logo
२०८१ बैशाख १३ बिहीवार



जयपृथ्वीबहादुर सिंहलाई सम्झँदा

विचार/दृष्टिकोण |




शिव अधिकारी

गोरखापत्र नेपालको जेठो समाचारपत्रका नाताले पनि ऐतिहासिक जानकारीमूलक पत्रिका हो । यथार्थ सामाजिक वस्तुस्थिति एवं सरकारी सेवासम्बन्धी निष्पक्ष समाचारहरू दिएर सरकार र जनसमुदायबीच सेतुको रूपमा काम गरेको छ यसले ।
राणाकालको पारिवारिक शासनमा त्यस बखतका सुधारवादी शासकका रूपमा परिचित श्री ३ देवसमशेरले समाचारपत्रको खाँचो महसुस गरे । उनकै उदारताको प्रतिफलस्वरूप जनताले सुसूचित हुन सहज होस् भन्ने अभिप्रायले विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशन सुरु भयो । हुन त यो प्रकाशनपूर्व नै साहित्यिक पत्रिका सुधासागर विसं १९५५ मै प्रकाशित थियो । यद्यपि समाचारपत्रको रूपमा सरकारको विशेष पहलमा प्रकाशित गोरखापत्रलाई नेपालको जेठो समाचारपत्रको उच्च मान्यता प्राप्त छ ।

 प्रकाशनको पृष्ठभूमि
गोरखापत्र प्रकाशनको पृष्ठभूमि तत्कालीन बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंहसँग जोडिएको पाइन्छ । एकीकरण पूर्वका राजा रजौटालाई सम्मानस्वरूप मुख्तियारी दिने प्रचलन रहे अनुसार नै बझाङ्गी राजा शक्ति सिंहपछिका २०औँ पुस्ताका राजा जयपृथ्वीबहादुरको जन्म विसं १९३४ भदौ ७ मा भएको थियो । जयपृथ्वी सानैदेखि अध्ययन र सोच विचारमा तेज थिए । सामन्ती राज खानदानमा जन्मिएको भए पनि यिनी अत्यन्त उदार र मानवतावादी व्यक्तित्वका कारण स्वदेशमा मात्र होइन, विदेशमा पनि यिनी
चर्चित भए ।

 जयपृथ्वीको शैक्षिक यात्रा
प्रारम्भिक शिक्षा बझाङमै लिएको भए पनि उनी आठ वर्षको उमेरमा पढ्न काठमाडौँ आए । तत्कालीन राणा परिवारको पेवाको रूपमा स्थापना भएको दरबार हाइस्कुलमा विद्यालयस्तरको शिक्षा लिएपछि कलकत्ता गएर मेट्रिक उत्तीर्ण गरे । त्यसपछि भारतको प्रयागबाट आईए पास गरे । आठ वर्षको उमेरमा बझाङ छाडेर काठमाडौँ आउने क्रममा जनतामा रुवाबासी हुन थालेपछि उनले ‘म मानिसहरूको सेवाकालागि पढ्न जाँदैछु, नरुनुहोस्’ भनेर सम्झाएको घटना भने मार्मिक मान्नुपर्ने हुन्छ ।
साँच्चै, जयपृथ्वीबहादुर सिंह सानैदेखि मानवीय सेवाका उज्यालो नक्षत्रको रूपमा उदाएका थिए । समाजमा शिक्षा आर्जनको सुविधा दिनेबित्तिकै बालबालिकामा नयाँ जागरणको सुरुवात हुने हुँदा देशको भविष्य निर्माणमा शिक्षा सुविधा उपलब्ध गराउनु महत्वपूर्ण पक्ष हो भन्ने कुरामा जयपृथ्वी सक्रिय थिए । सामन्ती राजघरानाको भए पनि सधैँ उदारमना जयपृथ्वीबहादुरको १६ वर्षकै उमेरमा तत्कालीन श्री ३ चन्द्रसमशेरकी छोरी १४ वर्षीया खगेश्वरीसँग विवाह भएको थियो । उनीश्री ३ चन्द्रका ज्वाइँ भएकै कारण हुन सक्छ, उनलाई गोरखापत्र प्रकाशनको जिम्मेवारी दिई यस संस्थाको आम्दानीसमेत खान पाउने गरी कागज गरिएको थियो ।
गोरखापत्रको जिम्मेवारी पाएपछि जनताको स्वतन्त्रता र विश्वशान्ति तथा मानवतावादको बारेमा विचार राख्न थालेपछि चन्द्रसमशेरले गोरखापत्र नै बन्द गरेर जयपृथ्वीलाई नेपालमा बस्न नसक्ने अवस्था बनाए । यसपछि जयपृथ्वी भारत पसे । निर्वासनकै अवस्थामा त्यहाँको ब्रिटिस कम्पनी सरकारले राजबन्दी बनाएर राख्यो । त्यही अवस्थामा विसं १९९७ असोज १ गते बैङ्गलोरमा उनको मृत्यु भयो । मृत्युपछि सामाजिक, शैक्षिक तथा मानवतावादको क्षेत्रमा उनको विशेष योगदानको सम्झना हुन थाल्यो ।

 जयपृथ्वीको सामाजिक सम्मान
जयपृथ्वीबहादुर सिंहको बौद्धिक क्षमता र समाज सुधारका कार्यक्रम एवं प्रयासको कारण प्रशंसित एवं सम्मानित हुनुपर्नेमा उनकै ससुरा निरंकुशश्री ३ चन्द्रसमशेरलाई जयपृथ्वीको काम मन परेन । तत्कालीन अवस्थामा रुसको भमण गर्ने पहिलो नेपाली र उनले रुसमा स्थापित गर्न सकेको मित्रताको फलस्वरूप रुसबाट इभान मिनायेभले नेपाल भ्रमण गरेका थिए । त्यसपछिका वर्षमा रुसीहरूले नेपाल भ्रमण गर्न सुरु गरे र नेपालको पर्यटन उद्योगमा ठूलो टेवा मिल्यो । नेपाल भ्रमण गरेका इभान मिनायेभको स्मृतिमा जयपृथ्वी–इभान मिनायेभ स्रष्टा सम्मान पुरस्कारको समेत स्थापना गरिएको छ । यसैगरी बैतडी–बझाङराजमार्गलाई जयपृथ्वीबहादुर सिंह राजमार्ग नामकरण गरिएको छ ।

 बैङ्गलोरमा जयपृथ्वी
जयपृथ्वीबहादुर सिंहसन् १९२४ मा बैङ्गलोर सरे र १९२५ मा बैङ्गलोरको होल्सुरमा एक आवासीय महल बनाए । यसै महलमा बसेर उनले १९२८ मा ‘ह्युम्यानिस्ट क्लब’ स्थापना गरेका थिए । त्यसपछि उनले मानवतावाद पुस्तक प्रकाशित गरे । यो पुस्तकको पहिलो भागमा मानवका दुःख र त्यसका कारणहरू, दोस्रो भागमा ज्ञान र ज्ञान प्राप्ति, तेस्रोमा मानव तथा विश्व र चौथोमा मानवको वास्तविकता र दुःख निवारणको अर्थपूर्ण प्रस्तुति पाइन्छ । पुस्तक लेखनपछि उनले संसारका दाजुभाइ एक हौँ भन्ने सन्देशका साथ संसार भ्रमण गर्दै मानवतावाद सम्बन्धी प्रवचन दिन थाले । जयपृथ्वीबहादुरले सं. १९९४ को डिसेम्बर २२ मा मुम्बईबाट प्रकाशित भारतको चर्चित पत्रिका ‘द विक्ली‘ मा विश्वमा शान्ति ल्याउन महिला सशक्तीकरण हुनुपर्छ भन्ने लेख प्रकाशित गराए । यो लेखमा उनले चीनकी कवयित्री लेउ हेङ र अन्य महिलाबाट प्रभावित भएको उल्लेख गरेका छन् । बङ्गाली साहित्यिक व्यक्तित्व रवीन्द्रनाथ टैगोरले समेत उनको सुनौलो पुस्तकमा यसरी प्रख्याति कमाएका जयपृथ्वीकाबारेमा बयान गरेका छन् । जयपृथ्वीले स्थापना गरेको ह्युमनिस्ट क्लबका मानार्थ सदस्य रवीन्द्रनाथ टैगोर पनि भएकाले उनकाबारेमा टैगोरलाई जानकारी थियो । बैङ्गलोरमा रहँदा जयपृथ्वीले आफ्नो जीवनकालमा एक सयभन्दा बढी आत्मकथाको डायरी पनि लेखेका थिए ।
नेपाल सानो देश भएर पनि यसको गरिमा उच्च छ । यसका सपुतहरू ज्ञान, मानवता, शान्ति र स्वतन्त्रताका पक्षधर छन् । एक उदाहरण हुन्– जयपृथ्वी । उनले गोरखापत्रलाई यिनै विषयको प्रवद्र्धक बनाउन चाहेको देखिन्छ । सबै क्षेत्रले गरेका सामाजिक योगदानको चर्चामा आफ्नो अग्रसरता दिने र सामाजिक विकृतिको विनाश गर्न भ्रष्टाचार, अन्याय अत्याचारको निर्मूल गरेर समाजमा सुशासन कायम गर्न गोरखापत्रको योगदान रहोस् ।

(लेखक नेपाल व्यवस्थापन सङ्घका पूर्वमहासचिव हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?