logo
२०८० चैत्र १६ शुक्रवार



खुसी नेपालीको तथ्याङ्क

नेपालीहरू दक्षिण एसियामा सबैभन्दा दानी र दयालु देखिएका छन् ।

विचार/दृष्टिकोण |


खुसी नेपालीको तथ्याङ्क


डा. श्याम उपाध्याय

म केही दिनअघि सञ्चार माध्यममा नेपाल दक्षिण एसियाकै सबैभन्दा खुसीदेश भएको समाचार प्रकाशित भयो । अधिकांश नेपाली यो समाचार सुनेर झन् खुसी भए र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुँदै गएको कुरामा विश्वस्त भए । समाचारको आधार दिगो विकास समाधान सञ्जाल (सस्टेनेबल डेभेलोप्मेन्ट सोलुशन नेटवर्क– एसडीएसएन) नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रकाशित गरेको विश्व खुसीप्रतिवेदन–२०२१ र त्यसमा प्रस्तुत सूचकाङ्क थियो । एसडीएसएनको नेतृत्व अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफरी स्याक्सले गर्नुभएको छ जो एक प्रख्यात अर्थशास्त्री तथा दिगो विकासको क्षेत्रमा नाम चलेका विशेषज्ञ हुनुहुन्छ । प्रतिवेदन र तथ्याङ्कको स्रोत स्पष्ट भए पनि नेपालले यति उच्च स्थान कसरी हासिल ग¥यो भनेर कतिले प्रश्न गरे र सामाजिक सञ्जालमार्फत प्रतिवेदनमाथि अविश्वास पनि प्रकट गरे । केहीले त यो रिपोर्टलाई ट्रान्स्परेन्सी इन्टरनेसनलको रिपोर्टजस्तै अस्वीकार किन नगरेको भनेर सरकारलाई व्यङ्ग पनि हानेका छन् । हेरौँ, कस्तो छ ‘खुसीनेपाली’ को तथ्याङ्क र यसको विश्वसनीयताको आधार !
राष्ट्रहरूले विभिन्न क्षेत्रमा गरेको प्रगतिको तुलना र मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय संस्थाहरूमा थरिथरिका सूचकाङ्कहरूको प्रयोग गर्ने चलन व्याप्त छ । विकास भनेको एक बहुपक्षीय र बहुआयामिक अवधारणा भएकाले तथ्याङ्कको कुनै एक सूचकले मात्रै सबै पक्ष समेट्न सक्दैन भन्ने मान्यता राखेर तथ्याङ्क विज्ञानले निर्देशित गरेबमोजिम एक जटिल प्राविधिक प्रक्रियाद्वारा यस्ता सूचकाङ्कहरूको निर्माण गरिएको हुन्छ । यसो गर्दा तथ्याङ्कका आँकडाहरूलाई नीति निर्माता र सर्वसाधारणले समेत सजिलै बुझ्ने गरी प्रस्तुत गर्न सकिन्छ । समयान्तरमा सूचकाङ्कमा देखिने निरपेक्ष परिवर्तनले राष्ट्र विशेषको प्रगति देखाउँछ भने यसको स्थान परिवर्तनले अन्य राष्ट्रको तुलनामा भएको सापेक्ष उपलब्धि औँल्याउँछ । अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू यस्ता सूचकाङ्कहरूलाई विकासका नतिजाको मूल्याङ्कन गर्न र नयाँ लक्षित समूहको पहिचान गर्न प्रयोग गर्छन् । हाल विश्वमा करिब दुईसय वटा यस्ता सूचकाङ्क प्रचलनमा छन्, जसमध्ये राष्ट्रसङ्घीय विकास कार्यक्रमले प्रकाशित गर्ने मानव विकास सूचकाङ्क, विश्व बैङ्कको व्यवसाय सञ्चालन सरलता सूचकाङ्क, राष्ट्र सङ्घीय औद्योगिक विकास सङ्गठनको प्रतिस्पर्धात्मक औद्योगिक विकास सूचकाङ्क र विश्व खाद्य तथा कृषि सङ्गठनको खाद्य असुरक्षा सूचकाङ्कबारे नेपालमा पनि पर्याप्त जानकारी छ ।
तथ्याङ्कको स्रोतका आधारमा यी सूचकाङ्कहरूलाई तीन समूहमा विभाजित गर्न सकिन्छ ः पहिलो वस्तुगत मापनबाट प्राप्त सङ्ख्या या तथ्यमा आधारित; दोस्रो उत्तरदाताको व्यक्तिगत अनुमान या धारणामा आधारित र तेस्रो मिश्रित सूचनामा आधारित । उदाहरणका लागि मानव विकास सूचकाङ्क प्रतिव्यक्ति आय, औसत आयु र शैक्षिक सूचक (प्रौढ साक्षरता र स्कुल भर्नादरको औसत) को आधारमा निकालिन्छ । यसमा प्रयोग भएका सबै तथ्याङ्क वस्तुगत मापनबाट निकालिएका हुन् र जो कोहीले पनि केन्द्रीय तथ्याङ्क विभाग या सम्बन्धित सरकारी निकायबाट ती तथ्याङ्क प्राप्त गर्न सक्छन् । यस्ता तथ्याङ्कको विश्वसनीयताको प्रमुख आधार त्यसको स्रोत र सम्पादन प्रणालीको पारदर्शिता हो ।
दोस्रो थरिका सूचकाङ्कमा प्रयोग गरिने सूचना उत्तरदाताको व्यक्तिगत धारणामा आधारित हुन्छ । यसको उदाहरण ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशित गर्ने भ्रष्टाचारसम्बन्धी सूचकाङ्क हो । ट्रान्सपरेन्सीको सर्भेमा ‘तपाईंको विचारमा गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचार बढेको छ या घटेको छ’ भन्ने प्रश्न सोधेर उत्तरदाताको धारणा मागिन्छ । घटेको छ भनेका र बढेको छ भनेका उत्तरदाताहरूको सङ्ख्याबाट भ्रष्टाचार बढेको या घटेको निष्कर्ष निकालिन्छ । यस्ता प्रश्न एउटै व्यक्तिलाई एकैदिनमा विभिन्न समयमा एउटै या भिन्न व्यक्तिले सोध्यो भने पनि उत्तर फरक फरक आउनसक्छ । तर उसले आफ्नो पेसा, उमेर, शैक्षिक योग्यता जतिचोटि सोधे पनि फरक पार्दैन । भ्रष्टाचारजस्तो विषयमा त सरकारमा कुन दल छ र उत्तरदाता सत्तासीन या विपक्षी कुन दलको समर्थक हो जस्ता कुराले पनि उसको धारणामा प्रभाव पार्न सक्छ । त्यसैले यस्ता तथ्याङ्क वस्तुगत र पूर्वाग्रहरहित हुँदैनन् । ट्रान्सपरेन्सीको पछिल्लो प्रतिवेदनमा त उत्तरदातालाई सोध्दै नसोधिएको प्रश्न (प्रधानमन्त्रीबाट भ्रष्टाचारीलाई संरक्षण) मा पनि सर्भेको निष्कर्ष भनेर प्रस्तुत गरिएको थियो अर्थात् यस्ता सर्भेका नतिजालाई गलत मनसायबाट दुरुपयोग गर्न सकिन्छ । त्यसैले यस्ता सूचकाङ्कप्रति जनविश्वास न्यून हुन्छ ।
विश्व खुसीसूचकाङ्क तेस्रोथरिको अर्थात् मिश्रित सूचनामा आधारित सूचकाङ्क हो । यसमा क्रयशक्ति समायोजित प्रतिव्यक्ति आय र सरदर आयुजस्ता वस्तुगत मापनमा आधारित परिसूचकका साथसाथै जीवनका लागि महìवपूर्ण रोजाइका स्वतन्त्रता, दुःखको समयमा आफन्त या इष्टमित्रबाट पाएको मद्दत, सामाजिक कल्याणका लागि आफूले गरेको सहयोग (दान, चन्दा), जीवनयापनमा भएका सकारात्मक (हाँसो, सुख र आनन्दका क्षणहरू) तथा नकारात्मक (दुःख, चिन्ता र क्रोध) अनुभूतिहरू जस्ता विषयमा उत्तरदाताको धारणा लिइएको छ । यी प्रश्नहरूको उत्तर व्यक्तिगत अनुभवको आधारमा दिइने भए तापनि बाह्य कारणजस्तो राजनीतिक आस्था या अन्य पूर्वाग्रहले पार्न सक्ने असर न्यून छ । यसमा भ्रष्टाचारसम्बन्धी परिसूचक पनि समावेश गरिएको छ तर अन्य वस्तुगत र विषयगत प्रश्नहरू पनि भएकाले सूचकाङ्कको कुल योगमा यसको देन पाँच प्रतिशत मात्र छ ।
विश्व खुसीप्रतिवेदन –२०२१ सन् २०२० सम्म उपलब्ध तथ्याङ्कको आधारमा तयार गरिएको हो । सन् २०२० को तथ्याङ्क उपलब्ध नभएको अवस्थामा त्यसअघिका वर्षको तथ्याङ्कबाट प्रक्षेपण गरेर प्राप्त अनुमानित अङ्क प्रयोग गरिएको छ । प्रतिवेदनले समेटेका आठ परिसूचकका लागि सङ्कलन गरिएका तथ्याङ्कबाट अलग–अलग सूचकाङ्क तयार गरिएको छ । यी सबै सूचनालाई समेटेर एक समग्र सूचकाङ्क तयार गरिएको छ र त्यसैको आधारमा देशहरूलाई क्रमबद्ध गरिएको छ । यस क्रममा एक नम्बरमा आएको देश फिनल्याण्डको अङ्क ७.८४२ र अन्तिम १४९ सौँ स्थानमा पुगेको देश अफगानिस्तानको अङ्क २.५२३ छ । नेपालले ५.२६९ अङ्क प्राप्त गरेको छ जुन सार्क क्षेत्रका राष्ट्रहरूमा सबैभन्दा उच्च र सूचकाङ्कले समावेश गरेका सबै देशको तुलनामा मध्यभन्दा अलिक माथि हो । प्रतिवेदनमा प्रस्तुत तथ्याङ्कले नेपालको स्थानमा गत तीन वर्षदेखि निरन्तर सुधार भइरहेको देखाउँछ ।
सार्क क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको स्थान यस सूचकाङ्कमा १३९ सौं छ र यसभन्दा तल अफगानिस्तान मात्र छ । नेपालसँग निकटतम ८९ औँ स्थानमा मालदिभ्स छ । विगतका प्रतिवेदनहरूमा नेपालभन्दा उच्च स्थान हासिल गर्ने गरेको भुटान सन् २०२१ को प्रतिवेदनमा तथ्याङ्कको अभावको कारणले समावेश गरिएको छैन ।
समग्र सूचकाङ्कको साथसाथै नेपालको स्थान सामाजिक परिसूचकहरूमा उच्च छ । नेपालीहरू दक्षिण एसियामा सबैभन्दा दानी र दयालु देखिएका छन् । तर यस परिसूचकमा इण्डोनेसिया विश्वमै सबैभन्दा माथि छ । एक मननयोग्य तथ्य के देखिएको छ भने नेपालको साथसाथै कम आय भएका अन्य मुलुकजस्तो हैटी, लाओस र म्यान्मारका जनता धनी राष्ट्र अमेरिका, चीन र स्वीट्जरल्याण्डका बासिन्दाभन्दा बढी दानी देखिएका छन् । यसले ‘धन हुनेको मन हुँदैन’ भन्ने नेपाली भनाइको स्मरण गराउँछ । दुःखको समयमा आफन्त या इष्टमित्रबाट मद्दत पाउनेमा नेपालीहरूको स्थान मालदिभ्स र श्रीलङ्कापछि तेस्रो छ ।
देशमा भ्रष्टाचार व्याप्त छ भन्ने धारणा राख्नेहरूको सङ्ख्यामा सार्क क्षेत्रमा अफगानिस्तान सबैभन्दा माथि छ र सर्भे गरिएका सात मुलुकमध्ये नेपालको स्थान छैठौँ छ । नेपालीहरूले जीवनमा सकारात्मक क्षण, आनन्द र सुखको त्यति अनुभूति गर्न नपाएको बताएका छन् । श्रीलङ्काले सबैलाई उछिनेको छ । तर नेपालीहरूले नकारात्मक भावना पनि त्यति राखदैनन् र उनीहरू सार्क क्षेत्रका सबैभन्दा निश्चिन्त जनता देखिएका छन् । स्वस्थ्य जीवन सूचकाङ्कमा दक्षिण एसियामा माल्दिभ्स र श्रीलङ्का उच्च स्थानमा छन् । नेपाल चौंथो स्थानमा भारत र पाकिस्तानभन्दा माथि छ । यस सूचकाङ्कमा तीन एसियाली मुलुक सिङ्गापुर, हङकङ र जापानले विश्वमै क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।
नेपालको सबैभन्दा कमजोर पक्ष प्रतिव्यक्ति आय हो जुन देशको आर्थिक विकासको स्तरमा भर पर्छ । सार्क क्षेत्रमा नेपालको भन्दा कम प्रतिव्यक्ति आय भएको देश अफगानिस्तान मात्रै हो । प्रतिवेदनमा समावेश गरिएका १४९ देशमध्ये नेपालको स्थान १२२ सौं र अफगानिस्तानको १३३ औं छ । अवश्य नै समग्र राष्ट्रिय विकासका कैयौँ पक्ष सामाजिक मान्यता, जनसमुदायको सिर्जनशीलता, व्यवहार र परम्परामा पनि भर पर्छ । तर आर्थिक विकासविना कुनै पनि ठूला उपलब्धि हासिल हुन सक्दैन र यसका लागि राज्यको अग्रसरता, विकासमुखी नीति र संरचनात्मक परिवर्तन अपरिहार्य छन् । यो नै यस प्रतिवेदनको एक मुख्य सन्देश पनि हो ।
विश्व खुसीप्रतिवेदन संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा घोषणा गरेको दिगो विकासका लक्ष्यहरूको पृष्ठभूमिमा सन् २०१६ देखि नियमित रूपमा हरेक वर्ष प्रकाशित हुन थालेको हो । दिगो विकासका लक्ष्यहरू पूरा गर्न राष्ट्रहरूले हासिल गरेका प्रगतिको अनुगमन गर्ने उद्देश्यले यस्ता अरू सूचकाङ्क र प्रतिवेदनहरू प्रकाशित भई नै रहनेछन् । मुख्य कुरा नेपालले ती लक्ष्यहरूमा उल्लेख भएका आर्थिक, सामाजिक र वातावरणीय विकासका कार्यक्रम कति तदारुकताका साथ सञ्चालन गरेको छ भन्ने हो । यदि त्यसमा सफल भयौँ भने हाम्रा सूचकाङ्कहरूले नेपालको स्थान निरन्तर उच्च राख्नेछन् ।
(लेखक भियनास्थित राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठनका पूर्वप्रमुख तथ्याङ्कविद् हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?