logo
२०७८ कार्तिक १० बुधवार



खुसी हुने कलाको सिकाइ

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

खुसीलाई ठोस रूपमा परिभाषित गर्न कठिन हुन्छ । वस्तुगतभन्दा विषयगत कुरा भएकाले एउटै परिवेश, घटना र सन्दर्भमा पनि फरक–फरक व्यक्ति खुसी वा बेखुसी हुन सक्छन् । यसैले आर्थिक सम्पन्नता, विपन्नता वा कुनै वस्तुको प्राप्ति र अप्राप्तिलाई सोझै खुसीसँग जोड्न सकिँदैन । केही समय अगाडिसम्म संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले जनताको जीवनस्तर मूल्याङ्कन गर्नेक्रममा आर्थिक पक्ष, स्वास्थ्य र जीवनकाललाई प्रमुख आधार मानेको पाइन्थ्यो । अहिले जनताको वास्तविक स्तर पत्ता लगाउन खुसीलाई महŒवपूर्ण पक्षका रूपमा स्वीकार गर्न थालिएको छ ।
मानिस हरेक पल खुसी हुन चाहन्छ । भविष्यमा खुसी र सुखी भन्ने सपना साँचेर वर्तमानमा दुःख–कष्ट सहँदै काममा खट्ने मान्छे खुसीलाई सहज रूपमा बोध गर्न नसक्दा जीवनभर बेखुसीमा रुमल्लिन विवश हुन्छ । युवावस्थाभर कडा परिश्रम गरेर धन–सम्पत्ति जम्मा गर्ने र ४० कटेपछि रमाउने भन्ने भनाइ नेपाली जनमानसमा पाइन्छ तर यस भनाइले वास्तविक खुसीभन्दा आर्थिक सम्पन्नतालाई मात्र खुसी ठानेको महसुस हुन्छ । खुसी के हो र यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा नेपालमा न बाल्यकालमा घरमा सिकाइन्छ न यसबारेमा विद्यालयमा नै पढाउने गरिन्छ । जीवनमा सम्पूर्ण कुरा प्राप्त गरिसकेपछि खोजी गरिरहने अर्थात् प्राप्तिमध्येको पनि सर्वोच्च प्राप्ति खुसी हुँदाहुँदै हामीले अन्य सीप सिक्नका लागि जति समय खर्चिन्छौँ, त्यसको सानो अंश पनि खुसी पहिचान गर्ने र खुसी रहनका लागि गर्नुपर्ने क्रियाकलापका लागि छुट्ट्याउन सकेका छैनौँ । यसैले खुसी भेटिने आशामा आजको मानिस बेखुसीमै आफ्नो जीवन समाप्त गर्न विवश भएको छ ।
बालबालिकालाई कलिलो उमेरदेखि नै अरूजस्तो बन्ने प्रेरणा दिइन्छ । उसले गरेका गल्तीमा तथाकथित राम्रो काम गर्ने मानिसको उदाहरण दिएर सम्झाइन्छ र त्यस्तै बन्न प्रेरित गरिन्छ । अझ घरमा दुई वा सोभन्दा बढी बालबालिका छन् भने उनीहरूका बीचमा हरेक कुरामा प्रतिस्पर्धा गराउने अभिभावकको सङ्ख्यामा कमी छैन । भाइबहिनीका क्रियाकलाप र आनीबानीसँग तुलना गरेर सुध्रिनका लागि सजग बनाउने शिक्षित वा अशिक्षित अभिभावकले आफ्नो यस क्रियाकलापले बालबालिकालाई बेखुसी बनाउँछ भन्ने कुरामा त्यति ध्यान दिएको देखिँदैन ।
विद्यालयमा विद्यार्थीलाई जबर्जस्ती भए पनि विभिन्न किसिमका सूचना सङ्कलन गर्न र रट्नका लागि प्रेरित गरिन्छ । आफूले पढेको कुरा आफ्नो जीवनका लागि किन र कहाँ आवश्यक पर्छ वा पढेका कुराले आफ्नो जीवनलाई कसरी सुखी र खुसी बनाउन सक्छ भन्ने कुरा नबुझेपछि बालबालिकाले आफूले पढिरहेको कुरा वा गरिरहेको काम आफ्नै लागि हो भनेर बुझ्न सक्दैनन् । उनीहरू पहिलेदेखि चलेको चलन वा अभिभावकका लागि आफूले गरिदिनुपर्ने कामका रूपमा विद्यालयमा गरिने पठनपाठनका क्रियाकलापलाई लिएका हुन्छन् । घरमा बेखुसी भएका बालबालिका विद्यालयमा अन्य सीप विकासका लगि गरिने पठनपाठनमा सहभागी भए पनि जीवनमा कसरी खुसी रहने भन्ने विषयमा ज्ञान आर्जन गर्न नपाउँदा जीवनभर तनावमा रहन विवश हुन्छन् ।
माहन एन. ई. यार्चेस्की ए एन्ड यार्चेस्कीले सन् २०१० को ‘ह्याप्पिनेस एज रिलेटेड टु जेन्डर एन्ड हेल्थ इन अर्ली एडोल्सेन्ट’ भन्ने क्लिनिकल नर्सिङ रिसर्च (शोध)मा निष्कर्ष निकाल्नुभएको छ‐ जीवनका लागि अन्य सीपहरू सिक्न जति आवश्यक हुन्छ, त्यसभन्दा बढी खुसी हुने कला सिक्नुको महŒव रहन्छ । खुसी हुने कला सिकाउन बाल्यकाल उपयुक्त समय हो, किशोरावस्थापछि सिकाउन सम्भव नहुने अध्ययनले देखाएको छ । संज्ञानात्मक, व्यक्तित्व निर्माण र सामाजिक सीपको विकासका दृष्टिले बाल्यकाल नै यी कला सिक्नका लागि उपयुक्त हुने भएकाले किशोरावस्थाभन्दा अगाडि नै खुसी हुने कला सिकाउनुपर्छ । कोकायोरुक र टेलेफले सन् २०१५ मा गरेको अध्ययनमा पनि बाल्यकालमा बसेको बानी जीवनकै जगका रूपमा सुदृढ बन्ने र यसै जगमा उसको सम्पूर्ण जीवनयात्रा चल्ने भएकाले बाल्यकालमा घरपरिवार र साथीको सङ्गत कुन रूपमा भयो भन्ने कुराले जीवनभर प्रभाव पारेको हुन्छ भन्ने निष्कर्ष निकाल्नुभएको छ ।
मसुद बदरी र अन्यद्वारा अबुधाबी स्कुलका १४ हजार ८३७ विद्यार्थीमा गरिएको अध्ययन ‘द इफेक्ट अफ होम एन्ड स्कुल अन चिल्ड्रेन्स ह्याप्पिनेस ः अ स्ट्रक्चरल इक्वेसन मोडेल’मा पनि नकारात्मक संवेगभन्दा सकारात्मक संवेगको बाहुल्य भई जीवनप्रति सकारात्मक दृष्टिकोण र सन्तुष्टिको विकास भएको अवस्था खुसी अवस्था भनी परिभाषित गरिएको छ । यस अध्ययनले बालबालिकालाई खुसी हुने कला सिकाउने सन्दर्भमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालयका प्रधानाध्यापक र सहयोगी कर्मचारीको व्यवहार र भूमिका महŒवपूर्ण हुने देखाएको छ ।
जीवनोपयोगी शिक्षाका रूपमा अहिले पाठ्यपुस्तक तयार गरी विभिन्न कुरा सिकाउन खोजिएको भए पनि जीवनका लागि वास्तवमै आवश्यक पर्ने सीप सिकाउने दिशामा अझै हामी अग्रसर हुन सकेका छैनौँ । शिक्षाले हाम्रा बालबालिकालाई जीवनमा शान्त रहन, सिर्जनशील बन्न, मानवीय मूल्यबोध गर्न र खुसी हुन सिकाउनुपर्छ । जीवनका महŒवपूर्ण अङ्गका रूपमा छन्– यी कलाहरू । हाम्रा विद्यार्थीलाई दबाब र तनावमा राखेर जसरी हुन्छ नतिजा राम्रो बनाउने उद्देश्य लिइएको देखिन्छ ।
राम्रो अङ्क प्राप्त गर्नु नै असल शिक्षा प्राप्त गर्नु हो भन्ने भ्रममा हामी बालबालिकाको सिर्जनशीलता नष्ट गरेकामात्र छैनौँ, उनीहरूलाई जीवनभर खुसी हुन नसक्ने बनाएका छौँ । घरपरिवारमा आमाबाबुका व्यवहार र आचरणबाट बालबालिकाको खुसीमा अवरोध आउनुहुँदैन । सामान्यतया अबको २५÷३० वर्षपछिको समाजका लागि उपयुक्त हुने जनशक्तिका रूपमा हुर्कंदै गरेको बच्चालाई अभिभावकले अहिलेबाटै विस्थापित हुन लागिसकेको आफूजस्तै बनाउने प्रयास गर्दा बालबालिकाको न रुचि मिल्न सक्छ न सिकाइएको सीप र दिइएको ज्ञान उसको जीवनका लागि उपयुक्त नै हुन्छ । यसैले बालबालिकालाई मजस्तो वा अन्यजस्तो बनाउँछु भनेर प्रयास गर्नु निरर्थक छ । उसलाई स्वयम् कस्तो छ, सो कुराको बोध गराई ऊजस्तै बन्ने काममा सहयोग पु¥याउनु अभिभावक, शिक्षक र अन्य सचेत व्यक्तिको कर्तव्य हो ।
बच्चाको प्रकृति कस्तोे छ भन्ने बुझेर उसलाई सहयोग गर्न शिक्षकहरू लाग्ने हो भने वास्तवमा बच्चाको रुचि र खुसी बढ्छ र सिकाइ प्रभावकारी बन्छ । यस अवस्थामा मात्र हरेक काममा बालबालिकाको संलग्नता बढ्छ । न्युरो लिडरसिप इन्स्टिच्युटका सहप्रवर्तक डा. डेभिड रक संलग्नताले कठिन काम गर्न, जोखिम लिन, विषयबारेमा गम्भीर रूपमा चिन्तन गर्न र नयाँ समाधान खोज्न सहयोग पु¥याउने धारणा राख्नुहुन्छ । उहाँले रुचि, खुसी, उमङ्ग र चाहनालाई सबैका लागि आवश्यक संवेग भन्नुभएको छ । यी संवेगले मस्तिष्कमा डोपामाइनको तह वृद्धि गर्नुका साथै सिकाइमा रुचि बढाउने काम गर्छन् भन्ने दृष्टिकोण छ । युनेस्कोले सहानुभूति, सहिष्णुता, विविधतापूर्ण समाजलाई सम्मान गर्न सिक्नु तथा समूह कार्यको सम्बन्ध विकासको गर्ने सीप आर्जन गर्नुलाई सिकाइका मुख्य खम्बा मानेको छ ।
बालबालिकालाई खुसी हुन सिकाउने सन्दर्भमा शिक्षक, कर्मचारी र अभिभावककोे खुसीको पनि महŒवपूर्ण भूमिका हुन्छ । शिक्षक र अभिभावकमा रहेको तनाव बालबालिकामा सम्प्रेषण भएर बालबालिका मनोसामाजिक समस्याबाट ग्रस्त हुने गरेको पाइन्छ । यसै कुरालाई आत्मसात् गरेर स्ट्यान्डफोर्ड युनिभर्सिटीले १४८५ नम्बरको सन्देशमा विद्यार्थीलाई खुसी राख्न शिक्षक, विषय शिक्षकमात्र नभएर, समग्र कुराको प्रदर्शक, मार्गदर्शक बनी विद्यार्थीको बुझाइ र सिकाइमा सहानुभूति र उत्प्रेरणा थप्ने आदर्श व्यक्ति बन्नुपर्ने कुरा उल्लेख गरेको छ । वास्तवमै खुसी भएर सीप सिक्दै गरेका विद्यार्थीले नै शैक्षिक उपलब्धिमा राम्रो फड्को मार्न सक्ने निष्कर्ष पनि स्ट्यान्डफोर्ड युनिभर्सिटीले निकालेको छ ।
विद्यालयमा बालबालिकालाई सूचना घोकाउनुको सट्टा सीप सिकाउने उद्देश्य नराखे सिकाइप्रति रुचि जाग्ने छैन । उनीहरूलाई अन्य कुरा सिकाउनुभन्दा पहिला खुसी हुने कला सिकाउनु आवश्यक छ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?