logo
२०८० चैत्र १५ बिहीवार



यूरोपा लिगबाट लेष्टर बाहिरियो

खेलकुद |




गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । लेष्टर सिटी यूरोपा लिगबाट बाहिरिएको छ । लिगको राउण्ड अफ ३२ को दोस्रो लेगमा चेक क्लब स्लाभिया प्रागबाट ०–२ को हार बेहोर्दा यूरोपा लिगबाट बाहिरिन पुगेको हो । स्लाभिया प्राग भने यूरोपा लिगको अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ ।
प्रमुख खेलाडी जेम्स मडिसन कम्मरमा आएको चोटले अनुपस्थित हुनुपर्दा र लयमा रहेका विंगर हार्भि बर्नस पहिलो हाफमा बेञ्चमा बस्दा लेष्टरले पूर्ण क्षमताले प्रदर्शन गर्न सकेन । लेष्टरका प्रशिक्षक ब्रेण्डन रोजर्सले बर्नसलाई बेञ्चमा बसाएको जिम्मेवारी लिँदै आफ्नो प्राथमिकता एफ ए कप र प्रिमियर लिगमा सशक्त प्रदर्शन रहेको प्रष्ट्याउनुभयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको सुरुवातमै मिडफिल्डर लुकास प्रोभोडले गोल गर्दै स्लाभियालाई १–० को अग्रता दिलाउनुभयो । उहाँले ४९ औं मिनेटमा गोल गर्नुभयो । १९ वर्षीय स्ट्राइकर अब्दल्लाह सीमाले ७९ औं मिनेटमा ओलाडेजा ओलियन्काको पासलाई गोलको दिशा दिँदा स्लाभियाले लेष्टरमाथि २–० को जित हात पार्यो ।
सन् २०२१ को पहिलो दुई महिनामा एक खेलमा मात्रै हार बेहोरेको लेष्टर सिटी यूरोपा लिगको अन्त्यसम्म पुग्ने सम्भावना बोकेको थियो । तर उसले अपेक्षा बमोजिमको प्रदर्शन दिन सकेन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?