logo
२०८० चैत्र १५ बिहीवार



मदन भण्डारी र पार्टी विधि

जबज राज्य र समाजको लोकतान्त्रीकरण मात्र होइन पार्टीको समेत लोकतान्त्रीकरणको सिद्धान्त थियो ।

विचार/दृष्टिकोण |


मदन भण्डारी र पार्टी विधि


डा. बेदुराम भुसाल

मदन भण्डारी नेपाली राजनीतिक इतिहासको एउटा चम्किलो तारा हो । उहाँ एउटा सिर्जनात्मक क्षमता भएको चिन्तक हो । उहाँका रचनाहरूको अध्ययन गर्दा उहाँले राजनीतिमा सक्रिय हुनथालेदेखि नै मौलिक खालका चिन्तन र विश्लेषण प्रस्तुत गर्नुभएको देखिन्छ । उदाहरणका लागि २०३३ मा जीवन शर्मा नामबाट ‘मुक्तिमोर्चा’ को तेस्रो शिविरमा प्रकाशित ‘सही नीति र पार्टीको निर्माण गरी क्रान्तिकारी कार्यदिशामा अघि बढौँ’ शीर्षकको लेखलाई लिन सकिन्छ । पुष्पलाल समूहबाट अलग भएर कोअर्डिनेसन केन्द्रसँग एकता गर्दै गरेको समयमा लेखिएको त्यस लेखमा उहाँले झापा सङ्घर्षको क्रममा देखापरेका सैद्धान्तिक, राजनीतिक, शैलीगत, पद्धतिगत र सङ्गठन एवं सङ्घर्ष सञ्चालनसम्बन्धी माक्र्सवादसित मेल नखाने विचार र व्यवहारहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्नुका साथै कोअर्डिनेसन केन्द्रका सकारात्मक पक्षहरूको उच्च मूल्याङ्कन गर्दै क्रान्तिकारीहरू त्यसमा एकताबद्ध भएर अगाडि बढ्न सक्छन् भन्ने निष्कर्ष प्रस्तुत गर्नुभएको छ ।
२०३७–४० कोे अवधिका तत्कालीन नेकपा (माले) मा क्रान्तिको कार्यक्रम, कार्यनीति, प्रधान अन्तर्विरोध, मूल नारा र सङ्घर्षको रूपजस्ता विषयमा गम्भीर बहस चलेको थियो । त्यसबेला उहाँले विभिन्न रचनामार्फत उपर्युक्त विषयमा पार्टीको विचार तथा दृष्टिकोण निर्माणमा दिशानिर्देश गर्नुभएको थियो । उदाहरणका लागि ‘कार्यक्रम सम्बन्धमा एक विचार’ र ‘ठोस कार्यक्रम सम्बन्धमा’ भन्ने रचनाले क्रान्तिको कार्यक्रमसम्बन्धी विचार र दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए ।
‘मशाल समूहका कार्यनीतिक विचारहरू किन गलत छन् ?’, ‘जनपक्षको यथार्थ वास्तविकता र बिरुको नजर’ तथा ‘जनपक्षको व्यवहार र बिरुका आरोपहरूबारे’ शीर्षकका रचनाले कार्यनीतिसम्बन्धी विचार र दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए । ‘राजतन्त्र नै जनता र राष्ट्रको प्रमुख दुश्मन हो’ शीर्षकको रचनाले प्रहारको निसाना एवं प्रधान अन्तर्विरोधसम्बन्धी दृष्टिकोण स्पष्ट पारेको थियो । ‘जनवादी आन्दोलन र विद्यार्थीहरूको भूमिका’ र ‘राजनीतिक स्वतन्त्रता ः आजको सन्दर्भमा’ शीर्षकका रचनाले जनवाद र राजनीतिक स्वतन्त्रतासम्बन्धी दृष्टिकोण स्पष्ट पार्ने र सङ्घर्षको मूल नारासम्बन्धी दृष्टिकोण निर्माणमा दिशानिर्देश गरेका थिए । ‘शान्तिक्षेत्रको प्रस्ताव र राष्ट्रियताको सवाल’, शीर्षकको रचनाले राष्ट्रियता, ‘नेपालको मजदुर आन्दोलनको सम्बन्धमा केही सैद्धान्तिक सवालहरू’ शीर्षकको रचनाले मजदुर आन्दोलन अनि
‘जनमोर्चाको निर्माणः आजको आवश्यकता’ शीर्षकको रचनाले मोर्चा निर्माणसम्बन्धी दृष्टिकोण स्पष्ट पारेका थिए । यसरी उहाँले पार्टीलाई वैचारिक रूपले दिशानिर्देश गर्ने काम गर्नुभएको थियो र आफूलाई एउटा वैचारिक नेताको रूपमा स्थापित
गर्नुभएको थियो ।
मदन भण्डारीले पार्टीले अँगाल्ने विचारको बारेमा मात्र होइन पार्टीको सङ्गठनात्मक सिद्धान्त र पार्टी निर्माण एवं परिचालन सम्बन्धी दृष्टिकोणमा समेत दिशानिर्देश गर्नुभएको थियो । उहाँले २०४६ को भदौमा आयोजित पार्टीको चौंथो महाधिवेशनमा ‘नेपाली क्रान्तिको वर्तमान कार्यक्रम’ र ‘पार्टी निर्माणबारे आधारभूत प्रस्थापना’ शीर्षकका दुई वटा दस्तावेज प्रस्तुत गर्नुभएको थियो र ती दस्तावेज महाधिवेनबाट पारित भएका थिए । अघिल्लोमा बहुदलीयतासहितको जनवादी व्यवस्था स्थापना गर्ने मान्यता प्रस्तुत गरिएको थियो भने पछिल्लोमा पार्टी निर्माणसम्बन्धी दिशानिर्देश थियो । बहुदलीयतासहितको जनवादी व्यवस्थाको दृष्टिकोण नै जनताको बहुदलीय जनवाद (जबज)तर्फको प्रस्थान बिन्दु थियो ।
नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने सिद्धान्तको रूपमा रहेको जबजमा मुख्यतः चार प्रकारका अन्तर्वस्तु छन् ः
पहिलो, दार्शनिक एवं सैद्धान्तिक ः यसमा द्वन्द्वको नियम सार्वभौम नियम भएकाले राजनीतिमा पनि लागू हुन्छ, कुनै पनि वस्तु एवं
घटनाको अन्तर्वस्तु एवं सारपक्ष प्रधान हुन्छ र रूपपक्ष गौण एवं सापेक्ष हुन्छ, क्रान्ति मनोगत प्रक्रिया नभई वस्तुगत प्रक्रिया हो, श्रमजीवी वर्गको पक्षपोषण र उत्पादक शक्तिको मुक्तिमा जोड दिनुपर्छ, सङ्घर्षका रूप सापेक्ष हुन्छन्, राज्यसत्ता सधैँ अधिनायकवादी हुँदैन र कुनै पनि वस्तु वा घटनामा गुणात्मक परिवर्तन हुँदा अस्तित्वको पुरानो रूपका केही गुण नयाँ रूपमा पनि आउँछन् भन्नेजस्ता मान्यता रहेका छन् ।
दोस्रो, राजनीतिक ः यसमा नयाँ जनवादी र समाजवादी चरणमा समेत एकदलीय तानाशाही शासनसत्ता नभएर मौलिक हक, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, संविधानको सर्वोच्चता, कानुनको शासन र शक्ति पृथकीकरणको सिद्धान्तजस्ता लोकतन्त्रका विश्वव्यापी मान्यतासहितको शासन प्रणाली अवलम्बन गर्ने दृष्टिकोण रहेको छ ।
तेस्रो, आर्थिक ः यसमा सम्पूर्ण रूपमा राज्यनियन्त्रित आर्थिक प्रणाली नभएर मिश्रित आर्थिक प्रणाली अवलम्बन गर्ने, सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद, वैदेशिक एकाधिकार पुँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषहरूलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्था निर्माण गर्ने, सामन्ती भूस्वामित्वको पूर्ण रूपमा उन्मूलन गरी अर्धसामन्ती शोषणका सम्पूर्ण रूपको अन्त्य गर्ने, राष्ट्रिय पुँजीलाई औद्योगिक विकासमा संलग्न गर्ने गरी संरक्षण, प्रोत्साहन र विकास गर्ने र राष्ट्रिय हितलाई ख्यालमा राखेर वैदेशिक पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गर्ने मान्यता रहेका छन् ।
चौथो, सामाजिक–सांस्कृतिक ः यसमा बन्द र नियन्त्रित समाज होइन बहुलवादी खुला समाजको सिद्धान्त अवलम्बन गर्ने तथा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक आदि सबै प्रकारका विभेदको अन्त्य गर्ने र शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमामा रहेको सामन्ती एवं साम्राज्यवादी कुप्रभाव र सामाजिक कुरीति एवं अन्धविश्वासलाई हटाएर प्रगतिशील, राष्ट्रिय र जनवादी संस्कृतिको विकास गर्ने मान्यता रहेका छन् । ‘पार्टी निर्माणबारे आधारभूत प्रस्थापना’मा उहाँले पार्टी निर्माण र परिचालनका सम्बन्धमा निम्न दस बुँदामा अवधारणा प्रस्तुत
गर्नुभएको छ ः पहिलो, “लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई पार्टी जीवनमा कडाइका साथ स्थापना गरिनुपर्छ र यस सवालमा देखिने कुनै पनि ढिलासुस्ती, हेलचक्रयाइँ र सीमा मिच्ने प्रवृत्तिलाई समाप्त पारिनुपर्छ ।”
(भण्डारी, मदन.(२०६९) सङ्कलित रचनाहरू. भाग १.पृ.१८) । दोस्रो, “पार्टीमा विधान, नियम र संहितालाई हरेक सदस्य र प्रत्येक कमिटीको न्यूनतम योग्यता, क्षमता र न्यूनतम क्रियाशीलताको मूल्याङ्कन गर्ने मापदण्ड बनाएर लागू गर्नुपर्छ र तिनीहरूलाई दैनिक जीवनको विषय बनाइनुपर्छ । विधान, नियम र संहिताहरू भनेका न्यूनतम कुराहरू हुन् । तिनीहरूको उल्लङ्घन कसैका निमित्त पनि क्षम्य हुनुहुन्न ।”
तेस्रो, “कमिटी व्यवस्थालाई सुदृढ बनाउनुपर्छ । कमिटीहरू भनेका नेताहरू सङ्गठित भएका ठाउँ हुन्, तिनीहरू कार्यार्थ हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होइनन् ।” चौंथो, “ठोस कार्य योजना अघि सारेर पार्टीलाई माक्र्सवादी–लेनिनवादीकरण गर्दै जानुपर्छ । यसको विषयवस्तु पार्टी सदस्यहरूको चेतनालाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूको अध्ययनद्वारा माथि उठाउनु, जीवनशैलीमा सर्वहाराकरण गर्नु, मुलुकका ठोस समस्याहरूबारे सिद्धान्तसङ्गत विश्लेषण गरी सुस्पष्ट बनाउनु र क्रान्तिकारी सङ्घर्षमा सीप र क्षमताका साथ उत्रन तम्तयार पार्नु नै हो ।” पाँचौँ, “सङ्गठनका रूप र ढाँचालाई व्यवस्थित गर्नुपर्छ । सङ्गठनका रूप र ढाँचा अपरिवर्तनीय हुंँदैनन् । वर्गसङ्घर्षको परिस्थितिअनुसार तिनीहरूलाई आवश्यक हेरफेर गर्नु र हमेसा अद्यावधिक बनाइराख्नु पर्दछ ।” छैटौँ, “हाम्रा कमिटीहरूको बनोट भौगोलिक प्रतिनिधित्वको आधारमा बनेको छ, त्यसले कामका क्षेत्रलाई समेट्न सकेको छैन । हामीले यो परिस्थितिलाई फेर्नुपर्छ र कमिटीलाई इलाका, कामका विविध क्षेत्रहरू र विभागहरूको नेतृत्व गर्नसक्ने ढङ्गले निर्माण गर्नुपर्छ ।” सातौँ, “पार्टीले मजदुर, कृषि मजदुर, गरिब तथा सुकुम्बासी किसानहरू, निम्नमध्यम किसानहरू र सहरीया गरिबहरूको बीचमा पार्टी कामको राम्रो विस्तार गर्न सकेको छैन । ...पार्टीले ठोस कार्ययोजना अघिसारेर आधारभूत वर्गभित्र पार्टीलाई विस्तारित गर्नु, स्थापित गर्नु र ती वर्गहरूको सहभागिता पार्टीमा व्यापक पार्नु जरुरी छ ।” आठौँ, “कार्यकर्ता उत्पादन र प्रशिक्षणमा ध्यान दिनुपर्छ ।” नवौँ, “पार्टीमा काम गरिरहेका कार्यकर्ताहरूको समस्यामा ध्यान दिनुपर्छ ।” दसौँ, “पार्टीभित्र समय समयमा शुद्धीकरणको अभियान चलाउदै रहनुपर्छ ।”
(भण्डारी, मदन.(२०६९) सङ्कलित रचनाहरू. भाग १.पृ.१८–२५) ।
उहाँका उपर्युक्त अवधारणा पार्टी भूमिगत रहेको बेलाका थिए । उहाँले पार्टी खुला भएपछि आयोजित पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पनि पार्टी निर्माण र परिचालनसम्बन्धी अवधारणा प्रस्तुत गर्नुभएको थियो । त्यसमा उहाँले पहिलो, “कम्युनिस्ट पार्टी आम रूपमा सैनिक सङ्गठन होइन (र) राजकीय सङ्गठन पनि हुन सक्तैन । कम्युनिस्ट पार्टी निश्चित वर्गका जनताको अगुवा राजनीतिक सङ्गठन हो र हुनपर्छ” भन्नुभएको थियो (उही पृ.२९४–९५) ।
दोस्रो, “कम्युनिस्ट पार्टी सर्वहारा श्रमजीवी जनताको पूर्णतः राजनीतिक पार्टीको रूपमा निर्माण गर्नुपर्छ । जुन पार्टीले देश, काल र परिस्थितिको आधारमा सङ्घर्ष र कामका कुनै पनि विधि, रूप र तरिका प्रयोग गर्नसक्छ” भन्नुभएको थियो (उही.पृ.२९५) । तेस्रो, पार्टीलाई “कार्यकर्ताहरूको पङ्क्तिभित्र मात्र सीमित होइन । तोकिएको मापदण्डको आधारमा निश्चित तरिकाबाट व्यापक बनाउनुपर्छ । व्यापक जनतामा आधारित बनाउनुपर्छ” भन्नुभएको थियो
(उही.पृ.२९६) ।
मदनले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद राज्य र समाजको लोकतान्त्रीकरण मात्र होइन पार्टीको समेत लोकतान्त्रीकरणको सिद्धान्त थियो । मदनमा अहम्ता थिएन । अग्रजहरूलाई सम्मान र युवालाई प्रोत्साहित गर्ने गर्नुहुन्थ्यो । उदाहरणका लागि पाँचौँ महाधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको विचार अत्यधिक बहुमतले पारित भएको थियो । तर, नेतृत्व चयन गर्ने बेलामा आफ्नोभन्दा फरक विचार राख्ने मनमोहन अधिकारी र सीपी मैनालीसमेतका अग्रज नेताहरूले उम्मेदवारी नदिँदासम्म उहाँले उम्मेदवारी दिनुभएको थिएन र सबै अग्रज नेताहरूको साथै युवा साथीहरूलाई समेत समेटी नेतृत्व चयन गरिएको थियो । पोलिटब्युरो गठन गर्दा पनि उहाँले सीपी मैनालीलगायतलाई समेट्नु भएको थियो । छब्बीसौँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा मदन–आश्रितप्रति
हार्दिक श्रद्धाञ्जलि ।
(लेखक नेकपा एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?