logo
२०८० चैत्र ६ मंगलवार



स्मृतिमा पशुपति दाइ !

विचार/दृष्टिकोण |




पार्वत गुरुङ

भनिन्छ– मुत्यु दुईप्रकारका हुन्छन् । पहाडभन्दा गह्रुँगो र प्वाँखभन्दा हलुङ्गो । सिङ्गो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईको महाप्रस्थान साँच्चिकै पहाडभन्दा गह्रुँगो साबित भयो । उहाँको अवसानबाट हजारौँजन शोकमग्न बने । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल सम्मान र श्रद्धाका शब्दले रङ्गिए । मिडियामा शोक–सन्तप्त समाचार छाए ।
दोलखालीमात्रै हैन, उहाँ नेपाली राजनीतिको पछिल्लो छिमलमा समेत लोकप्रिय हुनुहुन्थ्यो । त्यही भएर उहाँको दुःखद अवसानमा अनगिन्ती मनहरू पहाडजत्तिकै गह्रुँगो बने ।
नेपाली वाम आन्दोलनका एक अथक नायक पशुपति चौलागाईं हामीबीचबाट सदाका लागि बिदा हुनुभएको १३ दिन बितिसकेको छ । अत्यन्तै दुःखित बनाइरहेको यो क्षणमा उहाँप्रति गहिरो श्रद्धाञ्जली शब्दहरू अर्पण गर्दछु ।
उहाँको निधनबाट म साँच्चिकै निःशब्द छु, भावविह्वल छु । मनले पत्याउनै मानिरहेको छैन कि, पशुपति दाइ (हामी दाइ सम्बोधन गथ्र्यौं) हामीमाझ हुनुहुन्न, उहाँ नफर्कने अनन्त यात्रामा गइसक्नुभएको छ । अस्पतालका श-यामा कोरोना विषाणुसँग लडिरहँदाका अन्तिम क्षणहरूमा उहाँले फेर्नुभएका सकसका श्वास मैले फोनवार्ताबाट अनुभूत गरेको थिएँ । सकसपूर्ण त्यो अवस्थाबाट पशुपति दाइलाई सहज बनाउन सकिन्छ भन्ने लागेर मैले अर्को राम्रो सुविस्तायुक्त अस्पतालमा सर्न आग्रह गर्दा उहाँले भन्नुभएको थियो, ‘यहाँ नै ठीक हुँदै गएको छ । छिट्टै हाम्रो भेट हुनेछ ।’ ती आशा जगाउने उहाँका अन्तिम शब्दहरू सम्झँदासम्झँदै उहाँको पार्थिव शरीरमा राष्ट्रिय झन्डा चढाएर अन्तिम सलाम अर्पण गर्ने दुःखद क्षण आइलाग्यो । पशुपति आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार भइरहँदा सिङ्गो परिवेश रोइरहेको मलाई महसुस भयो ।
सलाम छ, पशुपति दाइ । तपाईंले नेपाल र नेपालीका मुक्तिका हरेक आन्दोलनहरू जित्नुभयो । विद्यार्थी, युवा, मजदुर, किसानलगायत पार्टीका हरमोर्चा इमानपूर्वक सम्हाल्नुभयो र जित्दै अगाडि बढ्दै जानुभयो । म र मजस्ता थुप्रै नेता कार्यकर्तालाई नेपाल कम्युनिस्ट आन्दोलनका झन्डामुनि गोलबन्द गर्नुभयो । नेतृत्व गर्नुभयो र नेतृत्व गर्ने सक्षम जनशक्ति निर्माण गर्दै परिवर्तनका हरेक लडाइँमा विजय प्राप्त गर्दै जानुभयो । तर, निर्दयी कोरोना विषाणुले भने तपाईंलाई झुक्याएर हरायो । तपाईंलाई बचाउन नसकिएकोमा केही दिन मेरो मथिङ्गलभित्र प्रश्नहरू घुमिरहे । सहज हुँदाहुँदै झुक्याएर मृत्युवरणको अवस्थामा पुग्नुभएको केही दिनसम्म तपाईंको नाम अगाडि स्वर्गीय भन्न र लेख्नै सकिनँ । अझै आँटआइरहेको छैन ।
उहाँले उपचार गराइरहेको मनमोहन अस्पतालबाट सैनिक अस्पतालमा सार्न सुस्वास्थ हस्पिटलका सुदर्शन बस्नेतलगायतको सल्लाहबमोजिम प्रधानसेनापतिलाई सम्पर्क गरेँ । उहाँले केही समयपछि सैनिक अस्पतालबाट शøया खाली भएको जानकारी आएपछि सुदर्शन र छोरा सुमनलाई बताएँ । तर, दाइले ठिकै उपचार भइरहेको र थप केही आवश्यकता परे छोरा सुमन र छोरीको नम्बर दिँदै सम्पर्कमा रहन बताउनुभयो ।
त्यसपछि मैले हरेक दिन बिहान र बेलुकी सुमनसँग पशुपति दाइको स्वास्थ्य अवस्थाबारे अपडेट भइरहेँ । अस्पतालका डा. राजनसँग पनि नियमित सम्पर्क गरेर जानकारी लिइरहन्थेँ । अचानक, वैशाख २७ गते पशुपति दाइ आफैँले सम्पर्क गरेर ‘पार्वत, मलाई अप्ठ्यारो हुँदै गयो, मलाई हस्पिटल चेन्ज गरिदिनू’ भन्नुभयो । तत्काल पुनः प्रधानसेनापतिसँग आग्रह गरेँ । सैनिक अस्पतालबाट डा. भगवती प्रधानले फोन गरेर “माननीय पशुपति चौलागाईंलाई भर्ना गर्न आउनुहोला,” भन्नुभयो । तर, दोस्रोपटक पनि मनमोहन अस्पतालबाट अर्को अस्पताल सर्ने कुरा हुन सकेन । मनमोहन अस्पतालले “कोरानाको औषधि उही हो, उपचार एउटै हो,” भन्ने सल्लाह भएपछि हामी त्यही भरमा प¥यौँ । अस्पतालको मागबमोजिम स्वास्थ्यमन्त्रीसँग आग्रह गरी कोरोनाको सिकिस्त बिरामीलाई प्रयोग गरिँदै आएको रेम्डेसिबिर पनि हामीले उपलब्ध गराएका थियौँ । उक्त सन्दर्भमा उहाँको भाइ हेमन्तसँग पनि सम्पर्क गरिरहेको थिएँ ।
वैशाख २७ गतेको दिन । म अत्यन्तै व्यस्त थिएँ । प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दिन थियो । त्यो दिन पनि अर्को अस्पताल सर्ने, नसर्ने निर्णय हुन नसकेपछि सुमनलाई डा. प्रधानसँग समन्वय गर्नका लागि नम्बर दिएँ । प्रतिनिधिसभामा मतदान सकेपछि दाइको स्वास्थ्यस्थितिबारे सुमनसँग जानकारी लिइरहेको थिएँ । वैशाख २८ गते बिहानै सम्पर्क गर्दा पनि दाइको स्वास्थ्य राम्रो थियो । बेलुकी पाँच बजेसम्म अवस्था ठीक रहेको जानकारी सुमनले गराउनुभयो । ७ बजेसम्म ठीक भएको खबर आइरहेकै थियो । तर, अचानक ८ बजेतिर सुमनले बुवाको अवस्था जटिल भएको बताउनेबित्तिकै बागमती प्रदेशसभा सदस्य रचना खड्कालाई जानकारी गराउँदै म अस्पतालतर्फ हान्निएँ । म पुगेको आधा घण्टापछि चिकित्सकले पशुपति दाइलाई मृत घोषणा गरिसकेका थिए । त्यो दुःखद क्षण मनभित्र भयानक ठूलो पहाडले थिचेजस्तै भयो, आँसु थाम्नै सकिएन । भयङ्कर शोकको अनुभूति भयो । त्यहाँ उपस्थिति सबै रुन कराउन थाले ।
दोलखाको माटोमा जीवनको पहिलो पाइला टेकेर, हुर्केर राजनीतिक चेत भरिनेबित्तिकै कम्युनिस्ट अन्दोलनमा समाहित भएर पशुपति दाइ त्यहीँ आन्दोलनको नेताकै हैसियतमा अस्ताउनुभयो । उहाँले दोलखा र सिङ्गो मुलुकप्रति गरेको योगदान सदा जीवित रहिरहनेछ । उहाँले बनाउनुभएको आस्थाको धरोहर, निर्माण गर्नुभएको राजनीतिक छवि र देखाउनुभएको नैतिक चरित्रको असल राजनीतिक संस्कार भने कहिल्यै मर्ने छैन र एकजना उहाँको अनुयायीको नाताले मर्न दिइने पनि छैन । उहाँले देखाउनुभएको बाटो बिराउने पनि छैन ।
दोलखाको परिवेशमा बसेर नियाल्दा पशुपति दाइले धेरै जिम्मेवारी यो पुस्तालाई छाडेर जानुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापनापश्चात्् दोलखामा कम्युनिस्टको बीउ रोप्ने बेलादेखि नै उहाँको योगदान छ । २०३६÷०३७ सालमा उहाँ तत्कालीन पञ्चायतविरुद्धको आन्दोलनमा समाहित हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा वरपर पञ्चायत समर्थकले घेरेको दोलखाको नाम्दुस्थित स्कुलको सभापतिको जिम्मेवारीमा बसेर उहाँले निरङ्कुश पञ्चायती शासन पतन गराउन जेहाद छेड्ने हिम्मत देखाउनुभयो । सानैमा अनेरास्ववियु एकताको पाँचौँ जिल्ला कमिटीमा रहेर नेतृत्व गर्दै २०३८ मङ्सिर ८ गते कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो ।
वाम आन्दोलनमा अविचलित योद्धा पशुपति दाइलाई राजनीतिमा एक इमानदार नेताका रूपमा दोलखाली जनताले चिन्छन् । असल चरित्र उहाँको पहिचान हो । कसैप्रति ईष्र्याभाव नराख्ने, सबैलाई समान ढङ्गले व्यवहार गर्ने उहाँको स्वभाव थियो । गुटगत स्वार्थभन्दा माथि उठेर सोच्ने उहाँकै सङ्गतबाट मैले राजनीतिक इमान सिकेको छु । आफूले त्याग गरेर भए पनि कतिपय अवसर क्षमता र सम्भावनाको अध्ययन गरी अरूलाई नेतृत्व हस्तान्तरण गर्ने आचरण नै उहाँको कुशल नेतृत्वको खास विशेषता हो ।
उहाँसँगको मेरो सङ्गत पञ्चायतकालदेखि नै हो । २०३७ साल चैत १४ गते पञ्चायतविरोधी आन्दोलनको क्रममा उहाँसित भेट भएको थियो । त्यो बेला म कक्षा ६ मा पढ्दै थिएँ । अनेरास्ववियुको जिल्ला कमिटी पहिलो अध्यक्ष भएको रोहितचन्द्र खत्रीको कमिटीमा म पनि सदस्य थिएँ । पशुपति दाइ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यहीक्रममा उहाँ शिक्षक जागिरमा प्रवेश गर्नुभयो । संयोगवश मेरो जन्मथलो दोलखाको सुरीस्थिति मेरै घरमा बसेर शिक्षण कार्यमा संलग्न हुनुभयो । त्योबेला एउटै घरमा साथसाथै बसेर धेरै कुरा सिक्ने मौका मिल्यो । त्यही सेरोफेरो मेरो पनि सक्रिय राजनीतिको प्रवेशबिन्दु थियो, उहाँसँग प्रभावित हुँदै गएँ । म उहाँका धेरै पक्षसँग प्रभावित थिएँ, उहाँले पनि मेरा धेरै पक्षको प्रशंसा गर्नुहुन्थ्यो, हमेसा उत्पे्ररित गरिरहनुहुन्थ्यो । मेरो राजनीतिक जीवनका घुम्तीहरूमा सही दिशा र सही गति दिन उहाँले मिलाइदिनुभएको सन्तुलन कहिल्यै भुल्ने छैन । राजनीतिक जीवनको यो मोडसम्मको हरसफलतामा उहाँको प्रत्यक्ष अप्रत्यक्ष हात छ ।
मैले पार्टीभित्रबाट प्राप्त गर्ने हरअवसरमा उहाँको स्वीकृति र समर्थन हुन्थ्यो । एमाले दोलखाको पार्टी अध्यक्ष हुँदा होस् या संविधानसभा सदस्य, प्रनिनिधिसभा सदस्यको टिकटको सन्दर्भमा मैले उहाँकै स्वीकृति र सहयोगमा प्राप्त गरेँ । कतिपय सवालमा उहाँले नै मलाई जिम्मेवारी लिन प्रस्ताव गर्नुहुन्थ्यो भने कतिपय छलफलबाट जिम्मेवारी पाउँथे । म मन्त्री हुँदा पनि उहाँ निकै खुसी हुनुभयो, मलाई उक्त जिम्मेवारीमा वहन गर्न निकै सुझाव दिनुभयो । उहाँले विभिन्न प्रसङ्गमा अरूसँग मेरो सन्दर्भको कुरा निकाल्दा प्रशंसा र हौसला बढाउने वर्णन गर्ने गर्नुभएको मैले धेरैबाट सुनेको छु । उहाँको मप्रतिको हेर्ने दृष्टिकोणबाट मलाई धेरै प्रेरणा र खुसी मिलेको अनुभूति छ ।
दोलखाका पहिलो पुस्ताका वाम आन्दोलनका नायकको सूचीमा पर्ने उहाँको जीवन कठिन, दुःखदायी र सङ्घर्षका कथाले भरिएका छन् । निम्नमध्यमवर्गीय परिवारमा जन्मिनुभएका उहाँले पार्टीको पूर्णकालीन सदस्य भई सक्रिय हुँदा आइपर्ने हरेक कठिन बाटो सजिलैसँग पार गर्नुहुन्थ्यो । तत्कालीन पञ्चायती सिडिओको कुटाइको असरले उहाँलाई निकै समयसम्म बिरामी पारेको कुरा उहाँले बताइरहनुहुन्थ्यो । पञ्चायती शासकले उहाँप्रति सधैँ निगरानी राख्थ्यो र पटक–पटक गिरफ्तारी गथ्र्यो, यातना दिइरहन्थ्यो । जस्तोसुकै कठिन परिस्थितिमा इमान र आन्दोलनबाट उहाँ कहिले पछि हट्नुभएन ।
२०४६ सालमा शिक्षकको जागिर छाडेर उहाँलाई पार्टीले पूर्णकालीन सदस्य बनायो । उहाँ नेकपा माले दोलखाको सचिव बन्नुभएपछि पार्टीले नयाँ गतिमा उचाइ लिएको स्मरण ताजै छ । २०५४ मा युवा सङ्घको केन्द्रीय अध्यक्षसमेतको जिम्मेवारी पाएपछि उहाँको राजनीतिक यात्राले केन्द्रीयस्तरमा प्रवेश ग-यो । २०५६ मा दोलखा क्षेत्र नम्बर १ को सांसद र २०७० मा समानुपातिक सांसद बन्नुभयो । पार्टीको पोलिटव्युरो सदस्य बन्नुभयो । हाल बागमती प्रदेशसभा सदस्य भएकै बेला पार्टीभित्रको किचलोले उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । नेकपाभित्र राजनीतिक गुट–उपगुटको खेल हुन थालेपछि पनि उहाँ र म विविध कोणबाट छलफलमा सहभागी भयौँ । निकै चिन्तन मनन ग-यौँ– खासगरी दोलखा र समग्र देशको राजनीतिका बारेमा । एक दिन म, पशुपति दाइ र दोलखाका नेताहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कक्षमा बस्यौँ । २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विकसित पार्टीभित्रका खेमाका बारे छलफल ग-यौँ । हामीले उहाँलाई दोलखाको राजनीतिक परिस्थिति हेरेर एकैठाउँमा बस्न अनुनय ग-यौँ ।
त्यसबेला उहाँले खासगरी मेरा सन्दर्भमा भन्नुभएको थियो, ‘करिब ४० वर्ष सक्रिय राजनीतिक जीवनमा पार्वतको राजनीतिक, आर्थिक र नैतिक चारित्रिक इमानदारीबाट म प्रभावित छु । वैचारिक सवालमा लामो यात्रा गरेका हामी अब एक ठाउँमा उभिन सकेनौँ र फरक भएरै जानुपर्ने भयो ।’ उहाँले त्यसो भनिरहँदा हामी सबै भावुक थियौँ । दुःखित हुँदै राजनीतिमा फरक बाटाहरू पक्रन पर्ने अवस्थामा आइपुगेकाप्रति भावविह्वल भएको त्यो क्षण स्मरणमा सदा रहिरहनेछ । र जीवनको अन्तिम क्षणमा फरक विचारमा रहनुपर्ने कारण हुँदा आत्मग्लानि छ । त्यसपछिका दिनहरूमा पनि हामी बारम्बार अन्तरसंवादमै हुन्थ्यौँ । कोरोना महामारीका कारण भौतिक भेट नहुँदा पनि फोनवार्ता चलि नै रहे । तर, महामारीको चपेटामा पशुपति दाइ पनि पर्नुभयो । एउटा जित्न सकिने कोरोनाविरुद्धको लडाइँमा उहाँ हार्नुभयो ।
भौतिक रूपमा उहाँको अवसान भए पनि नेपाली वाम आन्दोलनप्रतिको उहाँको योगदानको अवसान कहिल्यै हुने छैन । एउटा इमानदार राजनीतिकर्मीका रूपमा, समाजसेवीका रूपमा, अँध्यारोबाट उज्यालोतिरको परिवर्तनकारी यात्राको योद्धाका रूपमा, सामाज परिवर्तनको नेतृत्वकर्ताका रूपमा उहाँप्रतिको सच्चा श्रद्धा थुप्रैको मनभित्र सदैव जीवित रहिरहनेछ । हिँड्दाहिँड्दैका उहाँका अधुरा पाइलालाई, देख्दादेख्दैका उहाँका अपुरा सपनालाई निरन्तर–निरन्तर पछ्याउँदै अघि बढ्नुपर्छ भन्ने मैले ठानेको छु । उहाँका योगदानको सदा संरक्षण गर्नुपर्ने दायित्व पनि हाम्रै हो र त्यसप्रति म सदैव समर्पित रहनेछु । यसका लागि उहाँका नाममा परिवारका साथ–सहयोगबाट प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने मेरो सोच छ । त्यो प्रतिष्ठान परोपकारी संस्थाका रूपमा सञ्चालित हुनेछ र त्यसमा मेरो हरसम्भव सहयोग रहनेछ ।
प्रिय पशुपति दाइ, माफ गर्नुहोला– तपाईंलाई बचाउन त सकेनौँ । तर, तपाईंले निर्माण गर्नुभएको बाटोलाई गन्तव्यसम्म पु-याउन अहोरात्र हिँडिरहनेछु । तपाईंले रोप्नुभएको राजनीति र समाज परिर्वतनको बिरुवालाई मलजल गर्दै फक्राउन, फुलाउन निरन्तर लागिरहनेछु । पहाडभन्दा गह्रुँगो र ब्रह्माण्डभन्दा विशाल श्रद्धाञ्जली ।
(लेखक सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?