logo
२०८० चैत्र १६ शुक्रवार



समाज रूपान्तरणमा युवा

विचार/दृष्टिकोण |




परशुराम रम्तेल

हाम्रो नेपाली समाज वर्ग विभाजित समाज हो । वर्ग विभाजित समाजमा संस्कृति पनि वर्गीय हुने गर्छ । संस्कृति जहिले पनि समाजको आर्थिक तथा राजनीतिक व्यवस्थाको विचारधारात्मक प्रतिविम्ब हुने गर्छ । नेपाली समाज अध्यात्मवादमा आधारित असाध्यै अन्धविश्वासी, अवैज्ञानिक र रुढिग्रस्त सामन्ती संस्कृतिद्वारा ग्रसित हँुदै आएको छ । संस्कृतिभित्र विचार, रुचि, भावना, मूल्य–मान्यता, सिद्धान्त, आचरण, परम्परा, संस्कार, दृष्टिकोण आदि पर्छन् । कुनै पनि समाजको संस्कृति त्यहाँ कुन वर्ग र विचारद्वारा निर्देशित सत्ता र शासक छ भन्ने कुराबाट निर्धारित हुने गर्छ । हाम्रो सन्दर्भमा विगत लामो समयदेखि सत्ता मुठ्ठीभर सामन्त र दलाल नोकरशाह पुँजीपतिवर्गको हातमा रहँदै आयो । त्यसैले संस्कृति पनि सामन्ती नै रहनु स्वाभाविक छ ।
संस्कृतिको प्रभाव समाजमा लामो समयसम्म रहिरहन्छ । समाजको सबैभन्दा अग्रगामी र नवीन चेतना भएका युवा वर्गले समाजलाई क्रान्तिकारी रूपान्तरण गर्न सबैभन्दा महìवपूर्ण भूमिका खेल्नुपर्छ ।

सामन्ती संस्कृतिको गहिरो प्रभाव
सामन्ती शासकहरूले आफ्नो संस्कृतिलाई बलात् रूपमा स्थापित र निरन्तरता दिन साम, दाम, दण्ड, भेदलगायतका तमाम उपायहरू अवलम्बन गर्ने गर्छन् । शासकहरूले धर्मको आडमा एक ढिक्का भएको नेपाली समाजलाई वर्णाश्रम व्यवस्था लादेर विखण्डित पार्दै वर्तमानको अत्यन्त विभेदकारी र विकृत एवं विसङ्गतिपूर्ण समाजमा ल्याइ पु-याएको यथार्थ छ । नेपालको पुरानो संस्कृति विश्व साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा निर्देशित र सामन्ती उत्पादन प्रणालीसँग अन्तरसम्बन्धित हुन्छ ।
यो अत्यन्त रुढिग्रस्त, अन्धविश्वासी र अवैज्ञानिक संस्कृति हो । यसले प्रतिक्रियावादी वर्गकै पक्षपोषण गर्छ । अध्यात्मवादी विचारलाई केन्द्रमा राखेर यसले आफ्नो आदर्श, मूल्य–मान्यता, परम्परा र संस्कारको विकास गर्ने गर्छ । यो भ्रम र रहस्यवादी चिन्तनमा आधारित हुन्छ । यो जनसंस्कृतिभन्दा पनि आफ्नो वर्ग स्वार्थ र शोषणमा आधारित हुन्छ । नेपाली समाजको सामन्ती संस्कृतिमा झुट र भ्रमबाहेक अरू केही भेटिंदैन । २१ औँ शताब्दीको युगमा पनि ‘जातपात–छुवाछूत’ जस्तो अत्यन्त निकृष्ट र अमानवीय प्रथा भारत र नेपालजस्तो मुलुकमा हुनुले पनि सामन्ती संस्कृतिको जबर्जस्त र दूरगामी प्रभाव भएको कुरा नै पुष्टि हुन्छ ।

शिक्षा र संस्कृतिको सम्बन्ध
संस्कृतिभित्र शिक्षा पनि पर्छ । राज्यसत्ता जुन वर्गको हातमा छ, शिक्षा प्रणालीले पनि त्यही वर्गको पक्षपोषण गर्नु अनिवार्य हुन्छ । हाम्रो शिक्षा प्रणालीले श्रमप्रति अनास्था राख्ने चेतनाको विकास गराउने नीति लिएको देखिन्छ । यसबाट प्रतिक्रियावादीहरूले शिक्षालाई राजनीतिबाट अलग गराउनु पर्छ भन्दै आएको देखिन्छ । वास्तवमा, राजनीतिबाट शिक्षा अलग हुनै सक्दैन । सामन्तवादले आफ्नै विचार अनुकूलको संस्कृति स्थापित गरी नेपाली समाजलाई अत्यन्तै विभेदकारी नीति नियमहरू बनाएर विभेदकारी समाज निर्माण ग¥यो । नेपाली समाजको सबैभन्दा अग्रगामी चेतना भएका युवाले यस्ता खालका विभेदका विरुद्ध एकताबद्ध भएर जुध्न जरुरी छ ।
सामन्ती सत्ताका शासकहरूद्वारा असाध्यै अज्ञानी, मूर्ख, पाखे आदि भनेर नामाकरण गर्दै हरेक क्षेत्रबाट पछाडि पारिएका र दूर दराजमा रहेका श्रमजीवी जनसमुदायहरू आज वैज्ञानिक विचारद्वारा प्रशिक्षित हुँदै आफ्नो वर्गबैरीका विरुद्ध जुध्दै आफ्नो वर्गको राज्यसत्ता र नयाँ जनसंस्कृति निर्माणमा एकजुट भइरहेका छन् । पुरानोको ध्वंश र नयाँको निर्माण वैज्ञानिक मान्यता हो । पुरानो संस्कृतिको ध्वंश र नयाँ संस्कृतिको स्थापना र विकासको अन्तर सम्बन्धलाई ठीक ढङ्गले बुझ्न जरुरी छ । नभए, पुरानै परम्परा वा संस्कारकै नाममा पुरानै संस्कृति टिकाइराख्नुले अन्ततः प्रतिक्रियावादी वर्गकै सेवा गर्नु सिवाय अरू हुनै सक्दैन ।

नयाँ संस्कृतिको आत्मसात्
समाजमा युवा वर्ग जहिले पनि अग्रगामी चेतनायुक्त हुन्छ । युवा हुनुको नाताले उसमा नयाँ सोच, विचार, उत्साह, उमङ्ग, जाँगर र क्रान्तिकारीपन हुन्छ । व्यक्तिभित्र हुने उत्साह र भावनालाई जहिले पनि नवीन विचारले निर्देश गर्न जरुरी छ । वैज्ञानिक र परिवर्तन पक्षीय विचारबाट मात्रै नयाँ संस्कृतिको विकास सम्भव छ । नारीप्रतिको सम्मान, प्रेम विवाह, छुवाछूत विरोधी भावना, भातृत्वको भावनामा विकास, श्रमजीवी जनताप्रति र श्रमप्रतिको अगाध आस्था, धार्मिक सहिष्णुता, पारस्परिक सहयोगको भावना, विभिन्न जातजातिका समुदायको भाषिक सम्मान, समतामूलक समाज निर्माणमा सकारात्मक भावना, राष्ट्र र राष्ट्रिय स्वाधिनताप्रतिको आस्था आदि नयाँ संस्कृतिका मूलभूत विशेषताहरू हुन् । हाम्रो समाजमा निकै लामो समयदेखि सामन्तवादी राज्यसत्ता र त्यसको मातहतमा रहेको सामन्ती संंस्कृतिको राज चलेको हुनाले सिङ्गो समाजलाई त्यसको गहिरो प्रभाव पर्न गएको छ । फलतः समाजमा विभिन्नखाले विभेद, असमानता, अपमान र विषमताहरू विद्यमान छन् । महिला र पुरुष, छोरा र छोरी, पहाडीया र मधेसी, गाउँले र सहरीया, दलित र गैरदलित, धनी र गरिब, शिक्षित र अशिक्षित, आदिका बीचमा थुप्रैखाले विभेद, असमानता र अन्तरविरोधहरू छन् । त्यस्तैगरी दाइजो प्रथा, छुवाछूत प्रथा, छोरा र छोरीबीचमा विभेद, महिलामाथिका सबैखाले विभेद, बोक्सी प्रथा, बहुविवाहजस्ता प्रथाका कारण हुने विभेदहरू परम्परा, प्रथा वा संस्कृतिको रूपमा विद्यमान छन् । यी तमाम खाले गलत र अत्यन्त रुढिग्रस्त संस्कृतिको अन्त्य बिना नेपाली समाज नयाँ बन्नै सक्तैन । यसको अन्त्यको लागि मुख्यतः युवा शक्तिले विशेष भूमिका खेल्नुपर्छ ।
अहिले नेपालको एउटा ठूलो युवा जनशक्ति वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएको छ । सो जनशक्तिले पनि पुरानो संस्कृतिका विरुद्ध र नयाँ संस्कृतिका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ । सामन्तवादी कालमा विकसित भएको गलत संस्कृतिलाई छोडेर नयाँ युग र परिवर्तित अवस्था अनुरूपको नयाँ संस्कृतिको विकास गर्न र सोही अनुरूपको व्यवहार गर्नका लागि बृहत् छलफल–बहसका बीचबाट अगाडि बढाउनुपर्छ । गलत संस्कृतिलाई विस्थापित गर्नु नयाँ युगका चेतनशील र विवेकशील युवा पुस्ताको दायित्व र जिम्मेवारीभित्र पर्छ । वैज्ञानिक विचारको आधारमा नयाँ संस्कृतिलाई आत्मसात् गरेर मात्रै समाज रूपान्तरण सम्भव हुन्छ ।

सांस्कृतिक रूपान्तरणमा युवा
युवा अरूभन्दा कम रुढिवादी र कम अध्यात्मवादी हुन्छन् । समाजमा सबैभन्दा प्रगतिशील, उच्च र वैज्ञानिक चेतनायुक्त जनशक्ति भनेका युवा विद्यार्थी नै हुन् । विद्यार्थीको चरित्र नै अग्रगामी र परिवर्तनशील हुन्छ । पुरानो सामन्ती संस्कृतिलाई पूरै मिल्काउन सक्छन् उनीहरू । नेपाली समाजमा विद्यमान रहेका दलित समुदायमाथिको जातीय भेदभाव र छुवाछूत, महिलामाथिको चरम उत्पीडन र विभेद, समाजमा रहेका विभिन्नखाले विकृत र विसङ्गति, कुप्रथाहरू आदिको अन्त्य गर्नका लागि अग्रसर हुनेमा युवा पङ्क्ति नै अगाडि आउनु पर्छ ।
हामीले सांस्कृतिक रूपान्तरण गर्नका लागि प्रथमतः विचारमा रूपान्तरण हुन जरुरी छ । छिटोभन्दा छिटो वैज्ञानिक र सही विचारलाई ग्रहण गर्ने र व्यवहारमा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने सवालमा युवा विद्यार्थीहरू अग्रसर हुन्छन् । त्यसकारण सही र वैज्ञानिक समाज निर्माणमा युवाको भूमिका सबैभन्दा बढी हुने गर्छ । संस्कृति विशुद्ध संस्कृति हुँदैन । यो विचारधारा, राजनीति र आर्थिक प्रणाली तथा वर्ग सङ्घर्षसँग अन्तरसम्बन्धित हुन्छ । त्यसकारण सामाजिक–सांस्कृतिक रूपान्तरणलाई विशुद्ध संस्कृतिसंँग मात्र नजोडेर मूलतः राजनीतिक र सांस्कृतिक पक्षसँगै अगाडि बढाउनु जरुरी छ । नेपाली समाज विभिन्न जाति, जनजाति, भाषाभाषी र धार्मिक समुदायहरूले भरिएको विविधतायुक्त समाज हो । अहिले वर्गसङ्घर्षको विकासकै सापेक्षतामा सामाजिक–सांस्कृतिक रूपान्तरणको प्रक्रिया सुरु भएको छ र यसलाई अझ गुणात्मक रूपमा विकास गर्नुपर्छ । द्वन्द्वात्मक भौतिकवादी विचार दिएर युवाको विचार, भावना र जीवनशैलीलाई उन्नत बनाउँदै क्रान्तिकारी सिद्धान्तलाई जीवन व्यवहारमा लागू गराउँदै जानुपर्छ । एकल पुरातन विचार र संस्कृतिले नेपाली समाजलाई यो दुरावस्थामा ल्याइ पु¥यायो । अब पनि त्यही विचारलाई निरन्तरता दियौँ भने उत्पीडित समुदायका लागि थप विडम्बना हुनेछ ।
तसर्थ, श्रमलाई उत्पादनमा जोड्दै उत्पीडित र उपेक्षित वर्ग तथा समुदायलाई सही ढङ्गले अधिकार सम्पन्न बनाएर मात्र साँचो अर्थमा सांस्कृतिक रूपान्तरण हुन सक्छ । सदियौँ वर्षदेखिको सामन्ती संस्कृतिद्वारा प्रताडित हुँदै र उत्पीडन भोग्दै आएका सबै उत्पीडित जनसमुदायलाई अधिकार सम्पन्न बनाई पूर्ण मुक्ति प्राप्त गर्नका लागि नेपाली क्रान्तिकारी युवाशक्तिले अहं र महìवपूर्ण भूमिका खेल्न जरुरी छ ।
(लेखक संविधान सभा सदस्य तथा दलित मुक्ति मोर्चाका नेता हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?