logo
२०७८ कार्तिक १० बुधवार



रहन सक्छ सिकाइमा निरन्तरता

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

कोरोना महामारीका कारण गत वर्षजस्तै यस वर्ष पनि विद्यालय शिक्षा तहसनहस हुने सम्भावना बढेको छ । ढिलो गरेर सुरु भएको शैक्षिक क्षेत्रको क्षति कम गर्न नेपाल सरकारले २०७७ सालको शैक्षिक सत्रलाई २०७८ साल जेठ मसान्तसम्म लम्बाएको थियो तर चैत महिना लाग्दा नलाग्दैबाट कोरोनाको नयाँ भाइरसको सङ्क्रमण बढ्न थाल्यो । वार्षिक परीक्षा सञ्चालन गर्न नसकिएकाले यो शैक्षिक सत्र अन्योलमा बितेको छ भने आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षा चढाउनुको विकल्पबाहेक अन्य सम्भावना टर्दै गएका छन् । यतिमात्र होइन, असारबाट सुरु गर्ने भनेको आगामी सत्र पनि समयमा सुरु हुने हो वा होइन भन्ने शङ्का बढ्दै गएको छ ।
स्वास्थ्यविद्हरूले जेठ, असार महिना सङ्क्रमणका लागि अत्यन्त जोखिमयुक्त रहेको बताउँदै आएका छन् । सङ्क्रमण उच्च बिन्दुबाट क्रमशः घट्दै जानेक्रममा पनि विद्यालय सञ्चालन गर्नु जोखिमपूर्ण हुने भएकाले आगामी शैक्षिक सत्रका तीन÷चार महिना भौतिक रूपमा विद्यालय सञ्चालन गर्न नसकिने सम्भावना बलियो हुँदै गएको छ । शिक्षा मन्त्रालयले दस महिनामै आगामी शैक्षिक सत्रलाई पूरा गर्ने उद्देश्य राखेर अगाडि सारेको कार्ययोजना पूरा नहुने निश्चितप्रायः छ । यस्तो अवस्थामा विद्यालय सञ्चालन गरेर शिक्षक, कर्मचारी र विद्यार्थीको स्वास्थ्यमाथि बेवास्ता गर्न नसकिए पनि विद्यार्थीको सिकाइ प्रक्रियालाई अगाडि बढाउनुपर्ने भनाइ शिक्षाविद्हरूले राख्दै आएका छन् । सिकाइ जीवनपर्यन्त एवम् निरन्तर प्रक्रिया भएकाले विद्यालय बन्द भए पनि सिकाइ प्रक्रिया बन्द नहुने कुरा बुझेर सम्बन्धित क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्ने हो भने असामान्य अवस्थामा पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनेछ ।

शिक्षकको भूमिका
अनलाइन सुविधा उपलब्ध भएका ठाउँमा अनलाइन प्रविधिबाट कक्षा सञ्चालन गर्न सकिन्छ भने अनलाइनको अभावमा अन्य उपलब्ध साधन प्रयोग गरी विद्यार्थी र शिक्षकबीचमा अन्तरसंवाद कायम राख्न सकिन्छ । यसका लागि शिक्षकले विद्यार्थीलाई समय–समयमा अनौपचारिक रूपमा मार्गदर्शन गर्न एवम् परियोजना कार्यमा संलग्न गराउन सक्छन् । कुनै पनि वैकल्पिक माध्यम नभएको अवस्थामा स्थानीय समुदायमा समान उमेर समूहका बालबालिकाका स–साना समूह निर्माण गरेर शिक्षकले सहयोग पु¥याउन सक्छन् । यसका लागि स्वास्थ्य सावधानी कायम राख्दै शिक्षकले बसोवास क्षेत्रको नजिकका टोलटोलमा प्रत्यक्ष उपस्थित भई विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिने काममा सघाउ पु¥याउन सक्छन् ।

विद्यालय
विद्यालयले आफ्ना विद्यार्थीको विवरण सङ्कलन गरी उनीहरूको आर्थिक अवस्था एवम् पहुँचका आधारमा स–साना समूह निर्माण गरी निर्देशकका रूपमा विभिन्न विषयका शिक्षकलाई परिचालन गर्न सक्छन् । विभिन्न माध्यमबाट विद्यार्थीलाई मार्गनिर्देश गर्ने, उनीहरूले गरेका कामको मूल्याङ्कन गर्ने तथा पृष्ठपोषण दिने काममा शिक्षकलाई उत्प्रेरित गर्ने काम विद्यालयले गर्न सक्छ । कक्षाकोठामा मात्र पठनपाठन सम्पन्न हुन्छ भन्ने धारणालाई त्यागेर परियोजना कार्य, समूह कार्य, सिर्जनशील कार्य र स्थानीय प्रविधिमा आधारित सिकाइ प्रक्रियालाई सहजीकरण गर्न शिक्षकको महŒवपूर्ण भूमिका हुन्छ । शिक्षकद्वारा सम्पन्न गराइएका यी कार्यलाई मूल्याङ्कन गरी औपचारिक स्तरोन्नतिमा गणना गर्ने व्यवस्था विद्यालयले मिलाएमा विद्यार्थीको शैक्षिक सत्र खेर जाने सम्भावना कम हुनुका साथै उनीहरूको सिकाइ प्रक्रियाले निरन्तरता पाउँछ । विद्यालय शिक्षा वास्तवमै कक्षाकोठामा पढाउनेभन्दा सिकाउने कुरामा केन्द्रित हुनुपर्छ । विद्यालय बालबालिकामा रहेका सीपलाई उजागर गर्ने एवम् सिकाउने कामलाई भन्दा अव्यावहारिक सूचना घोकाउने ठाउँका रूपमा परिचित हुँदै आएका छन् । यस्तो अवस्थामा सामाजिक, साँस्कृतिक, आर्थिक विविधतासँगै विद्यार्थीलाई समावेशी शिक्षाका लागि सहजीकरण गरी उनीहरूका परम्परागत मान्यता, धारणा एवम् प्रचलनका माध्यमबाट उमेर अनुकूलको सिकाइ क्रियाकलापलाई निरन्तरता दिन अति आवश्यक हुन्छ ।
पाठ्यपुस्तक उपलब्ध भएका ठाउँमा पाठ्यपुस्तकसँग सम्बन्धित गराएर स्थानीय प्रविधि, सीप र मूल्यको महŒवबोध गराउने एवम् पाठ्यपुस्तक नपुगेका ठाउँमा आधारभूत सीप विकासका लागि सम्बन्धित विद्यालय आवश्यक योजनासहितका कार्यक्रम तय गर्न तयार हुनुपर्छ । नेपाल सरकार शिक्षा मन्त्रालयले टेलिभिजनका माध्यमबाट दूरशिक्षा सुरु गरिसकेको छ । आफ्ना विद्यार्थीलाई ती कक्षा लिन लगाई आवश्यक अन्य सहयोगका लागि तथा गृहकार्य र परियोजनाकार्य परीक्षण गर्नका लागि शिक्षकको सहयोग लिने वातावरण सिर्जना गर्नुपर्छ । मूलतः विद्यालयले आफ्ना शिक्षक र विद्यार्थीबीचको सम्बन्ध स्थापित गर्नका लागि सेतुको भूमिका खेल्नुपर्छ । औपचारिक पठनपाठन बन्द भयो भनेर विद्यालय चुप लागेर बस्नुहुँदैन, महामारी सिर्जित विषम परिस्थितिमा उनीहरूको झनै महŒवपूर्ण भूमिका हुनुपर्छ ।

अभिभावक
विद्यालय बन्द भएको समयमा लामो समयसम्म विद्यार्थी घरमा अभिभावकसँग हुन्छन् । धेरै अभिभावक विद्यालय बन्द हुँदा आफ्ना बालबालिकाको पठनपाठन अवरुद्ध भई दीर्घकालीन रूपमा क्षति पुगेको ठान्छन् तर उनीहरू आफूहरूबाटै बालबालिकालाई सिकाउन सकिन्छ भन्ने विषयमा त्यति ख्याल राखेका हुँदैनन् । अशिक्षित र सामान्य शिक्षित आमाले भान्साको काम गर्दा आफ्ना स–साना बालबालिकालाई फलफूलका रङ, परिमाण, स्वाद र उपयोगिताका बारेमा व्यावहारिक रूपमा सिकाउन सक्छिन् । तरकारी बनाउँदा नुन र पानीको संयोजन एवम् चिया पकाउँदा दूध, चिनी र चियापत्तीको मात्रा वा अनुपात कसरी मिलाउने भन्नेबारे बालबालिकालाई सिकाउन सकिन्छ । दूध र पानी उम्लिन लाग्ने समय, आवश्यक ताप र तिनको फरकपनको बोधबाट बालबालिकाले विभिन्न पदार्थको विशिष्ट ताप धारण क्षमताबारेमा राम्रो ज्ञान प्राप्त गर्न सक्छन् ।
शिक्षित परिवारमा बालबालिकालाई विभिन्न किसिमका सिर्जनशील कार्यमा अभिभावक स्वयम्ले सहजीकरण गर्न सक्छन् । खेलका माध्यमबाट कुराकानी गरेर बालबालिकाको भाषिक अभिव्यक्ति क्षमतामा सुधार ल्याउन सक्छन् भने विभिन्न चीज बाँडेर खाने, मिलेर काम गर्ने, एक–अर्कालाई सहयोग गर्ने बानीको विकास गरी सामाजिक सीप सिकाउन सक्छन् । परम्परागत पूजा, ध्यान, व्यायाम तथा नित्यकर्ममा बालबालिकालाई सहभागी गराउँदै जाँदा उनीहरूले यसका सकारात्मक प्रभावलाई ग्रहण गर्न सक्छन् भने मनोसामाजिक स्वास्थ्य पनि राम्रो बन्छ । बालबालिकालाई स्तरअनुकूल विभिन्न खेलका माध्यमबाट भाषा, सामाजिक, गणित, विज्ञानलगायतका विषयका व्यावहारिक सीप सिकाउन सकिन्छ ।

स्थानीय निकाय
स्थानीय निकायले आफ्नो क्षेत्रभित्रका बालबालिकाको आर्थिक, सामाजिक स्थिति तथा उनीहरूको प्रविधिमा पहुँच एवम् शैक्षिक अवस्थाबारेमा पूर्ण रूपमा जानकारी राखेको हुनुपर्छ । विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीलाई अनौपचारिक रूपमा सिर्जनशील क्रियाकलापमा सहजीकरण गर्नका लागि स्थानीय निकायको संयोजकीय भूमिका रहन्छ । आफ्नो इलाकामा बसोवास गर्ने विभिन्न विद्यालयका शिक्षक, प्राध्यापक, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी तथा अन्य समाजसेवीलाई परिचालन गरी टोलटोलमा विद्यार्थीलाई मार्गदर्शन गर्ने वातावरण स्थानीय निकायले सिर्जना गर्न सक्छन् । आफ्नो क्षेत्रमा भएका योग्य जनशक्तिलाई पहिचान गरी उनीहरूबाट बालबालिकालाई सहयोग पु¥याउने काममा स्थानीय निकायको निकै ठूलो भूमिका रहन्छ ।
स्थानीय शिक्षक, समाजसेवी, डाक्टर, इन्जिनियर, वकिल तथा अन्य विभिन्न पेसामा आबद्ध भएका व्यक्तिलाई सामाजिक उत्तरदायित्व पूरा गर्न अभिप्रेरित गर्ने उद्देश्यले स्थानीय निकायले स्वयम्सेवा गर्नका लागि उपयुक्त वातावरण सिर्जना गरिदिन सक्छ । उमेर र तहगत रूपमा विद्यार्थीका स–साना समूह निर्माण गरी समाजका प्रतिष्ठित व्यक्तिका निर्देशनमा परिचालित गर्न सक्ने हो भने विद्यार्थीले विद्यालयमा भन्दा समाजमै बसेर व्यावहारिक सामयिक र उपयुक्त किसिमको शिक्षा आर्जन गर्न सक्छन् । आज पश्चिमा मुलुक (होम स्कुलिङ) गृह शिक्षाका रूपमा १०÷१२ वर्षसम्मका बच्चालाई आफूसँग घरमै राखेर सिकाउने दिशामा अघि बढिरहेका छन् । हामीले सामाजिक, साँस्कृतिक मूल्य एवम् स्थानीय प्रविधिमा आधारित सीप सम्बन्धित समाजकै सदस्यबाट सिकाउन सक्ने हो भने बालबालिकाको मानसपटलमा यसले निकै सकारात्मक प्रभाव पार्नेछ भने विद्यालय बन्द हुँदाको अवस्थामा विद्यार्थीको सिर्जनशीलतामा पुग्ने क्षतिलाई कम गर्नसमेत सहयोग पु¥याउनेछ ।

निष्कर्ष
महामारीका कारणले बालबालिका पनि सङ्क्रमित हुनेक्रम बढेकाले सबै क्षेत्रमा तुरुन्तै विद्यालय सञ्चालन हुने अवस्था देखिन्न अझ घना बस्ती भएका सहरी क्षेत्रमा विद्यालय खुल्न अझै लामो समय लाग्नेछ । यस्तो अवस्थामा विद्यार्थीको सिकाइ प्रक्रिया अवरुद्ध नहोस् भन्नका लागि उपलब्ध स्थानीय स्रोत र साधनको प्रयोग गरी आमअभिभावक, विद्यालय, शिक्षक एवम् स्थानीय निकायले सहजीकरण गर्नुपर्छ । वस्तुस्थितिको मूल्याङ्कन गरी आवश्यक सुरक्षा सावधानीसाथ विभिन्न माध्यमको प्रयोग वा स–साना समूह निर्माण गरी गरिने परियोजना कार्यले विद्यार्थीको सिर्जनशीलता समूहकार्य एवम् सामाजिकीकरणमा महŒवपूर्ण भूमिका खेल्छ । विद्यार्थी आफैँ सहभागी भएर गर्ने क्रियाकलापले उनीहरूलाई शारीरिक एवम् मानसिक रूपमा स्वस्थ राख्नुका साथै सिकाइ क्षमतामा समेत सुधार ल्याउनेछ ।
यसैले विद्यालय बन्द भयो भनेर शिक्षक र विद्यालय चुप लागेर बस्ने, अभिभावक बालबालिकाको पढाइ बर्बाद भयो भनेर छटपटाइरहने एवम् स्थानीय निकाय सिकाइ क्रियाकलापमा विद्यालय र विद्यार्थीको मात्र भूमिका हुन्छ भनेर पन्छिन हुँदैन । विद्यार्थीको सिर्जनशील समय खेर जानबाट बचाउनका लागि सम्बद्ध निकाय र व्यक्तिले आपसमा सहयोग र सहकार्य गरी सिकाइ प्रक्रियालाई निरन्तरता दिन सक्रियता देखाउनुपर्छ । यसो गर्न सकेमा लामो समयसम्म विद्यालय बन्द भए पनि विद्यार्थीको सिकाइ अवरुद्ध हुने छैन ।

(लेखक मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?