logo
२०८० चैत्र १६ शुक्रवार



बहुभाषिक पृष्ठ सुधार गर्नुपर्छ

विचार/दृष्टिकोण |




निनाम कुलुङ

नेपालकै जेठो दैनिक पत्रिकाका रूपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि (२०६४ असोजदेखि) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’ छुट्ट्याएर नेपालका विभिन्न जातजाति र भाषाभाषीका सामग्री, समाचार र सूचनामूलक सामग्री छाप्दै आएको छ, जुन सराहनीय छ । विक्रम संवत् २०६८ को ११औँ राष्ट्रिय जनगणनाअनुसार नेपालमा एक सय २३ भाषाभाषी र एक सय २५ जातजाति रहेका छन् । तीमध्ये गोरखापत्र दैनिकले ३८ वटा विभिन्न भाषाका सामग्री प्रकाशित गर्दै आएको देखिन्छ । तर, बहुभाषिक पृष्ठमा हाल प्रकाशित हुँदै आएका केही भाषाभाषीका सामग्री हेर्दा कुनै पनि जातजातिको भाषा, भेषभूषा, संंस्कार, संस्कृति, जीवनशैली, रहनसहन आदिलाई स्थान दिने नाममा जानेर, नजानेर र राजनीतिक दबाबमा फगत भाषाको राजनीतिकरण भइरहेको त छैन ? प्रश्न उठाउन सकिने प्रशस्त ठाउँ देखिन्छ ।
किनभने गोरखापत्र दैनिकले हरेक जनगणनामा उल्लेख भएको र हालसम्म नेपालका भाषाभाषीका सम्बन्धमा अध्ययन गरेका प्रायः सबै विदेशी तथा स्वदेशी विद्वान् तथा अध्येयताले उल्लेख गरेको कुलुङ जातिलगायत अन्य जातजातिको धेरै मातृभाषालाई हालसम्म के–कति कारणले हो अलग्गै पृष्ठ उपलब्ध गराउन सकेको छैन । विसं २०६८ मा भएको ११औँ राष्ट्रिय जनगणनाअनुसार कुलुङ जातिको जनसङ्ख्या २८ हजार ६१३ र कुलुङ मातृभाषीको जनसङ्ख्याचाहिँ ३३ हजार १७० छ । कुलुङ मातृभाषामा पनि अलग्गै सामग्री छाप्नका लागि गोरखापत्र दैनिकले अलग्गै पृष्ठ उपलब्ध गराओस् भनी विसं २०६५/०६६ देखि नै कुलुङ जातिका अगुवाले माग गर्दै आएका छन् । तापनि गोरखापत्र दैनिकले हालसम्म कुलुङ मातृभाषाको सामग्री छाप्नका लागि अलग्गै पृष्ठ उपलब्ध गराउन सकेको छैन । लोकतान्त्रिक, गणतान्त्रिक र समानुपातिक समावेशिताको युग भनिएको यो जमानामा पनि यस्तो विभेद कायमै रहुनु भनेको साह्रै दुःखद हो । जब कि, विसं २०७३ असार १ गतेदेखि संस्कृत भाषामा, २०७३ कात्तिक २७ गतेदेखि बान्तावा भाषामा हाल राईकै फुर्को रहेको देखिन्छ, २०७३ फागुन १७ गतेदेखि खस (जुम्ली) भाषामा र भोटे भाषामा, त्यसबाहेक मारवाडी भाषा, मुगाल भाषा, मेचे भाषा, मगही भाषालगायत अन्य भाषाबहुभाषिक पृष्ठमा प्रकाशित हँुदै आएको छ ।
गोरखापत्र दैनिकले सुरुमै कुन–कुन आधारमा बहुभाषिक पृष्ठका लागि भाषा र सामग्री छाप्ने ? भनी मापदण्ड तयार गरिएको भए राम्रो हुने थियो । गोरखापत्रको बहुभाषा पृष्ठका संयोजकले कति पढेको हुनुपर्ने ? उसले आफ्नो मातृभाषा जानेको हुनुपर्ने कि नपर्ने ? यदि पृष्ठ संयोजकले मातृभाषा जानेको हुनु नपर्ने हो भने किन गोरखापत्र दैनिककै एकजना स्टाफ खटिएर सो पृष्ठ संयोजन नगर्ने ? ‘एक जाति राई, बहुभाषी राई !’ भनेर आफ्नो मातृभाषा नै नजान्नेले अरूको भाषा कसरी जान्दछ÷बुझ्दछ ? जस्ता प्रश्नको पनि किनारा लाग्नुपर्ने देखिन्छ । जस्तो, राई भाषाका पृष्ठ संयोजक भोगीराज चाम्लिङले कुनै बेला लेखेको आफ्नो मातृभाषा (चाम्लिङ) को ‘जनजातिमो शाछाम्दाको सौन्दर्यशास्त्र’ लेख वा भनौँ सामग्री टङ्कबहादुर राईले उल्था गर्नुभएको थियो । (प्रमाणका लागि २०६४ असोज ११ को अङ्क हेर्नोस् ।) अनि, आफ्नै स्वतन्त्र अस्तित्व भएको भाषाको पछाडि जबरजस्ती ‘राई’ को फुर्को झुन्ड्याएर छापिने सामग्री आफ्नै मातृभाषा नजान्ने पृष्ठ संयोजकले कसरी बुझ्लान् ? सम्बन्धित जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, जीवनशैली आदिका बारेमा के लेखेको छ, के बोलेको छ, कसरी थाहा पाउने ? त्यस्तै, भोटे भाषाको पृष्ठ संयोजक खगेन्द्र थापा भोटे ! हुनुहुन्छ । के नेपालमा थापा भोटे ! भन्ने जात वा जाति पनि छ ? यो विषय नेपालका समाजशास्त्री तथा मानवशास्त्रीका लागि नयाँ खोज अनुसन्धानको विषय हुन सक्छ । फेरि भोटे भाषा भनिए तापनि हाल प्रकाशित हँुदै आएको भोटे भाषाको सामग्रीमा तिब्बती, शेर्पा, तामाङ, गुरुङ (भोट–बर्मेली भाषाको) शब्दभन्दा पनि बढी बझाङी, बाजुरेली, जुम्ली, बैतडेली, अछामी आदि शब्दसँग मिल्दोजुल्दो देखिन्छ ।
त्यसैले सुझाव छ– बहुभाषिक पृष्ठ अर्थात् नयाँ नेपालको पृष्ठ संयोजकले आफ्नो मातृभाषा जान्नुनपर्ने भए गोरखापत्र दैनिककै कुनै शर्मा, श्रेष्ठादिले संयोजन गरे केही फरक पर्दैन । त्यस्तै बहुभाषिक पृष्ठमै छापिएको सामग्रीको कुरो गर्नुपर्दा २०६४ चैत १५ गतेको राई भाषाको पृष्ठमा गणेश राई ‘चिन्तन’को लेखमा वृद्ध शेर्पा–शेर्पेनी
(जोडीद्वय)ले माने घुमाउंँदै गरेको फोटो छापिएको थियो । त्यो शेर्पाका बारेमा राईले लेखेको लेख हो कि ? २०६६ जेठ ९ गतेको शेर्पा भाषाको पृष्ठमा अङ्ग्रेजी भाषामा सामग्री छापिएको थियो । त्यस्तै राई भाषा भन्दै आएको पृष्ठलाई पनि कहिले चाम्लिङ राई, कहिले राईमात्रै भन्ने÷लेख्ने गरेको देखिन्छ । बान्तवा भाषालाई चाहिँ हाल एक नम्बर प्रदेशका मुख्यमन्त्री रहनुभएका शेरधन राई सूचना तथा सञ्चारमन्त्री हँुदा गोरखापत्र दैनिकले अलग्गै पृष्ठ उपलब्ध गरायो । तर, केही महिनापछि नै बान्तवा भाषाको पृष्ठमा छापिने सामग्रीलाई ‘राई’ फुर्को झुन्ड्याएरै बान्तवा राई भाषा भनी छाप्न थालियो । यदि बान्तवा भाषाको नामको पछाडि टाउकामा ‘राई’कै फुर्को झुन्ड्याउने हो भने बान्तवा भाषाका लागि अलग्गै पृष्ठ किन छुट्याइरहने ? राई भाषाको पृष्ठमै छाप्दा भइहाल्थ्यो । किन यस्तो ? तर, विसं २०६५÷०६६ देखि कुलुङ समुदायका अगुवाले कुलुङ भाषाका लागि गोरखापत्र दैनिकले अलग्गै पृष्ठ उपलब्ध गराओस् भनी हरेक सञ्चारमन्त्री र गोरखापत्र दैनिकमा आउने अध्यक्ष तथा महाप्रबन्धकसँग आग्रह गर्दै÷निवेदन दिँदै आए पनि
सम्बोधन भएको छैन ।
गोरखापत्र दैनिकमा प्रकाशन हुने बहुभाषिक सामग्री इतिहासमा दस्तावेजीकरण र अभिलेखीकरण हुने सामग्री हुन् । त्यसैले गोरखापत्र दैनिक र गोरखापत्र संस्थानले आफ्नो गर्विलो र दर्बिलो इतिहास, इमान–जमान, विश्वसनीयता र पारदर्शिताका निम्ति पनि हरेक भाषाका पृष्ठ संयोजकले कति पढेको वा नपढेकोभन्दा पनि उसले कम्तीमा आफ्नो मातृभाषाचाहिँ जानेको होस् भन्नेतर्फ दिनुपर्ने देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?