logo
२०७८ कार्तिक २ मंगलवार



देवतुल्य ज्येष्ठ नागरिक

विचार/दृष्टिकोण |




कृष्णहरि बास्कोटा
केटाकेटी र ज्येष्ठ नागरिकलाई हेप्ने र दुव्र्यवहार गर्ने प्रचलन विश्वभरि नै छ । यसको मात्रा कुनै मुलुकमा कम छ भने कुनै मुलुकमा बढी छ । विश्वका अल्पविकसित र विकासोन्मुख अन्य मुलुकमा जस्तै नेपालमा पनि घर–परिवार, छर–छिमेक र समाजमा पनि ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार हुने गरेको पाइन्छ । एकातिर हामी मातृ देवो भवः पितृ देवो भवः भन्छौँ अर्कोतिर तिनै ज्येष्ठ नागरिकलाई दिनुपर्ने सामान्य सम्मान दिन पनि पछि पर्छौं ।
इन्टरनेसनल नेटवर्क फर प्रिभेन्सन अफ एल्डर एबयुज नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २००६ देखि प्रत्येक वर्षको जुन १५ तारिखलाई ‘ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस’ को रूपमा मनाउने पुनित कार्यको थालनी गरेको हो । सो संस्थाले ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहारकोे विषयमा विशेष खोज र अनुसन्धान गर्ने कार्यसमेतको सुरुवात गरेको थियो । यस अतिरिक्त उक्त संस्थाले यस विषयमा संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गरायो । यही कारण, संयुक्त राष्ट्र सङ्घले पनि सन् २०११ को निर्णयअनुसार २०१२ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालेको छ । तत्पश्चात् संयुक्त राष्ट्र सङ्घका सबै सदस्य राष्ट्रहरूले यो दिवस विश्वभर मनाउने गरी आएका छन् । नेपालमा यो दिवस सन् २००७ देखि राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइरहेको छ । प्रस्तुत पुनीत कार्यमा सन् २०१२ देखि नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पनि जोडिएको छ ।
जीवनका कैयौँ वसन्त पार गरेका ज्येष्ठ नागरिक यथार्थमा देवतासरह हुन् । उनीहरूसँग रहेको ज्ञान, सीप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गरी लाभ लिनुपर्छ । उनीहरूलाई कहिल्यै पनि शारीरिक, आर्थिक र मनोवैज्ञानिक रूपमा क्षति पु¥याउने दुष्कार्य गर्नु हँुदैन । नेपाली उखान अनुसार आगो ताप्नु मुडाको कुरा सुन्नु बूढाबूढीको भनेझैँ ज्येष्ठ नागरिक प्रज्ञा हुन्, ती ज्युँदा इतिहास हुन् । तथापि, समाजमा ती माथि दुव्र्यवहार हुनु ठूलो विडम्बना हो । सामान्यतः ज्येष्ठ नागरिकहरू माथि शारीरिक, मानसिक, आर्थिक, स्वास्थ्यसम्बन्धी र यौनजन्य शोषण र दुव्र्यवहार हुने गरेको पाइएको छ । कैयौँ दुव्र्यवहार त कल्पनासम्म गर्न नसकिने देखिन्छ । यसले हाम्रो समाजमा लुकेर बसेको आपराधिक पक्षलाई उजागर गर्छ जसको हामीले समयमै नियन्त्रण गर्नुपर्छ ।
विश्वमा ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या बढ्दो छ । सोही रफ्तारमा उनीहरूमाथि विभिन्न प्रकारका दुव्र्यवहार पनि वृद्धि हुँदै गएको पाइन्छ । तर बेइज्जत हुने डरका कारणले त्यस्तो घटना बाहिर आउन मान्दैनन् । २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जसङ्ख्याको ८.१३ प्रतिशतको अंश ज्येष्ठ नागरिकको छ । हाल करिब तीन करोड नेपालीमा करिब १० प्रतिशत अर्थात् ३० लाख ज्येष्ठ नागरिक रहेको अनुमान छ । यीमध्ये अधिकांशले आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्ने क्रममा विभिन्न दुव्र्यवहारका घटनाहरू भोगिरहेका छन् । सम्पत्तिको निहुँमा अधिकांश ज्येष्ठ नागरिकहरू आफ्नै घर परिवारका सदस्यहरूबाट समेत दुव्र्यवहारको सिकार हुन पुगेका छन् । पुरुष ज्येष्ठ नागरिकलाई यौनसम्बन्धी झुठ्ठा आरोप लगाउने र महिलालाई बोक्सीको आक्षेप लगाएर घरबाट निकाल्नेजस्ता हृदयविदारक घटनाहरू भइरहेका छन् । यसर्थ, यस्ता कपोकल्पित घटना हुन नदिन र ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार र शोषणविरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो ।
जेष्ठ नागरिकहरूलाई संविधान, ऐन, कानुन, नीति निर्देशिका र विभिन्न अन्तर्राष्टिय सन्धि, महासन्धिजस्ता दस्तावेजहरूले अधिकार सम्पन्न तुल्याएको छ भनी बुझ्न ढिला गर्नु हुँदैन ।
नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ । यसैगरी, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने कुरा लेखिएको छ । ऐनमा ज्येष्ठ नागरिकले आपूmलाई मर्का परेको विषयमा उजुरी गर्न पाउने प्रबन्ध गरिएको छ । यस अतिरिक्त, विश्वव्यापी मानव अधिकार घोषणापत्रले पनि ज्येष्ठ नागरिकको अधिकारलाई सुनिश्चित गरेको छ । तथापि, अझै पनि ज्येष्ठ नागरिकहरूले सजिलैसँग न्याय पाउँन सकिरहेका छैनन् । उनीहरूको न्यायमा सहज पहँुच पु¥याउन जरुरी छ ।
हाल विश्वभर महामारीको रूपमा रहेको कोभिड–१९ को दोस्रो लहरको असर नेपालमा पनि प्रत्यक्ष रूपले परिरहेको छ । यसमा पनि उमेरजन्य कारणले आईलाग्ने विभिन्न दीर्घरोगी ज्येष्ठ नागरिक थप समस्यामा परेका छन् । उपचारै नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यतामा कति ज्येष्ठ नागरिकहरू छन् । विश्व स्वास्थ्य सङ्गठनले समेत ज्येष्ठ नागरिकको मृत्युदर अन्य उमेर समूहको तुलनामा पाँच गुणाले बढी छ भनेको छ । यसको कारण खोतल्दा ज्येष्ठ नागरिकलाई समयमै घर परिवारले अस्पताल नपु¥याउने, अस्पतालमा रेखदेख गर्ने कुरुवा नहुने र अक्सिजन, आईसीयू वा भेन्टिलेटर, शøयामा ज्येष्ठ नागरिकले प्राथमिकतामा नपाउँदा तिनको अकालमै ज्यान गएको छ ।
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका मुख्य कारणहरू खोतल्दा सामाजिक कुप्रथा र अन्धविश्वास मुख्य जडका रूपमा देखिन्छ । अझै पनि केही स्थानमा बोक्सीको आरोप लगाएर ज्येष्ठ नगरिकलाई मलमूत्र खुवाइ कुटपिट गर्नेजस्ता भौतिक दुव्र्यवहार हुने गरेको छ । यस्तै पुरुष ज्येष्ठ नगरिकलाई पनि भौतिक रूपमा दिनहुँ दुव्र्यवहार भइरहेको छ । अधिकांश ज्येष्ठ नागरिकले आफ्नो दैनिक क्रियाकलापमा प्रयोग गर्ने सार्वजनिक यातायातमा कार्यरत कर्मचारीद्वारा दिन प्रतिदिन दुव्र्यवहार र अपमानित व्यवहार हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिकलाई कानुनबमोजिम सार्वजनिक यातायातमा दुई सिट आरक्षण गरिएको छ । साथै, उनीहरूलाई भाडा दरका ५० प्रतिशत छुटको व्यवस्था छ । यही निहुँमा उनीहरू दुव्र्यवहार भोग्न बाध्य छन् ।
नेपालमा ज्येष्ठ नागरिकमाथि हुने अधिकांश दुव्र्यवहारमा सम्पत्ति नै प्रमुख कारण हो । यसर्थ, ज्येष्ठ नागरिकलाई आर्थिक दुव्र्यवहारबाट सुरक्षित गराउन ज्येष्ठ नागरिकले आर्जेको सम्पत्तिमा इच्छापत्रको व्यवस्था हुनुपर्छ । उनीहरू जीवित छउन्जेल सो सम्पत्ति उनीहरूमै रहनु पर्छ । यस अतिरिक्त, विपन्न आमा बुवाले आर्जन गर्ने छोराछोरीको आर्थिक हैसियतअनुसार मानाचामल भराउने कानुन ल्याउन जरुरी भएको छ । यस अतिरिक्त, ज्येष्ठ नागरिक माथि भएका दुव्र्यवहारसम्बन्धी आवश्यक कानुनी सल्लाह तथा परामर्श सेवा निःशुल्क पाउने प्रबन्ध गर्नुपर्छ । साथै, उनीहरूलाई कुनै प्रकारको आकस्मिक समस्या आईपरेमा सम्पर्क राख्ने ज्येष्ठ नागरिक हेल्पलाइनको स्थापना गर्न जरुरी देखिन्छ ।
ज्येष्ठ नागरिकमाथि हुने कुनै पनि प्रकारको दुव्र्यवहार रोक्न प्रहरीका विशेष सेल खडा गर्नुपर्छ । प्रमुख जिल्ला अधिकारी र पालिकामा उनीहरूको उजुरी उपर दु्रत सेवा हासिल हुने सुनिश्चित गर्नुपर्छ । आज जुन, १५ अर्थात्, १६ औँ ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसका दिन सबैले ज्येष्ठ नागरिकउपर दुव्र्यवहार नगर्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ ।
(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?