logo
२०८१ बैशाख ११ मंगलवार



उद्धारमा प्रविधि तथा उपकरण (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपालको कुल भूभागमध्ये करिब ४५ प्रतिशत वन क्षेत्रले ओगटेको छ तर त्यस्ता वन सुक्खा याममा डढेलोको उच्च जोखिममा पर्दै आएका छन् । वन जोखिममा पर्नु भनेको मानव समुदाय नै जोखिममा पर्नु हो । यसपटक नेपालमा विगत १० वर्षयताकै धेरै क्षेत्र र व्यापक रूपमा डढेलो लागेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष एकै दिन गत सोमबार ७९८ स्थानमा डढेलो लागेको पाइएको छ । अधिकांश डढेलोका घटना मानवीय कारणले हुने गरेकाले मानिसले नै डढेलो नियन्त्रणका उपाय कार्यान्वयन गरेर समस्याको न्यूनीकरण गर्न सक्छ । डढेलोको समस्या व्यापक हुँदै गएपछि सरकारले यसका कारण र प्रभावका बारेमा विशेष चासो दिएको छ । डढेलो नियन्त्रणमा सरकारले केही तयारी पनि गर्दै आएको छ । डढेलो तथा आगलागीका पीडितहरूलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले तत्कालीन र दीर्घकालीन राहत दिने गरेका छन् । उनीहरूको उद्धार तथा पुनस्र्थापना गरिँदै आएको छ । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुउपयोगी हेलिकप्टर, हवाइजहाज वा अग्निनियन्त्रक यन्त्र ल्याउन, प्रयोग गर्न नेपाली सेनालाई उत्प्ररित गर्नुभएको छ । यस्ता अत्यावश्यकीय उपकरण बन्दोबस्त हुनसके आगामी वर्षदेखि नेपालले डढेलो नियन्त्रणमा उल्लेख्य परिणाम हासिल गर्न सक्नेछ ।
डढेलोको मात्र कुरा होइन, नेपालमा सामूहिक बसोबासका अग्ला र ठूला भवनहरूको प्रचलन बढ्दैछ । यस्ता भवनमा हुनसक्ने आगलागी नियन्त्रणको पूर्वतयारीमा पनि व्यक्ति स्वयं, समुदाय, स्थानीय तह र सङ्घीय सरकारले आवश्यक होसियारी तथा नीति तथा मापदण्ड तय गर्नु आवश्यक छ ।
डढेलो नियन्त्रण गर्न एरियल फायर फाइटिङ राम्रो विकल्प हो । विश्वमा यस्ता उपकरण तथा प्रविधिको प्रयोग हुँदै आएका छन् । अफ्रिकापछि दक्षिण एसिया डढेलोको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । पहाडी भूबनोटमा डढेलोको उच्च जोखिममा रहने भएकाले नेपालले डढेलो नियन्त्रणमा विशेष तयारी गर्नुपर्छ । डढेलोकै कारण कैयौँ नेपालीको ज्यान गइरहेको अवस्थामा हेलिकप्टरको प्रयोग अत्यावश्यक देखिन्छ । यसका साथै अन्य उपाय तथा प्रविधिका बारेमा पनि धारणा बनाउनुपर्ने हुन्छ । हेलिकप्टरको प्रयोग वनको डढेलोमा मात्र हैन, कतिपय अवस्थामा घरबस्तीमा हुने आगलागी नियन्त्रणमा पनि प्रभावकारी हुने निश्चित छ तर यो मात्र एक उपाय होइन जसले डढोलो पूर्णतः नियन्त्रण गर्न सकोस् । कम जनशक्तिको प्रयोगमा फराकिलो क्षेत्रमा लागेको डढेलो निभाउन सक्ने भएकाले यसलाई उपयुक्त मानिए पनि यसको उपलब्धता तथा लागत नेपालका लागि कति उपयुक्त हुनसक्छ भनेर गम्भीर हुनुपर्छ । यस्ता हेलिकप्टरले मूलतः पानीको प्रयोग गरेर आगो निभाउने गर्छन् । ग्यास प्रयोग गरेर पनि आगो निभाउन हेलिकप्टरको प्रयोग गर्न सकिन्छ । यी दुवैै कामका लागि हेलिकप्टरको प्रयोग निकै खर्चिलो, जोखिमपूर्ण र सीमित पहँुचमा हुने भएकाले आम रूपमा आगलागी तथा डढेलोविरुद्ध व्यक्ति र समुदाय नै रक्षाकवच हुनसक्छन् । आगलागी नियन्त्रणका लागि चालकहरूलाई विशेष तालिमको खाँचो पनि पर्ने छ । मुलुकैभर लागेको आगो निभाउन एक दुई हेलिकप्टर पर्याप्त हुन नसक्ने अवस्थामा वनको बीचमा बर्खाको पानी सङ्कलन गरेर राख्नेजस्ता घरेलु उपयालाई पनि बिर्सन हुँदैन ।
नेपालको भौगोलिक बनोट र हावापानीको विशेषताका कारण विशेषगरी डढेलो, बाढीपहिरो, डुबान, चट्टयाङका लागि जोखिमपूर्ण क्षेत्र मानिन्छ । यस्तै बर्खायाममा सडक दुर्घटना भई नदीतिर खस्दा गोताखोरको प्रयोग गर्नुपर्ने अवस्था हुन्छ । हिमाली क्षेत्र गरिने उद्धार, क्यानल (चेप) हरूमा गर्नुपर्ने उद्धारका लागि विशेष उपकरण, प्रविधि तथा जनशक्ति आवश्यक हुन्छ । जतिखेर समस्या आयो उत्तिखेरै गरिने तयारी र सामग्री खरिदको तत्परताभन्दा पनि नियमित रूपमा यस्ता समस्यासँग जुध्न सबै प्रकारका तयारी तथा बन्दोबस्ती गर्नुपर्छ । परम्परागत शैली र उपकरण प्रयोगले डढेलो नियन्त्रण गर्न सम्भव नभएकाले विश्वमा प्रचलित तरिका, प्रविधि तथा उपकरणको प्रयोगतिर नेपालको ध्यान जानुपर्छ तर यस्ता पहलको निरन्तरता अति महìवपूर्ण हुनेछ । आगलागीका दुष्परिणाम रोक्ने सबैभन्दा ठूलो उपाय जनचेतना नै हो । आफ्नो कारण परिवार र समुदाय नै जोखिममा पर्न सक्ने घटनाप्रति सचेतना अपनाउन हरेक व्यक्ति संवेदनशील हुनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?