logo
२०७८ जेष्ठ २ आईतवार



कोरोनाको राजनीति

कोरोनाले राजनीतिक मानसिकता बदल्दैछ, राजनीतिक मानचित्र पनि बदल्न बेर लाग्ने छैन ।

विचार/दृष्टिकोण |




खिमलाल देवकोटा

यतिबेला कोरोनाको दोस्रो र तेस्रो लहरले विश्व आक्रान्त छ । यही मेसोमा नेपाल दोस्रो लहरबाट प्रताडित छ । कोरोना केही होइन, कोरोनाले मलाई छुनै सक्दैन भनेर खुलेआम निषेधाज्ञा र लकडाउन तोड्ने मनोवृत्ति यतिबेला मानव जीवनमाथिको अर्को मजाक भएको छ । कोरोनासँग जुध्न अपनाउने सावधानी, सो विरुद्धको खोप र त्यसैको बहानामा सक्कली र नक्कली रिपोर्ट तयार गरेर सत्ता ढाल्न र टिकाउन खोज्ने नेपाली राजनीतिका नौटङ्कीहरूको प्रहर्सन पनि भएको छ । यसै परिवेशमा समकालीन राजनीतिमा महामारीको प्रभावका बारेमा समीक्षा गर्ने यो आलेखको आशय छ ।

 महामारीको विश्व अनुभव
एकातिर माहामारीले मानव जीवन ध्वस्त पा¥यो, अनगिन्ती जीवनको अन्त गरायो । रोगका कारणले मुलुकको अर्थतन्त्र ध्वस्त बनायो । समकालीन राजनीतिमा उथल्पुथल नै ल्यायो । सँगसँंगै यसले वैज्ञानिक खोज अनुसन्धानका लागि मार्ग प्रशस्त पनि ग¥यो । अन्ततः वैज्ञानिक खोज अनुसन्धानका कारणले धेरै मानव जीवनले अकाल मृत्युवरण गर्न परेन । रोगको त्रासका कारण तनावको जिन्दगी बाँच्न परेन । रोगविरुद्ध लड्ने उपायहरूको सहारा लिँदै बाँकी जीवन निर्वाध अघि बढाउन मार्ग प्रशस्त गरायो । यो भने महामारीको नकारात्मक हिसाबले सिर्जित उपलब्धि भन्न सकिन्छ ।
सन् २०१६ मा मात्रै विश्व स्वास्थ्य सङ्गठनले अमेरिकामा देखा परेको जिका भाइरसका कारण अन्तर्राष्ट्रिय रूपमा नै सचेत गराउँदै जनस्वास्थ्य सङ्कटकाल घोषणा गरी यो महामारीका कारण ३० देखि ४० लाख मानिसको ज्यान जान सक्ने पूर्वानुमान गरेको थियो । सन्तानोत्पादमा प्रतिकूल असर गर्न सक्ने बाँझोपन बढाउन सक्ने यो भाइरसले नयाँ आतङ्क सिर्जना गरेको थियो । त्यसो त महामारीको छुट्टै इतिहास छ । सन् २०१४ मा देखा परेको इवोला फिवर (ज्वरो)का कारणले पश्चिम अफ्रिकामा हजारौँ मानिसको ज्यान गयो । सन् २०१२ मा विश्वव्यापी रूपमा देखा परेको दादुराका कारण झण्डै डेढ लाख मानिसको ज्यान गयो । टाइफाइड ज्वरोले प्रतिवर्ष अढाई लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ भने क्षयरोगले दशौँ लाख मानिसको ज्यान लियो । सन् २०१० मा हैटीमा फैलिएको हैजा महामारीका कारण दशौँ हजारको ज्यान गयो । भूकम्पबाट थिल्थिलो हैटी हैजाका कारणले झन् क्षत्विक्षत् बन्न पुग्यो । उसले नेपाली शान्ति सेनाले हैजा फैलाएको आरोप आरम्भमा लगाएको थियो पछि उक्त कुरा गलत भएको भनी माफी मागेको थियो । सन् २००९ मा फैलिएको श्वास प्रश्वाससम्बन्धी (एच १ एन १) भाइरसले झण्डै छ लाखभन्दा बढीको ज्यान लिएको थियो । असीको दशकको एच.आई.भी ÷एड्स र सन् २००३ को सार्स महामारीका प्रतीक थिए । त्यसो त सन् १९५२ को पोलियो, १९१८ को ग्रेट फ्लु इपिडामिक विगतका महामारीका उदाहरण थिए । सन् १९०१ को दादुरा र १९१० को प्लेग पनि कम डरलाग्दा थिएनन् ।
झण्डै एक सय वर्षको महामारीको अध्ययन र अनुभवले आजको कोरोना भाइरसको समीक्षा गर्न जरुरी छ । यो महामारीका बखत खासगरी तीन प्रवृत्ति देखा परे । पहिलो, तमासा हेरेर बस्ने, दोस्रो, समस्याबाट भाग्ने र तेस्रो समास्याको सामना गर्न आवश्यक संरचनाहरूको विकास गर्ने प्रवृत्ति । तमासा हेर्ने र भाग्ने प्रवृत्तिले मानव जीवनमाथिको खेलबाड र मानव सभ्यतामाथिको कलङ्कका रूपमा परिचय पायो भने समस्याको सामना गर्न आवश्यक संरचनाहरू खडा गर्ने तेस्रो प्रवृत्तिले मानव समाजको विकास र मानव जातिको रक्षा गर्ने कुरामा अमूल्य योगदान ग¥यो । तेस्रो प्रवृत्तिले महामारीको क्रममा महामारीले सम्बन्धित मुलुकका शासकहरूलाई आफ्नो स्वास्थ्य प्रणालीमा आमूल परिवर्तन गर्न, जनस्वास्थ्यमा लगानी गर्न र आम जनताको स्वास्थ्य सरोकारप्रति चिन्तित रहन बाध्य बनायो । जसका कारणले हिजो त्यो समस्या झेलेका शासकहरू आज व्यवस्थित तवरले त्यसका विरुद्ध प्रतिरोध गर्न तम्तयार भएको देखियो । अर्कोतिर स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने र सम्भावित महामारीसँग जुध्न सक्ने स्वास्थ्य संरचना खडा गर्नमा उत्प्रेरित
पनि ग¥यो ।
इतिहासबाट शिक्षा नलिने शासकहरूका लागि महामारी आफ्नो स्वार्थसिद्ध गर्ने, सत्ता लम्ब्याउने बहाना पनि बन्यो । इतिहासको शिक्षाबाट पाठ नसिक्नेहरूका लागि राजनीतिक रूपमा प्राप्त उपलब्धिहरू सिध्याउने उचित मौकाका रूपमा दुरुपयोग गर्ने खतरा पनि त्यत्तिकै देखा प¥यो । हतियारलाई प्राथमिकता दिने, युद्धको आयात र निर्यात गर्ने ध्वंशात्मक प्रवृत्तिले जनस्वास्थ्यमा लगानी गर्ने कुरालाई ओझेलमा पारेको थियो । राज्य हुनाका नाताले जनताप्रतिको जबाफदेहिताको प्रश्नलाई बेवास्ता गर्ने, विगतका शिक्षाहरूबाट पाठ नसिक्नेहरूलाई यतिबेला महामारीले नराम्ररी बढारिदिँदैछ ।

 अमेरिकीले भोगेको शिक्षा
कोरोना भाइरसका महामारीका बखत जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने राजनीतिक नेतृत्व जनताको आशाको केन्द्रका रूपमा स्थापित भए भने जनताको स्वास्थ्यप्रति लापरबाही गर्नेहरू विस्थापित भए । निर्वाचनमा डोनाल्ड ट्रम्पको पराजय यसैको परिणाम भन्न सकिन्छ । कोरोनाको कहरका बीचमा ट्रम्प अमेरिकी जनताप्रति कहिल्यै जिम्मेवार देखिनुभएन बरु यसलाई मजाकमा उडाउनुभयो । राष्ट्रसङ्घीय मञ्चहरूबाट आफूलाई अलग्याउनुभयो, विश्वस्वस्थ्य सङ्गठनमा दिने अनुदान रोक्का गरिदिनुभयो, जनस्वास्थ्यविद्हरूको सल्लाह इन्कार गर्ने मात्रै होइन उनीहरूलाई बर्खास्तसम्म गर्नुभयो । कोरोनाका कारण ज्यान गुमाउनेहरूकाप्रति सहानुुभूतिसम्म पनि व्यक्त गर्नुभएन ।
रोगी र बूढाबूढीहरू, जसलाई राज्यले सामाजिक सुरक्षा भत्ता खर्च गर्नपर्ने हुन्छ उनीहरू मरेको जाती भन्नसम्म पछि पर्नुभएन । सायद यिनै र यस्तै कारण उहाँले दोस्रो कार्यकाल ह्वाईटहाउस प्रवेश नगरी बिदा लिन प¥यो । प्रतिपक्षी भइकन पनि जनस्वास्थ्यका मामलामा देखाएको उदार नीतिका कारणले नै जो वाइडेनलाई ह्वाईट हाउसले स्वागत ग¥यो । विगतमा भए गरेका गल्ती सच्याउने काम गर्नुभयो र विश्वभर जनस्वास्थ्यप्रतिको संवेदनशीलतालाई बढावा दिने काम गर्नुभयो भलै यसले आशातित परिणाम भने दिन बाँकी नै छ ।
 भारतीय व्यवहार
हिन्दुत्वको वकालत गर्ने, नेपाललाई पुनः हिन्दु राज्यमा फर्काउन प्रत्यक्ष वा अप्रत्यक्ष अभियानमार्फत नेपालका राजनीतिक दलहरूलाई प्रभावित पार्न खोज्ने भारतीय शासकहरूले पनि पहिलो लहरमा हिन्दुपूजा गरेर, बत्ती बालेर, थाल ठटाएर र स्वास्थ्यकर्मीहरूमाथिको दुव्र्यवहारलाई रोक्न चेष्टा नगरेर कोरोना भगाउने प्रयत्न गरेको देखियो । तर दोस्रो लहरले उसका पनि नौनाडी गलाइदिएको छ । नेपालजस्तो देशलाई अग्रिम भुक्तानी लिएर पनि खोप नपठाएर नेपालमा नयाँ छटपटी आरम्भ भएको छ । यसप्रतिको संवेदनहीनताले भारतीय शासकहरूका लागि आगामी राजनीति अनुकूल बन्न नसक्ने लक्षणहरू देखा पर्दैछन् । कोरोनाका बीचमा क्षेत्रीय सङ्गठनका रूपमा रहेको सार्कको क्रियाशीलतामा खडा गरेको अवरोध, जम्मु कस्मिरको स्वायत्तता खोसेको परिघटना, दोक्लाममा चिनियाँहरूसँगको मुठभेड, पाकिस्तानसँगको पौंठेजोरी, नेपाली भूभाग कालापानी लिपुलेक– लिम्पियाधुरालाई आफ्नोमा पारेर नक्सा छाप्ने र उक्त मामला वार्ताको माध्यमद्वारा हल गर्न कोरोनापछिको भाखा तोक्ने तर आन्तरिक मामलामा हस्तक्षेप गर्न गुप्तचर एजेन्सी प्रमुखलाई दूतका रूपमा विशेष विमानमार्फत पठाउने भारतीय व्यवहारले देशभित्र छिमेकमा र यो क्षेत्रमा नै राम्रो प्रभाव पारेको छैन । कोरोनाका कारण यी सबै मामला ओझेल परेका होलान् तर जनमानसको स्मृतिबाट मेटिएका छैनन् । कोरोनाले राजनीतिक मानसिकता बदल्दैछ, राजनीतिक मानचित्र पनि बदल्न बेर लाग्ने छैन ।

 नेपालले लिने शिक्षा
नेपाली राजनीतिले प्राप्त गरेको राजनीतिक स्थिरता कोरोनाका कहरकै बीचमा खण्डित भएको छ । झण्डै दुईतिहाई जनमत प्राप्त गरेको सरकार, संसद् यतिबेला ‘हङ्ग पार्लियामेण्ट’मा परिणत भइसकेका छन् । दुईतिहाई जनमत प्राप्त गर्न सफल कम्युनिस्ट पार्टी सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोगमार्फत पुनः टुक्राटुक्रामा परिणत गरिएको छ । मधेसवादी पार्टीहरू पनि विभाजनको सङ्घारमा छन् । नेपाली काँग्रेसको एकता पशुपतिको आशिर्वादले मात्रै जोगिने अवस्था देखिएको छैन । विगत ७० वर्षको चाहना स्वरूप प्राप्त संविधान आज सकसमा परेको छ । आआफ्ना स्वार्थ अनुकूलका प्रयोग, दुरुपयोग र व्याख्याले अझै के के हुने हो भन्न सकिने अवस्थामा छैन । कोरोनाका कहरसँग जुध्न जनता घरभित्र, सरकार सडकमा आउनपर्नेमा ठीक उल्टो जनता सडकमा भएको छ । कोरोनासँग जुध्न नयाँ अस्पताल, अक्सिजन, भेण्टिलेटर र स्वस्थ्यकर्मीहरूको बढोत्तरी चाहिन्छ । अर्थतन्त्र चौपट भएको छ । जनता रोगले होइन भोकले मर्ने अवस्था छ । सरकारले आजभन्दा झण्डै ६० वर्ष पुरानो सङ्क्रामक रोग ऐनको सहारामा कोरोना नियन्त्रण गर्ने प्रयत्न गर्नुपरेको छ ।
कोरोना महामारीमा पनि राजनीतिक दलहरूको सत्ता खेल हेरेर जनता चित्त बुझाउन बाध्य छन् । के राजनीति जनताप्रति उत्तरदायी, जबाफदेहीबाट टाढिएर सफल हुन सक्छ ?
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?