logo
२०८१ बैशाख ७ शुक्रवार



मिडिया र एजेण्डा सेटिङ

मिडियाको सार्वजनिक कार्यसूची तय गर्न सक्ने भूमिकाका कारण व्यापारिक, राजनीतिक, कूटनीति वा अन्तर्राष्ट्रिय सञ्जालको सफलताका लागि मिडियाको सहयोगलाई अपरिहार्य ठान्ने गरिन्छ ।

विचार/दृष्टिकोण |




डा. कुन्दन अर्याल


उत्तरआधुनिक विश्वमा सार्वजनिक महìवका यावत् विषयलाई मिडियाको आँखाले अवलोकन गर्ने चलन सर्वव्यापी छ । जसले गर्दा आममानिस धारणा र दृष्टिकोण तय गर्दा वा कुनै व्यवहार आवलम्बन गर्दा जानेर वा नजानेर आमसञ्चारका माध्यमहरूबाट प्रभावित भइरहेको हुन्छ । सचेत मानिस आफ्नै सामान्य ज्ञान वा अवलोकनका आधारमा मिडियाको अन्तर्वस्तुको फिल्टर गर्न (छान्न) सक्षम हुन्छन् । तर आजका सर्वव्यापी मिडिया विश्वका कुनै पनि कुनामा आर्थिक सामाजिक वा राजनीतिक क्षेत्रलाई आकार प्रदान गर्न धेरै वा थोरै सक्षम देखिँदै आएका छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाइनबाट भइरहेका पत्रकारिताका अतिरिक्त पुस्तक, फिल्म, सङ्गीत आदि आमसञ्चारका अनेक माध्यम विश्वभरि नै आममानिसका दैनिकीसँग अन्योन्याश्रित रूपमा जोडिएका छन् । त्यसैले सन् १९६० दशकमा एक फ्रान्सिसी दार्शनिक गाय डिवोर्डले उत्तरआधुनिक समाजलाई चस्माको समाज भनेका थिए । उनले विविध किसिमका मिडियाको अस्तित्व भएको समाजमा मानिसमा आफ्नै आँखाले देखेको भन्दा पनि मिडियाको चस्मा लगाउँदा देखिएको कुरा पत्याउने प्रवृत्तिलाई औँल्याएका छन् ।
मिडियाको सार्वजनिक कार्यसूची तय गर्न सक्ने भूमिकाका कारण व्यापारिक, राजनीतिक, कूटनीति वा अन्तर्राष्ट्रिय सञ्जालको सफलताका लागि मिडियाको सहयोगलाई अपरिहार्य ठान्ने गरिन्छ । तर एजेण्डा सेटिङ (विषय स्थापना) को प्रयत्न सधैँ सफल हुँदैन । त्यसको सफलताका केही पूर्वसर्त पूरा गरिनु पर्छ । ती पूर्वसर्तहरू बारेमा बुझ्न दुईवटा प्रश्नअघि सार्न सकिन्छ । पहिलो, मिडियाको एजेण्डा सेटिङ भूमिका प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पर्ने तìवहरू के–के हुन् ? दोस्रो, मिडिया एजेण्डा, सार्वजनिक एजेण्डा र नीति एजेण्डाजस्ता एजेण्डा सेटिङ प्रक्रियाका तीन प्रमुख अवयवहरूबीचको फलदायी समन्वय कसरी कायम गर्न सकिएला ?
विख्यात सञ्चार विज्ञ मक्वायलले एजेण्डा सेटिङलाई योजनाबद्ध वा वाञ्छित र अल्पकालीन असरका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार कार्यसूची निक्र्योल वा एजेण्डा सेटिङ यस्तो प्रक्रिया हो, जसबाट कुुनै खास घटना, व्यक्ति वा मुद्दाका विषयमा समाचार वा समाचारजन्य सामग्रीमा तुलनात्मक रूपमा बढी स्थान वा समय उपलब्ध गराइन्छ, महìवलाई उजागर गरिन्छ । मिडियाको त्यस्तो प्रस्तुतिको विस्तारका रूपमा सार्वजनिक नीतिको तर्जूमा हुने गर्छ । तर जनमतद्वारा मुखरित नभएको वा जनभावनाका रूपमा मान्यता नपाएको अमूक विषयमा मिडियाले निहित स्वार्थका लागि अघि सारेको एजेण्डा भने पब्लिक एजेण्डामा रूपान्तरित हुन सक्दैन । त्यस्तो एजेण्डा पोलिसी (नीति) एजेण्डासँग एकाकार हुन सक्दैन । अर्कोतिर, जनतालाई निराश हुन नदिन आर्थिक–सामाजिक सवालका साथै लोकतान्त्रिक हकअधिकारको उपयोग वा न्यायको पहुँचमा उत्पन्न व्यवधान, लोककल्याण सम्बन्धी संवैधानिक र कानुनी प्रावधानको कार्यान्वयनमा देखिएका ढिलासुस्तीजस्ता मुद्दाहरूमा भने एजेण्डा सेटिङ गर्न सकिन्छ । अनि, अपेक्षित परिणाम पनि हासिल गर्न सकिन्छ ।
राजनीतिमा चासो राख्ने पत्रकारले राजनीति सम्बन्धी रिपोर्टिङ वा विश्लेषणमार्फत सार्वजनिक नीतिसम्बन्धी बहसमा पनि भाग लिइरहेको हुन्छ भन्ने मानिंदै आएको छ । यसमा कुनै मतैक्य छैन, राजनीतिले जनताको दैनन्दिनको जीवनमा असर पार्ने भएकाले नै बृहत रूपमा हेर्दा राजनीति पत्रकारिताको मूल विषय बन्न पुगेको हो । राज्य सञ्चालनका विविध जिम्मेवारीमा रहेका व्यक्तिहरूले गर्ने निर्णयले हरेक नागरिकको जीवनमा प्रभाव पार्दछ । सिद्धहस्त पत्रकारहरू भन्छन्, करमा कटौती वा वृद्धि, राहतको घोषणादेखि अनेक सार्वजनिक महìवका घटना वा निर्णय ठूला–ठूला समाचार हुन्, जनताको मूल चासो त्यस्तै विषयहरूमा हुने गर्छ । प्रायः यस्तै–यस्तै परिणामात्मक पक्षहरूमा पत्रकारहरूको ध्यान केन्द्रित हुने गरेको देखिन्छ ।
आजको युगमा मिडियाले जे प्रसार ग¥यो त्यही जस्ताको त्यस्तै पत्याउँछन् भन्ने दोस्रो महायुद्धअघिको सिद्धान्त पुरानो भइसक्यो । तर आज पनि मिडियाले आममानिसलाई के–के विषयमा सोच्न जरुरी छ भन्ने छाप पार्न सक्छ । त्यसैले मिडियाले जे–जे विषयलाई बढी महìव दियो, त्यही–त्यही विषयमा मानिसको ध्यान जानु आजको युगमा पनि स्वाभाविकै हो । एजेण्डा सूचीको अवधारणा यही आधारमा विकसित भएको हो । केही विज्ञहरूले एजेण्डा सेटिङलाई राजनीतिक–सामाजिक मुद्दाको पक्षमा वकालत गर्नेहरूबीच मिडियाको ध्यानाकर्षणका निम्ति प्रतिस्पर्धात्मक रूपमा निरन्तर चलिरहने प्रक्रियाका रूपमा परिभाषित गरेका छन् । जनसरोकार जुन मुद्दामा ध्यानाकर्षण गराउन कुनै अभियन्ता वा समूह सक्रिय देखिन्छ, त्यही मुद्दाले महìव पाउँछ भन्ने निष्कर्ष निकाल्दै उनीहरूले पत्रकारितामार्फत कार्यसूची निक्र्योल गरिएका अनेक उदाहरण प्रस्तुत गरेका छन् । सन् १९७० अघि संयुक्त राज्य अमेरिकामा धूमपान ठूलो सामाजिक समस्याका रूपमा थियो । तर त्यसपछिको २५ वर्षमा धूमपानविरुद्धको अभियान एकैपटक सार्वजनिक कार्यसूची, मिडियाको कार्यसूची र नीति कार्यसूचीका रूपमा सतहमा आयोे । लगत्तै तीनै किसिमको कार्यसूची एकै ठाउँमा सम्मिलन भएकै कारण धूमपान प्रचलन पहिलेको तुलनामा निकै घट्न गयो ।
मिडियाको कार्यसूची निक्र्योल गर्ने भूमिका सार्वजनिक कार्यसूची र नीतिगत कार्यसूचीसँग समाहित हुन सकेको खण्डमा उल्लेखनीय परिवर्तन हुन सक्छ । यस सन्दर्भमा दुई अध्येता डियरिङ र रोजर्सभन्नुहुन्छ ः केवल आफ्नो उद्देश्य पूर्तिका लागि मिडिया व्यक्तित्व र संस्थाहरूले गर्न चाहेको एजेण्डा सेटिङ प्राय असफल भएका छन् । त्यसैले भनिएको हो, जनता आफैँले भोगेको अवस्थालाई मिडियामा पढेको, देखेको र सुनेको कुरासँग तुलना गरेपछि मात्र कुनै पनि मुद्दाका सम्बन्धमा अर्थ ग्रहण गर्छन् । डियरिङ र रोजर्सका अनुसार एजेण्डा सेटिङ प्रक्रिया मिडिया एजेण्डा, पब्लिक एजेण्डा र पोलिसी एजेण्डा अनि यी किसिमका कार्यसूचीबीचको अन्तरसम्बन्धबाटै निर्दिष्ट हुने गर्छ । तसर्थः जनतासँगको सम्बन्धलाई महìव दिने, आमजनताका सवाललाई बुझ्न सक्ने वा जनमतको कदर गर्न सक्ने आमसञ्चार माध्यमले मात्र प्रभावकारी रूपमा एजेण्डा सेटिङमा सफलता प्राप्त गर्न सक्छन् ।
भनिन्छ, मिडिया एजेण्डामा अन्तरनिहित सारले नै पाठक, दर्शक वा स्रोतालाई कुनै खास विषयमा सोच्न बाध्य पार्दछ । यस सन्दर्भमा सञ्चार विज्ञ म्याकम्व त अझ अघि बढेर भन्नुहुन्छ ः समाचारले हामीलाई के सोच्ने भन्ने मात्र बताउँदैन, त्यसले खास विषयमा कसरी सोच्ने भन्ने समेत बताउँछ । त्यसैले अर्का दुई अध्येता सेभेरिन र टान्कार्ड भन्नुहुन्छ ः एजेण्डा सेटिङ कुनै पनि सामाजिक मुद्दाका सम्बन्धमा आममानिसको धारणा आमसञ्चार माध्यमका सामग्रीबाट प्रभावित हुन्छ भन्ने अवधारणामा अडेको छ । यस सम्बन्धमा उहाँहरू अझ प्रष्ट पार्दै भन्नुहुन्छ ः अब एजेण्डा सेटिङको अवधारणा एजेण्डा विल्डिङमा रूपान्तरित हुनुपर्छ, जहाँ मिडिया, सरकार र सार्वजनिक प्रभावको संयुक्त प्रक्रियामा खारिएपछि कुन मुद्दालाई महìवपूर्ण मान्ने भन्ने विषयमा टुङ्गो लाग्छ । नेपालको विद्यमान संविधानको धारा १९ले अभिव्यक्ति स्वतन्त्रता र निर्वाध सूचना प्रवाहको प्रत्याभूति गरिसकेपछि लोकतान्त्रिक अधिकारका सम्बन्धमा सैद्धान्तिक मतभेद कायम रहेको छैन । राष्ट्रिय आमसञ्चार नीति (२०७३) ले संविधानकै मर्मअनुसार राष्ट्रिय हित र राष्ट्रिय एकताको प्रवद्र्र्धनद्वारा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समद्ध समाजको निर्माणमा अग्रसर सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने ध्येय अघि सारेको छ । सञ्चार नीतिले मुलुकले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने परिकल्पना अघि सारेको छ । त्यसैले अब नेपाली मिडियाले समाजमा आफूप्रतिको निर्भरता अझ बढाउन सक्छन् । त्यसका लागि मिडियाले जनताका पीरमर्का हटाउन सहयोगी हुने विषयमा एजेण्डा सेटिङका लागि भूमिका निर्वाह
गर्न सक्छन् ।
विभिन्न कालखण्डमा समाजमा आमसञ्चार माध्यमको प्रभावका सम्बन्धमा अध्ययन हुँदै आएको छ । तर प्रभावको तीव्रता वा प्रकृतिका सम्बन्धी धारणामा बहस हुँदै आएको भए पनि आमसञ्चार माध्यमको प्रभाव हुन्छ भन्ने विषयमा कुनै विमति छैन । त्यसैले नै मिडियाको प्रभाव लोकतान्त्रिक प्रक्रियाको प्रवद्र्धनका निम्ति सदुपयोग हुनुपर्छ भन्ने आग्रह व्यापक हुन गएको हो । अतः लोकतान्त्रिक संस्कृतिको विकास र सुदृढीकरणका निम्ति आमसञ्चार माध्यमको कार्यसूची प्रत्यारोपणको भूमिका प्रभावकारी हुनका निम्ति विधि, वातावरण र वाहक वा व्यवहार तीनवटै पक्ष अनुकूल हुन आवश्यक हुन्छ । आमसञ्चार माध्यम लोकतान्त्रिक संस्कृतिको विकासको वाहक बनेको देख्न चाहने हो भने पत्रकारहरूलाई सामाजिक सरोकार र जनहितका महìवपूर्ण विषयमा प्राथमिकता प्रदान गर्न अभिप्रेरित गर्नै पर्छ । जनताको दैनन्दिनको जीवनलाई प्रभाव पार्ने, जहाँ हामी भन्न सकौंन्यूज यू क्यान यूज (समाचार तपाईंले प्रयोग गर्नसक्नु हुन्छ ।) । जति परिमाणमा त्यस्ता सामग्री प्रसारण वा प्रकाशन गर्न सकिन्छ, त्यति नै परिमाणमा एजेण्डा सेटिङको भूमिका सकारात्मक र प्रभावकारी हुन सक्छ ।
आमसञ्चार माध्यमले कार्यसूची निक्र्योल गर्ने भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सकेको खण्डमा जनतालाई सशक्त, लोकतान्त्रिक प्रक्रियालाई सहज र सरकारलाई जवाफदेही बनाउन सक्छन् । तर पत्रकारहरूको एजेण्डा सेटिङ पहल आमजनताका दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने दिशातर्फ प्रेरित भएको खण्डमा मात्र त्यस्तो प्रभावकारी र सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ । आजको सन्दर्भमा मिडियासम्बन्धी वाम–लोकतान्त्रिक अवधारणाअनुसार खुला तर सबै वर्ग वा तहका जनताको विश्व दृष्टिकोणलाई सार्वजनिक वृत्तका रूपमा स्थान दिन सक्ने मिडिया प्रणालीको परिकल्पना गरिएको छ । यस्तै प्रणालीमा नै आमसञ्चार माध्यमको प्रभाकारी र सकारात्मक एजेण्डा सेटिङ भूमिकाको अपेक्षा गर्न सकिन्छ ।
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?