logo
२०८० चैत्र १५ बिहीवार



फोक्सोको क्यान्सरबाट बच्ने उपाय

विचार/दृष्टिकोण |




किशोरकुमार प्रधानाङ

विश्वमा हाल देखिएका क्यान्सर रोगहरूमध्ये फोक्सोको क्यान्सर मुख्य हो । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्कअनुसार विश्वमा अन्य क्यान्सरभन्दा फोक्सोको क्यान्सरबाट प्रत्येक वर्ष १८ लाख मानिसको मृत्यु हुने गरेको छ । यसमध्ये १४.५ प्रतिशत पुरुष र ८.४ प्रतिशत महिला छन् ।
नेपालमा सन् २००३–२०१२ सम्म काठमाडौँको वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बीपी को इन्स्टिच्युट अफ हेल्थ साइन्स, धरान, मणिपाल मेडिकल कलेज, पोखरा र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर गरी सातवटा अस्पतालमा जम्मा ५६ हजार १३ जना क्यान्सर उपचारका लागि आएका थिए । जसमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको थियो ।

१० वर्षको (सन् २००३–२०१२) सातवटा अस्पतालमा क्यान्सर रजिष्ट्री

स्रोत : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर ।

क्यान्सरका प्रमुख कारण
धूमपान फोक्सोको क्यान्सर हुने मुख्य कारण हो । फोक्सोका ८० प्रतिशत क्यान्सर धूमपानले हुने गरेको अनुसन्धानले देखाएको छ । चुरोट, बिँडी, कक्कड, तम्बाखु आदि सल्काई तानिने धूवाँमा लगभग सात हजारप्रकारका स्वास्थ्यलाई हानि गर्ने रासायनिक तŒव हुन्छन् ।
यसका साथै कलकारखाना र सवारीसाधनबाट निस्कने धूवाँ एवम् वातावरणमा रहेका धूलाका कण र रेशाबाट पनि क्यान्सर हुन सक्छ । शरीरमा विभिन्न माध्यमबाट आर्सनिक, एस्वेस्टोसको असरजस्ता केमिकलको असरले पनि फोक्सोको क्यान्सर लाग्ने सम्भावना बढी हुन्छ ।

लक्षण
सुरुको अवस्थामा फोक्सोको क्यान्सरका प्रस्ट लक्षण देखापर्दैनन् तर क्यान्सर बढ्दै जाँदा निम्नलक्षण देखापर्न थाल्छन् ।

लगातार सुख्खा खोकी
सुरुमा साधारण खोकी लाग्छ । खोकीको औषधोपचारबाट पनि कम नभएर दुई÷तीन हप्तासम्म रहिरहन्छ । केही दिनसम्म खोकी निको भएजस्तो हुने र पछि फेरि लागेर बल्झिरहन्छ । सास फेर्न गाह्रो भएर दम बढ्ने हुन्छ ।
खकारमा रगत
खोकी लामो समयसम्म पनि औषधोपचारबाट कम हुँदैन र समय समयमा खकारमा रगत देखापर्छ । केही समयपछि खोकीका कारणले छाती दुख्ने, स्वाँस्वाँ हुने, सास फेर्न अप्ठ्यारो हुने आदि समस्या पनि देखापर्छन् ।

मन्द–मन्द ज्वरो
खोकीको साथै कहिलेकाहीँ बराबर १०० डिग्री फरेनहाइटसम्म ज्वरो एक÷दुई दिनलाई आउने गर्छ र आफँै कम हुने गर्छ ।

अरुचि र भोक नलाग्नु
केही समयपछि बिस्तारै भोक कम लाग्ने र खाना पनि खान मन नलाग्ने आदि विभिन्न लक्षण देखिन्छ ।

शरीरको तौल घट्नु
बिरामीले खाना कम खाने, रुचि हराउँदै जाने गर्नाले शरीरको तौल घटेर दुब्लाउँदै जान्छ ।

थकाइ
साधारण घरायसी काम गर्दा पनि थकाइ लाग्ने र स्वाँस्वाँ हुने गर्छ ।

अन्य लक्षण
रोग फैलिसकेको अवस्थामा पाखुरा दुख्ने, घाँटी र काखीको ग्रन्थी बढ्ने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने र अशक्त हुने गर्छ ।
उपरोक्त कुनै पनि लक्षण देखापर्नेबित्तिकै नजिकको अस्पतालमा चिकित्सकसँग परीक्षण गरी उपचार गरिहाल्नुपर्छ । साधारणतः तीन÷चार हप्तासम्म गरेको उपचारबाट पनि केही कमी भएन भने फोक्सोसँग सम्बन्धित चिकित्सकसँग फोक्सोको क्यान्सर वा क्षयरोग वा ब्रोन्काइटिस हो कि भनेर परीक्षणबाट निदान गर्र्नुपर्छ । यदि क्यान्सर भएको छ भने सम्बन्धित क्यान्सर विशेषज्ञसँग परीक्षण गराई आवश्यक उपचार गराइहाल्नुपर्छ किनकि जति छिटो उपचार ग¥यो, त्यति बढी रोग निको हुने सम्भावना हुन्छ ।

निदानका लागि परीक्षण

एक्स–रे
साधारण एवम् विशेषप्रकारका एक्स–रे परीक्षणबाट फोक्सोको क्यान्सर पत्ता लगाउन मद्दत पुग्छ । विकसित देशमा फोक्सोको क्यान्सरको निदानका लागि प्रत्येक वर्ष छातीको एक्स–रे गर्ने गरिएको छ ।

ब्रोन्कोस्कोपी
विशेषप्रकारको नली श्वासनलीबाट फोक्सोभित्र पसाएर परीक्षण गरी क्यान्सरको निदान गरिन्छ । यसबाट फोक्सोभित्र केही खराबी छ कि भन्ने सजिलै आंँखाले हेरेर देखिन्छ र केही खराबी देखेमा त्यहाँंबाट सानो मासुको टुक्रा निकालेर बायोप्सी परीक्षण गरी क्यान्सरको किटान गरिन्छ ।

सीटीस्क्यान
आवश्यकताअनुसार फोक्सोको क्यान्सर निदान गर्न सीटीस्क्यान गरिन्छ । यसबाट फोक्सोको अन्य भागमा पनि कतै गिर्खा वा गाँठो छ कि भन्ने थाहा हुन्छ । त्यसैले साधारण एक्स–रेभन्दा यो महँगो भए पनि निदानका लागि राम्रो हुन्छ ।
एफएनएसी
फोक्सो क्यान्सरको निदान गर्न मसिनो सुइको मद्दतले फोक्सोको प्रभावित भागबाट कोशकोशिका निकाली गरिने परीक्षणलाई एफएनएसी भनिन्छ । त्यस्तै खकारको वा श्वासनलीभित्रको ¥यालको परीक्षणबाट पनि क्यान्सर निदान गर्न सकिन्छ ।

बायोप्सी
फोक्सोको प्रभावित भागबाट मासुको सानो टुक्राको ल्याबमा परीक्षण गरी क्यान्सरको निदान गरिन्छ । यसबाट फोक्सोको क्यान्सरको निश्चित किटानका साथै कुन अवस्थाको क्यान्सर हो थाहा हुन्छ । यही रिपोर्टका आधारमा कस्तो उपचार आवश्यक हुन्छ भनी चिकित्सकले निर्णय गर्छ ।
बिरामीको अवस्था तथा लक्षणका आधारमा उपर्युक्त परीक्षणबाहेक अन्य परीक्षण पनि गर्नुपर्ने हुन सक्छ ।

उपचार विधि

शल्यक्रिया
हाम्रो शरीरको फोक्सोमा दाहिनेतिर तीनवटा भाग र देब्रेतिर दुईवटा भाग हुन्छ, जसलाई लोब भन्ने गरिन्छ । फोक्सोको क्यान्सरको सुरुको अवस्था छ भने क्यान्सर लागेको एक भागलाई अप्रेसनबाट काटेर फाल्नेलाई लोबेकटोमी र एक साइडको पूरै भाग काट्नेलाई न्युमेक्टोमी भनिन्छ ।
यदि धेरै बढेको तेस्रो वा चौथो चरणको क्यान्सर छ भने रोग लागेको भाग वा अङ्गलाई अप्रेसन गरी निकाल्न सकिँदैन र अन्य उपचार गर्नुपर्छ । प्रायः सबै क्यान्सरको जस्तै चार चरणमा विभाजन गरिएको हुन्छ । पहिलो र दोस्रो चरणमा क्यान्सर सानो आकारको हुने र अन्य ग्रन्थीमा फैलिनसकेको अवस्थामा अप्रेसनबाट काटेर निकाली रोग निको पर्ने सम्भावना हुन्छ । तर, तेस्रो र चौथो चरणमा निदान भएको अवस्थामा अप्रेसन सम्भव नभएकाले रेडियोथेरापी र केमो औषधिको प्रयोग गरी उपचार गरे पनि अपेक्षित लाभ नहुन सक्छ ।

रेडियोथेरापी
क्यान्सर भएका कोश–कोशिकालाई मार्न वा अन्यत्र फैलिन नदिन विकीरण चिकित्साको प्रयोग गर्नुपर्छ । प्रायः सबै फोक्सोको क्यान्सरको बिरामीलाई विकीरण चिकित्साका लागि रेडियोथेरापी आवश्यक पर्छ ।

केमोथेरापी
फोक्सोको क्यान्सरमा औषधि प्रयोगद्वारा उपचार गर्न जरुरी छ । यसले क्यान्सर कोशलाई मार्नुका साथै अन्य स्वस्थ कोशलाई पनि असर गर्ने भएकाले औषधि प्रयोग गरेपछि केही साइड इफेक्ट पनि हुने गरेको छ ।

प्यालिएटिभ केयर
अन्य उपचार गरिसकेपछि पनि क्यान्सर रोगीलाई केही समस्या देखिन्छ । क्यान्सर लागेको भाग वा अन्य भाग असह्य हुनेगरी दुख्ने गर्छ । यस्तो बेलामा साधारण औषधिले दुखाइ कम नहुने भएकाले मर्फिन औषधि आवश्यक पर्छ । अन्य समस्या र असुविधा कम गर्न हस्पिसमा राखेर उपचार गर्नपर्छ ।

बच्ने उपाय
फोक्सोको क्यान्सर सुरुको अवस्था पत्ता लगाउन गाह्रो छ । त्यसैले फोक्सोको क्यान्सर पत्ता लाग्दासम्म शरीरका अरू भागमा समेत फैलिसकेको हुन्छ । फोक्सोको क्यान्सरको सुरुका लक्षण एकदमै सामान्य किसिमको हुन्छन् । यी लक्षण अरू रोगसँग मिल्दोजुल्दो हुन्छन् । यस्ता सामान्य लक्षणमा सुख्खा खोकी लाग्ने, छाती दुख्ने, मन्द–मन्द ज्वरो आउने आदि जुन ब्रोन्काइटिस, छातीको क्षयरोग आदिमा पनि देखिने भएकाले कतिपय रोगीलाई राम्ररी निदान नभएर स्वास्थ्यकेन्द्रमा चिकित्सक पनि झुक्किएर अन्य रोगको औषधि दिइरहेका हुन्छन् ।
त्यसैले यस्ता लक्षण देखिएका बिरामीले दुई÷तीन हप्तासम्म औषधि सेवन गरेर पनि निको नभएमा अन्य परीक्षण गर्न आवश्यक पर्छ । रोग जति छिटो पत्ता लगाएर उपचार गर्न सकियो त्यति बढी फाइदा हुन्छ । तर, रोग फैलिसकेको अवस्थामा उपचारबाट पनि अपेक्षित लाभ नहुने भएकाले यो रोग लाग्नबाट बच्नु नै बुद्धिमानी मानिएको छ ।
सुर्तीजन्य पदार्थको सेवन नगर्ने, धूवाँ तथा धूलोबाट जोगिने, सुरक्षित चुल्होको प्रयोग गर्ने, वातावरणीय प्रदूषणबाट जोगिने गरे फोक्सो क्यान्सरबाट बच्न सकिन्छ । त्यस्तै, ताजा सागपात, फलफूलको दिनहुँ सेवन गर्ने, नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने गरेमा रोग चाँडै निदान हुने वा रोग लाग्नबाट बच्न सकिन्छ । 

(लेखक भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वविभागीय प्रमुख हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?