीको रूचि नै नहुने कुरा शिक्षा मन्त्रालयका अडियो, भिडियो कक्षाका दर्शक नगन्य रहेको तथ्यबाटै प्रमाणित हुन्छ । यसैले कक्षामा सूचनाको बाढी चलाउनेभन्दा जीवन्तता ल्याउने चुनौती शिक्षकमा थपिएको छ । अनलाइन कक्षाको सुन्दर पक्ष भनेको छोटो समयको शिक्षकको निर्देशनपछि विद्यार्थीलाई समूह कार्य, परियोजना कार्य र सहभागितामूलक कार्यमा संलग्न गराई उनीहरूलाई विभिन्न किसिमका प्रस्तुतिमा सक्रिय गराउनु हो । चालीस मिनेटको कक्षामा शिक्षक १५ मिनेटभन्दा बढी बोल्नुहुँदैन भन्ने मान्यता राखिन्छ । विद्यार्थीलाई बढी सक्रिय बनाउन पाठ पढिसकेपछि गृहकार्य दिने परम्परागत पद्धतिविपरीत पाठ पढ्नुभन्दा अगाडि सम्बद्ध विषयका विभिन्न सामग्रीको खोजी र अध्ययन गरी कक्षामा उपस्थित हुने वातावरण बनाउन सक्नुपर्छ ।
कक्षाकोठाका क्रियाकलापमा विद्यार्थीको सहभागिता बढाउन अनलाइन कक्षा शिक्षणसँग सम्बन्धित विभिन्न टुल्स प्रयोग अपरिहार्य हुन्छ । अहिले प्रशस्त मात्रामा यस्ता टुल्स उपलब्ध छन् । यिनको प्रयोग गरी विषयवस्तु बताउनुुभन्दा खोज र अनुसन्धान गर्न प्रेरित गर्ने गरेमा विद्यार्थीले आफँै खोजी गरी विषयवस्तुबारे फरक–फरक कोणबाट गहन अध्ययन गर्न सक्छन् । कुनै पनि स्रोतको सामग्री अध्ययन गर्नु राम्रो काम भए पनि स्रोतको उल्लेख नगरीकन सार्नु अपराध हो भन्ने कुरा विद्यार्थीलाई राम्रोसँग बुझाउन सकेमा मात्र विद्यार्थीको सिर्जनशीलता जीवित रहन्छ । अन्यथा उनीहरूले प्रविधि दुरुपयोग गरी विभिन्न स्रोतका सामग्री सारेर शिक्षकलाई देखाउने र आफैँलाई गुमराहमा राख्न सक्छन् । यस दिशामा शिक्षकले सकारात्मक रूपमा विद्यार्थीलाई निर्देशन, पथप्रदर्शन एवम् सहयोग गर्नुपर्छ ।

निष्कर्ष
सामान्य रूपमा विद्यालय नगई, घरै बसेर प्रविधिका माध्यमबाट पढ्ने कामलाई अनलाइन शिक्षाका रूपमा बुझिन्छ । अनलाइन शिक्षण विशुद्ध कक्षाकोठामा हुने शिक्षण पद्धतिभन्दा शिक्षण विधि, पढाइने विषयवस्तु र कक्षाकोठाका क्रियाकलापका आधारमा नितान्त फरक र प्राविधिक कुरा हो । यसैले भौतिक कक्षाकोठाको दुरुस्त रूप अनलाइन कक्षा हुन सक्दैन । भौतिक कक्षाकोठामा उपयुक्त मानिएका कतिपय विधि अनलाइन कक्षाका लागि कामै नलाग्ने हुन सक्छन् । यसैले उपयुक्त किसिमको विधि अवलम्बन गर्न नसक्ने हो भने अनलाइनका कारण बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप झनै अन्योलमा पर्ने सम्भावना हुन्छ । यसैले अनलाइन शिक्षण पद्धतिलाई व्यवस्थित र प्रभावकारी बनाउन विद्यार्थीको मनोविज्ञान बुझी शिक्षकले अझ विशिष्ट तयारी र अभिभावकले अझ बढी सावधानी अपनाउनुपर्छ । शिक्षक, विद्यार्थी र अभिभावकको अन्तरसम्बन्धबाट मात्र विद्यालय स्तरको अनलाइन कक्षाको प्रभावकारिता बढ्न सक्छ । यी तीनको समन्वयविना सञ्चालन गरिने अनलाइन कक्षा समय बिताउने माध्यममात्र नबनी बालबालिकाको लत बिगार्ने तŒवसमेत बन्न सक्छन् । यसैले अनलाइन कक्षालाई प्रत्युत्पादक हुनबाट बचाई प्रभावकारी बनाउन सम्बद्ध सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय योगदान गर्नुपर्छ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?