logo
२०८१ बैशाख ७ शुक्रवार



सहमतिको सन्देश (सम्पादकीय)

विचार/दृष्टिकोण |




आममानिसको बुझाइमा राजनीतिमा सबैभन्दा ठूलो ताकत सैन्यशक्तिमा रहन्छ तर महान् साहित्यकार लियो टाल्सटाय भन्छन्, ‘धैर्य र समय नै सर्वशक्तिमान योद्धा हुन् ।’ विश्व इतिहासका ठूला विग्रह धैर्य, समय र संवादका अचुक विधिबाट समाधान भएकाले पनि टाल्सटायको विचार पुष्टि हुन्छ । अस्त्रले मात्र समाधान भएका द्वन्द्व वा युद्ध सायदै होलान्, जहाँ संवाद नभएका हुन् । यही परिप्रेक्ष्यमा नेपाल सरकार र सशस्त्र बाटो अँगालिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच बिहीबार भएको तीनबुँदे सहमति धैर्य, संवाद र सहकार्यको आधार बनेको छ । राजनीति वा शान्ति सुरक्षाका दृष्टिले विप्लव समूह मुलुक र समाजका लागि खासै ठूलो समस्या भइसकेको थिएन । मुलुकभर उसको अस्तित्व र उपस्थिति पनि थिएन तर एउटा वैचारिक विद्रोहको प्रतिनिधित्व उसले गरेको थियो । प्रजातन्त्रमा सङ्गठनको आकारमात्र नभएर विचारका आधारमा पनि राजनीतिक मागको तौल मापन गरिन्छ । सरकारले यही आधारमा विप्लव समूहलाई वार्तामा बस्ने सम्मानपूर्ण वातावरण बनाएको हो । नेपालले अवलम्बन गरेको वैैचारिक बहुलवादको आधारभूमिमा सो समूहले उठाएका कतिपय माग देश र जनताकै पक्षमा रहेकाले राजनीतिक समाधाननिम्ति सरकारले विशेष वातावरण बनाएको हो ।
सम्पन्न तीनबुँदे सहमतिअनुसार सरकार र सो समूहबीच राजनीतिक विषयका समाधान संवादका माध्यमबाट गर्न सहमत भएका छन् । विप्लव समूहले सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, विप्लव नेतृत्वको नेकपालाई सरकारद्वारा लगाइएकोे प्रतिबन्ध हटाइने र राजनीतिक बन्दीको रिहाइ तथा मुद्दा खारेज गरिने छ । सहमतिपछि आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले सहमतिको इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताउनुभएको छ । वर्तमान सरकारले देश तथा जनताको समृद्धिलाई आफ्नो पहिलो लक्ष्य बनाएको छ भने नेकपा विप्लव समूहले पनि वार्ता र सहमतिमा समृद्ध नेपालको अभिलाषा निहित रहेको बताएको छ । २०६२÷०६३ को संयुक्त जनआन्दोलन, संविधानसभा, संविधान लेखन र जारी तथा त्यसपछिका शृङ्खलाबद्ध निर्वाचनले नेपालमा रहेका राजनीतिक मुद्दालाई किनारा लगाउँदै आर्थिक क्रान्तिको जग बसाउन मद्दत गरेका छन् । अब राजनीतिका लागि नभएर आर्थिक क्रान्तिका लागि राष्ट्रिय पहलहरू केन्द्रित हुनुपर्ने आवश्यकता सर्वत्र बोध गरिएको अवस्थामा भएको यो सहमतिलाई आर्थिक क्रान्तिका लागि गरिएको पहल तथा प्रतिबद्धता पनि भन्न सकिनेछ । आफ्ना माग र मार्गहरू जनतासामु राखेर परीक्षण गराउने अधिकार सबै राजनीतिक शक्तिलाई संविधानले दिएकाले कसैले पनि जनताको विवेकमा अविश्वास गर्नुभन्दा आर्थिक अभियानको मूलप्रवाहमा समाहित हुँदा नै देश, जनता र स्वयम् आफ्नो पनि कल्याण हुनेछ । आर्थिक अभियानका लागि अत्यावश्यक पर्ने शान्तिपूर्ण वातावरणको आधार यो सहमतिसँगै बलियो बनेको छ ।
वर्तमान सरकारले मूल राजनीतिभन्दा बाहिर रहेका असन्तुष्ट समूहलाई क्रमशः मूलप्रवाहमा ल्याएको छ । यीमध्ये सशस्त्र विद्रोहमा संलग्न नेपाल कम्युनिस्ट पार्टी विप्लव र सीके राउतजस्ता समूह विद्यमान संविधान, व्यवस्था र कानुनमातहत जनताको मतमा आधारित राजनीतिक बाटोका यात्री भएका छन् अर्थात् लोकतन्त्रका सहयात्री । यो नेपालको संविधान र वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जित हो । यसमा सबै शक्ति अटाउन सक्छन् भन्ने पुष्टि पनि हो । शान्तिपूर्ण रूपमा आफ्ना भनाइ तथा कार्यक्रम जनताबीच राख्न नपाउने अवस्थामा विद्रोहको बाटो समात्नु राजनीतिक शक्तिका लागि बाध्यता र विकल्प हुन सक्छ तर आफ्ना विचार जनताबीच राख्न पाउने र जनताको फैसला शिरोपर गर्छु भन्ने शक्तिले विद्रोह गर्नुपर्ने अवस्था नेपालमा छैन । एकाध वर्षका बीचमा देशमा स्थानीय तहदेखि सङ्घीय संसद्को निर्वाचन हुने अवस्थामा आफ्ना विचार तथा कार्यक्रमलाई जनताबाट अनुमोदन गराउने आँटसहित विद्यमान राजनीतिक मैदानमा गरिएको अवतरणलाई साहसिक राजनीतिक आधार निर्माण भन्न सकिनेछ । सहमतिलाई सबै दल तथा नागरिक समुदायले स्वागत गर्दै वार्ताका सम्बद्ध पक्षले बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही थप समाधान खोज्ने विश्वास लिएका छन् । यस्तो विश्वासलाई मूर्तरूप दिने दायित्व सहमतिका पक्षधरमा रहनेछ । मुलुक र जनता सदैव शान्तिका पक्षमा छन् भन्ने सत्यबोध गर्दै कसैले पनि शान्तिभन्दा पर जाने चेष्टा गर्नुहुँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?