logo
२०८१ बैशाख ७ शुक्रवार



उच्च जोखिममा रहेका स्थानमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयकाे निर्देशन

राष्ट्रिय |




देवबहादुर कुँवर
काठमाडौँ, असार २ गते । गृह मन्त्रालयले बाढी पहिरो र डुवानको उच्च जोखिममा रहेका वस्तीहरुमा आवश्यक सतकर्ता अपनाउन सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
विभिन्न नदी किनारा, खोला, खहरे तथा खोल्सा नजिकका वस्तीहरु बाढीपहिरो र डुवानको उच्च जोखिममा छन् । ती वस्तीहरुमा सम्भावित विपद् सम्वन्धी पूर्वसूचना ‘हाइ अलर्ट’ गर्न निर्देशन दिएको छ ।
मनसुन सक्रिय भएसंँगै नदीको वहाव बढन गई वस्ती बग्ने, बाढीपहिरो आउने र खोल्सा नजिकको बस्ती भासिने समस्या देखिन थालेकाले त्यस्ता जोखिमक्षेत्रमा रहेका वस्तीहरु सार्न समेत निर्देशन दिएको छ ।
गृह प्रवक्ता जनकराज दाहालका अनुसार, ७७ वटै जिल्ला प्रशासन कार्यालय प्रमुखलाई सम्भावित मनसुन जन्य जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउनका लागि आवश्यक सूचना तथा सुुरक्षा, उद्धार तथा उपचार, राहत र पुनस्र्थापना कार्य तयारी थाल्न भनिएको छ ।
प्रत्येक जिल्लाले सम्भावित जोखिमक्षेत्रको पहिचान गरी वस्तीमा सतर्कता अपनाउले, उद्धारका लागि सवारी साधन तथा उपकरण सहितको उद्धार उपचार टोली, पुनसर््थापना तथा राहत वितरणका लागि खाद्यन्न सामाग्री तथा कम्मल लगायत कपडा तयारी अवस्थामा राख्न अनिवार्य भएको छ ।
अधिकांस नदी किनाराका वस्तीहरु बाढीको उच्च जोखिममा रहेकाले त्यस्ताक्षेत्रका स्थानीय जनप्रतिनिधि सहित सरोकारवाला निकायसँग सहकार्य गरी जोखिम घटाउने लगायतका सुरक्षा उपाय अबलम्वन गरिने भएको छ ।
‘बाढीपहिरो र डुवानको सम्भावित जोखिमको खतरामा रहेका वस्ती नै सार्ने विषयमा पनि छलफल भएको छ, उहाँले भन्नुभयो– यस सम्वन्धी निर्णय गर्ने अधिकार सम्वन्धित जिल्ला विपद व्यवस्थापन समितिलाई दिइएको छ ।
यसैबीच, मनसुन जन्य विपद व्यवस्थापन, उद्धार, उपचार र पुनस्र्थापना कार्यमा सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बाढी, पहिरो र डुवान लगायतका सम्भावित जोखिम व्यवस्थापनका लागि सात वटै प्रदेशमा सैनिक उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।
पश्चिम नेपालको सुर्खेत, मध्यपश्चिमा पोखरा, काठमाडौँ, तराई मधेशको जनकपुर र विराटनगर गरी पाँचस्थानमा हेलिकप्टर सहितको उद्धार टोली खटिएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले एमआइ १७ हेलिकप्टर सहितको सैनिक उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो ।
सैनिक हेलिकप्टर बाढीपहिरो र डुवानमा परेकाहरुको उद्धारका साथै तत्काल राहत सामाग्री ढुवानीमा पनि प्रयोग हुने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आवश्यक उपकरण सहित खोज तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरेको छ ।
प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले लगातारको वर्षाका कारण सुदूरपश्चिम, गण्डकी र बागमती प्रदेशको गरी एकदर्जन जिल्लाहरुमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार, नदी किनारा, खहरे र खोला नजिकका वस्तीहरुमा बढी क्षति पुगेको छ ।
सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रले पनि डुवान तथा पहिरोमा परेकाहरुको उद्धारका लागि स्पेशल टोली परिचालनको तयारी गरेको छ । यसअघि सम्वन्धित जिल्लामा रहेको सशस्त्र प्रहरी गण तथा गुल्मबाट उद्धारकर्मी खटिदै आएका छन ।
स्थानीय प्रहरीले सम्वद्ध निकायसँगको सहकार्यमा जोखिममा रहेका वस्तीमा ‘माइकिङ गर्ने, अलार्म बजाउनेखि वस्ती सार्नका लागि सुरक्षित स्थानको खोजी गर्न थालेका छन् । विशेष गरी पहाडीक्षेत्रमा पहिरो र नदी कटानका कारण बाढीको जोखिम उच्च रहेको छ । तराईमा डुवानको समस्या छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?