logo
२०८१ बैशाख ७ शुक्रवार



किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारीमा छौंः मन्त्री अर्याल

अर्थ |




गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणाली स्थापना गर्ने तयारी गर्नुभएको छ । कृषि तथा पशुपंक्षी बिटमा समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चार माध्यमका पत्रकारसँगको भेटघाटमा आज मन्त्री अर्यालले त्यस्तो तयारी भएको बताउनुभयो ।
“प्रविधि प्रशारण र प्रविधि हस्तान्तरण महत्वपूर्ण कुरा हो । अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्” मन्त्री अर्यालले भन्नुभयो, “प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बढाउँदै जानुपर्छ । हामीले किसान सेन्टर एकद्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गर्नेछौं ।”
कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथितिजस्ता बिकृत्तिलाई तोडेर जाने मन्त्री अर्यालले बताउनुभयो । कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिति तोड्नका निम्ति कार्यबिधि बनाइसकेको जानकारी दिनुहुँदै त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई प्रणालीमा ल्याएर सुधार गर्ने बताउनुभयो ।
आफूले पदभार ग्रहण गर्दैगर्दा उखु किसानहरुको चर्को समस्या आएको भन्नुहुँदै अहिले सो समस्या समाधान भएको बताउनुभयो । अहिले धेरै उखु किसानहरुले भुक्तानी पाइसकेको उहाँले जानकारी दिनुभयो । मलको दीर्घकालिन समस्या समाधान गर्नेगरी सरकार अगाडि बढेको मन्त्री अर्यालले बताउनुभयो ।
“मल अभावको दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरी हामी अगाडि बढेका छौ”, मन्त्री अर्यालले भन्नुभयो, “अब रासायनिक मलको अभावमा किसानहरु छटपटाउनु पर्ने छैन ।” खुला सिमानाका कारण भारतबाट मल आउने र त्यसबाट उत्पन्न हुने बिकृत्तिलाई तत्काल रोक्न कठिन भएपनि त्यसको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
इजरायली प्रविधिको कृषि प्रणाली भित्र्यउन इजरायल सरकारसँग सम्झौता भएर प्राविधिक समिति गठन भइसकेको जानकारी दिनुहुँदै मन्त्री अर्यालले किसानको सूचिकरण गर्ने तयारी पनि भइरहेको बताउनुभयो ।
पशुपंक्षीको क्षेत्रमा नीतिगत रुपमै व्यवस्थित गर्ने पहल भएको मन्त्री अर्यालले बताउनुभयो । अण्डा र मासुमा नेपाल आत्मनिभर भयो भनेर छिट्टै घोषणा गर्ने चरणमा हामी पुग्छौ उहाँले भन्नेभयो, “दुधमा पनि नेपालले धेरै राम्रो प्रगति गरेको छ ।”
मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले मन्त्री अर्यालले पदभार ग्रहण गरिसकेपछि मन्त्रालयले गरेका तीन महिनाको उपलब्धी सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?