logo
२०८० चैत्र १६ शुक्रवार



विश्व व्यापारमा देखिएको प्रवृत्ति

विचार/दृष्टिकोण |




अर्जुनबहादुर कँडेल

कोभिड–१९ को महाव्याधीले विश्व व्यापार र आपूर्ति सञ्जालको आधार स्तम्भलाई उथलपुथल पारेको छ । संयुक्त राज्य अमेरिका र चीनको व्यापार युद्धले विश्व व्यापार र आपूर्ति सञ्जालमा प्रतिकूल प्रभाव पार्दै गरेकोे अवस्थामा कोरोना कहरले विश्व व्यापारलाई गम्भीर असर पु¥याएको छ । विश्व व्यापार र आपूर्ति सञ्जालको भविष्य कुन अवस्थामा पुग्ला भन्ने अनुमान गर्न अनिश्चितता उत्पन्न भएको छ ।
कोभिडविरुद्धको खोपको उत्पादन र वितरण आगामी वर्ष विश्व अर्थतन्त्रले कसरी कार्य गर्छन् भन्ने निर्धारण गर्ने मुख्य आधार बन्न पुगेको छ । खोपको वृहत् उत्पादनले व्यवसाय तथा व्यापारलाई छिटोभन्दा छिटो पुनः सञ्चालन गरी अर्थतन्त्र आफ्नै खुट्टामा उभिन सक्नेछन्, जसको फलस्वरूप विश्व व्यापारमा यो महामारीपश्चात् सशक्त रूपमा सुधार हुने विश्व व्यापार सङ्गठनको (डब्लुटीओ)को आँकलन छ । डब्लुटीओको प्रक्षेपणअनुसार सन् २०२१ मा वस्तु व्यापार ८ प्रतिशतले वृद्धि हुने अनुमान छ, जब कि सन् २०२० मा यसमा ५ दशमलव ९ प्रतिशतले गिरावट आएको थियो । यदि खोपको उत्पादन र वितरण द्रुत गतिमा भएमा विश्वको कुल उत्पादन सन् २०२१ मा थप एक प्रतिशत र विश्व व्यापार २ दशमलव ५ प्रतिशतले वृद्धि हुनुका साथै विश्व व्यापार महामारीपूर्वको अवस्थामा आउने विश्लेषण रहेको छ । यो सकारात्मक परिस्थितिको आँकलन हो । अर्कोतर्फ प्रतिकूल परिस्थिति पनि उत्पन्न हुन सक्नेछ । यदि मागअनुसार खोप उत्पादन हुन सकेन भने नयाँ–नयाँ प्रजातिको भाइरसको सङ्क्रमण बढ्दै जाने र यसले खोपको प्रभावकारितालाई समेत कम गर्न सक्ने सम्भावना पनि उत्तिकै छ । परिणामस्वरूप विश्वको कुल उत्पादनमा १ प्रतिशतले र व्यापार वृद्धिमा झन्डै २ प्रतिशतले कमी आउने अनुमानसमेत डब्लुटीओले गरेको छ ।
कोभिड–१९ ले ल्याएको आर्थिक र सामाजिक अवरोधले सन् २०२० मा विश्व व्यापारलाई नराम्रोसँग प्रभावित ग¥यो । समग्रमा विश्व व्यापार सन् २०२० मा ९ प्रतिशतले सङ्कुचन भयो, जसमा ६ प्रतिशतले वस्तु व्यापार र १६ दशमलव ५ प्रतिशतले सेवा व्यापार घटेको थियो । सन् २०२० को प्रथम छ महिनामा विश्व व्यापारमा करिब १५ प्रतिशतले कमी आई व्यापार प्रणाली धेरै गम्भीर अवस्थामा पुगेको थियो भने तेस्रो त्रैमासबाट परिस्थिति सुधारोन्मुख अवस्थामा रह्यो । सो अवधिमा वस्तु व्यापारमा सुधार देखिए पनि सेवा व्यापारमा उल्लेखनीय कमी आएको थियो ।
कोभिड–१९ को प्रभावले, केमिकल्स, इन्धन, फलाम तथा धातु, मेसिनरी, खनिज, सवारीसाधन, टेक्स्टायल्स, हवाई उपकरणको व्यापारमा प्रतिकूल प्रभाव पारेको थियो भने कृषि तथा खाद्य, सञ्चार उपकरण, कार्यालय उपकरण र फर्मास्युटिकल्सको व्यापारमा भने सकारात्मक प्रभाव परेको युनाइटेड नेसन्स सेन्टर फर ट्रेड एन्ड डेभलपमेन्ट (युएनसीटीएडी)को प्रतिवेदनले देखाएको छ । कोभिड–१९ को हालसम्मको अवधिमा चीन र पूर्वी एसियाली देशले आयात निर्यात दुवैमा आफ्नो हिस्सा बढाएका छन् । अमेरिकाको निर्यात व्यापारमा धेरै ठूलो नकारात्मक असर परेको छ । त्यसैगरी, रूस, युरोपियन युनियन, भारत, जापान, मेक्सिको, दक्षिण कोरियाजस्ता देशले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो हिस्सा गुमाएको देखिन्छ ।
युएनसीटीएडीको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२१ को प्रथम त्रैमासमा विश्व व्यापार सुधारमा उच्च रेकर्ड कायम भएको छ । विगतका व्यापार सुस्तीमा भन्दा यसपटकको महामारीपछि विश्व व्यापारमा तीव्र सुधार देखिएको प्रतिवेदनले देखाएको छ । वस्तु व्यापार सन् २०२१ को प्रथम त्रैमासमा महामारीपूर्वको अवस्थाभन्दा उच्च रहेको तर सेवा व्यापार भने उल्लेखनीय रूपमा कम रहेको देखिएको छ । त्यसैगरी, प्रतिवेदनले चीनको निर्यात व्यापार सन् २०२० पछाडि मात्र होइन, महामारीपूर्वको अवस्थाभन्दा पनि सशक्त रूपमा बढेको देखाएको छ । समग्रमा सन् २०२१ मा विश्व व्यापारमा १६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण युएनसीटीएडीले गरेको छ ।

नेपाल सन्दर्भ
विगतमा भारत र तिब्बतसँग मात्र सीमित रहेको नेपालको वैदेशिक व्यापार सन् १९५६ देखि समुद्रपारका देशसँग पनि हुन थालेको हो । अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/०७६ को असारदेखि चैत मसान्तसम्म नेपालको कुल निर्यात ६९ अर्ब ८२ करोड, आयात १० खर्ब ६१ अर्ब ६१ करोड र कुल व्यापार ११ खर्ब ३१ अर्ब ४३ करोड रहेकोमा आव २०७६÷०७७ चैत मसान्तसम्म यो क्रमशः ७८ अर्ब ८२ करोड, नौ खर्ब आठ अर्ब ५३ करोड र १० खर्ब ६१ अर्ब ३५ करोड पुगेको थियो । यसबाट पनि नेपालको वैदेशिक व्यापारमा कोरोनाको प्रभाव परेको स्पष्ट हुन्छ । आव २०७६/७७ मा नेपालको कुल वस्तु निर्यात शून्य दशमलव ६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ करोड पुगेको थियो भने कुल वस्तु आयात १५ दशमलव ६ प्रतिशतले घटी ११ खर्ब ९६ अर्ब पुगेको थियो । फलस्वरूप व्यापार घाटा १६ दशमलव आठ प्रतिशतले सङ्कुचन आई १० खर्ब ९९ अर्ब कायम भएको थियो ।
आव २०७७÷७८ को प्रथम नौ महिनामा कुल वस्तु निर्यात २० दशमलव २ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको र कुल वस्तु आयात १३ दशमलव १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुग्यो । कुल व्यापार १२ खर्ब छ अर्ब ६३ करोड रहेको तथ्याङ्क नेपाल राष्ट्र बैङ्कले सावर्जनिक गरिसकेको छ । यो अवधिमा कुल वस्तु व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ भने आयात निर्यात अनुपात ११.७३ प्रतिशत पुगेको छ । पहिलो चरणको कोरोनाको प्रभाव कम भएसँगै अर्थतन्त्र चलायनमान भएको र वैदेशिक व्यापारमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ तर कोभिड–१९ को दोस्रो लहरसँगै सुरु भएको बन्दाबन्दीले यसमा प्रतिकुल प्रभाव पार्ने निश्चित प्रायः नै छ ।
कोरोना कहरको पहिलो लहरको प्रभाव क्रमशः न्युन भएसँगै आर्थिक गतिविधिमा भएको विस्तारबाट राजस्व परिचालनमा पनि सुधार हुँदै गएको थियो । आव २०७७/७८ मा नेपाल सरकारको भन्सार राजस्वको लक्ष्य १९ हजार ३५५ करोड रहेकोमा २०७७/७८ फागुन सम्ममा १२ हजार ६१६ करोड सङ्कलन गरेको छ । यो फागुनसम्मको भन्सार राजस्वको लक्ष्यको ९८ दशमलव ८६ प्रतिशत उपलब्धि हो । आव २०७६/७७ फागुनसम्मको भन्सार राजस्व सङ्कलन १० हजार १३७ करोड रहेको थियो । चालु आवको फागुनसम्म गत आवको सोही महिनाको तुलनामा भन्सार राजस्वमा २४ दशमलव ५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

सारांश
कोभिड–१९ को महामारीले जटिल बनाएको विश्वको व्यापार र आपूर्ति सञ्जाल यसको दोस्रो लहरसँगै झन्झन् अन्योलपूर्ण बन्दै गएको छ । विश्वभरि औषधि तथा मेडिकल उपकरण, कोभिडविरुद्धको खोप, अक्सिजन तथा अन्य अत्यावश्यक वस्तु तथा सामग्रीको उपलब्धताका लागि आपूर्ति सञ्चालनको प्रभावकारी व्यवस्थापन हुन नसक्दा विश्व अर्थतन्त्र यतिबेला चरम सुस्तीको अवस्थामा पुगेको छ । दीर्घकालमा यसले आपूर्ति सञ्जालमा उदेकलाग्दो अभावको सिर्जना गर्ने विज्ञहरू बताउँछन् । विश्व आपूर्ति सञ्जालमा आइरहेको जटिलताले दीर्घकालमा विश्वका अर्थतन्त्रलाई ‘वुम वस्ट साइकल’को अवस्थातर्फ धकेल्दै लैजाने देखिन्छ । भारत तथा अन्य एसियाली देशमा कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रूपमा फैलिँदै गर्दा ती देशको व्यापार चीनतर्फ मोडिएको छ । कोभिड–१९ महामारीको सङ्कटसँग प्रभावकारी रूपमा जुध्दै आर्थिक गतिविधिलाई तीव्रता दिन उन्मुख भएसँगै चीनको उत्पादन प्रणालीले तीव्र निरन्तरता पाउने अपेक्षा गरिएको छ । भारतीय अर्थतन्त्र कोभिडले शिथिल हुँदै गर्दा विश्व व्यापारमा चीन चम्कँदै गएको छ र विश्वको ‘प्रोडक्ट पावर हाउस’ बन्दै गएको छ । यसैकारण हाल चीनको उत्पादन प्रणालीप्रति विश्वास गर्दै विश्व व्यवसायको पुँजी प्रवाह चिनियाँ अर्थतन्त्रप्रति मोडिएको हो ।
कोभिड महामारी पछाडि विश्व आपूर्ति सञ्जाल (ग्लोबल सप्लाइ चेन) स्थायी रूपमा परिवर्तन हुने र यसको मुख्य खेलाडी चीन रहने देखिन्छ । त्यसैगरी, केही विकासोन्मुख देशले विश्व व्यापारमा आफ्नो हिस्सा बढाउने अवसर पनि प्राप्त गर्नेछन् । स्वास्थ्य सामग्री तथा उपकरणको आपूर्तिमा कोभिडको प्रत्यक्ष प्रभाव परेसँगै यसको अवैध व्यापार एवम् कालो बजारीले कोरोना महामारीको अवधिमा निरन्तरता पाइरहने अवस्था देखिएको छ । जसलाई बढ्दो ग्राहक सचेतना र बहुपक्षीय नीति नियममार्फत यथाशीघ्र नियन्त्रण गर्नु टड्कारो आवश्यकता देखिन्छ ।
(लेखक नेपाल बैङ्क लिमिटेडका वरिष्ठ प्रबन्धक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?