logo
२०७८ कार्तिक ४ बिहीवार



अब लकडाउन नहोस्

विचार/दृष्टिकोण |




बेनीबहादुर कार्की

नेपालमा वि.सं. २०७६ चैत ११ गतेदेखि कहाली लाग्दो लामो लकडाउन (बन्दाबन्दी) गरिएको एक वर्षपछि फेरि लकडाउन हुनसक्ने चर्चा चलेको छ अवस्था हेर्दा गत वर्षझैँ नभई मृत्यु हुनेको सङ्ख्या फाट्टफुट्ट मात्र देखिएको छ । यो क्रम बीचका केही महिना रोकिएको भए पनि यता आएर केही बढेकोेले हामी बेलैमा सचेत हुनु बुद्धिमानी हुनेछ ।
दक्षिणर्फको छिमेकी भारतमा दैनिक लाखौँ सङ्क्रमित हुने र सयौँको निधन भइरहेकाले यसको असर नेपालमा परिरहेको छ । पहिले पनि यही भएको थियो । नेपाल र भारत भौगोलिक र जनजीविकासँग पनि अति नै निकट रहेका छिमेकी मुलुक हुन् । त्यसैले यस्तो हुनु स्वाभाविक हो । हाल यो असर नेपालको सुदूर पश्चिममा धेरै परेको छ । क्रमशः यसको असर नेपालभरि नै नपर्ला भन्न सकिँदैन । यसो भए पनि गत वर्षझैँ आत्तिन भने आवश्यक छैन । किनभने गत वर्ष यो रोग सुरु हुँदा हामी नितान्त अनभिज्ञ थियौँ । एकदमै डर र चिन्ता भएको थियो । सरकारले पनि अनुभवको अभावमा अनावश्यक समयमा लकडाउन लगाएको र लगाउन आवश्यक भएको समयमा नलगाएको पछि स्वयं सरकारले नै महसुस गरेको थियो । यसरी गत वर्ष सरकार र जनता रणभुल्लमा परेर लामो समय लकडाउनको घनचक्करमा परिएको थियो । जसका कारण राष्ट्रकै आर्थिक अवस्था तहस नहस भयो । अब यस्तो नहोस् भनेर बेलैमा सरकार र नेपाली जनताले होस पु¥याउनु जरुरी छ ।
केही दिन पहिले मधेसबाट काठमाडौँमा आउँदा बाटोमा चालक यस्तो गुनासो पोखे–नेपालको कमाइले बालबच्चा पाल्न मुस्किल भयो, गत सालमै कतारमा गएर राम्रो कम्पनीको गाडी चलाएर व्यवहार मिलाउने विचार गरेकोमा लामो लकडाउनले गर्दा जान पाइएन । यो वर्ष जाने तारतम्य मिलाएको छु । फेरि लकडाउन हुने चर्चाले चिन्ता लागेको छ । ४५ वर्ष काटेपछि जान मिल्दैन । यदि यो पटक पनि जान पाइनँ भने मैले जीवनभरि दुःख पाउने भएँ ! यो एउटा प्रतिनिधि उदाहरणमात्र हो । नेपालमा यस्तै समस्याले लाखौँ नेपाली पीडित छन् । हालै मात्र सरकारले होटल व्यवसायीको न्यूनतम बिजुलीको महसुल छुट दिनुपरेको अवस्था छ । न यहाँ राम्रो रोजगारीको अवसर छ न त व्यवसाय गर्ने अवस्था नै । दैनिक हजारौँ नेपाली विदेशिन बाध्य छन् र कतिले यसै क्रममा ज्यानसमेत गुमाएका छन् ।
गत वर्ष र यो वर्षको उही कोरोना भए पनि सन्दर्भ भने नितान्त फरक छ । गत वर्ष यो शताब्दीमै पहिलोपटक आएको कोभिड १९ नेपाल र नेपालीका लागि मात्र नभई संसारकै लागि नौलो थियो । के हो, कसो हो, कहाँबाट आयो ? यसबाट कसरी बच्ने, उपचार के हो भन्ने कैयौँ प्रश्न संसारभर थियो । फलस्वरूप विश्वभरिका वैज्ञानिक यसको उपचार अनुसन्धानमा अहोरात्र लागेर खोप निकाले । केही देशका वैज्ञानिकले सफलता हात पारे । वैज्ञानिक काटालीन कारीको र ड्रु वीस्म्यान कोरोना कोभिड १९ भाइरसको खोप अनुसन्धान गरेबापत नोबेल पुरस्कारबाट संयुक्त  ज्ञपमा सम्मानित भएका छन् । यसपछि विश्वका करोडौँ मानिसले पहिलो चरणको खोप लगाइसकेका छन् । नेपालमा पनि १३ अर्ब छ करोड रुपियाँ खर्च भइसकेको छ र अब ३८ अर्बभन्दा धेरै रुपियाँ यसैका लागि छुट्टयाइएको छ । १० औँ लाख जनाले यो खोप नेपाल सरकारको तर्फबाट निःशुल्क लगाएका छन् । २०७८ वैशाख ७ देखि ११ गतेसम्म दोस्रो चरणको खोप दिने तयारी भइरहेको छ ।
यो खोप लगाउन चीनबाट आठ लाख भायल नेपाल ल्याई सकिएको छ र यसबाट अपुगका लागि नेपाल सरकारले भारतबाट खरिद गरेर ल्याउन यसअघि नै एक अर्ब रुपियाँ अग्रिम भुक्तानी गरिसकेको अवस्था छ ।
कोरोनाबाट नागरिकलाई जोगाउन नेपाल सरकार सक्रिय छ । यो रोगबाट बच्न जनता पनि अनुभवी भइसकेका छन् । कसरी हात धुने, कसरी मास्क लगाउने, के खाने, के नखाने, घर बाहिर भिडभाडमा नजाने र भौतिक दूरी बनाएर बस्ने मात्र नभई यो रोगबाट बच्न आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपर्छ भन्नेबारे ज्ञान प्राप्त भएको छ ।
यो रोगबाट बच्न सरकार र जनताको संयुक्त प्रयास आवश्यक हुन्छ । एक्लै सङ्क्रमण नियन्त्रण सम्भव हुँदैन । गत वर्ष पनि सरकार र जनताको संयुक्त प्रयासबाट यसको नियन्त्रण सम्भव भएको हो । लकडाउन मात्र कोरोनाको उपचार होइन भन्ने यथार्थ गतवर्ष नै पुष्टि भइसकेको छ । अहिल्यै लकडाउनको चर्चा गर्नु जनतालाई चिन्ता दिनुमात्र हुनेछ । त्यसैले गत वर्षको अनुभवबाट पाठ सिकेर यो वर्ष लकडाउन गर्न हतार नगरौँ । रोगथामका सबै प्रयास गरिसक्दा पनि यो रोग नियन्त्रण हुन नसकेमात्र अन्तिममा स्थानीय तहले लकडाउन गर्न बाध्य हुन्छन् । अहिले त्यो बेला आइसकेको छैन ।
बन्दाबन्दीका सन्दर्भमा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रीको भनाइमा भिन्नता भएकाले पनि नेपाली जनतामाझ भ्रम सिर्जना भएको छ । सरकारकै दुई निकायबाट फरक भनाइ आएकाले लकडाउनको चर्चा, चासो र चिन्ता बढेको छ । यसलाई कामैबाट सरकारले निवारण गर्न जरुरी छ । जहाँ विशेष असर छ त्यहाँ नियन्त्रणको प्रयास गर्नैपर्ने हुन्छ । यसको मतलव नेपालभर गत वर्षझैँ लामो समय एकैपटक बन्दाबन्दी जरुरी पर्दैन । कोरोना नियन्त्रण गर्न भारतबाट बाटो र कुबाटोसमेतबाट नेपाल आएका मानिसको निगरानी राख्न सर्वप्रथम जरुरी छ । सिमानामै जाँचपछि कोभिडको लक्षण देखिएकालाई केही दिन पहिले सुर्खेत नाकामा झैँ कर्मचारीले उदारता देखाएर सीधै घर पठाउन हुँदैन । यसले त सङ्क्रमण बढेर झन् भयावह स्थिति ल्याउँछ । यसो नहोस् भन्नका लागि सरकार र सम्बन्धित व्यक्ति पनि सचेत हुन जरुरी छ ।
नेपालमा अहिलेसम्मको अवस्थामा कोभिड १९ बाट आत्तिइहाल्नुपर्ने अवस्था छैन । केवल सरकार र जनताको सचेतना आवश्यक छ । यसका लागि सरकारले गर्दैआएका प्रयास सकारात्मक छन् । सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्ने, कोभिडको लक्षण देखिएकालाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने, ठूला भेला गर्न नदिने र गत वर्षको अनुभवको आधारमा सबैलाई अनिवार्य मास्क लगाउनेसमेतका स्वास्थ्य मापदण्ड पालना गर्ने, गराउने मात्र गरेमा अहिलेको अवस्था सजिलै नियन्त्रण हुनसक्छ । खोपले पनि यसलाई नियन्त्रण गर्न सहयोग गर्छ नै । अहिलेसम्म सरकारले गरेका प्रयास र नेपाली जनताले गत वर्षको अनुभवबाट सिकेको आधारमा हामी अहिले डराउन पर्दैन । भारत र युरोपसमेतका मुलुकमा लकडाउन गरिए पनि हामीले तत्कालै सोही अनुकरण गर्न जरुरी पर्दैन । किनभने अहिलेसम्म विश्वमा करोडौँलाई यसको असर परे पनि नेपालमा अहिलेसम्म निको भएका सङ्क्रमित तीन लाख हाराहारीमा छन् र मृत्यु हुनेको सङ्ख्या मात्र तीन हजार नाघेको छ । आखिर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हावापानी र खानपिनको विशेषताबारे गत वर्ष नै भनेजस्तै कोभिड १९ ले नेपालीलाई खासै असर नगर्ने यथार्थ अहिलेसम्मको तथ्यले पुष्टि गरेकै छ ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?